कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ १७ गते)

जेठ १७ गते ४ हजार १ सय ७८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ५ लाख ६१ हजार ३ सय २ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । जेठ १७ गते परीक्षण गरिएकामध्ये २८ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १८.४ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । जेठ १७ गते १९ वर्ष मुनीका ५ सय ७ जनामा कोभिड सङ्क्रमणको पुष्टि भएको छ । गत २४ घण्टामा १५ हजार ५५ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ४ लाख ४७ हजार ४ सय ४४ जना निको भएका छन् । जेठ १७ गते ६ हजार ४ सय ९१ जना निको भएका छन् भने निको हुनेको दर ७९.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । जेठ १७ गतेसम्म ७ हजार ३ सय ८६ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । जेठ १७ गते १ सय १४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आइसोलेशनमा पुष्टि भएका केसहरूको सङ्ख्या भनी सङ्क्रमितको सङ्ख्या १ लाख ६ हजार ४ सय ७० देखाइएको छ ।

Corona Infographics 2078-02-17

मोरङ, सुनसरी, झापा, ओखलढुङ्गा, रौतहट, धनुषा, पर्सा, महोत्तरी, बारा, सप्तरी, सिरहा, सर्लाही, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, दोलखा, कास्की, नवलपरासी पूर्व, गोरखा, तनहुँ, स्याङ्जा, पर्वत, लमजुङ, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, गुल्मी, नवलपरासी पश्चिम, सुर्खेत, सल्यान, दैलेख, डडेल्धुरा, कैलाली, कञ्चनपुर, बैतडी, डोटी र अछाममा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् । गृह मन्त्रालयका अनुसार जेठ १७ गते बिहानसम्म ७५ जिल्लामा पूर्ण तथा आंशिक निषेध आदेश जारी गरिएको छ ।

प्रदेश १

पाँचथर प्रतिनिधि मङ्गल बेघाका अनुसार जिल्लामा जेठ २४ गतेसम्म लागू हुने गरी निषेध आदेशको  समय थप गरिएको छ । जेठ १७ गते राति सकिने निषेध आदेशलाई थप कडाइ गर्दै कोभिड– १९ सङ्कट व्यवस्थापन केन्द्रले एक हप्ता लम्ब्याउने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी धनञ्जयकुमार शाहले बताउनु भयो । थप गरिएको अवधिमा यसअघि सञ्चालनमा रहेका बैङ्क तथा वित्तीय संस्था र अत्यावश्यक सेवा प्रवाह गर्ने पसलहरू समेत बन्द गराउने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी शाहले जानकारी दिनु भयो ।

बागमती प्रदेश

ललितपुर प्रतिनिधि दीपकप्रसाद घिमिरेका अनुसार कोभिड–१९ बाट उत्पन्न वर्तमान सङ्कटको परिस्थितिमा आम नागरिकहरूको स्वास्थ्य उपचारलगायत विभिन्न अधिकारहरूको अवस्था जोखिममा पर्न गएको अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालयहरूबाट यस सम्बन्धमा निरन्तर अनुगमन भइरहेको जेठ १७ गते विज्ञप्ति प्रकाशन गरी आयोगले जनाएको छ । आयोगबाट गरिएको अनुगमनबाट कास्की, मोरङ्ग, झापालगायतका जिल्लाहरुमा अक्सिजन, आइसीयू तथा भेन्टिलेटरको अभावमा व्यक्तिहरुको ज्यान गएको सूचना तथा तथ्यहरु प्राप्त भएको आयोगले जनाएको छ । अग्रपङ्क्तिमा खटिने सबैलाई सङ्घीय सरकार तथा प्रदेश सरकारबाट निर्णय भई जोखिम भत्ताको व्यवस्था भए पनि कतिपय ठाउहरूमा लक्षित वर्गले प्राप्त गर्न नसकेको पाइएको आयोगले जनाएको छ । कोभिड–१९ को महामारीको उपचारारार्थ अहोरात्र खटिएका स्वास्थ्यकर्मीहरु तथा आस्पतालको स्वास्थ्य उपकरणमाथि बिरामीका आफन्तहरूबाट आक्रमण तथा दुर्व्यवहारका घटनाहरु भइरहेकोप्रति आयोगले ध्यानाकर्षण गरेको छ ।

काभ्रेपलाञ्चोक प्रतिनिधि हिरामान लामाका अनुसार पनौती नगरपालिकाले जेठ १७ गते राति १२ बजेदेखि जेठ २२ रातिसम्म सील गर्ने अवधि थप गरिएको नगर प्रमुख भीमप्रसाद न्यौपानेले बताउनु भयो । उहाँका अनुसार तरकारी तथा खाद्यान्न पसल बिहान ६ बजेदेखि ९ बजेसम्म मात्र खोल्न पाइने छ । पनौती नगरपालिकामा जेठ ८ गते राति १२ बजेदेखि जेठ १७ गते राति १२ बजेसम्म सील गरेको थियो ।

गण्डकी प्रदेश

तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार पीसीआर परीक्षणको नाममा सर्वसाधरणसँग महङ्गो शुल्क लिएको आरोपमा व्यास नगरपालिका–२ मालपोत लाइनस्थित समाधान अस्पतालमा जेठ १७ गते जिल्ला प्रशासन कार्यालय तनहुँले छापा मारेको छ । सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको नेतृत्वमा सो अस्पतालको बिल भरपाइ र केही कागजपत्र छानबिनका लागि ल्याएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले बताउनुभयो । उपचारका लागि अस्पतालमा भर्ना भएका बिरामीसँग उक्त अस्पतालले पीसीआर परीक्षणका लागि भन्दै ४ हजार रुपियाँ असुल गरेको सार्वजनिक भएको थियो । यस बारेमा प्रमुख जिल्ला अधिकारीसँग सर्वसाधरणले उजुरी गरेपछि छानबिनका लागि बिल भरपाइ र कागजपत्र लिएर आएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनुभयो । उक्त कागजातबारे अध्ययन गरेपछि सरकारले तोकेकोभन्दा बढी रकम लिएको पुष्टि भए कानुन बमोजिम कारवाही गर्ने उहाँले बताउनुभयो । अस्पतालका संस्थापक श्रीराम चन्द ठकुरीले स्वाब सङ्कलनको क्रममा प्रयोग गर्ने पीपीइ, पोखरासम्म ढुवानी खर्च लगायतको कारणले ४ हजार रुपियाँ लिनु परेको बताउनुभएको छ ।

लुम्बिनी प्रदेश

बाँके जिल्ला कोभिड–१९ सङ्टक व्यवस्थापन समितिको जेठ १६ गते बसेको बैठकले जेठ २४ गतेसम्म निषेध आदेश थप गरेको प्रमुख जिल्ला अधिकारी शिवलाल गेलालले बताउनु भयो ।

रुपन्देही प्रतिनिधि रिमा बिसीका अनुसार लुम्बिनी प्रदेश कोभिड–१९ सङ्क्रमण सङ्कट व्यवस्थापन समितिका अध्यक्ष मुख्यमन्त्री शङ्कर पोखरेलको संयोजकत्वमा जेठ १६ गते बसेको भर्चुअल बैठकले कोभिड नियन्त्रण तथा चेन ब्रेकको लागि जिल्लाहरूमा जारी भएको निषेध आदेश प्रभावकारी रूपमा लागु गर्ने, अनुगमनको व्यवस्था प्रमुख जिल्ला अधिकारीले मिलाउने र परिस्थितिको आँकलन गरी निषेध आदेश हटाउनु पर्ने भएमा प्रदेश सरकारको समन्वयमा मात्र गर्ने निर्णय गरेको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङले नजिकका पहाडी जिल्लाका लागि निःशुल्क पीसीआर परीक्षण गर्ने व्यवस्था मिलाउने यसको लागि आवश्यक व्यवस्था प्रमुख जिल्ला अधिकारीले मिलाउने, निषेध आदेशका कारण बेसहारा नागरिकहरूको राहत सङ्कलन एवम् वितरण कार्य एकद्वार प्रणाली मार्फत गर्न प्रमुख जिल्ला अधिकारीले सम्बन्धित स्थानीय तहसँगको समन्वयमा आवश्यक व्यवस्था मिलाउने पनि निर्णय गरिएको छ । कृषिजन्य बस्तुको उत्पादन, वितरण तथा बजारीकरणमा निषेध आदेशका कारण कुनै समस्या आउन नदिने, आवश्यक बिउ तथा मलको आपूर्तिमा सहजीकरण गर्ने र भन्सार नाका बन्द भएका जिल्लाहरूको लागि नाका खुला भएका जिल्लाहरूसँग समन्वय गरी बिउ, मलको अभाव हुन नदिने प्रबन्ध प्रमुख जिल्ला अधिकारीले मिलाउने  निर्णय भएको छ ।

कपिलवस्तु प्रतिनिधि पार्वती आचार्यका अनुसार जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समिति र जिल्ला सुरक्षा समितिको जेठ १६ गते बसेको बैठकले जिल्लामा जेठ १७ गते राति १२ बजेसम्म जारी निषेध आदेश जेठ २४ गते राति १२ बजेसम्म थप गरेको छ । निषेध आदेशको पालना नगर्नेलाई कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम कारबाही हुने प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताउनु भयो । निषेध आदेशको अवधिमा अत्यावश्यकीय सेवामा भने रोक नलगाइएको प्रमुख जिल्ला अभिकारी पाण्डेले बताउनु भयो ।

गुल्मी प्रतिनिधि टोपलाल अर्यालका अनुसार जिल्ला कोभिड–१९  सङ्कट व्यावस्थापन केन्द्रको जेठ १४ गते बसेको बैठकले जेठ २४ गतेसम्म निषेध आदेश थप गर्ने निर्णय गरेको छे । जिल्लामा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ६ सय ६४ रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । सङ्क्रमणका कारण जिल्लामा ७६ जनाको मृत्यु भइसकेको छ । जिल्लामा हालसम्म १ हजार ४ सय ९२ जना सङ्क्रमित निको भइसकेका  छन् ।

दाङ प्रतिनिधि जयनारायण पुनका अनुसार उच्च अदालत तुलसीपुरले निषेध आदेशको समयमा उपभोक्ताहरूलाई खाद्य बस्तु खरिदका लागि दिइएको समय कम हुँदा भीडभाड बढेर थप सङ्क्रमण फैलिएको भन्दै उपभोग्य बस्तु खरिदका लागि समयमा हेरफेर गर्न परमादेश जारी गरेपछि कोभिड–१९ सङ्कट व्यवस्थापन समिति दाङले उपभोग्य बस्तु खरिदको समय थप गरेको छ । यस अघि हप्तामा दुई दिन आइतबार र बुधवार बिहान ७ देखि ८ बजेसम्म उपभोग्य बस्तु खरिदको समय तोकेको थियो । उच्च अदालतको आदेश पछि प्रत्येक दिन बिहान ६ बजेदेखि ८ बजेसम्म उपभोग्य वस्तु खरिदका लागि समय निर्धारण गरेको समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताउनु भयो । यसैगरी, जिल्लामा निषेध आदेश जेठ २५ गतेसम्म थप गरिएको छ । कोभिड सङ्कट व्यवस्थापन समितिको जेठ १६ गतेको निर्णय अनुसार निषेध आदेशको समय थप गरिएको हो ।

सुदूरपश्चिम प्रदेश

बैतडी प्रतिनिधि नरिदत्त बडुका अनुसार कोभिड–१९ सङ्क्रमण न्यूनीकरण तथा रोकथामका लागि निषेध आदेशलाई थप कडाइ गरिएको छ । जेठ १७ गतेदेखि जिल्ला भित्रिने खाद्यान्न बोकेका गाडीहरूलाई बिहान ६ बजेदेखि साँझ सात बजेसम्म मात्रै सञ्चालन गर्न दिइने र खाद्यान्न बोकेका गाडीमा सवार व्यक्क्तिहरूको खोड्पेमा एन्टिजीन परीक्षण गरेर मात्रै जिल्ला भित्रिन दिइने निर्णय भएको जिल्ला प्रशासन कार्यालय, बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले बताउनु भयो । उहाँले भन्नुभयो– ‘अत्यावश्यक सवारी सधान बाहेक तराईबाट खाद्यान्न तथा तरकारी बोकेर जिल्ला भित्रिने गाडीमा सवार व्यक्तिहरूको अनिवार्य रूपमा एन्टिजीन परीक्षण गर्ने व्यवस्था मिलाएका छौँ । रिपोर्ट नेगेटिभ आएमात्रै जिल्ला भित्रिन दिने र पोजेटिभ रिपोर्ट आएकाहरूलाई क्वारेण्टाइनमा राख्ने व्यवस्था मिलाइएको छ । जिल्लामा जेठ ३१ गते राति १२ बजे सम्मका लागि निषेध आदेश समेत थप गरिएको भारतीले बताउनु भयो ।

दार्चुला प्रतिनिधि नरेन्द्रसिंह कार्कीका अनुसार जिल्लामा जेठ २० गतेसम्म निषेध आदेश जारी गरिएको भएपनि निषेध आदेशको उल्लङ्घन गरी नेपाल–भारत जोड्ने खलङ्गा पुलघाट नाकाबाट व्यापारी तथा स्थानीयहरूको भिडभाड रोकिएको छैन । जिल्लामा वैशाख २५ गतेबाट निषेध आदेश जारी गरेपछि भारतले धार्चुला बजार प्रवेश गर्र्र्ने व्यक्तिहरूबाट अनिवार्य रूपमा कोभिड रिपोर्ट माग्ने गरेको थियो । तर, पछिल्लो समय मनपरी रूपमा आवतजावत गर्न दिँदा सीमामा भिडभाड बढ्न गई कोभिड सङ्क्रमणको जोखिम बढेको पत्रकार भोजराज जोशीले बताउनु भयो ।  जेठ १७ गते भारतले सीमा नाका एकतर्फी बन्द गरेपछि नेपालतर्फबाट भारतीय बजार धार्चुला जानेहरू बिच पुलमै केही समय अड्किएका समेत थिए । यसरी भीडभाड बढ्दा कोभिड सर्ने जोखिम धेरै भएकाले निषेश आदेशको पूर्ण पालना गराउन र आवतजावतमा रोक लगाइनु पर्ने देखिएको छ ।

बाजुरा प्रतिनिधि पदमबहादुर सिंहका अनुसार निषेध आदेशका क्रममा जिल्लास्थित विभिन्न बजारहरूमा  कालोबजारी तथा निषेध आदेशको उल्लङ्घन बढ्दै गएको जनगुनासो आएपछि जेठ १७ गते अनुगमन गर्दा  बुढीगङ्गा नगरपालिकाको ताप्री सेरा र बाम्काका बजारमा आठ जना व्यापारीले निषेध आदेश उल्लङ्घन गरेको पाइएपछि उनीहरूलाई तीन दिन भित्र जिल्ला प्रशासन, कार्यालयमा उपस्थिति हुन निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारीले बताउनु भयो । जिल्ला प्रशासन कार्यालय, बाजुरा र घरेलु तथा साना उद्योग कार्यालय, बाजुराको संयुक्त बजार अनुगमनका क्रममा नियमको अवेज्ञा गरेको पाइएकोले आठ जना व्यापारीहरूलाई तीन दिन भित्र प्रशासनमा उपस्थित हुन निर्देशन दिइएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख मानबहादुर चाडले बताउनु भयो ।

एक वर्षअघि

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ०७७ जेठ १७ गतेसम्म १ हजार ४ सय ४ जनामा कोभिड-१९ पुष्टि भएको जनाएको थियो ।

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (२०७७ जेठ १७ गते)


अनलाइन डेस्क