कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ २२ गते)
जेठ २२ गते ३ हजार ५ सय ४० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ५ लाख ८५ हजार १ सय पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । जेठ २२ गते परीक्षण गरिएकामध्ये ३१ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १८.७ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । जेठ २२ गते १९ वर्ष मुनिका ४ सय ७० जनामा कोभिड सङ्क्रमणको पुष्टि भएको छ । गत २४ घण्टामा ११ हजार ४ सय ७१ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ४ लाख ८४ हजार ३ सय ७३ जना निको भएका छन् । जेठ २२ गते ८ हजार २ सय ४३ जना निको भएका छन् भने निको हुनेको दर ८१.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । जेठ २२ गतेसम्म ७ हजार ७ सय ९९ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । जेठ २२ गते ६८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आइसोलेशनमा पुष्टि भएका केसहरूको सङ्ख्या भनी सङ्क्रमितको सङ्ख्या ९२ हजार ९ सय २८ देखाइएको छ ।
मोरङ, सुनसरी, झापा, ओखलढुङ्गा, रौतहट, धनुषा, पर्सा, महोत्तरी, बारा, सप्तरी, सिरहा, सर्लाही, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, दोलखा, कास्की, नवलपरासी पूर्व, गोरखा, तनहुँ, स्याङ्जा, पर्वत, लमजुङ, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, गुल्मी, नवलपरासी पश्चिम, सुर्खेत, दैलेख, डडेल्धुरा, कैलाली, कञ्चनपुर, बैतडी, डोटी र अछाममा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् । गृह मन्त्रालयका अनुसार जेठ २२ गते बिहानसम्म ७५ जिल्लामा पूर्ण तथा आंशिक निषेध आदेश जारी गरिएको छ ।
बागमती प्रदेश
दोलखा प्रतिनिधि उद्धव पोखरेलका अनुसार जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको सिफारिसमा जिल्ला प्रशासन कार्यालय दोलखाले जेठ ३१ गतेसम्मका लागि निषेध आदेश थप गरेको छ । जेठ २२ गते बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठकले अझ कडाइका साथ निषेध आदेश एक साता सम्म लम्ब्याउने निर्णय गरेको जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले बताउनु भयो ।
गण्डकी प्रदेश
पर्वत प्रतिनिधि सन्तोष थापाका अनुसार कोभिड–१९ को सङ्क्रमण बढेकाले जिल्लामा जेठ ३१ गतेसम्म निषेध आदेश थप गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको जेठ २१ गते बसेको बैठकले जेठ ३१ गते राति १२ बजेसम्म लागु हुने गरी निषेध आदेश थप गर्न सिफारिस गरेपछि प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले उक्त निषेध आदेश जारी गर्नुभएको हो । यसअघि जेठ २२ गते रातिसम्म्मका लागि मात्रै निषेध आदेश जारी भएको थियो ।
स्याङजा प्रतिनिधि तिलकुमारी थापाका अनुसार स्याङ्जाको वालिङ नगरपालिका–१३ मा एकै दिन १९ जनामा कोभिड सङ्क्रमण पुष्टि भएपछि खानिडाँडा टोललाई सील गरिएको छ । सो वडामा जेठ २० गते २४ जनामा गरिएको एण्टिजेन परीक्षणबाट १९ जनामा कोभिड पुष्टि भएपछि सङ्क्रमण थप फैलिन नदिन विपद व्यवस्थापन समितिको बैठकले खानिडाँडा क्षेत्रलाई जेठ २१ गतेदेखि अर्को सूचना नआउँदासम्मका लागि पूर्ण रूपमा सील गरिएको वडा नम्बर १३ का अध्यक्ष आनन्द पाठकद्वारा हस्ताक्षरित वक्तव्यमा जानकारी दिइएको छ ।
कर्णाली प्रदेश
रुकुम (पश्चिम) प्रतिनिधि मनिषा केसीका अनुसार जिल्लामा कोभिड –१९ को सङ्क्रमण बढेपछि रुकुम पश्चिममा जेठ २२ गते राति १२ बजेदेखि जेठ ३१ गते राति १२ बजेसम्मका लागि निषेध आदेश थप गरिएको प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेले बताउनु भयो । जिल्लामा कोभिड –१९ सङ्क्रमण बढिरहेको र मृत्युदर पनि बढ्दो क्रममा रहेपछि थप १० दिन निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी गैह्रेले जानकारी दिनु भयो । उहाँका अनुसार शान्ति सुरक्षा, स्वास्थ्य, विद्युत, दुरसञ्चार, खानेपानी, सञ्चार लगायतका अत्यावश्यक सेवाहरू भने यस अवधिमा सञ्चालन गर्न दिइनेछ ।
जाजरकोट प्रतिनिधि दिनेशकुमार श्रेष्ठका अनुसार जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको जेठ २२ गते बसेको बैठकले जेठ ३१ गते राति १२ बजेसम्म लागु हुने गरी निषेध आदेशको समय थप गरेको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले बताउनु भयो । कोभिड–१९ सङ्क्रमणको जोखिम नियन्त्रण, रोकथाम तथा उपचारका लागि सङ्क्रामक रोग ऐन २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ उपदफा ३ बमोजिम निषेधाज्ञाको समय प्रजिअ देवकोटाले थप गर्नु भएको हो ।
सुदूरपश्चिम प्रदेश
अछाम प्रतिनिधि शिवराज ढुङ्गानाका अनुसार जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको जेठ २२ गते बसेको बैठकले निषेध आदेश जेठ ३१ गतेसम्मका लागि थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्लले बताउनु भयो । निषेध आदेशका क्रममा खाद्यान्न, उपचार तथा स्वास्थ्यसम्बन्धी अत्यावश्यक बाहेकका सबै सेवाहरू बन्द गरिएको प्रमुख जिल्ला अधिकारी मल्लले बताउनु भयो । यसअधि जिल्ला प्रशासन कार्यालय, अछामले वैशाख १९ गतेदेखि जिल्लामा निषेध आदेश जारी गरेको थियो । जिल्लामा हालसम्म ४ हजार ६८ जनामा सङ्क्रमण पुष्टि भएकोमा ४ सय ३० जना सक्रिय सङ्क्रमित रहेका छन् भने ३३ जना अस्पतालमा उपचाररत रहेका र २३ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय, अछामका सूचना अधिकारी देव जोशीले जानकारी दिनु भयो ।
एक वर्षअघि
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ०७७ जेठ २२ गतेसम्म २ हजार ६ सय ३४ जनामा कोभिड-१९ पुष्टि भएको जनाएको थियो ।
कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (२०७७ जेठ २२ गते)
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
डेङ्गी सङ्क्रमित बढे, जिल्ला अस्पतालमा वेड अभाव
डेङ्गी सङ्क्रमित बढेपछि जिल्ला अस्पतालमा वेड अभाव भएको छ । डेङ्गी सङ्क्रमितको सङ्ख्या १ हजार ३ सय भन्दा बढी भएपछि ३७ ओटा वेड क्षमता भएको अस्पतालमा वेड अभाव भएको अस्पताल…
कानुनी प्रक्रियामा जानका लागि हिंसा पीडित महिलालाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भइ कानुनी प्रकृयामा जान नसकेकी सुर्खेतको बराहाताल गाउँपालिका –२ रानीघाट घर भइ हाल वीरेन्द्रनगर नगरपालिका – ३ मा बस्दै आएकी २५ वर्षीया भोजकुमारी खड्कालाई असोज १५ गते…
बलात्कार गरेको कसूरमा तीन वर्ष कैदको फैसला
४० वर्षीया महिलालाई बलात्कार गरेको कसूरमा बर्दगोरिया गाउँपालिका–१ बौनियाका ३५ वर्षीय चक्र ओडलाई ०८० असोज १४ गते तीन वर्ष कैद सजायको फैसला गरिएको छ । जिल्ला अदालत, कैलालीका न्यायाधीश ओमप्रसाद…
जिल्ला अस्पतालमा औषधिको अभाव : बिरामीलाई समस्या
जिल्ला अस्पतालमा एक सातोदेखि अत्यावश्यक औषधिको अभाव देखिएको छ । अस्पतालमा औषधि अभाव हुँदा बिरामीलाई समस्या भएको छ । नियमित रुपमा खरिद गर्नु पर्ने औषधि खरिद नहुँदा अस्पतालमा औषधिको अभाव…
पहुँचयुक्त विद्यालयमा पदस्थापनकाे माग गर्दै दृष्टिविहिन अपाङ्गता भएकी शिक्षिका आमरण अनसनमा
पहुँचयुक्त र पायक पर्दो विद्यालयमा पदस्थापन र हाजिरीको माग गर्दै पोखरा महानगरपालिका– १३ भलाम निवासी ३८ वर्षीया दृष्टिविहिन अपाङ्गता भएकी शिक्षिका शोभा पौडेल २०८० असोज १४ गते देखि गण्डकी प्रदेश…