कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ १४ गते)
जेठ १४ गते ६ हजार ८ सय ५५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ५ लाख ४९ हजार १ सय ११ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । जेठ १४ गते परीक्षण गरिएकामध्ये ३५ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १८.२ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । जेठ १४ गते १९ वर्ष मुनीका ८ सय १६ जनामा कोभिड सङ्क्रमणको पुष्टि भएको छ । गत २४ घण्टामा १९ हजार ३ सय १३ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ४ लाख २८ हजार ६ सय ७० जना निको भएका छन् । जेठ १४ गते ९ हजार ८ सय ४१ जना निको भएका छन् भने निको हुनेको दर ७८.१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । जेठ १४ गतेसम्म ७ हजार ४४ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । जेठ १४ गते ९६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आइसोलेशनमा पुष्टि भएका केसहरूको सङ्ख्या भनी सङ्क्रमितको सङ्ख्या १ लाख १३ हजार ३ सय ९४ देखाइएको छ ।
मोरङ, सुनसरी, झापा, धनकुटा, रौतहट, धनुषा, पर्सा, महोत्तरी, बारा, सप्तरी, सिरहा, सर्लाही, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, दोलखा, कास्की, नवलपरासी पूर्व, गोरखा, तनहुँ, स्याङ्जा, म्याग्दी, पर्वत, लमजुङ, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, गुल्मी, नवलपरासी पश्चिम, रोल्पा, सुर्खेत, सल्यान, दैलेख, डडेल्धुरा, कैलाली, कञ्चनपुर, बैतडी, डोटी र अछाममा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् । गृह मन्त्रालयका अनुसार जेठ १४ गते बिहानसम्म ७५ जिल्लामा पूर्ण तथा आंशिक निषेध आदेश जारी गरिएको छ ।
प्रदेश १
धनकुटा प्रतिनिधि ईश्वर थापाका अनुसार जिल्ला प्रशासन कार्यालय धनकुटाले जेठ १४ गते एक सूचना जारी गरी जेठ १५ गते राति १२ बजेबाट लागु हुने गरी जेठ २६ गते राति १२ बजेसम्म धनकुटा जिल्लाभर लागु हुने गरी निषेध आदेश पुनः थप गरिएको छ । कुनैपनि कार्य गर्दा कोभिड–१९ को स्वास्थ्य मापदण्डको पूर्ण रूपमा पालना गर्नुपर्ने उक्त सूचनामा उल्लेख भएको प्रमुख जिल्ला अधिकारी बासुदेब दाहालले बताउनुभयो ।
सुनसरी प्रतिनिधि जयकृष्ण यादवका अनुसार जिल्ला प्रशासन कार्यालय सुनसरीले थप एक साताका लागि निषेध आदेश थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीमा जेठ १४ गते बसेको डिसिसिएमसीको बैठकले निषेध आदेशको अवधि जेठ २२ गतेसम्मको लागि थप गर्ने निर्णय गरेको हो । यसअघि सुनसरीमा जेठ १५ गते राती १२ बजेसम्मका लागि निषेध आदेश जारी गरिएको थियो । पछिल्लो समय सुनसरीमा कोभिड सङ्क्रमणको दर तीव्र रूपमा वृद्धि भइरहेकोमा निषेध आदेश जारी गरिएपछि ‘चेन ब्रेक’ भएको निश्कर्षसहित निषेध आदेशको अवधि जेठ २२ गतेसम्मको लागि थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो ।
प्रदेश २
सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार कोभिड–१९ को सङ्क्रमण नियन्त्रणमा नआएपछि वैशाख ३१ गतेदेखि सील गरिएको कञ्चनरूप नगरपालिका क्षेत्रमा पुनः ६ दिनका लागि सीलको अवधि थप गरिएको छ । जिल्लाभरका स्थानीय तहमध्ये कोभिड–१९ को दोस्रो लहरमा सबैभन्दा बढी सङ्क्रमित र मृत्यु भएको कञ्चनरूप नगरपालिकामा जेठ १४ गतेदेखि जेठ १९ गतेसम्मका लागि सील गर्ने अवधि थप गरिएको निमित्त प्रशासकीय अधिकृत नवराज खडकाले जानकारी दिनुभयो । नगरपालिकाका प्रमुख बसन्तकुमार मिश्रका अनुसार सर्वपक्षीय भेलाको निर्णय अनुसार नगरपालिका र वडा कार्यालयबाट सेवा प्रदान हुने स्वास्थ्य सेवाको अति आवश्यक सेवाबाहेक सम्पूर्ण सेवा बन्द रहने छ ।
बारा प्रतिनिधि भोलानाथ पौडेलका अनुसार जिल्ला प्रशासन कार्यालय बाराले एक सूचना जारी गरी जेठ १६ गतेदेखि २२ गतेसम्म बारा जिल्ला भर लागु हुने गरी निषेध आदेश पुनः थप गरिएको छ । कोभिड–१९ रोग सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि सङ्क्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ ले दिएको अधिकार प्रयोग गरी जारी गरिएको आदेश पालना नगरेमा कडा कारवाही गरिने प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताउनुभयो ।
बागमती प्रदेश
सिन्धुपाल्चोक प्रतिनिधि नातिबाबु धितालका अनुसार कोभिडको सङ्क्रमण दर बढेकाले रोकथाम र नियन्त्रणका लागि सङ्क्रामक रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जेठ १४ गतेदेखि जेठ २१ गतेसम्म निषेध आदेशको अवधि थप गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी बावुराम खनालद्वारा जेठ १३ गते जारी आदेशमा निषेध आदेश पालन गर्न आग्रह गरिएको छ । यसअघि पनि जिल्ला प्रशासन कार्यालयले जेठ १ गतेदेखि जेठ १४ गतेसम्म निषेध आदेश जारी गरेको थियो ।
दोलखा प्रतिनिधि उद्धव पोखरेलका अनुसार दोलखामा जारी निशेध आदेश जेठ २२ गतेसम्मका लागि थप गरिएको छ । जिल्ला समन्वय समिति दोलखाको सहजीकरणमा जेठ १४ गते सम्पन्न डिसिसिएमसी दोलखा र सबै स्थानीय तहहरूको संयुक्त बैठकले जारी निशेध आदेश अझ कडाइका साथ जेठ २२ गतेसम्मका लागि थप गर्ने निर्णय गरेको हो । यसैगरी बैठकले जिल्ला बाहिरबाट दोलखा प्रवेश गर्न चाहनेले ७२ घण्टा भित्र पीसीआर परीक्षण गरिएको नेगेटिभ रिपोर्ट अनिवार्य देखाउनु पर्ने निर्णय गरेको छ ।
भक्तपुर प्रतिनिधि रमेश गिरीका अनुसार उचित स्वास्थ्य परामर्श नपाउँदा र भन्ने बित्तिकै अस्पतालमा बेड नपाउँदा कोभिड सङ्क्रमितको होम आइसोलेशनमा नै ज्यान जान थालेको छ । सरकारले सङ्क्रमितलाई होम आइसोलेशनमा नै बस्न र गाह्रो भए, श्वास प्रश्वासमा समस्या आए मात्रै अस्पताल जान भनेपछि अधिकांश सङ्क्रमित होम आइसोलेशनमा बस्ने गरेका छन् । स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले होम आइसोलेशनमा रहेका सक्रिय सङ्क्रमितमध्ये ३१ जनाको घरमा नै मृत्यु भएको जानकारी दिनुभयो । त्यसमध्ये वैशाखदेखि हालसम्म २१ सङ्क्रमितको होम आइसोलेशनमा मृत्यु भएको उहाँ बताउनु हुन्छ । यो सङ्ख्या सङ्क्रमण पुष्टि भएर होम आइसोलेशनमा बसेकाहरूको मात्रै हो । कतिपयले कोभिड सङ्क्रमणको लक्षण देखिए पनि पिसिआर परीक्षण नगर्ने र सामान्य रुघाखोकीको ज्वरो हो भनेर बस्दा घर मै ज्यान जाने सङ्क्रमितको तथ्याङ्क कार्यालयले राख्दैन । भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेण्डेण्ट डाक्टर सुमित्रा गौतमले भाइरससँग मिल्ने लक्षण देखिँदा र सङ्क्रमित व्यक्तिसँग सम्पर्कमा रहेकाले पिसिआर परीक्षण नगरी घरमा बस्दा ज्यान जोखिममा पर्न सक्ने बताउनु हुन्छ ।
गण्डकी प्रदेश
तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भटटराईका अनुसार जिल्लामा जारी निषेध आदेश जेठ २२ गतेसम्म लम्बिएको छ । जेठ १४ गते बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठकले जेठ २२ गते राति १२ बजेसम्म जिल्ल भर निषेध आदेश लम्ब्याउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो । यसअघि वैशाख २२ गतेबाट जारी निषेध आदेश वैशाख ३१ गतेसम्म र त्यसपछि जेठ १५ गतेसम्मको लागि थपिएको थियो । सरकारले कोभिड नियन्त्रणको लागि अध्यादेश समेत जारी गरिसकेको हुँदा उक्त अध्यादेशको पूर्ण पालना गर्न जिल्लाबासीलाई अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी बरालले बताउनुभयो । निषेध आदेश तथा अध्यादेशमा उल्लेखित मापदण्ड तथा कानुनहरुको उल्लङ्घन गरेमा कानुन बमोजिम कारवाही गरिने बरालले बताउनुभयो ।
पर्वत प्रतिनिधि सन्तोष थापाका अनुसार जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको जेठ १३ गते बसेको बैठकले जेठ २२ गते रातिसम्म लागु हुने गरी निषेध आदेशका लागि सिफारिस गर्ने निर्णय गरेको हो । समितिको सिफारिसमा प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले निषेध आदेशको आदेश जारी गर्नुभएको हो । यसअघि जेठ ७ गतेदेखि जेठ १५ गते सम्मका लागि निषेध आदेश जारी गरेको भएपनि नयाँ अध्यादेश अनुसार संशोधन सहित थप कडाइ गरेको हो ।
कास्की प्रतिनिधि सुशन घिमिरेका अनुसार जिल्ला प्रशासन कार्यालय कास्कीले जेठ २१ गतेसम्म निषेध आदेश थप गरेको छ । प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को जेठ १३ गतेको निर्णयका आधारमा सङ्क्रामक रोग ऐन बमोजिम निषेध आदेश थप गर्नुभएको हो ।
गोरखा प्रतिनिधि हरिराम उप्रेतीका अनुसार जिल्लामा जेठ २५ गते राति १२ बजेसम्म निषेध आदेश लम्ब्याइएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको जेठ १४ गते बसेको बैठकको सिफारिसमा प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले थप १० दिन निषेध आदेश जारी गर्नुभएको हो । यसअघि जेठ १५ गते राति १२ बजेसम्म निषेध आदेश जारी गरिएको थियो । सङ्क्रमणको दर बढेकाले निषेध आदेशलाई निरन्तरता दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका अधिकृत हर्क रोकाले बताउनुभयो । निषेध आदेशको अवधिमा कन्ट्याक्ट ट्रेसिङलाई तिव्रता दिन स्थानीय तहलाई आग्रह गरिएको छ । बारपाक सुलिकोट गाउँपालिकामा जेठ १४ गतेबाट कोभिड परीक्षण सुरु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालय गोरखा र गाउँपालिकाकाबाट खटिएका स्वास्थ्यकर्मी सहितको टोलीले बारपाकमा कोभिड परीक्षण सुरू गरेका हुन् । कोभिडसँग मिल्दोजुल्दो लक्षण भएका बिरामीको सङ्ख्या बढेपछि डाक्टर सहितको स्वास्थ्यकर्मीको टोली बारपाक खटाइएको हो । स्थानीयहरूले कोभिड परीक्षण गर्न नमान्ने भएकाले सचेतना दिँदै परीक्षण थालिएको हो ।
नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) प्रतिनिधि तिर्थराज डुम्रेका अनुसार जिल्लामा १० दिन निषेध आदेश थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) का प्रमुख जिल्ला अधिकारीले जेठ १३ गते सूचना प्रकाशन गर्दै जेठ १४ गते राति १२ बजेदेखि जेठ २४ गतेसम्म निषेध आदेश थप भएको छ । यसअघि जेठ १४ गतेसम्म निषेध आदेश जारी गरिएको थियो ।
स्याङजा प्रतिनिधि तिलकुमारी थापाका अनुसार स्याङ्जामा कोभिड सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेपछि जिल्ला सङ्कट व्यवस्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको जेठ १४ गते बसेको बैठकले निषेध आदेश जारी गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जेठ २५ गतेसम्म जिल्लाभर निषेध आदेश थप गरेको छ । प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले सूचना जारी गर्दै पहिलोपटक वैशाख २१ गतेदेखि वैशाख ३१ गतेसम्म, दोस्रोपटक जेठ १ गतेदेखि जेठ १५ गतेसम्मका लागि जारी निषेध आदेश पुनः जेठ २५ गतेसम्मका लागि जारी गरिएको बताउनुभएको छ ।
बागलुङ प्रतिनिधि सिर्जना पन्तका अनुसार बागलुङमा थप एक साता निषेध आदेश थपिने भएको छ । जेठ १४ गते जिल्ला कोभिड सङ्कट व्यवस्थापन समिति (डिसिसिएमसी) को बैठकले थप एक साता निषेध आदेश जारी गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय बागलुङका सूचना अधिकारी दीपक पौडेलले जानकारी दिनुभयो । जिल्लामा कोभिड सङ्क्रमितको दर बढेकाले प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले जेठ २२ गतेसम्मका लागि निषेध आदेश थप गर्ने निर्णय गरेको हो । बागलुङमा वैशाख २१ गतेदेखि निषेध आदेश जारी भएको हो ।
म्याग्दी प्रतिनिधि अमृतप्रसाद पौडेलका अनुसार मुस्ताङको तल्लो भेगका तीन ओटा स्थानीय तहमा आगामी जेठ २२ गतेसम्मका लागि निषेध आदेश जारी गरिएको छ । यसअघि जेठ १५ गतेसम्मका लागि जारी गरिएको निषेध आदेशको अवधि जेठ १४ गते थप सात दिन थप्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले बताउनुभयो । थासाङ गाउँपालिका, घरपझोङ गाउँपालिका र बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिका क्षेत्रभर स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) र सङ्क्रामक रोग ऐन २०२० को दफा २ बमोजिम गत वैशाख ३० गतेदेखि जेठ १५ गतेसम्म गरिएको निषेध आदेश जेठ १४ गते बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकले सात दिन थप गर्ने निर्णय गरेको हो । चर्चित धार्मिक स्थल मुक्तिनाथ मन्दिरमा नित्य पुजा बाहेकका अन्य गतिविधि समेत जेठ २२ गतेसम्मका लागि निषेध गरिएको छ ।
सुदूरपश्चिम प्रदेश
दार्चुला प्रतिनिधि नरेन्द्रसिंह कार्कीका अनुसार जिल्लास्थित स्थानीय तहमा बनेका आइसोलेशनहरू प्रयोगविहिन अवस्थामा रहेको पाइएको छ । अधिकांश कोभिड सङ्त्रलमित होम आइसोलेशनमा बसेकाले स्थानीय तहमा बनाइका आइसोलेशन प्रयोगविहिन अवस्थामा रहेका हुन् । महाकाली नगरपालिकाले वडा नम्बर ४ स्थित महेन्द्र नमूना माविको विद्यालयमा बनाएको ५० बेडको आइसोलेशन प्रयोगविहिन रहेको छ । आइसोलेशनमा सङ्क्रमितलाई आवश्यक पर्ने सबै व्यवस्थापन गरिएको भएपनि सङ्क्रमितहरू घरमै बस्ने गरेका कारण आइसोलेशन प्रयोगविहिन रहेको स्वास्थ्य संयोजक मोहन महराले बताउनु भयो ।
यसैगरी, दुहुँ गाउँपालिकाले पनि गाउँपालिकाका दुई ठाउँमा स्थान क्रमशः वडा नम्बर ४ धारीमा सात र वडा नम्बर २ को हिकिलामा पाँच शैयाको आइसोलशन निर्माण गरेपनि कोभिड सङ्क्रमितहरू होम आइसोलशनमा बस्ने गरेको कारण निर्माण गरिएका आइसोलेशनहरू प्रयोगविहिन रहेको गाउँपालिका उपाध्यक्ष ईश्वरी जोशीले बताउनु भयो । जिल्ला प्रयोगशालामा जेठ १३ गते १ सय ६२ जनाको कोभिड परीक्षण गरिएकोमा १४ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको र उनीहरू सबै जना होम आइसोलेशनमा नै रहेको मालिकार्जुन गाउँपालिका स्वास्थ्य संयोजक गुणराज ओझाले बताउनु भयो ।
अपि हिमाल गाउँपालिका र नौगाड गाउँपालिकाले आइसोलेशनहरू निर्माण गरेको भएपनि कोभिड सङ्क्रमितहरू सबै होम आइसोलेशनमै बसेका अपिहिमाल गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मणसिह धामीले बताउनु भयो । उहाँले भन्नुभयो– ‘सामान्य रुघाखोकीको लक्षण भएका बिरामीहरू सबै घरमै बसेर निको भइरहेका छन् । कोभिड सङ्क्रमितको निगरानीको लागि सबै वडाका बस्तीमा हप्तामा दुई दिन स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।’
त्यसैगरी, मार्मा गाउँपालिकामा कोभिड अस्पताल निर्माण गरिएको भएपनि अहिलेसम्म नौ जना कोभिड सङ्क्रमितको उपचार भएको डाक्टर महादेव भट्टले बताउनु भयो । यसैगरी शैल्यशिखर नगरपालिमा २५ शैयाको आइसोलशन निर्माण गरिएको भएपनि कोभिड सङ्क्रमित घरमै बसेका छन् ।
बैतडी प्रतिनिधि नरिदत्त बडुका अनुसार जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकले जेठ १७ गतेसम्म जारी गरिएको निषेध आदेशलाई जेठ ३१ गतेसम्म थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले बताउनु भयो । उहाँले भन्नुभयो–“कोभिड सङ्क्रमण दर न्यूनीकरणका लागि निषेध आदेशको अवधि थप गरिएको हो । अहिले सङ्क्रमण दर केही घटेको भएपनि सङ्क्रमणको जोखिम कायमै रहेकोले निषेध आदेशलाई निरन्तरता दिन लागेका हौं ।” बैठकले कोभिड सङ्क्रमितको उपचार र व्यवस्थापन गर्न सङ्क्रमितको सम्पर्कमा रहेकाहरूको कन्ट्याक्ट टे«सिङ गरी कोभिड परीक्षणलाई निरन्तरता दिने निर्णय समेत गरेको छ । होम आइसोलेशनमा बसिरहेका सङ्क्रमितहरूको स्वास्थ्य अवस्था नियमित रूपमा अनुगमन गर्ने, जिल्ला कोभिड व्यवस्थापन समितिलाई बजेटको आवश्यकता भएमा स्थानीय तहहरूले सहयोग गर्नु पर्ने निर्णय पनि भएको प्रमुख जिल्ला अधिकारी पाण्डेको भनाइ छ । पाटन नगरपालिकाको अनारखोलीमा रहेका सडक डिभिजन कार्यालयका भवनलाई कोभिड अस्पताल बनाउने र त्यसका लागि १ करोड ५० लाख रुपियाँ बजेट विनियोजन गर्न केन्द्र र प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय समेत समितिको बैठकले गरेको छ ।
कञ्चनपुर प्रतिनिधि कोमलनिरञ्जन भाटका अनुसार कोभिड–१९ सङ्क व्यवस्थापन समितिकोे बैठकले जेठ १५ गते राती १२ बजेदेखि जेठ २२ गते राती १२ बजेसम्मका लागि निषेध आदेश थप गरेको प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले बताउनु भयो । जिल्लामा कोभिड सङ्क्रमण उच्च दरमा फैलिदै गएको सन्दर्भमा जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको निर्णयको आधारमा निषेश आदेश थप गरिएको प्रमुख जिल्ला अधिकारी महतोको भनाइ छ । निषेश आदेशका नियमहरू पहिलेको आदेश अनुरुप नै लागु हुने र आदेश विपरित कार्य गरेको खण्डमा प्रचलित ऐन, नियम र कानुन बमोजिम कारबाही पनि गरिने प्रशासनले जनाएको छ ।
एक वर्षअघि
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ०७७ जेठ १४ गतेसम्म ८ सय ८६ जनामा कोभिड-१९ पुष्टि भएको जनाएको थियो ।
कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (२०७७ जेठ १४ गते)
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले पकाहा गाउँपालिका-१ का २५ वर्षीय भुषण राउत र २१ वर्षीय अरुण कुमार यादबविरुद्ध चैत ५ गते प्रहरीमा उजुरी दिएको छ । आरोपितद्वयले पीडित बालिकालाई ०८१ चैत…
महायज्ञका लागि दलितको घर भत्काएको विषयमा इन्सेक र आयोगद्वारा अनुगमन
महायज्ञका लागि औरही गाउँपालिका-५ का ३५ वर्षीय डोम समुदायका दीपक मरिकको घर भत्काएको घटना इन्सेक र राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गरेको छ । औरही गाउँपालिकाको डोजर प्रयोग गरी दीपक मरिकको…
छुवाछुत तथा जातीय भेदभावविरुद्धको घटनाका पीडितको न्यायमा पहुँच सुनिश्चित गरः आयोग
समाजमा कायम रहेको जातीय विभेदको अन्त्य गर्ने कार्यमा पूर्ण प्रतिबद्ध हुन सबै राजनीतिक दल, गैरसरकारी संघसंस्था तथा नागरिकहरुलाई समेत राष्ट्रिय मानव आयोगले अनुरोध गरेको छ । ६० औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव…
अनेरास्ववियु (क्रान्तिकारी) का कार्यकर्ताद्वारा क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का कार्यकर्ताहरुले ०८१ चैत ८ गते चौतारा बहुमुखी क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड गरेको छ । स्ववियु निर्वाचनका दिन चैत ५ गते एमाले सम्वद्ध अनेरास्ववियु…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका–१ सेलाङ कुन्याउका २० वर्षीय रामकृष्ण विश्वकर्मालाई ०८१ चैत ७ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन…