कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ १५ गते)

जेठ १५ गते ४ हजार ३ सय ११ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ५ लाख ५३ हजार ४ सय २२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । जेठ १५ गते परीक्षण गरिएकामध्ये ३१ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १८.३ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । जेठ १५ गते १९ वर्ष मुनीका ५ सय १६ जनामा कोभिड सङ्क्रमणको पुष्टि भएको छ । गत २४ घण्टामा १४ हजार ६ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ४ लाख ३४ हजार ७ सय ५० जना निको भएका छन् । जेठ १५ गते ६ हजार ८० जना निको भएका छन् भने निको हुनेको दर ७८.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । जेठ १५ गतेसम्म ७ हजार १ सय ६३ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । जेठ १५ गते १ सय १६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आइसोलेशनमा पुष्टि भएका केसहरूको सङ्ख्या भनी सङ्क्रमितको सङ्ख्या १ लाख ११ हजार ५ सय ९ देखाइएको छ ।

Corona Infographics 2078-02-15

मोरङ, सुनसरी, झापा, धनकुटा, ओखलढुङ्गा, रौतहट, धनुषा, पर्सा, महोत्तरी, बारा, सप्तरी, सिरहा, सर्लाही, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, दोलखा, कास्की, नवलपरासी पूर्व, गोरखा, तनहुँ, स्याङ्जा, पर्वत, लमजुङ, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, गुल्मी, नवलपरासी पश्चिम, रोल्पा, सुर्खेत, सल्यान, दैलेख, डडेल्धुरा, कैलाली, कञ्चनपुर, बैतडी, डोटी र अछाममा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् । गृह मन्त्रालयका अनुसार जेठ १५ गते बिहानसम्म ७५ जिल्लामा पूर्ण तथा आंशिक निषेध आदेश जारी गरिएको छ ।

प्रदेश १

सोलुखुम्बु प्रतिनिधि भोजराज कार्कीका अनुसार नेचासल्यान गाउँपालिकामा थप एक साता बजार बन्द गरिने भएको छ । कोभिडको जोखिम कायम रहेकाले स्थानीय सरकारको समन्वयमा जेठ २२ गतेसम्म बजार बन्द हुने उद्योग वाणिज्य सङ्घ नेचा सल्यानले जनाएको छ । बजार खुल्ला भएको अवस्थामा समुदायस्तरमा कोभिडको जोखिम उच्च भएकाले बन्द गर्नुको विकल्प नभएको उद्योग वाणिज्य सङ्घ नेचा सल्यानका सचिव प्रकाश कटेलले जानकारी दिनुभयो ।

सुनसरी प्रतिनिधि जयकृष्ण यादवका अनुसार ४० वर्षीया महिलालाई अस्पतालले भर्ना नलिदाँ मृत्यु भएको छ । उनलाई तीन दिनदेखि ज्वरो आएकोमा जेठ १४ गते दिउँसोदेखि श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि इनरूवा अस्पताल लैजाँदा अस्पतालले ‘पीसीआर गरेको छैन । लक्षण कोभिडसँग मिल्दोजुल्दो छ । यहाँ उपचार हुँदैन’–भनी भर्ना लिन मानेन । त्यसपछि बिरामीका दुई जना छोराले साँझमा उपचार गर्न नोवेल अस्पताल विराटनगर लिएर गए । नोवेलको मुलगेट बाहिर स्वास्थ्यकर्मीको टिमले अक्सिजन लेवल नाप्दा ८९ मात्रै रहेको मृतकका छोराले बताए । ‘यहाँ अक्सिजन र बेड खाली छैन’ अन्य अस्पतालमा लैजानु भनी गेटबाटै फर्काइदिइएको पीडित परिवारको भनाइ छ । विराटनगरका अन्य अस्पतालमा लैजाँदा सबै अस्पतालले अक्सिजन र बेड छैन भन्दै फर्काइदिएपछि ती महिलालाई राति फर्काएर घर लिएर आएपछि जेठ १५ गते बिहानपख मृत्युु भएको पत्रकार राजेन्द्र पोखरेलले जानकारी दिनुभएको छ । इनरुवा अस्पतालका डाक्टर सतोश राईले आफूलाई त्यसबारेमा थाहा नभएको प्रतिकृया दिनुभयो । इनरुवामा कोभिड अस्पताल भएको दावी गरिएपनि सञ्चालनमा नआएकाले यो साता तीन जनाले अकालमै ज्यान गुमाएको स्थानीय दिलिपचन्द साहुको आरोप छ ।

बागमती प्रदेश

भक्तपुर प्रतिनिधि रमेश गिरीका अनुसार कोभिडको सङ्क्रमण तीव्र रूपमा बढेपछि नगरकोट क्षेत्र सील गरिएको छ । चाँगुनारायण नगरपालिका–६ का वडा अध्यक्ष सन्ते वाईवाले नगरकोटस्थित भट्टेडाँडा आसपासको क्षेत्र र बजार क्षेत्र पुरै सील गरिएको बताउनुभयो । काभ्रेपलाञ्चोकको सिमानामा पर्ने नगरकोटको यो क्षेत्रसँगै मन्डन देउपुरमा पनि कोभिड सङ्क्रमण तीव्र भएपछि उक्त क्षेत्र पनि सील भएको छ । जेठ १५ गतेदेखि जेठ २१ गतेसम्मका लागि नगरकोट क्षेत्र सील गरिएको वडाध्यक्ष वाइवाले बताउनुभयो । यो क्षेत्रमा औषधि, इन्धनबाहेकका सबै पसल र उद्योगहरू बन्द गर्नुको साथै सो अवधिमा दुध सङ्कलन तथा विक्री गर्ने डेरीहरू समेत पूर्ण रुपमा बन्द गरिएको छ ।

गण्डकी प्रदेश

गोरखा प्रतिनिधि हरिराम उप्रेतीका अनुसार गोरखा अस्पतालमा सुविधा सम्पन्न १५ बेड एचडियु सञ्चालनमा आएको छ । सञ्चालन गरिएको  १५ बेडमध्ये १० बेडमा पाइपलाइन विस्तार गरी अक्सिजन जडान गरिएको छ । निर्माणाधिन अस्पतालको क्याण्टिन ब्लकमा ठाउँ व्यवस्थापन गरी एचडीयू बेड सञ्चालनमा ल्याएको गोरखा अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले बताउनुभयो । एचडीयू बेड तत्कालका लागि कोभिडका बिरामीका लागि मात्र प्रयोग गरिने उहाँको भनाइ छ । २८ ओटा बेड एचडीयू गोरखा अस्पतलालाई गण्डकी प्रदेश सरकारले उपलब्ध गराएको भएपनि ठाउँ अभावमा अन्य एचडीयू तत्काल जडान गर्न नसकिएको उहाँले बताउनुभयो । भूकम्पले भत्काएको गोरखा अस्पताल भवन निर्मणको अन्तिम चरणमा छ । हाल कर्मचारी आवास गृहको भवनबाट अस्पतालले सेवा प्रदान गर्दै आएको छ । जेठ १५ गतेबाट अक्सिजन प्लाण्ट पनि सञ्चालनमा आएको छ । प्लाण्टबाट प्रति मिनेट ८० लिटर अक्सिजन उत्पादन गर्ने सूचना अधिकारी ढकालले बताउनुभयो । प्लाण्टबाट उत्पादन भएको अक्सिजन पाइपलाइन विस्तार गरी एचडीयू बेडमा जडान गरिएको छ ।

लुम्बिनी प्रदेश

प्यूठान प्रतिनिधि रविन्द्र पाण्डेका अनुसार कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको जेठ १४ गते बसेको बैठकले जेठ ३१ गतेसम्म निषेध आदेश थप गरेको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताउनु भयो । यस अवधिमा स्थाानीय तहहरूमा विकास निर्माणका काम, किसानहरूले स्वास्थ्य मापदण्ड अपनाएर काम गर्न समेत बैठकले आग्रह गरेको छ । जिल्लामा पहिलो पटक वैशाख १८ गतेदेखि निषेध आदेश लगाइएको  थियो । हाल जिल्लामा कोभिडका ३ सय ६४ जना सक्रिय सङ्क्रमित रहेका छन् भने दोस्रो लहरको सङ्क्रमणबाट ४१ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत पुष्कल श्रेष्ठले बताउनु भयो ।

गुल्मी प्रतिनिधि टोपलाल अर्यालका अनुसार कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको जेठ १४ गतेको निर्णयले जेठ २४ गतेसम्म निषेध आदेश थप गरेको छ । हाल जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ६ सय ६४ रहेको स्वास्थ्य कार्यालयले  जनाएको छ । सङ्क्रमणकाबाट जिल्लामा ७६ जनाको मृत्यु भइसकेको छ । जिल्लामा हालसम्म १ हजार ४ सय ९२ जना सङ्क्रमित निको भएका छन् । गुल्मी अस्पतालमा अक्सिजन प्लाण्ट निर्माणका लागि टेण्डर आह्वान गरिएको छ । प्लाण्टको लागि नेपाल पत्रकार महासङ्घ गुल्मीको अक्सिजन अभियानबाट ६० लाख र नेपाल सरकारबाट १ करोड रुपियाँ बजेट विनियोजन गरिएको छ । यसैगरी, गुल्मी अस्पतालमा पाँच बेडको आइसियु निर्माणका लागि २ करोड रुपियाँ बजेट विनियोजन भएको छ ।

सुदूरपश्चिम प्रदेश

बैतडी प्रतिनिधि नरीदत्त बडुका अनुसार कोभिडका बिरामीहरूलाई परीक्षण र परामर्श सेवा सहज बनाउनका लागि  शिवनाथ गाउँपालिका वडा नम्बर ६ स्थित पालिकाकै भवनमा डाक्टर सहित पाँच शैयाको कोभिड अस्थायी अस्पताल सञ्चालनमा ल्याइएको गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले बताउनु भयो । अस्थायी कोभिड अस्पतालमा डाक्टर सहित एक जना स्टाफ नर्स पनि खटाइएकोले पालिकावासीलाई स्वास्थ्य सेवा लिन सहज हुने अपेक्षा गरिएको शिवनाथ गाउँपालिकाका उपाध्यक्ष कुस्मा चन्दले बताउनु भयो । हालसम्म शिवनाथ गाउँपालिकामा १४ जना कोभिडका सक्रिय सङ्क्रमित रहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र महताले बताउनु भयो ।

डोटी प्रतिनिधि वाशुदेव जोशीका अनुसार कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको जेठ १४ गते बसेको बैठकले जेठ २२ गतेसम्मका लागि निषेध आदेश थप गरिएको सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताउनु भयो । निषेध आदेश उल्लङ्घन गरिएको खण्डमा ऐन, नियम र कानुन अनुसार कारबाही गरिने समेत जिल्ला प्रशासन कार्यालय, डोटीले जनाएको छ ।

डडेल्धुरा प्रतिनिधि भूपेन्द्र बिष्टका अनुसार कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको जेठ १५ गते बसेको बैठकले जिल्लामा जारी निषेध आदेश जेठ २२ गतेसम्म थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताउनु भयो । निषेध आदेशका क्रममा खाद्य सामग्रीका पसल र बैङ्क तथा वित्तिय संस्थाहरू अर्को आदेश नभएसम्मका लागि सातामा तीन दिन आइतबार, मङ्गलबार र बिहीबार सञ्चालन गर्ने निर्णय समेत गरिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनु भयो ।

दार्चुला प्रतिनिधि नरेन्द्रसिंह कार्कीका अनुसार दोस्रो चरणको कोभिड भाइरसका कारण सरकारले जारी गरेको निषेध आदेशका कारण दैनिक मजदुरी गरी जिविकोपार्जन गर्ने परिवारलाई दैनिक छाक टार्नै मुस्किल हुँदै गएको छ । पहिलो चरणको कोभिड सङ्क्रमणका बेला भएको बन्दाबन्दीको समयमा स्थानीय सरकार, सङ्घसंस्थाले यहाँका मजदुरी गरी खाने वर्गलाई खाद्यान्न लगायतका राहत सामग्री वितरण गरेको भएपनि यसपटकको निषेध आदेशका क्रममा कसैले पनि राहत नदिएका कारण आफूहरूलाई विहानबेलुकीको हातमुख जोड्न मुस्किल पर्दै आएको नौगाड गाउँपालिका घर भइ हाल महाकाली नगरपालिकाको महाकाली नदीको छेउमा गिट्टी कुट्दै गरेकी धाना ठगुन्नाले बताउनु भयो । सरकारले निषेध आदेश जारी गरेपछि आफूहरूले गर्दै आएको मजदुरी नै नपाएपछि घर खर्च चलाउन समस्या भएको महाकाली नगरपालिका–३ की जसुली महराले दुःखेसो पोख्नु भयो । उहाँले भन्नुभयो– ‘यसभन्दा अगाडी बिहान झोलुङ्गे पुलको गेट खुलेपछि भारतको धार्चुलामा मजदुरी गर्थे । निषेध आदेशका कारण मजदुरी नै बन्द भएपछि बिहान–बेलुकीको छाक टार्न समस्या भएको छ ।’ पुर्चुयौडी घर भएका विनोद बोहरा नेपाल–भारत आवतजावत गर्ने मानिसहरूका भारी बोकेर जीवन निर्वाह गर्थे । हाल निषेध आदेशका कारण बजार बन्द हुँदा भारी बोक्ने काम पाउन नसक्दा आफ्नो र परिवारको खर्च चलाउन समस्या भएको र बिहान बेलुका नै भोकै बस्नु पर्ने बाध्यता रहेको बोहराले दुःखेसो पोख्नु भयो  ।

जिल्ल्ला कारागार, दार्चुलामा रहेका ५७ जना कैदीबन्दीमध्ये ३१ जना कैदीबन्दीलाई कोभिडविरुद्धको दुवै चरणको खोप लगाइएको जेलर विरेन्द्रसिंह धामीले बताउनु भयो । गत वर्ष कारागारमा कोभिड सङ्क्रमण देखिएसँगै यो पटक जिल्ला कारागारभित्र कोभिड फैलिन नदिन वैशाख १३ गतेबाट भेटघाट बन्द समेत गरिएको जेलर धामीको भनाइ छ ।

त्यसैगरी, जिल्लाका नौ ओटा स्थानीय तहमध्ये एक नगरपालिकासहित ६ ओटा स्थानीय तह क्रमशः नौगाड गाउँपालिका, लेकम गाउँपालिका, मार्मा गाउँपालिका, मालिकार्जुन गाउँपालिका, अपिहिमाल गाउँपालिका, दुहुँ गाउँपालिका र  महाकाली नगरपालिकाले  पछिल्लो समय आफ्ना वडामा रहेका नागरिकहरूको घरैमा गएर कोभिड परीक्षण गर्नुका साथै औषधि वितरण तथा परामर्श सेवा थालेका छन् । कोभिड रोकथाम नियन्त्रणका लागि घरदैलो अभियान चलाएका छन् । गाउँ–गाउँमा ज्वरो र रुघाखोकीका बिरामी बढेपछि स्थानीय तहहरूले स्वास्थ्यकर्मी खटाएका हुन् ।

बाजुरा प्रतिनिधि पदमबहादु सिंहका अनुसार जिल्लामा एन्टिजीन प्रविधिबाट गरिएको परीक्षणमा पछिल्लो २४ घण्टामा कोभिड सङ्क्रमितको सङ्ख्या शून्य भएको जिल्ला स्वास्थ्य कार्यालय, बाजुराले जनाएको छ । पछिल्लो २४ घण्टामा पाँच जनाको मात्र परीक्षण गरिएकोमा सबै जनाको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय, बाजुराका निमित्त कार्यालय, प्रमुख महेश चन्दले बताउनु भयो । उहाँले भन्नुभयो– जिल्लामा कोभिड सङ्क्रमितको सङ्ख्या ४ सय ७५ जना रहेका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या १ सय ८८ रहेको छ । तर, वैशाख १५ गते गरिएको परीक्षणमा सबै रिपोर्ट नेगेटिभ आएको छ ।’ कोभिड सङ्क्रमणबाट सात जनाको मृत्यु भएको र निको हुनेको सङ्ख्या २ सय ८० पुगेको चन्दले बताउनु भयो ।

एक वर्षअघि

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ०७७ जेठ १५ गतेसम्म १ हजार ४२ जनामा कोभिड-१९ पुष्टि भएको जनाएको थियो ।

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (२०७७ जेठ १५ गते)


अनलाइन डेस्क