कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ ७ गते)
जेठ ७ गते ८ हजार ४ सय ७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ४ लाख ९७ हजार ५२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । जेठ ७ गते परीक्षण गरिएकामध्ये ३८ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १७.२ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । जेठ ७ गते १९ वर्ष मुनीका ७ सय ९५ जनामा कोभिड सङ्क्रमणको पुष्टि भएको छ । गत २४ घण्टामा २२ हजार ३ सय ५३ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ३ लाख ७४ हजार ८ सय ३६ जना निको भएका छन् । जेठ ७ गते ७ हजार ८ सय ९० जना निको भएका छन् भने निको हुनेको दर ७५.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । जेठ ७ गतेसम्म ६ हजार २४ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । जेठ ७ गते १ सय ७७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आइसोलेशनमा पुष्टि भएका केसहरूको सङ्ख्या भनी सङ्क्रमितको सङ्ख्या १ लाख १६ हजार १ सय ९२ देखाइएको छ ।
मोरङ, सुनसरी, झापा, रौतहट, धनुषा, पर्सा, महोत्तरी, बारा, सप्तरी, सिरहा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, दोलखा, कास्की, नवलपरासी पूर्व, गोरखा, तनहुँ, स्याङ्जा, म्याग्दी, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, नवलपरासी पश्चिम, सुर्खेत, सल्यान, दैलेख, डडेल्धुरा, कैलाली, कञ्चनपुर, बैतडी, डोटी र अछाममा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् । गृह मन्त्रालयका अनुसार जेठ ५ गते साँझसम्म ७४ जिल्लामा पूर्ण तथा आंशिक निषेध आदेश जारी गरिएको छ । जेठ ६ र ७ गते मन्त्रालयबाट निषेध आदेशसम्बन्धी थप जानकारी दिइएको छैन ।
प्रदेश १
सुनसरी प्रतिनिधि जयकृष्ण यादवका अनुसार जेठ ७ गतेबाट लागु हुने गरी बराहक्षेत्र नगरपालिकाको वडा नं २, ६ र १० एक हप्ताको लागि ‘सील’ गरिएको छ । नगरपालिकाको कार्यालयमा बसेको ११ ओटै वडाका अध्यक्ष, प्रहरी, स्वास्थकर्मीसहितको बैठकले सील गर्ने निर्णय गरेपछि वडा सील गरिएको हो । बैठकले सम्बन्धित वडामा बिरामी र स्वास्थ्यकर्मीबाहेक अरुलाई हिँडडुल गर्न प्रतिबन्ध लगाएको वडा नं २ का अध्यक्ष हरिकृष्ण भट्टराईले बताउनुभयो । गढी गाउँपालिका–२ भमरी बजार पनि सील गरिएको छ । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादवका अनुसार भमरी बजार क्षेत्रमा कोभिड सङ्क्रमित बढेकाले उत्तरमा स्वास्थ्य चौकी, दक्षिणमा प्रहरी चौकी हुँदै गढी वनसम्म, पूर्वमा सीमारिया सीमा र पश्चिममा थाहाला खोला पुलसम्म सील गरिएको छ । कोभिड रोकथाम तथा नियन्त्रणका लागि जिल्लाको निर्णय अनुसार गाउँपालिकाले आवश्यक स्थानमा सील गरिएको यादवले बताउनुभयो ।
मोरङ प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार कोभिड–१९ विरुद्धको खोपको व्यवस्था गर्न उच्च अदालत विराटनगरले प्रदेश सरकार र विराटनगर महानगरपालिकालाई जेठ ७ गते अन्तरिम आदेश दिएको छ । अधिवक्ता मयुर अग्रवालले प्रदेश १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सामाजिक विकास मन्त्रालय, विराटनगर महानगरपालिका, महानगर प्रमुख भीम पराजुली र स्वास्थ्य महाशाखालाई विपक्षी बनाई दायर गर्नुभएको रिटमा प्रारम्भिक बहसपछि न्यायाधीश कृष्णकमल अधिकारीको एकल इजलासले सो आदेश दिएको हो । पहिलो विपक्षी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र दोस्रो विपक्षी सामाजिक विकास मन्त्रालयलाई मुख्य न्यायाधिवक्ताको कार्यालयमार्फत, विराटनगर महानगरपालिका कार्यालय र महानगर प्रमुख भीम पराजुलीका हकमा आफैँ वा आफ्नो प्रतिनिधिमार्फत र स्वास्थ्य महाशाखा तथा स्वास्थ्य महाशाखा प्रमुखलाई उच्च सरकारी वकिलको कार्यालय विराटनगरमार्फत १५ दिनभित्र लिखित जबाफ पेस गर्न आदेश दिएको हो ।
निवेदकको माग अनुसार खोपको कारणले अवस्था जटिल बनेको भन्दै पहिलो र दोस्रो चरणमा प्रदेश १ र विराटनगर महानगरपालिकाभित्र के कति खोप लगाइएको हो ? त्यसको अभिलेख समेत अद्यावधिक गरी पेस गर्न अन्तरिम आदेश दिइएको छ । निवेदकका तर्फबाट पहिलो चरणको खोप नलगाएकाहरूका लागि खोपको व्यवस्था गर्न र पहिलो चरणको खोप लगाइसकेकाहरूका लागि दोस्रो चरणको खोपको व्यवस्था हुनको लागि अन्तरिम आदेश माग गरिएको थियो । ‘पहिलो चरणकै खोप नलगाएको हकमा समेत खोप लगाउनु पर्ने माग गरिरहेबाट यसका लागि अभिलेख समेत राखी अद्यावधिक गरी सम्वद्ध निकायबिच समन्वय गरी अविलम्ब दुवै चरणको खोपको प्रभावकारी व्यवस्था गर्नु/गराउनु भनी उच्च अदालत नियमावली २०७३ को नियम ४२ बमोजिम विपक्षीहरूका नाममा अन्तरिम आदेश जारी गरिएको छ’ भनी आदेशमा उल्लेख छ ।
प्रदेश २
सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार सप्तकोशी नगरपालिकाले मानिसको चहलपहलमा रोक लगाउँदै साइकल र रिक्सा सञ्चालनमा समेत रोक लगाएको छ । नगर प्रमुख उत्तमकुमार शर्माले एक सूचना प्रकाशन गरी जेठ ७ गतेबाट नगर क्षेत्रभित्रका पसल, हाट, बजार रिक्सा, साइकललगायतका सम्पूर्ण सवारी साधनको सञ्चालनमा पूर्ण रुपमा रोक लगाइएको जानकारी गराउनु भएको छ । कञ्चनरुप नगरपालिकामा जेठ ७ गतेदेखि पुनः एक साताका लागि निषेध आदेशको अवधि बढाइएको छ । कोरोना भाइरसको सङ्क्रमण सङ्ख्याका साथै मृत्यु दर पनि बढिरहेकाले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि नगरपालिकामा वैशाख ३१ गतेदेखि एक साताका लागि लगाइएको निषेध आदेशको अवधि थप गर्दै जेठ १३ गतेसम्मका लागि बढाएको जनाएको छ । स्वास्थ्य सेवाका अति आवश्यक सेवाबाहेक नगरपालिका क्षेत्र पूर्ववत सील रहने निमित्त प्रशासकीय अधिकृत नवराज खडकाले बताउनु भयो ।
बागमती प्रदेश
काठमाडौँ प्रतिनिधि विमला पौडेलका अनुसार चन्द्रागिरी नगरपालिका थप दुई दिन सील गरिएको छ । काठमाडौँ उपत्यका प्रवेशको मुख्य नाकामा रहेको चन्द्रागिरी नगरपालिकाको वैशाख २९ गतेको बैठकको निर्णयअनुसार जेठ १ गतेदेखि ६ गतेसम्म सील गर्ने निर्णय भएपनि जेठ ६ गते पुनः दुई दिन (जेठ ७ र ८ गते) सील गर्ने निर्णय गरेको हो । नगरपालिकाका प्रमुख घनश्याम गिरीले जेठ ८ गते राति १२ बजेसम्म नगरपालिका क्षेत्र सील गर्ने निर्णय गरेको जानकारी दिनुभयो । नगरपालिका सील भएसँगै बिहान ६ देखि साँझ ५ बजेसम्म सर्वसाधारण सडकमा हिँडडुल गर्न पूर्णरूपमा प्रतिबन्ध गरिएको छ ।
गण्डकी प्रदेश
पर्वत प्रतिनिधि सन्तोष थापाका अनुसार कोभिड सङ्क्रमण नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय पर्वतले लागु गरेको निषेध आदेश एक हप्ता थप भएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको सिफारिस अनुसार प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जेठ १५ गतेसम्म निषेध आदेश थप भएको जानकारी दिनुभयो । निषेध आदेशको अवधि भर राष्ट्रिय गौरवका आयोजना र सार्वजनिक विकास निर्माणका आयोजनाहरूको काम भने नरोकिने र सबै आयोजनाहरूमा पूर्वाधार निर्माणको कामलाई गति दिने गरी समन्वय गरिने प्रशासन कार्यालयले प्रकाशन गरेको सूचनामा उल्लेख गरिएको छ ।
कर्णाली प्रदेश
सल्यान प्रतिनिधि मिना बुढाथोकीका अनुसार भवनको अभाव हुँदा जिल्ला कारागार सल्यानमा थुनुवा राख्न समस्या भएको छ । निषेध आदेश उल्लङ्घन गरेको आरोपमा ल्याइएका थुनुवालाई छुट्टै राख्न सरकारले निर्देशन दिए पनि भवनको अभाव भएका कारण सम्भव नभएको कारागारका जेलर बलबहादुर केसीले बताउनु भयो । कोभिड–१९ को सङ्क्रमण फैलिन सक्ने भन्दै निषेध आदेश लागु भएपछि ल्याइएका थुनुवाहरूलाई छुट्टै राख्न परिपत्र गरेको भएपनि भवनको अभाव हुँदा अन्य कैदीबन्दीसँगै राख्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । जिल्ला अदालतबाट कारागार चलान गरेका केही कैदीबन्दीको कोभिड परीक्षण गरेर पठाउने गरेको भए पनि खासै प्रभावकारी नदेखिएको उहाँले बताउनु भयो । रिर्पोट आउन समय लाग्ने र रिपोर्ट नआउदासम्म थुनुवालाई राख्ने ठाउँको अभाव रहेकोले सँगै राख्नुपरेको उहाँले बताउनु भयो । यस्तै, कोभिड सङ्क्रमण फैलिने भन्दै ०७७ चैत १२ गतेबाट कारागारका कैदीबन्दीसँग भेटघाट बन्द गरिएको छ । कारागारमा विभिन्न मुद्दाका २३ महिला, १ सय २३ पुरुष र दुई नाबालकसहित १ सय ४८ जना रहेका छन् ।
हुम्ला प्रतिनिधि नन्द सिंहका अनुसार अदानचुली, ताजाकोट, सर्केगाड र चखेंली गाउँपालिकामा रहेका स्वास्थ्य संस्थाहरूमा रूघाखोकी, टाउको दुख्ने, ज्वरो आउने लगायतका विभिन्न रोगले ग्रसित भएका बिरामीहरूले उपचार नपाएको ताजाकोट गाउँपालिका–२ का स्थानीय भक्तबहादुर बुढाले गुनासो गर्नुभयो । जिल्लाका सातवटै गाउँपालिकामा डाक्टरको दरबन्दी छैन । जिल्ला अस्पतालमा आठ जना डाक्टरको दरबन्दी भएपनि हाल चार जनामात्रै कार्यरत छन् । सो अस्पतालमा दक्ष प्राविधक नहुँदा भएका उपकरण पनि थन्काएर राख्नु पर्ने बाध्यता भएको जिल्ला अस्पतालका प्रमुख प्रेमबहादुर सिंहले बताउनु भयो । सदरमुकामबाट करिब चार—पाँच दिन पैदल हिँडेर पुगिने ती गाउँपालिकाहरूमा सङ्क्रमितलाई बस्ने क्वारेन्टाइन, भेण्टिलेटर, अक्सिजन लगायतको व्यवस्था नभएको र कोभिड परीक्षण गर्ने एन्टिजेन किट पनि पर्याप्त नभएको माओवादी केन्द्रका जिल्ला अध्यक्ष लालकेश जैसिले बताउनु भयो । बजेट अभावले पर्याप्त उपकरण तथा डाक्टरको व्यवस्था गर्न नसकेको ताजाकोट गाउँपालिका अध्यक्ष बागदल मल्लले बताउनु भयो ।
सुदूरपश्चि प्रदेश
डडेल्धुरा प्रतिनिधि भूपेन्द्र बिष्टका अनुसार जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले कोभिड सङ्क्रमणको स्थिति जटिल बन्दै गएको भन्दै जिल्लामा जारी गरिएको निषेध आदेश जेठ १५ गतेसम्मका लागि थप गरिएको छ । विश्वभरी फैलिरहेको नयाँ भेरियन्टसहितको कोभिड भाइरसको सङ्क्रमण जिल्लामा तीव्र रूपमा फैलिदै गएपछि निषेध आदेश थप गरिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताउनु भयो । यसैगरी अमरगढी नगरपालिकामा रहेका सबै वित्तीय तथा सहकारी सङ्घसंस्थाहरू अर्को आदेश नभएसम्मका लागि सातामा तीन दिन आइतबार, मङ्गलबार र बिहीबार बिहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म सञ्चालन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी घमिरेको भनाइ छ ।
बैतडी प्रतिनिधि नरी बडुका अनुसार कोभिडसँग मिल्दाजुल्दा लक्षण भएका दोगडाकेदार गाउँपालिका–२ ढीक गाउँमा एक महिनाको अवधिमा ६ जनाको मृत्यु भएको भएपनि गाउँमा परीक्षणको व्यवस्था नगरिएको स्थानीयहरूको गुनासो रहेको छ । मृत्यु भएका सबै जनामा ज्वरो आउने लगायतका लक्षण देखा परेको र अहिले पनि ढीक, कटाजपानी लगायतका गाउँमा अधिकाँश व्यक्तिहरूमा कोभिड–१९ सँग मिल्दाजुल्दा लक्षणहरू देखिएका भएपनि परीक्षणको व्यवस्था नगरिएका कारण थप समस्या उत्पन्न भएको स्थानीय अर्जुन कुँवरले गुनासो गर्नुभयो । यसैगरी दरशथचन्द नगरपालिका–४ बबेतमा पनि ज्वरो र रुघाखोकीका कारण एक महिनाको अवधिमा चार जनाको मृत्यु भएपछि मृतकका परिवारको परीक्षण गर्दा अधिकाँशमा कोभिड–१९ को पुष्टि भएको र गाउँमा मिल्दोजुल्दो लक्षण भएका व्यक्तिहरू प्रशस्त भएपनि उहाँहरू सबै जनाको परीक्षण हुन नसक्दा माहामारीको जोखिम बढ्दै गएको स्थानीय चेतना बोहराले बताउनु भयो । अहिले केही ठाउँमा कन्ट्राक्ट ट्रेसिङको काम भइरहेको भएपनि अधिकाँश ठाउँमा जनशक्ति र किट लगायतका समस्याका कारण परीक्षण गर्न नसकिएको स्वास्थ्य कार्यालय, बैतडीका प्रमुख योगेश भट्टले बताउनु भयो ।
एक वर्षअघि
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ०७७ जेठ ७ गतेसम्म ४ सय २७ जनामा कोभिड-१९ पुष्टि भएको जनाएको थियो ।
कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (२०७७ जेठ ७ गते)
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मकवानपुर जिल्ला थाहा नगरपालिका–६ घर भई शैलुङ गाउँपालिका–८ मा बस्ने ३९ वर्षीय हिराकाजी बलामीलाई कात्तिक २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई…
२ सय १० घरधुरी परिवारमा खानेपानीको समस्या
झिमरुक गाउँपालिका-१, सौतामारे गाउँका २ सय १० घरधुरी परिवारमा खानेपानीको समस्या भएको छ । सौतामारे गाउँमा लामो समयदेखि खानेपानीको सुविधा नहुँदा घण्टौँ लगाएर पानी बोक्नुपर्ने बाध्यता रहेको छ । साबिकको…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले छत्रेश्वरी गाउँपालिका–२, सल्यानका २१ वर्षीय लक्ष्मण विकलाई १० वर्ष कैद फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश प्रतिमाकुमारी भट्टराइ पोख्रेलको ०८१ कात्तिक…
गुल्मीको उपनिर्वाचनका मतदाता बढे, एकिकृत सुरक्षा योजना बन्दै
गुल्मीमा आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि मतदाता सङ्ख्या बढेको छ । ०७९ सालको तुलनामा झण्डै ३ सय मतदाता अहिले थपिएका छन् । मुसिकोट नगरपालिका–१ का वडाध्यक्ष मोहन घिमिरेको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा लुङ्ग्री गाउँपालिका–२ का २३ वर्षीय दिपक विकलाई प्रहरीले ०८१ कात्तिक २७ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले कात्तिक २६ गते बलात्कार गरेको…