कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ ११ गते)

जेठ ११ गते ८ हजार ३ सय ८७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ५ लाख २८ हजार ८ सय ४८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । जेठ ११ गते परीक्षण गरिएकामध्ये ३८ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १७.८ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । जेठ ११ गते १९ वर्ष मुनीका ८ सय ५९ जनामा कोभिड सङ्क्रमणको पुष्टि भएको छ । गत २४ घण्टामा २२ हजार ३ सय ६ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ४ लाख ४ हजार ८ सय ८७ जना निको भएका छन् । जेठ ११ गते ६ हजार ४ सय ४ जना निको भएका छन् भने निको हुनेको दर ७६.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । जेठ ११ गतेसम्म ६ हजार ७ सय जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । जेठ ११ गते १ सय ६९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आइसोलेशनमा पुष्टि भएका केसहरूको सङ्ख्या भनी सङ्क्रमितको सङ्ख्या १ लाख १७ हजार २ सय ६१ देखाइएको छ ।

मोरङ, सुनसरी, झापा, धनकुटा, रौतहट, धनुषा, पर्सा, महोत्तरी, बारा, सप्तरी, सिरहा, सर्लाही, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, दोलखा, कास्की, नवलपरासी पूर्व, गोरखा, तनहुँ, स्याङ्जा, म्याग्दी, पर्वत, लमजुङ, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, नवलपरासी पश्चिम, सुर्खेत, सल्यान, दैलेख, डडेल्धुरा, कैलाली, कञ्चनपुर, बैतडी, डोटी र अछाममा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् । गृह मन्त्रालयका अनुसार जेठ ११ गते बिहानसम्म ७५ जिल्लामा पूर्ण तथा आंशिक निषेध आदेश जारी गरिएको छ ।

 Corona Infographics 2078-02-11

प्रदेश १

सङ्खुवासभा प्रतिनिधि भविन कार्कीका अनुसार निषेध आदेशको अवधि बढाइएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को जेठ ११ गते बसेको बैठकले जेठ २५ गतेसम्म निषेध आदेशको अवधि थप गरिएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताउनु भयो । जिल्लाभर कोभिडको सङ्क्रमण तीव्र रूपमा फैलिएपछि गत वैशाख २६ गते थप गरिएको निषेध आदेशको अवधि जेठ १२ गतेदेखि सकिने भएपछि तेस्रो पटक निषेध आदेश लम्ब्याउने निर्णय गरिएको उहाँले बताउनुभयो ।

प्रदेश २

सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार लक्षणसहितका कोभिड सङ्क्रमितको सङ्ख्या बढेकाले हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित भारदह अस्पतालमा अक्सिजन सुविधासहितको २० बेडको कोभिड अस्पताल जेठ ११ गतेदेखि सञ्चालनमा आएको छ । अस्पतालमा एउटा भेण्टिलेटरको व्यवस्था समेत रहेको अस्पतालले जनाएको छ । गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा सञ्चालित २५ बेडको एचडियुसहितको आइसोलेशन केन्द्रमा १८ जना, ५० बेडको साइकृष्ण मेडिकल कलेज एण्ड अस्पताल राजविराजमा नौ जना, ३५ बेडको छिन्नमस्ता अस्पताल राजविराजमा १७ जना, ३० बेडको कञ्चनरुप नगरपालिकास्थित धर्मेश्वर धारापानीमामा २८ जना र २० बेडको हनुमाननगर कङ्कालिनी नगरपालिकाको सखुवामा तीन जना सङ्क्रमित उपचाररत छन् । अन्य १ हजार १ सय २८ जना होम आइसोलेशनमा रहेको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले बताउनु भयो । यसैगरी कञ्चनरूप नगरपालिकाले पाँच शैयाको कोभिड अस्थायी अस्पताल सञ्चालनमा ल्याएको छ भने बोदे बर्साइन, सप्तकोशी र खडक नगरपालिका, रूपनी र तिलाठी कोइलाडी गाउँपालिकालगायतले समेत होल्डिङ्ग सेन्टर र आइसोलेशन कक्ष तयार गरेका छन् । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले सप्तरीका १८ ओटै स्थानीय तह र निजी अस्पतालहरूलाई कोभिड–१९ आइसोलेशन केन्द्र बनाउन भने पनि सबै स्थानीय तहमा तयार नभएको सिडिओ पोखरेलले जानकारी दिनुभयो ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा जेठ १० गते मृत्यु भएका कोरोना सङ्क्रमितहरूको शव २४ घण्टापछि जेठ ११ गते अपरान्ह मात्र व्यवस्थापन भएको छ । कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापनसम्बन्धी संक्षिप्त कार्यविधि–२०७६ को (ञ) मा शवलाई चाँडोभन्दा चाँडो अन्तिम संस्कार गर्ने स्थलमा पुर्‍याउनु पर्ने उल्लेख छ । अस्पतालको एचडियू आइसोलेशन केन्द्रमा ५ मिनेटको फरकमा जेठ १० गते दिउँसो करिब साढे ३ बजे मृत्यु भएका ५० वर्षीया महिला र ७५ वर्षीय पुरुषको २४ घण्टापछि अपरान्ह ४ बजे मात्र शव व्यवस्थापन हुन सकेको हो । धार्मिक रितीरिवाज परम्पराअनुसार शव व्यवस्थापन गर्न चाहनेलाई सुरक्षा सर्तकता अपनाएर शव दिने अन्यथा नेपाली सेनाले शव व्यवस्थापन गर्ने नियम रहेको छ । नगरपालिका प्रमुख मुक्तिनाथ चौधरीले शव आफूले लिएर गाउँमा दाहसंस्कार गर्ने बताएकाले सेनाले लैजान नमानेको र ढिलाई भएको अस्पतालले जनाएको छ ।

पर्सा प्रतिनिधि कृष्णचन्द्र लामिछानेका अनुसार भारतबाट नेपाल प्रवेश गर्नेहरूको कोभिड परीक्षण रोकिएको छ । लामो समयदेखि एण्टिजेन किटको अभाव भएपछि बीरगंज महानगरपालिकाले शङ्कराचार्य गेट नजिक स्थापना गरेको हेल्थ डेस्कमा हुँदै आएको परीक्षण प्रभावित भएको हो । भारतबाट उक्त नाका भएर दैनिक २५ जनाभन्दा बढी नेपाली बीरगंज प्रवेश गर्ने गरेको भए पनि किटको अभावमा कोभिड परीक्षण हुन नसकेको हेल्थ डेस्कका इञ्चार्ज सैमुला अन्सारीले जानकारी दिनु भयो । किटको अभावमा अहिले सामान्य ज्वरो मात्र नाप्ने गरिएको उहाँले बताउनु भयो । महानगरपालिकाले भन्सार क्षेत्रमा स्थापना गरेको हेल्थ डेस्कमा एन्टिजेन किटको अभाव रहेको जनाएको छ । महानगरपालिकाका प्रमुख बिजय सरावगीले जिल्ला जनस्वास्थ्य कार्यालयले हालसम्म सो किट उपलब्ध नगराउँदा समस्या देखिएको बताउनु भयो ।

बागमती प्रदेश

काठमाडौँ प्रतिनिधि बिमला पौडेलका अनुसार काठमाडौँ उपत्यकामा लगाइएको निषेध आदेश एक साताका लागि थप गरिएको छ । सङ्क्रमण दर नघटेको भन्दै कडा प्रावधानसहित एक साता निषेध आदेश थपिएको काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिनुभयो । थपिएको निषेध आदेशमा बिहान ९ बजेसम्म तरकारी, फलफूल, दुध, मासु र ग्यासको पसल खोल्न पाइनेछ । तर, किराना पसल, डिपार्टमेण्ट स्टोर बन्द गर्ने निर्णय भएको अधिकारीले बताउनुभयो । ललितपुर र भक्तपुरमा पनि जेठ २० गतेसम्मका लागि निषेध आदेश जारी गरिएको प्रशासन कार्यालयहरूले जनाएका छन् । पछिल्लो पटक थप गरिएको निषेध आदेशको अवधि यही जेठ १३ गते राति १२ पछि सकिँदैछ । उपत्यकामा वैशाख १६ गतेदेखि निषेध आदेश जारी गरिएको थियो ।

रसुवा प्रतिनिधि हेमनाथ खतिवडाका अनुसार कोभिड–१९ को सङ्क्रमण बढेपछि नौकुण्ड गाउँपालिकाले एक वडाबाट अर्को वडामा आवतजावत रोक लगाएको छ । सङ्क्रमण बढेपछि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन र घरबाट ननिस्कन अनुरोध गरेको नौकुण्ड गाउँपालिकाकी उपाध्यक्ष सिर्जना लामाले बताउनुभयो । ‘एउटा गाउँबाट अर्को गाउँमा जान पनि रोक लागाएका छौँ ।’–उहाँले भन्नुभयो । स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार जेठ ११ गते साँझसम्म गोसाइकुण्डमा १२, आमाछोदिङमोमा ४९, कालिकामा ६६, उत्तरगयामा पाँच, नौकुण्डमा ३८ जना गरी जिल्लाभर १ सय ७० जना सक्रिय सङ्क्रमित छन् । जसमध्ये नौ जना संस्थागत र १ सय ६१ जना होम आइसोलेशनमा रहेका छन् । नौकुण्ड गाउँपालिका–४ मा ४२ जनाको स्वाब सङ्कलन गरेर परीक्षण गरेकामा ३८ जनामा पोजेटिभ रिपोर्ट आएको स्वास्थ्य शाखा प्रमुख अणप्रसाद पौडेलले बताउनुभयो । नौकुण्ड गाउँपालिकाका स्वास्थ्यकर्मी र जनप्रतिनिधिमा पनि सङ्क्रमण देखिएको छ ।

काभ्रेपलाञ्चोक प्रतिनिधि हिरामान लामाका अनुसार काभ्रेमा निषेध आदेशको समयावधि थप गरिएको छ । काभ्रेका १३ ओटै स्थानीय तहहरूमा कोभिडको सङ्क्रमण दर बढेपछि प्रमुख जिल्ला अधिकारीसहितको  बैठकले जेठ ११ गते उक्त निर्णय गरेको हो । जोखिम बढ्दो क्रममा रहेकाले निषेध आदेशको अवधि थप गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताउनु भयो । प्रमुख जिल्ला अधिकारी पोखरेलका अनुसार जेठ १२ गते बजेदेखि जेठ २२ गतेसम्मका लागि निषेध आदेश थप गरिएको छ ।

गण्डकी प्रदेश

कास्की प्रतिनिधि सुशन घिमिरेका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ओपिडी (बहिरङ्ग) सेवा जेठ ११ गतेदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ । प्रतिष्ठानका निर्देशक प्रा डाक्टर भरतबहादुर खत्रीका अनुसार कोभिड–१९ का सङ्क्रमितको उपचार व्यवस्था गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पत्राचार गरेकाले अस्पतालमा सञ्चालनमा रहेको कोभिड–१९ ओपिडी बाहेकका अन्य ओपिडी सेवा अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको हो । सङ्घीय सरकार मातहत रहेको पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले  जेठ ९ गते पूर्ण रूपमा कोभिड–१९ का सङ्क्रमितको उपचार व्यवस्था गर्न पत्राचार गरेको थियो ।  गण्डकी प्रदेश सरकारले कोभिड अस्पताल बनाउनका लागि सङ्घीय सरकारलाई सिफारिस गरेको थियो । अस्पतालमा कोभिडका बिरामीको उपचारका लागि ४२ ओटा आइसोलेशन बेड, १७ ओटा आइसीयू बेड, सात ओटा भेण्टिलेटर बेड र १६ ओटा एचडीयू बेड रहेका छन् । गण्डकी प्रदेशकै ठूलो उक्त अस्पतलमा दैनिक करिब १ हजार सेवाग्राहीले ओपिडी सेवा लिँदै आएको अस्पताल प्रसाशनले जनाएको छ ।

कर्णाली प्रदेश

सुर्खेत प्रतिनिधि दुर्गा थापाका अनुसार जिल्ला प्रशासन कार्यालय सुर्खेतले जिल्लाका सबै स्थानीयतहलाई पीसीआर र एक्स्ट्रासन किट खरिद गरी प्रदेश अस्पताललाई उपलब्ध गराउन आग्रह गरेको छ । गतवर्षदेखि नै कर्णाली प्रदेश अस्पतालको समन्वयमा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा कोभिड परीक्षण हुँदै आएकोमा पाँचदिन अघिदेखि किटको अभाव र कोभिड परीक्षण गर्न आउनेको सङ्ख्या बढ्दै गएपछि स्थानीयतहलाई पीसीआर र एक्स्ट्रासन किट उपलब्ध गराउन अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताउनु भयो । ‘जिल्लामा अहिले पनि परीक्षण गर्नुपर्ने सङ्ख्या अत्याधिक छ, किटको अभावमा परीक्षण गर्न आएकाहरू फर्कन बाध्य छन्’ प्रजिअ रिजालले भन्नुभयो ‘स्थानीय तहमा विनियोजन गरेको रकमबाट पीसीआर र एक्स्ट्रासन किट खरिद गरी प्रदेश अस्पताललाई उपलब्ध गराउन जेठ १० गते सबै स्थानीयतहलाई अनुरोध गरेका हौं ।’ दोस्रो लहरको कोभिड सङ्क्रमण तीव्र गतिमा फैलिरहेको र अहिले पनि दैनिक ३ सयदेखि १ हजार सम्मको सङ्ख्यामा परीक्षण गरिदै आएको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिनु भयो ।

यसैबिच, कर्णाली प्रदेश सरकारले कोभिड माहामारी रोकथाम, नियन्त्रण, उपचार र प्रतिकार्यका लागि विनियोजन गरेको रकममध्येबाट सामाजिक विकास मन्त्रालयमार्फत जेठ १० गते ९८ लाख ३० लाख रुपियाँ निकासा गरेको छ । माहामारी रोकथाम, नियन्त्रण, उपचार तथा प्रतिकार्यका लागि पूर्वाधार निर्माण, स्वास्थ्य सामग्री खरिद, पूर्वाधारहरूको स्तरोन्नती, स्वास्थ्यकर्मीको क्षमता विकास र परिचालनका लागि सो रकम परिचालन गरिने सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीले बताउनु भयो ।

सुदूरपश्चिम प्रदेश

डडेल्धुरा प्रतिनिधि भूपेन्द्र बिष्टका अनुसार कोभिड सङ्क्रमितहरूको सङ्ख्या बढेकाले अमरगढी नगरपालिका—३ लाई सील गरिएको छ । वडाध्यक्ष गोविन्द बोहराका अनुसार वडा नम्बर ३ को चम्साल गाउँमा विवाह समारोहमा सहभागी पाँच जनालाई सङ्क्रमण पुष्टि भएपछि अर्को आदेश नभएसम्मका लागि सम्पूर्ण पसलहरू, यातायातका साधन तथा वडामा विवाह तथा भोजभतेर नगर्न सम्पूर्ण वडाबासीलाई आग्रह गरिएको छ । साथै वडाका स्वास्थ्य संस्थाहरूमा औषधि व्यवस्थापन र शङ्कास्पद व्यक्तिहरूको पीसीआर परीक्षणका लागि वडामा नै स्वास्थ्यकर्मीहरू ल्याउने तयारी भइरहेको अध्यक्ष बोहराको भनाइ छ ।

 बैतडी प्रतिनिधि नरी बडुका अनुसार शिवनाथ गाउँपालिकाका जनप्रतिनिधि सहित नौ जनामा कोभिड सङ्क्रमण पुष्टि भएपछि गाउँपालिकाको सम्पूर्ण सेवा बन्द गरिएको छ । गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष सहित गाउँपालिका अन्य  सात जना कर्मचारीमा कोभिड पुष्टि भएपछि गाउँपालिकाबाट प्रवाह गरिने सेवाहरू बन्द गरिएको र सङ्क्रमण पुष्टि भएका सबै जना होम आइसोलेशनमा रहेका उपाध्यक्ष कुस्मा चन्दले बताउनु भयो । जनप्रतिनिधि र कर्मचारीमा कोभिड देखिएपछि गाउँपालिकाले जेठ १७ गतेसम्म सेवा बन्द गरेको जनाएको छ । औषधि लगायतका अत्यावश्यक सेवाका लागि पनि अन्य कर्मचारी परिचालन गरिने पालिकाका अध्यक्ष कर्णसिंह साउदले बताउनु भयो । सङ्क्रमणको रोकथाम र नियन्त्रणका लागि भन्दै गाउँपालिकाका सेवाहरू बन्द गरिएको साउदको भनाइ छ । गाउँपालिकामा हालसम्म ८१ जनामा सङ्क्रमण पुष्टि भइसकेको स्वास्थ्य शाखा प्रमुख नरेन्द्रसिंह महताले बताउनु भयो ।

दार्चुला प्रतिनिधि नरेन्द्रसिंह कार्कीका अनुसार दुहुँ गाउँपालिकामा अत्यावश्यक सेवाबाहेक अन्य सबै सेवाहरू १० दिनको लागि बन्द गरिएको छ । दुहुँ गाउँपालिकामा पनि पछिल्लो समय कोभिड सङ्क्रमण तीव्र रूपमा बढ्दै गएपछि समुदायस्तरमा कोभिड थप फैलिन नदिन तथा कोभिड नियन्त्रण तथा रोकथाम गर्नका लागि गाउँपालिकाले अत्यावश्यक सेवा बाहेक अन्य सबै सेवाहरू जेठ १० गतेदेखि जेठ २० गतेसम्मका लागि बन्द गरिएको सूचना प्रविधि अधिकृत विरेन्द्रराज जोशीले बताउनु भयो । गाउँपालिकाको बैठकले अत्यावश्यक खाद्यान्न पसल बिहान ७ बजेदेखि १० बजेसम्म तथा बेलुकी ४ बजेदेखि ६ बजेसम्म मात्रै खोल्न पाइने, गाउँपालिकामा अनावश्यक भीडभाड नगर्ने तथा मास्कको अनिवार्य प्रयोग गरी सामाजिक दुरी कायम राख्ने, विवाह, ब्रतबन्ध, पुजा, मलामी कार्यमा १० जना भन्दा बढी सहभागी नहुने र बाहिरबाट आउने व्यक्तिलाई १० दिन अनिवार्य क्वारेण्टनमा राख्ने निर्णय गरिएको जोशीको भनाइ छ । दुहुँ गाउँपालिकामा अहिलेसम्म कोभिड सङ्क्रमितको सङ्ख्या ४३ जना रहेका छन् । दार्चुलाको सदरमुकाम खलङ्गा बजारमा कोभिडको सङ्क्रमण दर घटे पनि ग्रामीण क्षेत्रमा बढेको छ । स्वास्थ्य कार्यालय, दार्चुलाका कोभिड फोकल पर्शन विरेन्द्रराज भट्टका अनुसार केही दिनयता खलंगा बजारभित्र सङ्क्रमण दर घटे पनि ग्रामीण क्षेत्रमा बढ्दो क्रममा देखिएको बताउनु भयो । दार्चुलामा कोभिड कहरको सबैभन्दा बढी मारमा गर्भवती र सुत्केरी परेका छन् । विश्वभर फैलिइरहेको कोभिड भाइरस सङ्क्रमण, रोकथाम र नियन्त्रणका लागि वैशाख २५ गतेबाट जरी गरिएको निषेध आदेश जेठ २० गतेसम्म थप गरिएको छ । निषेध आदेशका कारण गर्भवती तथा सुत्केरी महिलाहरू भने सबैभन्दा बढी समस्यामा परेका छन् । गर्भवतीलाई नियमित गर्भ परीक्षण गराउन नपाउँदा र सुत्केरीलाई घरैमा प्रसूती गराउँदा हुने प्रसव पीडा र आवश्यक स्याहार प्राप्त हुन नसक्दा उनीहरू शारीरिक मात्रै होइन मानसिक समस्यामा समेत परेका छन् । जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नम्बर १ का सरस्वती धामीले कोभिडको सङ्क्रमणसँगै निषेध आदेशका कारण गर्भवती महिला र सुत्केरीहरूलाई थप समस्यका भएको बताउनु भयो ।

एक वर्षअघि

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ०७७ जेठ ११ गतेसम्म ६ सय ३ जनामा कोभिड-१९ पुष्टि भएको जनाएको थियो ।

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (२०७७ जेठ ११ गते)


अनलाइन डेस्क