कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ ३ गते)
जेठ ३ गते ९ हजार १ सय ९८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ४ लाख ६४ हजार २ सय १८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । जेठ ३ गते परीक्षण गरिएकामध्ये ४२ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १६.६ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । जेठ ३ गते १९ वर्ष मुनीका ८ सय ५६ जनामा कोभिड सङ्क्रमणको पुष्टी भएको छ । गत २४ घण्टामा २१ हजार ६ सय ५३ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ३ लाख ४५ हजार ५ सय २३ जना निको भएका छन् । जेठ ३ गते ५ हजार ७ सय ६७ जना निको भएका छन् भने निको हुनेको दर ७४.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । जेठ ३ गतेसम्म ५ हजार २ सय १५ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । जेठ ३ गते २ सय १४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आइसोलेशनमा पुष्टि भएका केसहरूको सङ्ख्या भनी सङ्क्रमितको सङ्ख्या १ लाख १३ हजार ४ सय ८० देखाइएको छ ।
मोरङ, सुनसरी, झापा, रौतहट, धनुषा, पर्सा, महोत्तरी, बारा, सप्तरी, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, सिन्धुली, कास्की, नवलपरासी पूर्व, गोरखा, तनहुँ, स्याङ्जा, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, अर्घाखाँची, नवलपरासी पश्चिम, सुर्खेत, कैलाली, कञ्चनपुर, बैतडी र अछाममा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् । गृह मन्त्रालयका अनुसार जेठ ३ गते बिहानसम्म ७४ जिल्लामा पूर्ण तथा आंशिक निषेध आदेश जारी गरिएको छ ।
प्रदेश १
मोरङ प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार स्थानीय प्रशासनले जारी गरेको निषेध आदेश पालना नगरी अनावश्यक रूपमा घर बाहिर निस्कने क्रम नरोकिएपछि मोरङको लेटाङ नगरपालिका वडा–२ ले सडकमा कर्मचारीलाई परिचालन गरेको छ । वडा क्षेत्रमा कोभिड–१९ को सङ्क्रमण फैलन नदिन र कोभिडबारे जनचेतना जगाउने उद्देश्यले शिक्षक, कर्मचारी तथा सहकारीकर्मीलाई परिचालन गरिएको वडाध्यक्ष तेजप्रसाद तिम्सिनाले बताउनु भयो । जेठ २ गतेको बैठकले वडा क्षेत्रमा रहेका सामुदायिक विद्यालयका शिक्षक र सहकारी संस्थाका कर्मचारीहरूलाई जेठ ३ गतेदेखि परिचालन गरिएको वडाध्यक्ष तिम्सिनाले बताउनु भयो । कोभिड–१९ को जोखिम न्यूनीकरण तथा रोकथामका लागि जिल्ला प्रशासन कार्यालयले जेठ ११ गते सम्मलाई निषेध आदेश जारी गरेको छ । प्रहरी चौकी र जनप्रतिनिधिहरूको सिमित जनशक्तिबाट दुई ओटा नाकाहरूमा ड्युटी तथा वडा सील गरी अति आवश्यक काम बाहेक हिँडडुल गर्न निषेध गरिएको नगरपालिकाले जनाएको छ । सरकारी विद्यालय तथा सहकारीका ३५ जना कर्मचारीलाई आलोपालो गरेर बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म वडाका चार ओटा नाकाहरूमा परिचालन गरिएको छ । स्वास्थ्य सामग्री, परिचयपत्र र दिवा खाजाको व्यवस्थापन सहित वडा कार्यालयले कर्मचारी परिचालन गरेको छ । सडकमा खटिएका स्वयम्सेवकहरूले सडकमा ड्युटीसँगै वडामा कोभिड–१९ सङ्क्रमणसँग मिल्ने लक्षण देखिएका व्यक्तिहरूको विवरण वडामा बुझाउने र सोको आधारमा लेटाङ नगरपालिकाले स्वाब सङ्कलन गरी प्रयोगशाला पठाउने गरेको प्रहरी चौकी वुधवारेका असई ताराबहादुर बस्नेतले बताउनु भएको छ ।
ताप्लेजुङ प्रतिनिधि देवराज गुरुङका अनुसार जिल्लामा कोभिड–१९ सङ्क्रमित बढेकाले जिल्ला प्रशासन कार्यालयले निषेध आदेशको समय पुनः थप गरेको छ । जेठ ३ गते मध्यरातिदेखि जेठ १० गते मध्यरातिसम्मका लागि निषेध आदेशको समय थप गरिएको छ । प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले निषेध आदेशको समयमा आइतबार, सोमबार र मङ्गलबार वित्तीय संस्थाले सामाजिक दूरी कायम गरेर अति आवश्यकीय सेवा प्रदान गर्ने गरी निषेध आदेशको समय तेस्रो पटक थप गरिएको बताउनु भएको छ ।
सोलुखुम्बु प्रतिनिधि भोजराज कार्कीका अनुसार थुलुङ दूधकोशीले गाउँपालिका लक्षणसहितका कोभिड–१९ सङ्क्रमितलाई गाउँपालिकामै सञ्चालित कोभिड अस्पतालमा उपचार गर्ने निर्णय गरेको छ । जेठ ३ गतेको गाउँकार्यपालिका बैठकले लक्षणसहितका सङ्क्रमितलाई कोभिड अस्पतालमा उपचार गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष असिम राईले बताउनु भयो । बैठकले १० बेडको अक्सिजन सहितको कोभिड अस्पताल सञ्चालनको निर्णय गरेको हो । गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीलाई तलबको ५० प्रतिशत जोखिम भत्ता दिने निर्णय गरिएको अध्यक्ष राईले बताउनु भएको छ ।
सुनसरी प्रतिनिधि जयकृष्ण यादवका अनुसार जिल्लामा कोभिड–१९ सङ्क्रमित बढेकाले इटहरी उपमहानगरपालिका र धरान उपमहानगरपालिकाले जेठ ७ गतेसम्म बैङ्क तथा वित्तीय संस्था बन्द गर्ने निर्णय गरेका छन् । जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेध आदेशमा बैङ्क तथा वित्तीय संस्थालाई सिमित कर्मचारीमार्फत सेवा प्रवाह गर्न खुकुलो गरिएको भएपनि कोभिड–१९ को सङ्क्रमण दैनिक रूपमा बढेकाले बैङ्क तथा वित्तीय संस्था बन्द गर्ने निर्णय गरिको धरान उपमहानगरपालिकाका मेयर तिलक राईले बताउनु भयो । सरोकारवालाको जेठ ३ गतेको बैठकले सो निर्णय गरेको हो ।
प्रदेश २
धनुषा प्रतिनिधि दिपेन्द्रप्रसाद सिंहका अनुसार प्रादेशिक अस्पताल जनकपुरधाममा सञ्चालित कोभिड विशेष अस्पतालको लागि उद्योगबाट आएको अक्सिजन सिलिण्डर निजी अस्पतालमा जाने गरेकाले कोभिड सङ्क्रमितको मृत्युदर अस्पतालमा बढेको अस्पताल प्रशासनले स्वीकारेको छ । प्रादेशिक अस्पतालमा १४ जना सङ्क्रमितको मृत्यु भएपछि अस्पताल प्रशासनले सो स्वीकार गरेको हो । प्रादेशिक अस्पताल जनकपुरका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर प्रमोद यादवका अनुसार कोभिड वार्डका लागि ढल्केबर ग्याँस उद्योगले पठाउने गरेको अक्सिजन सिलिण्डर निजी अस्पतालमा पुग्ने गरेको बताउनु भएको हो । जेठ १ गतेदेखि नै उद्योगले पठाउने गरेको अक्सिजन सिलिण्डर निजी अस्पतालमा पुग्ने गरेको छ । अस्पतालमा अक्सिजन सिलिण्डर नआएको बारेमा धनुषाका एसपी, डिएसपी र सिडिओलाई समेत जानकारी गराउँदा पनि चासो नलिएको डाक्टर यादवको आरोप छ ।
सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा जडान भएपनि भेन्टिलेटरहरू सञ्चालनमा आउन नसक्दा कोभिड सङ्क्रमितहरूको उपचारमा समस्या भएको छ । कोभिड–१९ लाई लक्षित गरी जडान गरिएको सघन उपचार कक्षसहितको चार ओटा भेण्टिलेटर जनशक्ति अभावमा सञ्चालनमा आउन नसकदा उपचारमा समस्या भएको हो । चिकित्सकहरूका अनुसार ‘डबल म्युटेन्ट भेरिएन्ट’ले गर्दा दोस्रो लहरमा सङ्क्रमण सार्न सक्ने क्षमता शक्ति बढी देखिएको र पहिलेको तुलनामा धेरै सङ्क्रमितहरूमा लक्षण देखिएकाले मृत्युको दर कम गर्न भेण्टिलेटर र अक्सिजन आवश्यक छ । ‘भेण्टिलेटरहरू जडान त भयो तर जनशक्ति छैन ।’-अस्पतालका सूचना अधिकारी सुर्यकान्त झाले भन्नुभयो– ‘जनशक्ति अभावले जटिल अवस्थाका बिरामीलाई जिल्ला बाहिर पठाउनुपर्ने बाध्यता रहेको छ ।’
राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा अक्सिजनको अभाव हुने सम्भावना व्यक्त गर्दै अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर रणजितकुमार झाले सम्बन्धित निकायलाई आ–आफ्नो ठाउँबाट जुटन आग्रह गर्नुभएको छ । अस्पतालका सिलिण्डरहरू रित्तिँदै आएको तथा इटहरी र दुहबीस्थित उद्योगको डिपोमा खाली सिलिण्डर भर्न समय लाग्ने भएपछि अक्सिजन अभाव हुने अवस्था आएको डाक्टर झाले जानकारी दिनुभयो । बाँकी रहेका सिलिण्डरबाट अन्य संक्रमितलाई अक्सिजन उपलब्ध गराइरहेको जानकारी दिनुहुँदै झाले जेठ ४ गते बिहानसम्म अक्सिजन ल्याउन नसकिए धेरै संक्रमितको जीवन जोखिममा पर्ने चिन्ता व्यक्त गर्नुभयो । अक्सिजनको आपूर्ति हुँदै आएको इटहरी र दुहबीको डिपोमा अक्सिजन भर्न पश्चिम बुटवल, दाङ्गसम्मबाट खाली अक्सिजन सिलिण्डर लाममा बसेको छ । खाली सिलिण्डरको लामले दुई दिनमा पनि अक्सिजनको पाइन सक्ने अवस्था नदेखिए पछि तनावमा आएका डा. झाले सहयोगका लागि सिडिओ, जनप्रतिनिधि र राजनीतिक दलका नेतृत्वलाई सार्वजनिक रुपमा सामाजिक सञ्जालमार्फत अपील गर्नुभएको छ ।
गण्डकी प्रदेश
तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार भानु नगरपालिकाले नगरपालिकाको वडा नम्बर ५ स्थित पुरनडिही अस्पताललाई कोभिड अस्पताल बनाएको छ । नगरपालिकाले जेठ २ गतेबाट उक्त अस्पतालमा १५ बेडको कोभिड अस्पताल बनाएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले बताउनुभयो । सबै बेडमा अक्सिजनको व्यवस्था गरिएको छ भने गम्भीर प्रकृतिका बिरामीलाई लैजान एम्बुलेन्सको पनि व्यवस्था गरिएको उहाँले बताउनुभयो । उक्त अस्पतालको अनुगमनपछि मेयर उदयराज गौलीले अब कोभिड सङ्क्रमित नगरवासीलाई आफ्नै नगरपालिकाभित्र नै उपचार गर्न सकिने बताउनुभयो ।
बागलुङ प्रतिनिधि सिर्जना पन्तका अनुसार बागलुङका १० ओटा स्थानीय तहले कोभिड १९ महामारी टार्न संयुक्त रुपमा ५५ लाख रुपियाँको कोभिड कोषको स्थापना गरेका छन् । जेठ ३ गते बसेको जिल्लाका गाउँपालिका र नगरपालिका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षको बैठकबाट जिल्लाका सबै स्थानीयतहले संयुक्त रुपमा कोभिड सङ्कटसँग जुध्न कोभिड कोष स्थापना गरेका हुन । ५५ लाखको कोभिड कोषमा बागलुङ नगरपालिकाले १० लाख रुपियाँ र अन्य स्थानीयतहले पाँच लाख रुपियाँका दरले जम्मा गर्ने निर्णय भएको हो । जिल्लाका दश स्थानीयले संयुक्त रुपमा स्वास्थ्य सामाग्री व्यवस्थापन, जनशक्ति व्यवस्थापन र शव व्यवस्थापन लगायतका कोभिडसँग सम्बन्धित काममा खर्च गर्नका लागि संयुक्त रुपमा कोष स्थापना गरिएको बागलुङ नगरपालिका नगर प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो ।
म्याग्दी प्रतिनिधि अमृतप्रसाद पौडेलका अनुसार बेनी अस्पतालमा २६ बेडको आइसोलेशन कक्ष स्थापना गरिएको छ । कोभिड–१९ का बिरामीको चाप बढ्न थालेपछि अस्पतालको निर्माणाधिन अवस्थामा रहेको भवनमा जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र(डिसिसिएमसी), बेनी नगरपालिका र बेनी अस्पतालको सहकार्यमा जेठ २ गतेदेखि आइसोलेशन कक्ष सञ्चालन गरिएको हो । होम आइसोलेशनमा बसेका बिरामीमा श्वासप्रस्वस सहित विभिन्न समस्या आएपछि अस्पतालमा भर्ना हुन थालेपछि चिकित्सकको नियमित निगरानीका लागि आइसोलेशन कक्षको स्थापना गरिएको बेनी अस्पतालका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो ।
कास्की प्रतिनिधि सुशन घिमिरेका अनुसार रुपा गाउँपालिका-६ भिरचोकमा रहेको रुपा अस्पतालामा कोभिड–१९ सङ्क्रमितको उपचारार्थ अक्सिजन सहितको १५ बेडको आइसोलेशन तयार गरेको छ ।
पर्वत प्रतिनिधि सन्तोष थापाका अनुसार जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको टोलीले पर्वत जिल्ला कारागारको अनुगमन गरेको छ । कोभिड–१९ दोश्रो लहरको महामारीका कारण कारागारमा पनि सङ्क्रमणको समस्या पर्न सक्ने भन्दै प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्री सहितको टोलीले अनुगमन गरेको हो । अनुगमनका क्रममा २५ जनाको क्षमता रहेको पर्वत जिल्ला कारागारमा १ सय ६ जना कैदीवन्दी रहेको र हाल सम्म सङ्क्रमणको कुनै समस्या नरहेको पाइएको थियो । सङ्क्रमणको समस्या नरहेपनि भोलिका दिनमा सङ्क्रमण फैलिन सक्ने भएकाले सामानहरु भित्र लैजाने क्रममा करिब २४ घण्टा राखेर मात्रै लैजाने र आफन्तहरु भेटघाट गर्न करिब १० मिटरको दुरी कायम गरेर दिने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले बताउनुभयो । कारागारमा अहिलेसम्म कोभिडका सङ्क्रमित नरहेको र सङ्क्रमित हुन पुगेमा कारागार भित्रै छुट्टै स्थानमा राख्ने गरी व्यवस्थापनको तयारी भएको कारागार पर्वतका सुब्बा हरिकृष्ण शर्माले बताउनुभयो ।
लुम्बिनी प्रदेश
बाँके जिल्लामा कोभिड सङ्क्रमण नियन्त्रणमा नआएपछि पुनः चौथो पटक निषेध आदेश थप गरिएको छ । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको जेठ ३ गतेको बैठकले जिल्लामा कोभिड–१९ दोस्रो लहर सुरूवातसँगै वैशाख १ गतेदेखि जेठ ३ गतेसम्म भेरी अस्पतालमा ८ सय ५२ जना भर्ना भएका मध्ये ४ सय ६६ जना निको भएका छन् । यस अवधिमा १ सय ५३ जनाको मृत्यु भएको छ ।
पाल्पा प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाका अनुसार जिल्लामा वैशाख १७ गतेदेखि जारी निषेध आदेश जेठ १५ गतेसम्म थप गरिएको छ । जेठ ३ गते बसेको सिसिएमसीको बैठकले निषेध आदेश थप गरेको प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले बताउनु भयो । दैनिक सङ्क्रमित थपिदै गएपछि तेस्रो पटक निषेध आदेश थप गरिएको उहाँले बताउनु भयो । बैठकले सङ्क्रमित बढिरहेको अवस्थामा बिरामीहरूलाई अक्सिजन आवश्यकता हुने र जिल्लामा अक्सिजन प्लान्ट नहुँदा अक्सिजन आपूर्ति गर्न समस्या भएकोले अक्सिजन प्लान्ट स्थापना गर्न पाल्पा अस्पतालले बजेट सहित योजना तयार गरी बजेट उपलब्धताका लागि सङ्घीय र प्रदेश सरकारमा पेश गर्ने निर्णय भएको उहाँले बताउनु भयो । जिल्लामा अक्सिजन आपूर्तिको लागि बारा, रुपन्देही लगायत सम्भाव्य जिल्लाहरूका प्रमुख जिल्ला अधिकारीहरूसँग समन्वय भइरहेको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनु भयो ।
सुदूरपश्चिम प्रदेश
कैलाली प्रतिनिधि मैनामोती चौधरीका अनुसार जिल्लामा कोभिड सङ्क्रमितहरूको सङ्ख्यामा बृद्धि हुँदै आएपछि वैशाख १६ गतेदेखि जरी गरिएको निषेध आदेश पुनः एक हप्ताका लागि थप गरिएको छ । जिल्ला प्रशासन कार्यालयका निमित्त प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीको अध्यक्षतामा जेठ ३ गते बसेको बैठकले जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको सिफारिसमा जिल्ला प्रशासन कार्यालय, कैलालीले जेठ १३ गतेसम्म निषेध आदेश थप गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय, कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताउनु भयो ।
बैतडी प्रतिनिधि नरी बडुका अनुसार जिल्लाका ८ सय ७० सक्रिय सङ्क्रमितमध्ये ७ सय बढी होम आइसोलेशनमा बस्दै आएको भएपनि उनीहरूले स्वास्थ्य मापदण्ड पालना नगर्दा जिल्लामा सङ्क्रमणको जोखिम बढदै गएको छ । होम आइसोलेशनको मापदण्ड अनुसार परिवारबाट छुट्टै बस्ने, खाने र शौचालयदेखिका विभिन्न सुरक्षाका मापदण्डहरू पालना र प्रयोग गर्नु पर्ने भएपनि होम आइसोलेशनमा बसेका व्यत्तिलहरूले मापदण्ड पालना नगर्दा जोखिम बढेको जिल्ला स्वास्थ्य कार्यालय, बैतडीका प्रमुख योगेश भट्टले बताउनु भयो । उहाँले भन्नुभयो– ‘ गाउँघरमा कोभिडसँग मिल्दोजुल्दो लक्षण भएका बिरामी प्रशस्त छन् । उनीहरूको परीक्षण हुन सकेको छैन् । एउटै धारा, शौचालय र घरभित्र बाहिर जाने बाटो समेत एउटै प्रयोग गरिरहेकाले थप सङ्क्रमित हुने जोखिम बढेको छ ।’ त्यसैगरी, जिल्ला प्रशासन कार्यालयले कोभिड सङ्क्रमण, रोकथाम तथा नियन्त्रणका लागि जेठ १७ गतेसम्म दोस्रो चरणको निषेध आदेश समेत जारी गरेको छ । कोभिडको चेन ब्रेक गर्न निषेध आदेश जारी गरिएकाले सङ्क्रमितहरूले पनि आइसोलेशनमा बस्नु आवश्यक रहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताउनु भयो । गाउँमा परीक्षण गर्दा परीक्षण गरिएका मध्ये ५० प्रतिशत बढीमा कोभिड–१९ पोजेटिभ देखिने गरेको समेत भट्टको भनाइ छ । जिल्लामा झण्डै ४ सय बेड आइसोलेशन कक्ष तयार भएपनि आइसोलेशनमा बस्नेको सङ्ख्या भने १ सय ९५ जना रहेको छ । कोभिडकै कारण जिल्लामा १० जनाले ज्यान गुमाइसकेका छन् ।
दार्चुला प्रतिनिधि नरेन्द्रसिंह कार्कीका अनुसार अपि हिमाल गाउँपालिकाले कोभिड सङ्क्रमितको सङ्ख्या बढेको भन्दै स्वास्थ्यकर्मी सहितको टोली घरघरमा पठाएर बिरामीहरूको स्वास्थ्य परीक्षण सुरु गरेको छ । गाउँपालिकाको आयोजनामा गाउँपालिकाभरी रहेका प्रत्येक घरधुरीहरूमा अनिवार्य रूपमा पुगेर निःशुल्क परीक्षण गर्न स्वास्थ्यकर्मी परिचालन गरिएको गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले बताउनु भयो । निषेध आदेशका कारण अस्पतालसम्म पुग्न नपाई औषधी सेवन गर्न नपाएका, असहाय, अशत्तल र नियमित उपचारबाट वञ्चित स्थानीयहरूलाई औषधी तथा परीक्षण गर्न लागिएको उहाँले बताउनु भयो । हाल गाउँपालिकामा १ सय १७ जना कोभिड सङ्क्रमितहरू रहेका छन् । जिल्लामा कोभिड सङ्क्रमण बढ्दै गएपछि प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीको अध्यक्षतामा बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले सदरमुकाम खलंगा र गोकुलेश्वरमा ५०÷५० शैयाको आइसोलेशन बनाउने निर्णय गरेपछि महाकाली नगरपालिका र अन्य स्थानीय तहहरूले पनि आइसोलेशन बेड निर्माण कार्य सुरु गरेका छन् । स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको २० लाख रुपियाँ बजेटबाट खलङ्गामा अक्सिजनसहितको ५० शैयाको आइसोलेशन तयार भइरहेको महाकाली नगरपालिकाका स्वास्थ्य संयोजक मोहन महराले बताउनु भयो । यसैगरी, शैल्यशिखर नगरपालिकाले गोकुलेश्वरमा २५ बेडको, अपिहिमाल गाउँपालिकाले ३५ बेड, दुहु गाउँपालिकाले १२ बेडको आइसोलेशन निर्माण गरेको र मार्मा गाउँपालिकाले पाँच बेडको कोभिड अस्पताल सञ्चालनमा ल्याएको शैल्यशिखर नगरपालिकाका प्रमुख अमरसिह धामीले बताउनु भयो ।
डोटी प्रतिनिधि बासुदेव जोशीका अनुसार जिल्लामा कोभिड भाइरसको सङ्क्रमण बढ्दै गएपछि सेती सभा हलमा अक्सिजन र स्वास्थ्यकर्मी सहितको ५० शैयाको कोभिड अस्पताल बनाउने निर्णय भए अनुसार जिल्ला स्वास्थ्य कार्यालय, डोटीका निमित्त प्रमुख उद्धबबहादुर ठगुन्नाको संयोजकत्वमा ६ सदसीय विज्ञ टोली गठन गरिएको पत्रकार कर्ण चन्दले बताउनु भयो । कोभिड सङ्क्रमण बढ्दै गएपछि जिल्लाका स्थानीय तहहरूले जनशक्ति र आर्थिक रकम उपलब्ध गराउने निर्णय भएको दिपायल सिलगढी नगरपालिकाका प्रमुख मञ्जु मलासिले बताउनु भयो । कोभिड अस्पताल सञ्चालनका लागि सुजङ्ग अस्पतालले ३० ओटा बेड र जिल्ला अस्पताल डोटीले १५ ओटा बेड उपलब्ध गराउने र अस्पताल सञ्चालनको जिम्मा जिल्ला सङ्कट विपत् व्यवस्थापन समितिलाई दिने निर्णय समेत गरिएको नगरप्रमुख मलासीले बताउनु भयो ।
एक वर्षअघि
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ०७७ जेठ ३ गतेसम्म २ सय ८१ जनामा कोभिड-१९ पुष्टि भएको जनाएको थियो ।
कोभिड सङ्क्रमणका कारण ०७७ जेठ ३ गते एक जना सुत्केरीको मृत्यु भएको थियो । कोभिड सड्ड्क्रमणबाट मृत्यु भएको नेपालमा यो नै पहिलो थियो ।
कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (२०७७ जेठ ३ गते)
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
क्षतिग्रस्त पुलको मर्मत नहुँदा दुई जिल्लाका स्थानीयलाई सास्ती, विद्यार्थीको पठनपाठन प्रभावित
अछाम र दैलेख जिल्ला जोडने कर्णाली नदीमा निर्माण गरिएकोे पुरानो झोलुङ्गे पुलमा खच्चडहरु गइरहेको बेलामा ६ महिनाअघि लठ्ठा चुडिँयो । पुल निर्माणको बहस स्थानीयदेखि संसदसम्मै पुग्यो । तर, जेठमा लठ्ठा…
विद्यालयमा डेस्क बेन्च र शौचालयको अभाव हुँदा पठन पाठनमा समस्या
जनकपुरधाम उपमहानगरपालिका-२१ कुर्थास्थित श्री गायत्री प्रज्ञापिठ गुरुकुलमा भौतिक पूर्वाधारका समाग्री तथा डेस्क बेन्चको अभाव हुँदा विद्यार्थीहरू भुईमा बसेर पढ्न बाध्य भएका छन् । २०७६ सालमा स्थापना भएको श्री गायत्री प्रज्ञापिठ…
कुटपिट घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
सिमकोट गाउँपालिका–२ घर भई नेपाली कांग्रेस पार्टीका वडा सभापति ३६ वर्षीय गोर्ख बोहरालाई कुटपिट गरेको भन्दै सिमकोट गाउँपालिका–१ का वडा सदस्य ३८ वर्षीया पेमा लामा र सोही ठाउँकी २३ वर्षीया…
विद्यालयमा शौचालय अभाव हुँदा पठनपाठन प्रभावित
चौकुने गाउँपालिका–५, रेक्चास्थित जनकल्याण आधारभुत विद्यालयमा शौचालय र कक्षाकोठाको अभाव हुँदा पठनपाठन प्रभावित भएको छ । विद्यालयमा शौचालय नभएपछि विद्यार्थीहरू शौचालय प्रयोग गर्न घरमा जानुपर्ने बाध्यता छ । विद्यालयमा खानेपानी…
मानव अधिकार दिवसको अवसरमा कारागार अनुगमन र शैक्षिक सामग्री सहयोग
७६ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा तनहुँका मानव अधिकारसँग सम्बन्धित सङ्घ संस्थाको समन्वयमा मङ्सिर २५ गते तनहुँ जिल्ला कारागारको अनुगमन तथा कारागारमा अभिभावकसँग आश्रित बालबालिकालाई शैक्षिक सामग्री तथा न्यानो…