कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ १९ गते)
जेठ १९ गते ४ हजार ५ सय २४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ५ लाख ७१ हजार १ सय ११ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । जेठ १९ गते परीक्षण गरिएकामध्ये ३३ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १८.५ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । जेठ १९ गते १९ वर्ष मुनीका ४ सय ९६ जनामा कोभिड सङ्क्रमणको पुष्टि भएको छ । गत २४ घण्टामा १३ हजार ८ सय ५ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ४ लाख ६१ हजार ५ सय ६३ जना निको भएका छन् । जेठ १९ गते ७ हजार २ सय १९ जना निको भएका छन् भने निको हुनेको दर ८०.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । जेठ १९ गतेसम्म ७ हजार ५ सय ५५ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । जेठ १९ गते १ सय १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आइसोलेशनमा पुष्टि भएका केसहरूको सङ्ख्या भनी सङ्क्रमितको सङ्ख्या १ लाख १ हजार ९ सय ९३ देखाइएको छ ।
मोरङ, सुनसरी, झापा, ओखलढुङ्गा, रौतहट, धनुषा, पर्सा, महोत्तरी, बारा, सप्तरी, सिरहा, सर्लाही, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, दोलखा, कास्की, नवलपरासी पूर्व, गोरखा, तनहुँ, स्याङ्जा, पर्वत, लमजुङ, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, गुल्मी, नवलपरासी पश्चिम, सुर्खेत, सल्यान, दैलेख, डडेल्धुरा, कैलाली, कञ्चनपुर, बैतडी, डोटी र अछाममा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् । गृह मन्त्रालयका अनुसार जेठ १९ गते बिहानसम्म ७५ जिल्लामा पूर्ण तथा आंशिक निषेध आदेश जारी गरिएको छ ।
प्रदेश १
ओखलढुङ्गा प्रतिनिधि सरस्वती बानियाका अनुसार ओखलढुङ्गामा एक साताका लागि निषेध आदेश अवधि थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाको संयोजनमा कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको भर्चुअल बैठकले जेठ २६ गते राति १२ बजेसम्मका लागि निषेध आदेश लम्ब्याउने निर्णय गरिएको हो । जिल्लामा सङ्क्रमण दर दिनप्रतिदिन बढेकाले निषेध आदेशको अवधि पुनः थपिएको प्रमुख जिल्ला अधिकारी बन्दना राईले बताउनुभएको छ । जिल्लामा कोभिड सङ्क्रमण बढेसँगै वैशाख २६ गते राति १२ बजेदेखि हालसम्म निषेध आदेश जारी छ ।
सोलुखुम्बु प्रतिनिधि भोजराज कार्कीका अनुसार सोलुखुम्बुमा एक साताका लागि पुनः निषेध आदेश अवधि थप गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को भर्चुअल बैठकले जेठ २६ गते राति १२ बजेसम्मका लागि निषेध आदेश अवधि थप गर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी उर्मिला खतिवडाले जानकारी दिनुभयो । स्थानीय सरकारको सुझाव तथा जिल्लाको अवस्थालाई ध्यानमा राखेर निषेध आदेशको अवधि थप गरिएको प्रशासनले जनाएको छ । सङ्क्रमणदर बढेसँगै जिल्लामा वैशाख २६ गते राति १२ बजेबाट निषेध आदेश जारी गरिएको थियो ।
प्रदेश २
महोत्तरी प्रतिनिधि अजयकुमार साहका अनुसार जेठ १९ गते बसेको जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकको सिफारिस तथा जिल्ला सुरक्षा समितिको निर्णयको आधारमा १० दिनको लागि निषेध आदेश थप गरिएको छ । कोभिडको दोस्रो लहर सुरू भएपछि वैशाख २२ गते जारी गरिएको निषेध आदेश लगातार थप्दै जेठ ३१ गतेसम्म पुर्याइएको हो । तेस्रो पटक थपिएको निषेध आदेश जेठ १८ गते राति १२ बजे सकिनुभन्दा अघि नै जेठ ३१ गतेसम्मका लागि निषेध आदेश थप गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ र सङ्क्रामक रोग ऐन २०२० को दफा २ बमोजिम जिल्ला भर निषेधाज्ञा लगाइएको प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले बताउनु भयो ।
पर्सा प्रतिनिधि कृष्णचन्द्र लामिछानेका अनुसार कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्लामा लगाइएको निषेध आदेशलाई जेठ ३० गतेसम्म निरन्तरता दिइने निर्णय गरिएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको जेठ १९ गते बसेको बैठकले निषेध आदेश थप गर्ने निर्णय गरेको हो । कोभिड सङ्क्रमणको श्रृङ्खला तोड्न निषेध आदेश उपयोगी देखिएकाले जेठ ३० गते राति १२ बजेसम्म थप गरिएको प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले बताउनु भयो । कोभिड सङ्क्रमणको दोस्रो लहर सुरू भएपछि जिल्लामा वैशाख १६ गतेदेखि निषेध आदेश लगाइएको हो ।
रौतहट प्रतिनिधि कोपिला तिमल्सिनाका अनुसार जिल्ला प्रशासन कार्यालयले जेठ १९ गते एक सूचना जारी गरी जेठ २६ गतेसम्मका लागि निषेध आदेश थप गर्ने निर्णय गरिएको छ । जिल्लामा नयाँ भेरियण्टको कोभिड–१९ सङ्क्रमण तीव्र रूपमा बढिरहेको हुँदा उक्त सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि पुनः जेठ १९ गते राति १२ देखि लागु हुने गरी जेठ २६ गते राति १२ बजेसम्म जिल्ला भर लागू हुने गरी निषेध आदेशलाई निरन्तरता दिइएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनु भयो ।
धनुषा प्रतिनिधि दिपेन्द्रप्रसाद सिंहका अनुसार धनुषामा जेठ २४ गतेसम्म निषेध आदेश लम्ब्याइएको छ । जेठ १७ गते बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले जिल्लाभर लागु हुने गरी सात दिन निषेध आदेश थपिएको हो । धनुषामा गएको वैशाख २१ गतेदेखि निषेध आदेश जारी छ । निषेध आदेशको अवधिमा कोभिड सङ्क्रमितको उपचारको क्रममा लापरवाही भएको भन्दै विभिन्न अस्पतालमा तोडफोड एवम् चिकित्सकमाथि हातपात हुने घटना बढेको भन्दै गुणस्तरीय सेवा प्रदान गर्नुको साथै अस्पतालहरूको सुरक्षाका लागि सुरक्षा निकायलाई अनुरोध गरिएको छ ।
बागमती प्रदेश
काठमाडौँ प्रतिनिधि बिमला पौडेलका अनुसार काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले जारी निषेध आदेशलाई जेठ ३१ गतेसम्म थप गर्ने निर्णय गरेको छ । कोभिड सङ्क्रमणको दर नघटेको भन्दै जारी निषेध आदेशको अवधि जेठ ३१ गतेसम्म थप गर्ने निर्णय गरेको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिनुभयो । पछिल्लोपटक थप गरिएको निषेध आदेशको अवधि यही जेठ २० गते राति १२ बजेपछि सकिँदैछ । उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेध आदेश लागु गरिएको छ ।
ललितपुर प्रतिनिधि दीपकप्रसाद घिमिरेका अनुसार जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका अध्यक्ष एवम् ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जेठ १९ गते सूचना प्रकाशित गरी जेठ ३१ गतेसम्मका लागि निषेध आदेशको अवधि थप गरेको जानकारी दिनु भएको छ । सङ्क्रमण दर नघटेको भन्दै कडा प्रावधानसहित निषेध आदेश थपिएको निरौलाले जानकारी दिनुभयो । वैशाख १६ गतेबाट जारी निषेध आदेशलाई निरन्तरता दिँदै जेठ १४ गतेबाट सो आदेशलाई थप कडा पारिएको थियो ।
गण्डकी प्रदेश
कास्की प्रतिनिधि सुशन घिमिरेका अनुसार कोभिड–१९ सङ्क्रमण बाट मृत्यु भएकाहरूको शव व्यवस्थापन गरिने घाटमा फोहोरको व्यवस्थापन नगरिएको भन्दै पोखरा महानगरपालिका–३२ का स्थानीयले विरोध जनाएका छन् । वडा नम्बर ३२ स्थित सेती नदी घाटमा पीपीइ, मेडिकल पञ्जा र शवलाई बाँधिने गरिएको डोरी लगायतको व्यवस्थापन नगरिएको भन्दै स्थानीयले विरोध जनाउँदै आएको वडाध्यक्ष अक्कलबहादुर कार्कीले जानकारी दिनुभयो । शव गाड्नका लागि मात्रै स्थानीयले अनुमति दिएको भएपनि पछिल्ला दिनमा जलाउने र उक्त क्रममा भएको फोहरको व्यवस्थापन नभएका कारण विरोध जनाएको उहाँले बताउनु भयो । वडाध्यक्ष कार्कीका अनुसार घाटको फोहोर व्यवस्थापन गर्न महानगरले एक महिनाअघि नै टिम बनाइ जिल्लास्तरीय कोभिड नियन्त्रण समितिलाई पनि खबर गरिसक्दा समेत कुनै पनि प्रक्रिया थालिएको छैन ।
गोरखा प्रतिनिधि हरिराम उप्रेतीका अनुसार कोभिड–१९ जोखिम बढेको बारपाक सुलिकोट गाउँपालिका–१ र २ बारपाक गाउँमा फेरि स्वास्थ्यकर्मी सहितको टोली खटाइएको छ । आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर कृष्णहरी श्रेष्ठ नेतृत्वमा स्टाफ नर्स र हेल्थ असिस्टेन्ट सहितको टोली जेठ १९ गते बारपाक गएको हो । गाउँपालिकाले माग गरे अनुसार स्वास्थ्यकर्मी व्यवस्थापन गरी पठाइएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताउनुभयो । उक्त टोली १० दिनसम्म बारपाकमा रहने उहाँको भनाइ छ । गाउँपालिका अन्तर्गत बारपाक स्वास्थ्य चौकीका हेल्थ असिष्टेण्ट नेतृत्वको टोलीले पनि बारपाकमा स्वास्थ्य समस्या देखिएकाहरूको स्वास्थ्य जाँच तथा परामर्शका लागि घरदैलो गर्दै आएको बारपाक सुलिकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले बताउनुभयो । बारपाक गाउँमा मात्र २ सय सक्रिय सङ्क्रमित होम आइसोलेशनमा रहेका उहाँको भनाइ छ ।
तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भटटराईका अनुसार कोभिडको औषधि भन्दै महङ्गो मुल्यमा औषधि बेच्ने र पीसीआर परीक्षण गर्ने भन्दै स्वाब सङ्कलन गर्दै आएको उजुरीको आधारमा जिल्ला प्रशासन कार्यालयले शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडाका दुई औषधि पसल बन्द गराएको छ । सहायक प्रमुख जिल्ला अधिकारी चित्राङद बरालको नेतृत्वमा नगरपालिकाको स्वास्थ्य शाखाका प्रतिनिधि सहितको उपस्थितिमा जेठ १८ गते भएको अनुगमनमा दुई ओटा मेडिकलले स्वाब सङ्कलन गर्ने र महङ्गो मुल्यमा औषधि बेच्ने गरेको पाइएपछि उनीहरूलाई बन्द गराइएको सहायक प्रमुख जिल्ला अधिकारी बरालले बताउनुभयो । फार्मेसी सञ्चालनका लागि दिइएको अधिकारभन्दा बढी सेवा दिइएको पाइएपछि ती मेडिकलहरू बन्द गरिएको बरालले बताउनुभयो । कोभिड–१९ को माहामारीमा फार्मेसीमा बढी शुल्क लिने, स्वाब सङ्कलन गर्ने भन्ने जनगुनासो आएपछि आकस्मिक रूपमा अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी बरालले जानकारी दिनुभयो । प्रकोपको बेला सर्वसुलभ सेवा दिनुपर्नेमा बढी शुल्क लिएको पाइएमा थप कारवाही हुने उहाँले बताउनुभयो । ती दुई मेडिकलले डाक्टर बिना नै बिरामी भर्ना गरेर उपचार गरिरहेको र औषधि र प्रयोगशालाको रसिद समेत नदिइएको समेत भेटिएको शुक्लागण्डकी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले बताउनुभयो । बन्द गरिएका मेडिकलका सञ्चालकलाई एक साता भित्र आवश्यक कागजातसहित जिल्ला प्रशासन कार्यालय र स्वास्थ्य शाखामा उपस्थित हुन निर्देशन दिइएको छ ।
लमजुङ प्रतिनिधि दलबहादुर मजाकोटीका अनुसार जिल्ला कोभिड व्यवस्थापन समितिको जेठ १९ गते बसेको बैठकले जिल्लामा एक हप्ताको लागि निषेध आदेशको समय थप गर्ने निर्णय गरेको छ । बैठकको निर्णय अनुसार जेठ २० गते राति १२ बजेदेखि जेठ २७ गते राति १२ बजेसम्मको लागि निषेध आदेशको समय थप गरिएको प्रमुख जिल्ला अधिकारी एवम् कोभिड व्यवस्थापन समितिका जिल्ला संयोजक होमप्रसाद लुईटेलले बताउनुभयो । जिल्लामा वैशाख २८ गतेदेखि निषेध आदेश जारी छ ।
कर्णाली प्रदेश
सल्यान प्रतिनिधि मिना बुढाथोकीका अनुसार शारदा नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोग र सबुज गण सिमखर्कको श्रमदानमा निर्माण गरिएको २५ बेडको शारदा सबुज भवन जेठ १८ गते स्वास्थ्य सेवा कार्यालय सल्यानलाई हस्तान्तरण गरिएको छ । जिल्ला अस्पताल सल्यानमा कोभिड सङ्क्रमित बिरामीहरूको सङ्ख्या बढ्दै गएपछि बेड अभाव हुँदा आकस्मिक कक्षमा समेत बिरामीहरू राखेर उपचार गर्नुपर्ने बाध्यता रहेको अवस्थामा नगरपालिकाको १५ लाख रूपियाँ आर्थिक सहयोग र नेपाली सेनाको करिब १० लाख रूपियाँ बराबरको श्रमदानमा भवन निर्माण भएको नगरपालिकाका योजना अधिकृत केशव बुढाथोकीले बताउनु भयो । बिरामीले बेड नपाइरहेको र नगरपालिकाको आफ्नै आइसोलेशन निर्माण गर्न केही समस्या हुने भएकाले जिल्ला अस्पतालमा २५ बेडको आइसोलेशन निर्माण गरिएको शारदा नगरपालिकाका नगर प्रमुख सुरेश अधिकारीले बताउनु भयो ।
सुदूरपश्चिम प्रदेश
बैतडी प्रतिनिधि नरिदत्त बडुका अनुसार शिवनाथ गाउँपालिकाले अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याएर कोभिड बिरामीहरूको उपचार गर्नुको साथै गाउँपालिकामा हप्ताको दुई दिन कोभिड–१९ को परीक्षण समेत गरिने गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले बताउनु भयो । कोभिड भाइरस सङ्क्रमण व्यवस्थापन, रोकथाम तथा न्यूनिकरणका लागि गाउँपालिकाले सञ्चालनमा ल्याएको अस्थायी कोभिड अस्पतालबाट हप्ताको दुई दिन सोमबार र शुक्रबार एन्टिजीन विधिबाट कोभिड परीक्षण समेत गरिने डाक्टर पवित्रा राईले बताउनु भयो । पाँच बेडको अस्थायी कोभिड अस्पतालमा एमबीबीएस डाक्टर सहित सेवा सुचारु भएदेखि स्थानीयबासीलाई उपचारमा सहज भएको छ ।
एक वर्षअघि
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ०७७ जेठ १९ गतेसम्म १ हजार ८ सय ११ जनामा कोभिड-१९ पुष्टि भएको जनाएको थियो ।
कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (२०७७ जेठ १९ गते)
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
जलविद्युत आयोजनाको सामग्री बोक्ने ठुलागाडीले गर्दा सर्वसाधारणको स्वास्थ्य समस्या
हिमाली जिल्ला म्याग्दीको रघुगङ्गा गाउँपालिका भित्र निर्माणधिन आठ ओटा जलविद्युत आयोजनाका कारण गाउँपालिकाका चार ओटा वडाका सर्वसाधारणमा स्वास्थ्य समस्या थपिएको छ । बिहानैदेखि गाडी कुद्न थाल्दासाथ धुलोले गाउँघरनै पुरै छोप्ने…
हत्या घटनाका आरोपित गिरफ्तार
अर्जुनधारा नगरपालिका-३ दार्जिलिङ डाडाँकी ३७ वर्षीया मुना चौहानको हत्या गरेको आरोपमा प्रहरीले ४६ वर्षीय पति वीरबहादुर चौहानलाई असोज २८ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले ०८१ असोज…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बारबर्दिया नगरपालिका-६ का २० वर्षीय सन्तराम थारुलाई प्रहरीले ०८१ असोज २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज २६ गते बलात्कार गरेको…
रिम्नागाउँमा खानेपानीको समस्या
भेरी नगरपालिका–१, रिम्नामा खानेपानीको समस्या भएको छ । जिल्लामा ०८० कात्तिक १७ गते मध्यरातमा गएको भूकम्पले खानेपानीको मुहान भासिएपछि रिम्नागाउँमा खानेपानीको समस्या भएको हो । रिम्नाका करिव ३ सय ५०…
हत्या घटनाका आरोपित नन्देभाइ गिरफ्तार
माडी नपा-७ देवेन्द्रपुरकी ७१ वर्षीया विष्णुमाया रानाभाटलाई खुर्पा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले माडी नपा-७ का ६२ वर्षीय नन्देभाइ (नन्दका पति) टीकाराम रानाभाटलाई असोज २६ गते गिरफ्तार गरेको छ…