कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ १८ गते)

जेठ १८ गते ५ हजार २ सय ८५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ५ लाख ६६ हजार ५ सय ८७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । जेठ १८ गते परीक्षण गरिएकामध्ये ३१ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १८.४ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । जेठ १८ गते १९ वर्ष मुनीका ६ सय ३० जनामा कोभिड सङ्क्रमणको पुष्टि भएको छ । गत २४ घण्टामा १७ हजार १ सय ४७ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ४ लाख ५४ हजार ३ सय ४४ जना निको भएका छन् । जेठ १८ गते ६ हजार ८ सय ९८ जना निको भएका छन् भने निको हुनेको दर ८०.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । जेठ १८ गतेसम्म ७ हजार ४ सय ५४ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । जेठ १८ गते ६८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आइसोलेशनमा पुष्टि भएका केसहरूको सङ्ख्या भनी सङ्क्रमितको सङ्ख्या १ लाख ४ हजार ७ सय ८९ देखाइएको छ ।

Corona Infographics 2078-02-18

मोरङ, सुनसरी, झापा, ओखलढुङ्गा, रौतहट, धनुषा, पर्सा, महोत्तरी, बारा, सप्तरी, सिरहा, सर्लाही, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, दोलखा, कास्की, नवलपरासी पूर्व, गोरखा, तनहुँ, स्याङ्जा, पर्वत, लमजुङ, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, गुल्मी, नवलपरासी पश्चिम, सुर्खेत, सल्यान, दैलेख, डडेल्धुरा, कैलाली, कञ्चनपुर, बैतडी, डोटी र अछाममा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् । गृह मन्त्रालयका अनुसार जेठ १८ गते बिहानसम्म ७५ जिल्लामा पूर्ण तथा आंशिक निषेध आदेश जारी गरिएको छ । 

प्रदेश १

सुनसरी प्रतिनिधि जयकृष्ण यादवका अनुसार गढी गाउँपालिका–१ मधेलीलाई सील गरिएको छ । जेठ १८ गतेदेखि लागु हुनेगरी गाउँपालिकाले एकसाताका लागि वडालाई सील गरिएको हो । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादवले पालिकाको बैठकले नागरिकको मागको अधारमा र जोखिमको अवस्था हेरेर एकसाताका लागि गढी गाउँपालिका–१ को मधेली क्षेत्रलाई सील गरिएको जानकारी दिनुभयो ।

बागमती प्रदेश

रामेछाप प्रतिनिधि नवराज घिमिरेका अनुसार जारी निषेध आदेश जेठ २६ गते मध्यरातिसम्म थपिएको छ । जेठ १८ गते जिल्ला प्रशासन कार्यालय रामेछापमा बसेको जिल्लास्तरीय कोडिभ–१९ सङ्कट व्यवस्थाप केन्द्र तथा जिल्ला सुरक्षा समितिको बैठकले सो निर्णय गरेको हो । यसअघि घोषणा गरिएको लकडाउन जेठ १९ गते मध्यरात १२ बजेबाट सकिँदै छ । अझै पनि कोभिड नियन्त्रणमा नआएकोले निषेध आदेश थप्नु परेको प्रमुख जिल्ला अधिकारी गौलोचन सैजूले जानकारी दिनुभयो ।

गण्डकी प्रदेश

गोरखा प्रतिनिधि हरिराम उप्रेतीका अनुसार शहीद लखन गाउँपालिका–७ को वयाक र पिपलछाप क्षेत्र सील गरिएको छ । कोभिड १९ सङ्क्रमणको जोखिम बढेसँगै जेठ १८ गतेबाट २४ गतेसम्म उक्त क्षेत्र सील गरिएको शहीद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिनुभयो । जिल्लाभर निषेध आदेश जारी भएपनि उक्त क्षेत्र सील गरी त्यहाँ अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन, एक घरबाट अर्को घरमा नजान, एक टोलबाट अर्को टोल नजान निषेध गरिएको छ । यि दुई गाउँमा ४० जना सङ्क्रमित रहेको श्रेष्ठले बताउनुभयो ।

तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भटटराईका अनुसार पीसीआर परीक्षणको नाममा सर्वसाधरणबाट रकम असुल गरेको भन्दै शुक्लागण्डकी नगरपालिका–७ स्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्रका चार जना कर्मचारीलाई अस्पताल प्रशासनले निलम्बन गरेको छ । सरकारी प्रयोगशालाबाट रिपोर्ट आउन ढिला हुने भन्दै निजी ल्याबबाट छिटो रिपोर्ट ल्याइदिने भन्दै सर्वसाधरणसँग प्रति व्यक्ति ३ हजार रुपियाँ सङ्कलन गरेको पुष्टि भएपछि अस्पतालले चार जना कर्मचारीलाई जेठ १७ गते निलम्बन गरेको हो । अस्पतालले पीसीआर परीक्षण निःशुल्क गरिएको भन्दै अस्पतालका कार्यकारी निर्देशक डाक्टर रामकुमार श्रेष्ठले अनाधिकृत रुपमा सर्वसाधरणसँग रकम असुल गरेको गुनासो आएपछि करारका ती कर्मचारीलाई निलम्बन गरिएको बताउनुभयो । उनीहरूलाई २४ घण्टे स्पष्टिकरण समेत सोधिएको डाक्टर श्रेष्ठले बताउनुभयो । सेवाग्राहीले आफूहरूसँग रकम असुल गरेको गुनासो गरेपछि अस्पताल प्रशासनले १७ जना सेवाग्राहीलाई प्रति व्यक्ति ३ हजार रुपियाँ फिर्ता गरिएको डाक्टर श्रेष्ठले जानकारी दिनुभयो ।

लमजुङ प्रतिनिधि दलबहादुर मजाकोटीका अनुसार जिल्ला अस्पतालमा जेठ १८ गतेबाट अक्सिजन प्लान्ट सुचारु गरिएको छ । २४ घण्टामा ५ हजार लिटर अक्सिजन उत्पादन गर्ने क्षमताको अक्सिजन प्लाण्ट सञ्चालनमा ल्याइएको जिल्ला अस्पतालका प्रशासन प्रमुख हेमन्त श्रेष्ठले बताउनुभयो । गण्डकी प्रदेश सरकारको सहयोगमा सञ्चालनमा आएको अक्सिजन प्लाण्ट हाल कोभिड सङ्क्रमितको लागि दैनिक ३५ जनाको लागि खपत भएको उहाँले बताउनुभयो । अक्सिजनको कारणले जिल्लाबासीले अकालमा ज्यान गुमाउन नपर्ने प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले बताउनुभयो ।

लुम्बिनी प्रदेश

बाँके प्रतिनिधि स्मृति देवकोटाका अनुसार चिकित्सक सुरक्षाको माग गर्दै भेरी अस्पताल नेपालगञ्जका स्वास्थ्यकर्मीहरूले जेठ १६ गतेदेखि अस्पताल परिसरमा मौन प्रदर्शन गरिरहेका छन् । स्वास्थ्यकर्मीले चिकित्सकलगायत स्वास्थ्यकर्मीहरूमाथि बारम्बार दुर्व्यवहारका घटना भइरहेको र दुर्व्यवहार गर्नेमाथि कडा कारबाहीको माग गर्दै मौन प्रदर्शन गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर प्रकाश थापाले बताउनु भयो । जेठ १३ गते अस्पतालमा कार्यरत डाक्टर र स्वास्थ्यकर्मीमाथि बिरामीको मृत्युको विषयलाई लिएर दुर्व्यवहार भएको थियो ।

सुदूरपश्चिम प्रदेश

कैलाली प्रतिनिधि मैनामोती चौधरीका अनुसार कोभिड–१९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको निषेध आदेशका कारण गौरीगङ्गा नगरपालिका भित्रका अति विपन्न परिवारलाई खाद्यान्न सङ्कट उत्पन्न भएको भन्दै मानव अधिकार समूह, गौरीगङ्गाले नगरपालिकालाई आवश्यक सहयोग तथा पहल गर्न आग्रह गरेको छ । मानव अधिकार समूह गौरीगङ्गाका नगर संयोजक कृष्ण खड्का, सहसंयोजक टेकराज ओझा र इन्सेकका जिल्ला सहजकर्ता दिपक नेपालीले नगरपालिकाका मेयर भिम देउवा, उपप्रमुख अञ्चला चौधरी र प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रराज जोशीलाई जेठ १७ गते ध्यानाकर्षण पत्र बुझाएर अति विपन्न परिवारको खाद्य अधिकारको सुनिश्चतता गर्न अनुरोध गरिएको इन्सेक कैलाली जिल्ला सहजकर्ता दिपक नेपालीले बताउनु भयो । गौरीगङ्गा नगरपालिकाका मेयर भीम देउवाले यस वर्ष तत्काल राहत बाड्ने योजना नरहेको र जिल्ला प्रशासन कार्यालयले केही दिनभित्रै निषेध आदेश खुकुलो गर्ने जानकारी गराएकोले पनि तत्काल राहतको कार्यक्रम नरहेको बताउँदै आवश्यक भएको खण्डमा छलफल गरेर अतिविपन्न परिवारको खाद्य समस्या समाधान गरिने बताउनु भयो ।

दार्चुला प्रतिनिधि नरेन्द्रसिंह कार्कीका अनुसार जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र, दार्चुलाको जेठ १८ गते बसेको बैठकले कोभिड–१९ रोकथाम तथा नियन्त्रणको कार्यलाई थप प्रभावकारी बनाउन जेठ ३० गतेसम्मका लागि निषेध आदेश थप गरिएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताउनु भयो । कोभिड सङ्कट व्यवस्थापन केन्द्रको जेठ ९ गते बसेको बैठकले जेठ २० गतेसम्मका लागि निषेश आदेश जारी गरेको थियो ।

एक वर्षअघि

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ०७७ जेठ १८ गतेसम्म १ हजार ५ सय ६७ जनामा कोभिड-१९ पुष्टि भएको जनाएको थियो ।

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (२०७७ जेठ १८ गते)


अनलाइन डेस्क