कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ १० गते)

जेठ १० गते ७ हजार २ सय २० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ५ लाख २० हजार ४ सय ६१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । जेठ १० गते परीक्षण गरिएकामध्ये ३६ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १७.७ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । जेठ १० गते १९ वर्ष मुनीका ६ सय ८० जनामा कोभिड सङ्क्रमणको पुष्टि भएको छ । गत २४ घण्टामा १९ हजार ८ सय ४६ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ३ लाख ९८ हजार ४ सय ८३ जना निको भएका छन् । जेठ १० गते ७ हजार १ सय ३५ जना निको भएका छन् भने निको हुनेको दर ७६.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । जेठ १० गतेसम्म ६ हजार ५ सय ३१ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । जेठ १० गते १ सय ८५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आइसोलेशनमा पुष्टि भएका केसहरूको सङ्ख्या भनी सङ्क्रमितको सङ्ख्या १ लाख १५ हजार ४ सय ४७ देखाइएको छ ।

मोरङ, सुनसरी, झापा, रौतहट, धनुषा, पर्सा, महोत्तरी, बारा, सप्तरी, सिरहा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, दोलखा, कास्की, नवलपरासी पूर्व, गोरखा, तनहुँ, स्याङ्जा, म्याग्दी, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, नवलपरासी पश्चिम, सुर्खेत, सल्यान, दैलेख, डडेल्धुरा, कैलाली, कञ्चनपुर, बैतडी, डोटी र अछाममा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् । गृह मन्त्रालयका अनुसार जेठ १० गते बिहानसम्म ७५ जिल्लामा पूर्ण तथा आंशिक निषेध आदेश जारी गरिएको छ ।

Corona Infographics 2078-02-10

प्रदेश १

मोरङ प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार मोरङमा निषेध आदेशको अवधि बढाइएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को जेठ १० गते बसेको बैठकले आगामी जेठ १७ गतेसम्म निषेध आदेशको अवधि थप गरिएको प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले बताउनुभयो । वैशाख ३१ गते थप गरिएको निषेध आदेशको अवधि जेठ ११ गतेदेखि सकिने भएपछि थप ६ दिन निषेध आदेश लम्ब्याउने निर्णय गरिएको उहाँले बताउनुभयो । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३, सङ्क्रामक रोग ऐन २०२० को दफा २ र कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम जेठ ११ गते राति १२ बजेदेखि लागु हुने गरी जेठ १७ गतेसम्मका लागि निषेध आदेश जारी राख्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी निरौलाले बताउनुभयो । मोरङमा पहिलोपटक वैशाख १८ गते १२ बजेदेखि लागु हुने गरी सात दिने निषेध आदेश जारी गरिएको थियो ।

पाँचथर प्रतिनिधि मङ्गल बेघाका अनुसार इन्सेक पाँचथरले कोभिड–१९ बाट सङ्क्रमितका लागि अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि जेठ ९ गते रु ७ हजार ६ सय ७८ रुपियाँ सहयोग प्रदान गरेको छ । स्वास्थ्य अवस्था गम्भीर बनेपछि झापास्थित विर्तासिटी अस्पतालको भेण्टिलेटरमा उपचाररत जिल्लाका एक पत्रकारलाई इन्सेक जिल्ला प्रतिनिधि मङ्गल बेघाले रु २ हजार सहयोग गर्नु भएको हो ।

सुनसरी प्रतिनिधि जयकृष्ण यादवका अनुसार भोक्राहा नरसिंह गाउँपालिकाले कोभिड सङ्क्रमण बढेको र केही व्यक्तिहरूको निधन समेत भएकाले जेठ १० गते तीन ओटा वडाहरूलाई एकसाथ सील गरिएको छ । भोक्राहा नरसिंह गाउँपालिकाको–कोभिड १९ रोकथाम तथा नियन्त्रण समितिको जेठ १० गतेको बैठकले गाउँमा जेठ ६ गते गरिएको पीसीआर परीक्षणबाट अत्यधिक सङ्ख्यामा कोभिड पोजेटिभ देखिएकाले वडा नम्बर १, २ र ४ लाई पूर्ण रुपमा सील गरिएको हो ।

 प्रदेश २

धनुषा प्रतिनिधि दिपेन्द्रप्रसाद सिंहका अनुसार कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र धनुषाको जेठ १० गते बसेको बैठकले जिल्लाभर जारी निषेध आदेशको समयावधि सात दिन थप गर्ने निर्णय गरेको छ । कोभिडको नयाँ भेरियन्टको सङ्क्रमण दर यथावत् रहेको र मृत्यु दर समेत बढेकाले धनुषामा जारी  निषेध आदेशलाई कडा गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताउनुभयो ।

 बागमती प्रदेश

काभ्रे प्रतिनिधि हिरामान लामाका अनुसार कोभिड–१९ को सङ्क्रमण बढेकाले मण्डनदेउपुर नगरपालिका सील गरिएको छ । नगरका सबै क्षेत्र जेठ १२ गतेदेखि जेठ २१ गतेसम्मका लागि सील गरेको छ । अत्यावश्यक अस्पताल र औषधि पसल बाहेक अन्य पसल व्यवसाय सबै बन्द हुने नगर प्रमुख टोकबहादुर वाईवाले बताउनु भयो

 गण्डकी प्रदेश

कास्की प्रतिनिधि सुशन घिमिरेका अनुसार कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढेकाले रुपा गाउँपालिका सील गरिएको छ । रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाका अनुसार वडा नम्बर १, वडा नम्बर ३ र वडा नम्बर ५ का विभिन्न स्थानमा कोभिड सङ्क्रमित सङ्ख्या बढ्दो क्रममा रहेका कारण जेठ १० गतेदेखि गाउँपालिका सील गरिएको छ । यसका साथै गाउँपालिका भित्रै सबै स्वास्थ्य संस्थामा औषधिको व्यवस्थापन, सबै वडाका टोल टोलमा स्ट्रेचरको व्यवस्थापन, होम आइसोलेशनमा रहेका बिरामीलाई घरसम्मै पुगेर आयुर्वेदिक औषधिको व्यवस्थापन गरिएको उहाँले बताउनुभयो ।

स्याङ्जा प्रतिनिधि तिलकुमारी थापाका अनुसार फेदीखोला गाउँपालिका–४ आरुखर्कको पौवामाथिको प्रतिक्षालयबाट दशैँ घर शिवालय जानेबाटोसम्म निषेधित क्षेत्र घोषणा गरी सो क्षेत्रमा आवतजावत गर्न रोक लगाइएको वडा अध्यक्ष माधवप्रसाद शर्मा सुवेदीले जेठ ९ गते सूचना प्रकाशन गरी जानकारी दिनुभएको छ । वडामा कोभिड सङ्क्रमण बढेको हुँदा वडाका किराना पसल बाहेकका सबै पसलहरू जेठ १५ गतेसम्म बन्द गर्न सूचनामा उल्लेख गरिएको छ ।

लुम्बिनी प्रदेश

बाँके जिल्लाको कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको जेठ ९ गतेको बैठकले जिल्लामा कोभिड सङ्क्रमणको जोखिमको अवस्था अझै कायम रहेकाले जेठ १७ गते राति १२ बजेसम्म पाँचौ पटक निषेध आदेश थप गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलाले बताउनु भयो । पहिलो पटक वैशाख ९ गतेदेखि निषेध आदेश जारी गरिएको थियो ।

कपिलवस्तु प्रतिनिधि पार्वती आचार्यका अनुसार बुद्धभूमि नगरपालिकाले कोभिडका कारण मृत्यु भएका विपन्न, गरिब तथा असहाय घर परिवारका लागि २० हजार रुपियाँ किरिया खर्च उपलब्ध गराउने निर्णय गरेको मेयर केशवकुमार श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार उक्त रकम पाउन वडाबाट सिफारिस आउनुपर्ने छ ।

बर्दिया प्रतिनिधि मानबहादुर चौधरीका अनुसार कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको जेठ १० गतेको बैठकले जिल्लामा कोभिड सङ्क्रमित र मृतकको सङ्ख्या बढ्दै गएपछि जेठ २० गतेसम्मका लागि निषेध आदेश थप गरेको छ । यस अवधिमा दैनिक उपभोग्य बस्तु तरकारी, खाद्यान्न, दुध, ग्याँसका पसल बिहान ६ बजे देखि ९ बजेसम्म सञ्चालन गर्न पाइने छ । आदेशको अवज्ञा वा अवहेलना गर्ने वा काममा बाधा पुर्‍याउने व्यक्तिलाई सङ्क्रामक रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताउनु भयो ।

सुदूरपश्चिम प्रदेश

दार्चुला प्रतिनिधि नरेन्द्रसिंह कार्कीका अनुसार समुदाय स्तरमा कोभिड सङ्क्रमण बढेपछि नौगाड गाउँपालिका, अपिहिमाल गाउँपालिका, मार्मा गाउँपालिका र दुहुँ गाउँपालिकाले टोल–टोलमै पुगेर बिरामीको परीक्षण तथा औषधी वितरण सुरु गरेको छ । गाउँ–गाउँमा ज्वरो र रुघाखोकीका बिरामी बढेपछि स्थानीय तहले टोल–टोलस्तरसम्म स्वास्थ्यकर्मी खटाएर कोभिडसँग मिल्दाजुल्दा लक्षण भएका बिरामीहरूको एन्टिजीन परीक्षण गर्दा कोभिड रिपोर्टहरू आउने गरेको खार स्वास्थ्य चौकीका इन्चार्ज गोविन्दसिंह ठगुन्नाले बताउनु भायो । काठमाडौँ र भारतका विभिन्न शहरबाट आएकाहरू गाउँ छिरेपछि समुदाय स्तरमा कोभिड सङ्क्रमितहरूको सङ्ख्या दिनानुदिन बढ्दै गएको स्वास्थ्य चौकी इन्चार्ज ठगुन्नाको भनाइ छ । घरमा बसेका बिरामीको अवस्था बारे बुझ्न तथा अक्सिजनको मात्रा चाहिने नचाहिने बारे जानकारी लिन समुदायस्तरमा स्वास्थ्यकर्मी पठाइएको मार्मा गाउँपालिका स्वास्थ्य इन्चार्ज चक्रसिंह धामीले बताउनु भयो । उहाँले भन्नुभयो–‘कोही बिरामी भएर पनि घरमै छन् । ज्वरो रुघाखोकी घट्यो या घटेन भन्ने बारे बुझ्न स्वास्थ्यकर्मी खटाइएको हो । अस्पतालसम्म आउने बिरामीको मात्रै एन्टिजीन परीक्षण भइरहेको छ ।’ पर्याप्त मात्रामा किट नहुँदा परीक्षण गर्न नसकिएको भएपनि गाउँमा पुगेर औषधि वितरण र कोभिडबाट बच्ने उपायबारे सचेतना जगाउन थालिएको अपिहिमाल गाउँपालिका स्वास्थ्य संयोजक राजेन्द्रसिह धामीले बताउनु भयो । नौगाड गाउँपालिकास्थित खार स्वास्थ्य चौकी इन्चार्ज गोविन्दसिंह ठगुन्नाले आफ्नो नेतृत्वमा गाउँ–गाउँमा रुघाखोकीका लक्षण भएका बिरामीको सोधीखोजी गर्ने र कोभिड सङ्क्रमितको अवस्थाबारे जानकारी लिने कार्य भइरहेको बताउनु भयो ।

अछाम प्रतिनिधि शिवराज ढुङ्गानाका अनुसार कोभिड– १९ को रोकथाम, नियन्त्रण तथा उपचारलाई एकीकृत र व्यवस्थित बनाउनका लागि निषेध आदेशलाई थप कडाइ गर्ने र निषेध आदेशको उल्लङ्घन गरिएको खण्डमा कारबाही गरिने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय, अछामले जनाएको छ । अत्यावश्यक काममा बाहिर आएको व्यत्तिलले मास्क नलाएमा १ सय रुपियाँ, आवतजावतमा रोक लगाएको अवस्थामा उल्लङ्घन गर्नेलाई हरेक पटक २ सय रुपियाँ, सवारी साधन चलाएमा हरेक पटक दुई पाङ्ग्रे सावारी साधनमा २ हजार रुपियाँ र चार पाङ्ग्रे सवारी साधनमा ५ हजार रुपियाँ जरिवाना गर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रञ्जनप्रसाद तिमिल्सैनाले जानकारी दिनु भयो । सवारी साधनको आवतजावतमा रोक लगाएको अवस्थामा बिरामी बोक्ने सवारी साधन बाहेकले कारण खुलाएर अनुमति लिनु पर्ने व्यवस्था गरिएको छ । कोभिड सङ्क्रमण थप फैलन नदिन जिल्लामा वैशाख १६ गतेदेखि जेठ १२ गतेसम्म निषेध आदेश जारी गरिएको छ । जिल्लामा हालसम्म ९ सय ४१ जना सक्रिय सङ्क्रमित रहेका छन् भने कोभिड सङ्क्रमणका कारण १९ जनाको मृत्यु भइसकेको छ ।

डडेल्धुरा प्रतिनिधि भुपेन्द्र बिष्टका अनुसार जिल्लामा कोभिड भाइरसको सङ्क्रमण तीव्र रूपमा फैलिएपछि अत्यावश्यक सेवा बाहेकका अन्य सार्वजनिक सेवाहरू अर्को आदेश नभएसम्म बन्द गरिएको जिल्ला प्रशासन कार्यालय, डडेल्धुराले जनाएको छ । अमरगढी नगरपालिकाभित्र हप्तामा तीन दिन आइतबार, मङ्गलबार र बिहीबार बिहान ७ बजेदेखि १० बजेसम्म खाद्यान्नका पसलहरू खोल्न पाइने र अन्य पालिकाको हकमा भने हरेक दिन बिहान ७ बजेदेखि १० बजेसम्म खोल्न पाइने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताउनु भयो । यसैगरी, अमरगढी नगरपालिका भित्र सार्वजनिक तथा व्यक्तिगत संरचनाका निर्माण कार्यहरू पनि अर्को आदेश नभएसम्म बन्द गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनु भयो ।

एक वर्षअघि

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ०७७ जेठ १० गतेसम्म ५ सय ८४ जनामा कोभिड-१९ पुष्टि भएको जनाएको थियो ।

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (२०७७ जेठ १० गते)


अनलाइन डेस्क