कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ ८ गते)

जेठ ८ गते ८ हजार ५ सय ९१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ५ लाख ५ हजार ४३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । जेठ ८ गते परीक्षण गरिएकामध्ये ४४ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १७.४ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । जेठ ८ गते १९ वर्ष मुनीका ८ सय ३५ जनामा कोभिड सङ्क्रमणको पुष्टि भएको छ । गत २४ घण्टामा १९ हजार ३ सय ५७ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ३ लाख ८३ हजार ६ सय ८४ जना निको भएका छन् । जेठ ८ गते ८ हजार ८ सय ४८ जना निको भएका छन् भने निको हुनेको दर ७५.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । जेठ ८ गतेसम्म ६ हजार १ सय ५३ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । जेठ ८ गते १ सय २९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आइसोलेशनमा पुष्टि भएका केसहरूको सङ्ख्या भनी सङ्क्रमितको सङ्ख्या १ लाख १५ हजार ८ सय ६ देखाइएको छ ।

 Corona Infographics 2078-02-08

मोरङ, सुनसरी, झापा, रौतहट, धनुषा, पर्सा, महोत्तरी, बारा, सप्तरी, सिरहा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, दोलखा, कास्की, नवलपरासी पूर्व, गोरखा, तनहुँ, स्याङ्जा, म्याग्दी, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, नवलपरासी पश्चिम, सुर्खेत, सल्यान, दैलेख, डडेल्धुरा, कैलाली, कञ्चनपुर, बैतडी, डोटी र अछाममा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् । गृह मन्त्रालयका अनुसार जेठ ५ गते साँझसम्म ७४ जिल्लामा पूर्ण तथा आंशिक निषेध आदेश जारी गरिएको छ । जेठ ६, ७ र ८ गते मन्त्रालयबाट निषेध आदेशसम्बन्धी थप जानकारी दिइएको छैन ।

प्रदेश २

सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार निषेध आदेश जारी भएकै बेला नेकपा माओवादी केन्द्र सप्तरीले राजविराज बजारमा जेठ ८ गते अपरान्ह विरोध जुलुस प्रदर्शन गरेको छ । माओवादी केन्द्र सप्तरीका जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य अमर मण्डलको अगुवाईमा निस्केको जुलुस नगर परिक्रमा पश्चात सहिद दशन चोकमा आएर समापन भएको छ । विभिन्न स्थानीय तहबाट मोटरसाइकलमा आएका कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटनको विरोधमा नारा लगाउँदै नगर परिक्रमा गरेका हुन् ।

जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले वैशाख २५ गते मध्यरातिदेखि अनिश्चितकालका लागि राजविराजलगायत जिल्लाका सबै बजार, हटियामा मानिस तथा सवारी साधन आवतजावत गर्न नपाउने गरी निषेधित क्षेत्र घोषणा गरेको छ । घोषणासँगै निषेध आदेशको उल्लङ्घन गर्नेलाई सङ्क्रामक रोग ऐन २०२० र अन्य प्रचलित कानुन अनुसार सजाय हुने समेत सूचना जारी गरिएको छ ।

बागमती प्रदेश

रामेछाप प्रतिनिधि नवराज घिमिरेका अनुसार जिल्लामा कोभिड सङ्क्रमण बढेकाले निषेध आदेशको अवधि थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लामा जारी निषेध आदेशलाई लम्ब्याएर जेठ १९ गते राति १२ बजेसम्म पुर्‍याएको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैँजूले जेठ ८ गते एक सूचना जारी गरी निषेध आदेशको अवधि थप गर्नुभएको हो ।

काभ्रेपलाञ्चोक प्रतिनिधि हिरामान लामाका अनुसार कोभिडको सङ्क्रमण बढेकाले काभ्रेका ६ ओटा स्थानीय तह सील गरिएको छ । पाँचखाल नगरपालिका क्षेत्र जेठ ८ गते दिउँसोदेखि जेठ २३ गतेसम्मका लागि सील गरिएको छ । धुलिखेल नगरपालिका र पनौती नगरपालिका जेठ ८ गते राति १२ बजेदेखि जेठ १२ गते राति १२ बजेसम्म सील गरिएको छ । रोशी गाउँपालिकाका सबै वडा जेठ ७ गते राति १२ बजेदेखि जेठ १२ गते राति १२ बजेसम्म सील गरिएको छ । त्यसैगरी भुम्लु गाउँपालिका क्षेत्रमा जेठ ९ गतेदेखि १५ गतेसम्म सील गर्ने निर्णय भएको छ । यसैगरी बनेपा र नमोबुद्ध नगरपालिका जेठ ४ गते राति १२ बजेदेखि जेठ १२ गते राति १२ बजेसम्म सील गरिएको छ । सील गरिएका स्थानीय तहले अत्यावश्यक पसलबाहेकका पसल व्यवसाय बन्द गर्न आग्रह गरेका छन् ।

दोलखा प्रतिनिधि उद्धव पोखरेलका अनुसार दोस्रो लहरको कोभिड महामारी व्यापक रूपमा फैलन थालेपछि जिल्लाका सबै सरकारी अस्पताललाई कोभिड अस्पतालको रूपमा विकास गरिएको छ । जिल्लाका सबै स्थानीय तहहरूमा कोभिड सङ्क्रमितहरूको सङ्ख्या बढेसँगै सङ्क्रमितको तत्काल उपचारका लागि स्थानीय तहहरू सक्रिय बनेका छन् । जिल्ला अस्पताल जिरी सहित सदरमुकाम चरिकोटमा रहेको चरिकोट प्रदेश अस्पताल र उत्तरी व्यापारिक केन्द्र सिङ्गटीमा रहेको सिङ्गटी अस्पताललाई कोभिड अस्पतालको रूपमा विकास गरिएको छ । जिल्लास्थित कोभिड–१९ सङ्कट व्यावस्थापन केन्द्र (डिसिसिएमसी)को निर्णय अनुसार जिल्लाका सबै सरकारी अस्पताललाई कोभिड अस्पतालको रूपमा विकास गरिएको हो । चरिकोट प्रदेश अस्पतालमा कोभिड सङ्क्रमितको उपचारका लागि ४३ बेडको आइसोलेशन र १२ बेडको एचडियू तयारी अवस्थामा रहेको अस्पतालका प्रमुख डाक्टर बिनोद दङ्गालले बताए । सो अस्पतालले दोलखा लगायत छिमेकी जिल्लाहरूलाई समेत सेवा दिँदै आएको छ । सिङ्गटी अस्पतालमा कोभिड सङ्क्रमितको उपचारका लागि २५ बेडको आइसोलेशन स्थापना गरिएको छ । बिगु, कालिञ्चोक र गौरीशङ्कर गाउँपालिकाका सङ्क्रमितलाई लक्षित गरी सिङ्गटी अस्पतालाई कोभिड अस्पतालको रूपमा विकास गरिएको कालिञ्चोक गाउँपालिकाका अध्यक्ष बिनकुमार थामीले बताए । जिरी नगरपालिका मातहतमा रहेको जिल्ला अस्पताल जिरीमा १० बेड क्षमताको आइसोलेशन तयार गरिएको जिरी नगरपालिकाका प्रमुख टङ्क जिरेलले बताए । वैत्यश्वर गाउँपालिकामा सञ्चालनमा रहेको बैत्यश्वर अस्पतालमा पनि १० बेड क्षमताको आइसोलेशन तयार गरिएको छ भने तामाकोशी गाउँपालिकामा रहेको कोभिड अस्पतालमा पाँच बेड क्षमताको आइसोलेशन तयारी अवस्थामा रहेको गाउँपालिकाले जनाएको छ ।

गण्डकी प्रदेश

गोरखा प्रतिनिधि हरिराम उप्रेतीका अनुसार गोरखा नगरपालिका क्षेत्रका बैङ्कहरू जेठ १५ गतेसम्म बन्द गरिएको छ । जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले जेठ १ गतेबाट जेठ ७ गतेसम्म बैङ्कको अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको थियो । अन्य स्थानीय तहले भने जोखिमको अवस्था हेरेर बैङ्क बन्द गराएका छन् ।

स्याङ्जा प्रतिनिधि तिलकुमारी थापाका अनुसार चापाकोट नगरपालिकामा कोभिड सङ्क्रमितको सङ्ख्या बढेकाले जेठ ७ गतेबाट स्वास्थ्य सेवाबाहेकका सेवा पाँच दिनको लागि बन्द गरिएको छ । नगरपालिकामा कोभिड सङ्क्रमितको सङ्ख्या बढेकाले नगर कार्यपालिकाको कार्यालय, चापाकोटको स्थानीय विपद व्यवस्थापन समितिको जेठ ७  गते बसेको बैठकले स्वास्थ्य सेवाबाहेकका सेवा जेठ ७ गतेदेखि जेठ ११ गतेसम्मका लागि पूर्ण ृपमा बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाभित्रका सबै वडाहरू सङ्क्रमणको उच्च जोखिम देखिएकोले चापाकोट नगरपालिका कार्यालय अन्तरगतका वडा कार्यालयहरू लगायत सम्पूर्ण बैक तथा वित्तीय संस्थाहरू, सरकारी, गैरसरकारी संस्थाहरू, शिक्षण संस्थाहरूबाट प्रदान हुँदै आएको स्वास्थ्यसेवा बाहेकका सम्पूर्ण सेवाहरू पूर्ण रुपमा बन्द गर्न निर्णय गरिएको चापाकोट नगरपालिकाका नगरप्रमुख शिवकुमार गिरीले जेठ ७ गते जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

लुम्बिनी प्रदेश

रुपन्देही जिल्ला प्रतिनिधि रिमा बिसीका अनुसार कोभिड सङ्क्रमणलाई मध्यनजर गर्दै तिलोत्तमा नगरपालिकाले चालु शैक्षिक सत्रको वार्षिक परीक्षा नलिने निर्णय गरेको छ । तिलोत्तमाका सामुदायिक तथा संस्थागत विद्यालय वैशाख १२ गतेबाट पूर्णतः बन्द छन् । नगरपालिकाको निर्देशनअनुसार कक्षा तीनसम्मको परीक्षा विद्यालयले वैशाख १२ गतेअघि नै लिइसकेका थियो । अन्य तहको  परीक्षा वैशाख १२ बाट सुरु भएकोमा कोभिड सङ्क्रमण बढेपछि स्थगित गरिएको थियो । नगर शिक्षा समितिले जेठ ७ गते कोभिड सङ्क्रमण यथावत रहेकोले भौतिक रूपमा लिन नसकिने भन्दै आन्तरिक मूल्याङ्कन मार्फत् परीक्षाफल प्रकाशित गर्ने निर्णय गरेको हो । सामुदायिक तथा संस्थागत विद्यालयले जेठ ३१ गते एकसाथ आन्तरिक मूल्याङ्कन मार्फत् परीक्षाफल प्रकाशन गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलले बताउनु भयो । त्रैमासिक परीक्षा र अर्धवार्षिक परीक्षामा प्राप्त अङ्कको ४०/४० प्रतिशत तथा विद्यालयमा रहेको विद्यार्थीको अभिलेखको आधारमा २० प्रतिशत तय गर्नुपर्ने मापदण्ड निर्धारण गरिएको छ । बैठकले कक्षा ८ को नगरस्तरीय परीक्षाको लागि समेत सोही अनुसारको मापदण्डको आधारमा मूल्याङ्कन गरी जेठ २५ गतेभित्र शिक्षा शाखामा पठाउन विद्यालयलाई सूचना समेत गरेको छ । नतिजा प्रकाशित गर्नुभन्दा अघि नयाँ शैक्षिक सत्रको भर्ना तथा अनलाइन कक्षा सञ्चालन नगर्न विद्यालयहरूलाई निर्देशन दिएको प्रमुख प्रशासकीय अधिकृत पौडेलद्वारा जारी सूचनामा उल्लेख छ ।

सुदूरपश्चिम प्रदेश

डडेल्धुरा प्रतिनिधि भूपेन्द्र बिष्टका अनुसार डडेल्धुरा अस्पतालले पीसीआर विधिबाट गरिने कोभिड–१९ परीक्षणको शुल्क लिइरहेको स्थानीयहरूले गुनासो गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाईको वैशाख २६ गते बसेको बैठकले कोभिड रोकथामका लागि पीसीआर शुल्क नलिन सबै सरकारी प्रयोगशालालाई निर्देशन दिएको भएपनि सो निर्देशनलाई बेवास्ता गर्दै अस्पतालले कोभिड परीक्षण शुल्क १ हजार रुपियाँ लिइरहेको अमरगढी नगरपालिका–५ का स्थानीय महेश श्रेष्ठले बताउनु भयो । वैशाख ३१ गते डडेल्धुरा अस्पतालमा कोभिड परीक्षण गर्न जाँदा आफूसँग अस्पतालले १ हजार रुपियाँको बिल काट्न लगाएको र अन्य स्थानीयहरूबाट पनि १ हजार रुपियाँका दरले शुल्क लिइरहेको अमरगढी नगरपालिका–५ का गणेशबहादुर मगरले गुनासो गर्नुभयो । आफ्नो टोलबाट दुईजना व्यक्तिले परीक्षण शुल्क तिर्न नसकेपछि अस्पतालबाट परीक्षण नगरिकनै फर्किएको मगरको भनाइ छ । तर, अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट जगदिशचन्द्र विष्टले कोभिड लक्षण भएका र चिकित्सकले पीसीआर गर्न सिफारिस गरेका बिरामीहरूबाट परीक्षण शुल्क नलिने गरेको बताउनु भयो ।  उहाँले भन्नुभयो– गाइडलाइनमा नभएकाहरूको  परीक्षण शुल्क लिने गरेका छौँ । मन्त्रालयले परिपत्र पठाइसकेपछि शुल्क लिने गरिएको छैन् ।’

बैतडी प्रतिनिधि नरी बडुका अनुसार जिल्लाका स्थानीय तहमा स्थापना भएका कोभिड अस्थायी अस्पतालमा डाक्टर नहुँदा सञ्चालनमा समस्या भएको छ । सङ्घीय सरकारले गत वर्ष नै बजेट विनियोजन गरेर स्थापना गर्न लगाइएका कोभिड अस्थायी अस्पतालहरूमा डाक्टर नपाउँदा सञ्चालनमा समस्या भएको स्थानीय तहहरूले जनाएका छन् । सङ्घीय सरकारले गत माघमै स्थानीय तहमा पाँच शैयाको अस्थायी कोभिड अस्पताल सञ्चालनका लागि बजेट पठाए पनि पुर्चौडी नगरपालिका, पाटन नगरपालिका र दोगडाकेदार गाउँपालिका बाहेकका स्थानीय तहले डाक्टर (मेडिकल अधिकृत) पाउन नसक्दा सञ्चालनमा ल्याउन नसकेको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताउनु भयो । उहाँले भन्नुभयो–‘डाक्टर दरबन्दीका लागि विज्ञापन गरिएको भएपनि दरखास्तै नै पर्दैन । यसले गर्दा समस्या भएको छ ।’ सिगास गाउँपालिकाले अस्थायी कोभिड अस्पतालमा डाक्टरका लागि तीन पटक आवेदन आह्वान गरेको भएपनि हालसम्म पनि कसैले आवेदन नदिएका कारण अस्पताल सञ्चालनमा समस्या भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख घनश्याम बोहराले बताउनु भयो । यसैगरी, मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र डिलाशैनी गाउँपालिकाले पनि अस्थायी कोभिड अस्पतालका लागि आवश्यक जनशक्ति नपाएको जनाएका छन् । जिल्लामा कोभिडका बिरामी बढ्दै गएपनि स्थानीय तहमा सञ्चालनमा आएका अस्थायी कोभिड अस्पतालमा डाक्टर अभावका कारण उपचारमा समस्या भइरहेको स्वास्थ्य कार्यालय, बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताउनु भयो । पालिकामा स्थापना भएका अस्पतालहरूमा  डाक्टर नहुँदा यसको सबै भार जिल्ला अस्पतालले खेप्नुपरेको भट्टको भनाई छ ।

एक वर्षअघि

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ०७७ जेठ ८ गतेसम्म ४ सय ५७ जनामा कोभिड-१९ पुष्टि भएको जनाएको थियो ।

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (२०७७ जेठ ८ गते)


अनलाइन डेस्क