कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ १२ गते)
जेठ १२ गते ६ हजार ६ सय ७७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ५ लाख ३५ हजार ५ सय २५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । जेठ १२ गते परीक्षण गरिएकामध्ये ३५ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १७.९ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । जेठ १२ गते १९ वर्ष मुनीका ८ सय १ जनामा कोभिड सङ्क्रमणको पुष्टि भएको छ । गत २४ घण्टामा १९ हजार ३० ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ४ लाख ११ हजार ६ सय ३ जना निको भएका छन् । जेठ १२ गते ६ हजार ७ सय १६ जना निको भएका छन् भने निको हुनेको दर ७६.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । जेठ १२ गतेसम्म ६ हजार ८ सय ४५ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । जेठ १२ गते १ सय ४५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आइसोलेशनमा पुष्टि भएका केसहरूको सङ्ख्या भनी सङ्क्रमितको सङ्ख्या १ लाख १७ हजार ७७ देखाइएको छ ।
मोरङ, सुनसरी, झापा, धनकुटा, रौतहट, धनुषा, पर्सा, महोत्तरी, बारा, सप्तरी, सिरहा, सर्लाही, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, दोलखा, कास्की, नवलपरासी पूर्व, गोरखा, तनहुँ, स्याङ्जा, म्याग्दी, पर्वत, लमजुङ, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, नवलपरासी पश्चिम, सुर्खेत, सल्यान, दैलेख, डडेल्धुरा, कैलाली, कञ्चनपुर, बैतडी, डोटी र अछाममा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् । गृह मन्त्रालयका अनुसार जेठ ११ गते बिहानसम्म ७५ जिल्लामा पूर्ण तथा आंशिक निषेध आदेश जारी गरिएको छ । जेठ १२ गते निषेध आदेशका विषयमा मन्त्रालयको कुनै सूचना सार्वजनिक भएको छैन ।
प्रदेश १
सुनसरी प्रतिनिधि जयकृष्ण यादवका अनुसार देवानगञ्ज गाउँपालिकाको तीन ओटा वडा सील गर्ने निर्णय गरेको छ । गाउँपालिकाको आकस्मिक बैठकले बढ्दो सङ्क्रमणलाई रोकथाम तथा नियन्त्रणको लागि जेठ १२ गतेबाट देवानगञ्ज गाउँपालिका वडा नम्बर १, २ र ६ सील गरिने निर्णय गरेको छ । देवानगञ्ज गाउँपालिकामा बसेको सर्वदलीय बैठकले समेत निर्णयलाई कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको र जेठ १२ गते मध्यरातदेखि २४ गते मध्यरातसम्म उल्लिखित वडाहरू सील गर्ने निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुडामणी गुरागाईले जानकरी दिनुभयो ।
प्रदेश २
सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार जिल्लामा सञ्चालित सम्पूर्ण बैङ्क तथा वित्तीय संस्थाहरूको सेवा बन्द गर्ने अवधि एक साताका लागि थप गरिएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको जेठ १२ गते बसेको बैठकले बन्दको अवधि एक साता थप गर्दै बैङ्क तथा वित्तीय संस्थाहरूले जेठ १३ गतेदेखि जेठ १९ गतेसम्म सेवा बन्द गरेको हो । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले यसअघि जेठ ५ गते बैङ्क तथा वित्तीय संस्थाहरूलाई एक साताका लागि औषधि उपचार, स्वास्थ्य सामग्री र मृतकको काजक्रिया बाहेक आ–आफ्नो सेवा बन्द गर्न निर्णय गरेपछि बैङ्क र वित्तीय संस्थाहरू बन्द छन् ।
बागमती प्रदेश
चितवन प्रतिनिधि दिपेन्द्रप्रसाद अधिकारीका अनुसार नारायणी नदी उत्खननमा प्रयोग गरिएका १५ ओटा ट्रिपरमा स्थानीयले तोडफोड गरेका छन् । भरतपुर महानगरपालिका–१६ सानुगढीस्थित ज्ञानेश्वर सामुदायिक वनस्थित सडकमा लामबद्ध ट्रिपरमा जेठ १२ गते बिहान स्थानीयले तोडफोड गरेका जिल्ला प्रहरी कार्यालयका डिएसपी सुर्य थापाले बताउनुभयो । तोडफोडबाट गाडीका सीसाहरू फुटेका छन् । उत्खननको जिम्मा पाएको भिष्म एण्ड ब्रोदर्श कन्ट्रक्सनका एक्जुकेटिभ डाइरेक्टर बिकल क्षेत्रीले भरतपुर महानगरले नै आफूहरुलाई निषेधाज्ञामा काम गर्न अनुमति दिएकाले काम गरेको बताउनुभयो । कोभिड महामारीका कारण चितवनमा निषेध आदेश जारी छ । यस्तो बेलामा पनि जथाभावी नदी उत्खनन् गर्दै अनावश्यक भिडभाड गरेको भन्दै स्थानीय आक्रोशित बनेका हुन् ।
दोलखा प्रतिनिधि उद्धव पोखरेलका अनुसार कोरोना सङ्क्रमणको सङ्ख्या बढ्न थालेपछि गौरीशङ्कर गाउँपलिकाका दुई वडाहरू जेठ १२ गतेबाट सील गरिएको छ । गौरीशङ्कर गाउँपालिकाको वडा नम्बर १ र २ को सम्पुर्ण क्षेत्र जेठ १८ गतेसम्मका लागि सील गरिएको हो । गाउँपालिकाले जेठ १२ गते एक सार्वजनिक सूचना जारी गर्दै समुदायमा थप कोभिड सङ्क्रमण नफैलियोस् भन्नका लागि दुई ओटा वडा सील गरिएको जानकारी गराएको छ । वडा क्षेत्रभित्र प्रवेश निशेध गर्नुका साथै वडाबाट कसैलाई पनि बाहिर नजान भनिएको छ । वडा क्षेत्रभित्र कुनै पनि सवारीका साधन प्रवेशमा रोक लगाउने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष सोयमबहादुर खड्काले बताउनु भयो ।
मकवानपुर प्रतिनिधि पुष्पराज अधिकारीका अनुसार एक साता निषेध आदेश थप गरिएको छ । जेठ १३ गते राति १२ बजेदेखि जेठ २० गते राति १२ बजेसम्म निषेध आदेश थप गरिएको हो । जेठ ११ गते प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले जिल्लामा कोभिड–१९ को जोखिम बढेकोले सात दिन निषेध आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो । मकवानपुरमा वैशाख १९ गतेदेखि निषेध आदेश जारी गरिएको थियो । दोश्रो पटक जेठ १ गते निषेध आदेश थप गरिएको थियो ।
गण्डकी प्रदेश
पर्वत प्रतिनिधि सन्तोष थापाका अनुसार इन्सेक पर्वत र नेपाल पत्रकार महासङ्घको संयुक्त पहलमा नेपाल पत्रकार महासङ्घ पर्वतमा अक्सिजन कन्सन्ट्रेटर सहितको आइसोलेशन कक्ष निर्माण गरेको छ । विश्व प्रजातान्त्रिक युवा सङ्घका उपाध्यक्ष सुन्दर भुषालले पुर्णचन्द्र ट्रष्टबाट पत्रकार महासङ्घ पर्वतको कोभिड–१९ आइसोलेशन कक्षलाई कन्सनट्रेटर लगायतका स्वास्थ्य सामग्री हस्तातरण गर्नु भएको छ । जेठ १२ गते एक कार्यक्रमको आयोजना गरी एक थान अक्सिजन कन्सनट्रेटर, दुई थान पिपिइ सेट र मास्कलगायत स्वास्थ्य सामग्री पत्रकार महासङ्घ पर्वतलाई हस्तान्तरण गरिएको हो । इन्सेक पर्वत प्रतिनिधि सन्तोष थापाको अनुरोधमा उक्त सामग्री उपलब्ध भएको पत्रकार महासङ्घ पर्वतका सचिव राजबाबु पिसीले जानकारी दिनुभयो ।
लुम्बिनी प्रदेश
रुपन्देही प्रतिनिधि रिमा बिसीका अनुसार जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको जेठ १२ गते बसेको बैठकले कोभिड सङ्क्रमणको जोखिम यथावत रहेको भन्दै जेठ २० गतेसम्म निषेध आदेश थप गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका अधिकृत जनक थापाले बताउनु भयो । थापाका अनुसार अत्यावश्यक बाहेकका सेवा सञ्चालनमा रोक लगाइएको छ ।
नवलपरासी पश्चिम प्रतिनिधि नारायण पराजुलीका अनुसार बजेट अभावमा पृथ्वीचन्द्र अस्पताल, परासीका लागि आएको पीसीआर मेसिन सञ्चालनमा आउन सकेको छैन् । मेसिन सञ्चालनका लागि आवश्यक स्थान व्यवस्थापन र अन्य उपकरण खरिदका लागि बजेट नहुँदा मेसिन सञ्चालनमा आउन नसकेको अस्पतालले जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १५ दिन अघि मेसिन पठाएको भएपनि पूर्वाधार र बजेट अभावका कारण मेसिन जडान हुन सकेको छैन । मेसिन जडानका लागि आवश्यक अन्य उपकरण खरिद गर्न २५ लाख रुपियाँ लाग्ने र यसका लागि मन्त्रालयसँग बजेट माग गरिएको अस्पतालका निमित्त प्रमुख डाक्टर मोहम्मद नुरुल होदाले बताउनु भयो । यसैगरी, जिल्लामा कोभिड सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । जिल्लामा कोभिडबाट मृत्यु हुनेको सङ्ख्या १ सय २१ जना पुगेको जिल्ला स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन देविलाल पौडेलले बताउनु भयो ।
कर्णाली प्रदेश
सुर्खेत प्रतिनिधि दुर्गा थापाका अनुसार कर्णाली प्रदेश सरकारले अक्सिजन प्लान्ट निर्माणका लागि प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेत र जनस्वास्थ्य सेवा कार्यालय कालिकोटलाई २ करोड रुपियाँ प्रदान गरेको छ । कर्णाली प्रदेश मन्त्री परिषद्को जेठ १० गतेको निर्णयानुसार प्रदेशमा अक्सिजनको दिगो र भरपर्दो आपूर्तिलाई सुनिश्चितता गर्न स्वास्थ्य निर्देशनालय सुर्खेतलाई १ करोड २० लाख र स्वास्थ्य सेवा कार्यालय कालिकोटलाई ८० लाख रुपियाँ प्रदान गरिएको प्रदेश सरकारका प्रवक्ता सीता नेपालीले बताउनु भयो ।
जुम्ला प्रतिनिधि मानदत्त रावलका अनुसार जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको जेठ ११ गतेको बैठकले १२ गतेदेखि २२ गतेसम्म पुनः निषेध आदेश थप गर्न सिफारिस गरेको छ । बिहान ९ बजेसम्म औषधि पसल, खाद्यान्न पसल, विद्युत सेवा, बैङ्क सेवा, सरसफाई जस्ता अत्याआवश्यक सेवा स्वास्थ्य सुरक्षाका मापदण्ड कायम गरी सञ्चालन गर्ने जिल्ला प्रशासन कार्यालय जुम्लाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
दैलेख प्रतिनिधि अमर सुनारका अनुसार जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको जेठ ११ गतेको बैठकले २१ गतेसम्म निषेध आदेश थपको सिफारिस गरेको जिल्ला प्रहरी कायालयका डीएसपी अनुपम श्रेष्ठले बताउनु भयो ।
सुदूरपश्चिम प्रदेश
बैतडी प्रतिनिधि नरीदत्त बडुका अनुसार स्वास्थ्य निर्देशनालयको निर्देशन अनुसार जिल्लामा कोभिड–१९ को पुनः परीक्षण गरेमा १ हजार रुपियाँ शुल्क लाग्ने भएको छ । कोभिड पुष्टि भएको १४ दिनसम्म आइसोलेशनमा बसेकाहरूले पुनः परीक्षण गर्दा शुल्क लाग्ने जिल्ला अस्पताल, बैतडीका प्रमुख डाक्टर वसन्तराज जोशीले बताउनु भयो । जिल्ला अस्पताल, बैतडीले जेठ १२ गते सूचना जारी गर्दै कोभिड सङ्क्रमण भएको १४ दिन आइसोलेशनमा बसेकाहरूले कोभिड परीक्षण गर्न आवश्यक नरहेको समेत जनाएको छ । लक्षण भएकाहरू १४ दिनसम्म आइसोलेशनमा बसिसकेपछि थप तीन दिन आइसोलेशनमा बस्नु पर्ने र त्यसपछि कोभिड परीक्षण आवश्यक नरहेको डाक्टर जोशीको भनाइ छ ।
एक वर्षअघि
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ०७७ जेठ १२ गतेसम्म ६ सय ८२ जनामा कोभिड-१९ पुष्टि भएको जनाएको थियो ।
कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (२०७७ जेठ १२ गते)
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
दुप्चेश्वर गाउँपालिका -७ नुवाकोट घर भई दक्षिणकाली नगरपालिका -६ बस्दै आएकी ४५ वर्षीया डोल्मा शेर्पाको हत्या गरेको आरोपमा प्रहरीले ६० वर्षीय पति जितबहादुर शेर्पालाई असोज २० गते भक्तपुरबाट गिरफ्तार गरेको…
खानेपानी अभाव हुँदा सेवाग्राही समस्यामा
जयपृथ्वी नगरपालिका–७ स्थित सुबेडा स्वास्थ्य चौकीमा खानेपानीको समस्या हुँदा सेवाग्राही समस्यामा परेका छन् । पानीको अभाव भएका कारण एक घण्टाको बाटो हिडेर खोलाबाट पानी बोकेर पिउनका लागि जम्मा गर्नु परेको…
स्वास्थ्य चौकीमा खानेपानीको अभाव हुँदा बिरामीलाई समस्या
अमरगढी नगरपालिका–३ स्थित घटाल स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि बिरामीलाई समस्या भएको छ । स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि सेवा लिन आउने गर्भवती, सुत्केरी, बिरामी र स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीलाई…
कोशी प्रदेशमा मनसुनजन्य विपद्: पाँच जिल्लाका १८ ओटा विद्यालयमा क्षति
कोशी प्रदेशमा ०८१ जेठ २८ गतेदेखि सुरूआत भएको मनसुन ०८१ असोज १० गतेदेखि पुन सक्रिय भएपछि मनसुनजन्य प्राकृतिक विपदका कारण ४ अर्ब ६३ करोड ५० लाख रुपियाँ बराबरको भौतिक पूर्वाधारमा…
बाढी प्रभावित र प्रहरीबिच झडप, दुई जना प्रहरीसहित चार जना घाइते
भोक्राहा नरसिंह गाउँपालिकामा बाढी प्रभावित र प्रहरीबिच भएको झडपमा एक जना प्रहरीसहित तीन जना घाइते भएका छन् । बाढी प्रभावितहरूले भोक्राहा नरसिंह गाउँपालिका कार्यालय असोज २१ गते घेराऊ गरी राहत…