कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ २ गते)
जेठ २ गते ७ हजार ३ सय १६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ४ लाख ५५ हजार २० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । जेठ २ गते परीक्षण गरिएकामध्ये ३७ प्रतिशतमा कोभिड पुष्टी भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १६.४ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । जेठ २ गते १९ वर्ष मुनीका ६ सय ५८ जनामा कोभिड सङ्क्रमणको पुष्टी भएको छ । गत २४ घण्टामा १९ हजार ५ सय ३९ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ३ लाख ३९ हजार ७ सय ५६ जना निको भएका छन् । जेठ २ गते ६ हजार ६ सय ४८ जना निको भएका छन् भने निको हुनेको दर ७४.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । जेठ २ गतेसम्म ५ हजार १ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । जेठ २ गते १ सय ४५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आइसोलेशनमा पुष्टि भएका केसहरूको सङ्ख्या भनी सङ्क्रमितको सङ्ख्या १ लाख १० हजार २ सय ६३ देखाइएको छ ।
मोरङ, सुनसरी, झापा, रौतहट, धनुषा, पर्सा, महोत्तरी, बारा, सप्तरी, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, सिन्धुली, कास्की, नवलपरासी पूर्व, गोरखा, तनहुँ, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, अर्घाखाँची, नवलपरासी पश्चिम, सुर्खेत, कैलाली, कञ्चनपुर, बैतडी र अछाममा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् । गृह मन्त्रालयका अनुसार जेठ २ गते बिहानसम्म ७४ जिल्लामा पूर्ण तथा आंशिक निषेध आदेश जारी गरिएको छ ।
प्रदेश १
मोरङ प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार प्रदेश १ बाट अक्सिजन अभाव भएका अन्य जिल्लामा अक्सिजन पठाउन थालिएको छ । प्रदेश १ बाट सिरहा, सप्तरी, धनुषामा अक्सिजन सिलिण्डर पठाइएको छ । रूपन्देही, डडेलधुरा, काठमाण्डौं, मकवानपुर, दाङलगायतका जिल्लामा अक्सिजन पठाइएको मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले बताउनु भयो । जिल्ला प्रहरी कार्यालय मोरङका एसपी सन्तोष खड्काले स्थल र हवाई मार्गबाट धमाधम अक्सिजन पठाउने काम भइरहेको बताउनु भयो । नेपाली सेनाको स्काई ट्रकको प्रयोग गरेर विराटनगर विमानस्थल हुँदै हवाई मार्गबाट अक्सिजन पठाउने गरिएको छ ।
सुनसरी प्रतिनिधि जयकृष्ण यादवका अनुसार धरान उपमहानगरपालिकास्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पताल सङ्क्रमितले भरिएपछि उपचारका लागि आएका नयाँ सङ्क्रमितलाई वरण्डा र चौरमा राखी उपचार सुरू गरिएको छ । सङ्क्रमित बढेकाले अस्पतालमा बेड भरिएपछि वरण्डा र चौरमा राखेर सङ्क्रमितको उपचार गर्नु परेको प्रतिष्ठानले जनाएको छ ।
सङ्खुवासभा प्रतिनिधि भविन कार्कीका अनुसार जिल्लामा कोभिड–१९ का सङ्क्रमित बढेकाले जोखिम न्यूनीकरण तथा रोकथामका लागि जिल्ला प्रशासन कार्यालयले जेठ २ गते मध्यरातिदेखि जेठ १२ गते मध्यरातिसम्मका लागि निषेध आदेशको समय थप गरेको छ । जिल्लामा सङ्क्रमणको जोखिम बढेकाले निषेध आदेश थप गरिएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताउनु भयो । निषेध आदेशको समयमा अत्यावश्यक बाहेकका सेवा बन्द हुने प्रशासनले जनाएको छ । खाद्यान्न पसल बिहान ७ बजेदेखि ९ बजेसम्म र साँझ ४ बजेदेखि ६ बजेसम्म खुल्ला राख्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनु भयो । यसअघि वैशाख २६ गतेदेखि जेठ २ गते सम्मका लागि निषेध आदेश जारी गरिएको थियो ।
तेहृथुम प्रतिनिधि भगिश्वर लिम्बूका अनुसार छथर गाँउपालिकाले ‘अनुरोध एक, सेवा अनेक’ भन्ने कार्यक्रम जेठ २ गतेदेखि सञ्चालन गरेको छ । गाँउपालिका अध्यक्ष सन्तवीर लिम्बूले अनुरोध एकमा गाउँवासीलाई निषेध आदेशको पालना गर्न अनुरोध गरिएको बताउनु भयो । सेवा अनेकमा बिरामीलाई निःशुल्क यातायात, खाद्यान्न ढुवानीको सेवा, खानेपानी समस्या हुनेहरूलाई ट्याङकरबाट खानेपानी वितरण गर्ने लगायतका कार्यक्रम सार्वजनिक गरिएको उहाँको भनाइ छ ।
प्रदेश २
सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार भिटिएम र एण्टिजेन किट तथा रि–एजेण्टको स्टक सकिएको हुँदा तत्काल ५/५ हजार थान उपलब्ध गराउन सप्तरीले प्रदेश २ सरकारलाई अनुरोध गरेको छ । कोभिड सङ्क्रमितहरूको परीक्षणमा प्रभाव पर्न थालेकोले जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको निर्णयबमोजिम किटहरू तत्काल उपलब्ध गराउन प्रदेश २ सरकारलाई अनुरोध गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत किशोरकुमार रामले बताउनु भयो । कोभिड सङ्क्रमणको दर बढेकाले सहकारी संस्था तथा बचत परिचालन गर्ने संस्थाहरूलाई बचत सङ्कलन लगायतका काम नगर्न एवम् बैङ्क तथा वित्तीय संस्थाहरूलाई सिमित सेवा मात्र प्रवाह गर्न केन्द्रले आग्रह गरेको छ ।
बारा प्रतिनिधि भोलानाथ पौडेलका अनुसार जीतपुरसिमरा उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामेश्वर बञ्जाराले जेठ २ गते सूचना प्रकाशन गरी जेठ ३ गतेदेखि १० गतेसम्म अत्यावश्यक बाहेकका सबै सेवाहरू बन्द गरिएको उल्लेख गर्नुभएको छ । दमकल, एम्बुलेन्स, स्वास्थ्य सेवा र फोहरमैला व्यवस्थापन मात्र सञ्चालन गर्ने र अन्य सेवा बन्द गरेको छ । नेपाल विद्युत प्राधिकरण कलैया, बाराले कोभिड–१९ सङ्क्रमण समुदायमा फैलिएको र कर्मचारीमा सङ्क्रमण भएकाले जेठ २ गते सूचना प्रकाशन गरी जेठ ३ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि मिटर रिडिङ सेवा बन्द गरेको जनाएको छ ।
धनुषा प्रतिनिधि दिपेन्द्रप्रसाद सिंहका अनुसार कोभिड सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढिरहेकाले अक्सिजन अभाव देखिएको छ । अक्सिजन नपाएर बिरामीहरूको मृत्यु भएको जनकपुरधाम उपमहानगरपालिका–४ का सामाजिक कार्यकर्ता राकेशबिक्रम साहले बताउनु भयो । कोभिड सङ्क्रमितका लागि अस्पताल र होम आइसोलेशनमा समेत बस्दा अक्सिजन आवश्यक हुँदै आएकोमा माग अनुसार आपुर्ति नहुँदा सङ्क्रमितलाई अक्सिजन सहजै रूपमा उपलब्ध गराउन समस्या भएको प्रादेशिक अस्पताल जनकपुरका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर प्रमोद यादवले बताउनु भयो । जेठ २ गते प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, मुख्यन्यायधिवत्ता दिपेन्द्र झालगायतको टोलीले ढल्केवरस्थित ढल्केवर ग्यास उद्योग (अक्सीजन प्लाण्ट) निरीक्षण गरेको छ । उद्योग निरीक्षण गर्दै मुख्यमन्त्री राउतले उद्योगका सञ्चालकलाई अक्सीजनको वितरण एकद्वार प्रणालीमार्फत मात्र गर्न निर्देशन दिनुभएको छ ।
बागमती प्रदेश
धादिङ प्रतिनिधि सिताराम अधिकारीका अनुसार धादिङ अस्पतालमा जडान गरिएको दुई ओटा भेण्टिलेटर सञ्चालनमा नआउँदा कोभिडका गम्भीर बिरामीहरूको उपचार प्रभावित भएको छ । प्रदेश सरकारले गत वर्ष दिएको भेण्टिलेटर धादिङ अस्पतालमा जडान गरिएको भएपनि सञ्चालनमा आउन नसकेको धादिङ अस्पतालका अध्यक्ष महेन्द्र धमलाले बताउनुभएको छ । ०७७ मङ्सिरमा भेण्टिलेटर जडान गरिएको थियो । कोभिड बिरामीको उपचार गर्न दिइएको भेण्टिलेटर महामारी चलिरहँदा पनि सञ्चालन नभएपछि उपचारमा समस्या परेको हो । एनेस्थेसियालोजिस्ट एक जना, फिजिसियन एक जना र अक्सिजन प्लाण्ट नभइ चलाउन नसकिने भएकाले अस्पतालमा भेण्टिलेटर चलाउन नसकिएको धादिङ अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर त्रिभुवनचन्द्र झाले बताउनुभयो ।
नुवाकोट प्रतिनिधि नवदीप श्रेष्ठका अनुसार कोभिड सङ्क्रमण दर बढिरहेको नुवाकोटमा जिल्ला प्रशासन कार्यालयले थप १५ दिन निषेध आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालद्वारा जेठ २ गते जारी आदेशमा जेठ ३ गते राति १२ बजेदेखि जेठ १८ गते राति १२ बजेसम्मको लागि नुवाकोट जिल्लाभार अत्यावश्यकबाहेकका गतिविधि नगर्न भनिएको छ । वैशाख २१ गतेबाट सुरू भएको निषेध आदेश जेठ ३ गते सकिन लागेको बेला स्थानीय प्रशासनले १५ दिन थप गरेको हो । जेठ २ गते त्रिशूली अस्पतालमा आइसीयूमा उपचार गर्न बेड अभाव भएका कारण एक जनाको ज्यान गएको छ । जेठ १ गते बिहान अस्पतालमा भर्ना भएका ३५ वर्षिय पुरुषको ज्यान गएको अस्पतालले जनाएको छ । अस्पतालमा रहेको आइसीयू कक्ष कोभिड सङ्क्रमितले भरिएका छन् ।
गण्डकी प्रदेश
लमजुङ प्रतिनिधि दलबहादुर मजाकोटीका अनुसार लमजुङमा कोभिड–१९ सङ्क्रमण बढेसँगै जिल्लामा पुनः एक हप्ताको लागि निषेध आदेश थप गरिएको छ । यसअघि वैशाख २८ गते देखि जेठ २ गतेसम्म जारी गरिएको निषेध आदेश जेठ ३ गतेदेखि जेठ १० गतेसम्म थप गरिएको जिल्ला प्रशासन कार्यालय लमजुङका प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइटेलले बताउनुभयो । जिल्लामा पछिल्लो समयमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या २ सय २५ पुगेको छ । ९ सय ७१ जनाको पिसिआर परीक्षण गरिएकोमा चार दिनदेखि ४ सय ४० जनाको रिपोर्ट आउन बाँकी हुँदा समस्या भएको जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख अमर दवाडीले बताउनुभयो । सरकारी तवरबाट कोभिड–१९ नियन्त्रणका लागि अधिकतम प्रयास भएतापनि प्रभावकारी हुन नसकेको दवाडीले इन्सेक प्रतिनिधिलाई बताउनुभयो ।
गोरखा प्रतिनिधि हरिराम उप्रेतीका अनुसार गण्डकी गाउँपालिका–८ घ्याल्चोकमा कोभिड अस्पताल सञ्चालनमा आएको छ । कोभिड–१९ सङ्क्रमितको उपचारमा सहजताका लागि १० बेड क्षमताको कोभिड–१९ उपचार केयर सेण्टर सञ्चालनमा ल्याएको घ्याल्चोक स्वास्थ्य चौकीका इञ्चार्ज विमल रेग्मीले बताउनुभयो । यो अस्पताल सञ्चालनमाआएपछि गाउँपालिकाका सङ्क्रमितको उपचार सहज हुने उहाँको भनाइ छ । पृथ्वी राजमार्ग नजिकै रहेकाले जटिल स्वास्थ्य समस्या देखिए काठमाडौँ, चितवन लगायतका अस्पतालमा रेफर गर्न पनि उक्त स्वास्थ्य चौकीबाट सजिलो हुने उहाँले बताउनुभयो । केन्द्रमा मेडिकल अफिसर, हेल्थ असिन्टेण्ट, स्टाफ नर्स र अहेब एक–एक जना व्यवस्थापन गरिएको उहाँको भनाइ छ । ६ ओटा सानो र पाँच ओटा ठुला अक्सिजन सिलिण्डरको पनि गाउँपालिकाले व्यवस्थापन गरेको छ । गण्डकी गाउँपालिकामा २९ जना सक्रिय सङ्क्रमित होम आइसोलेशनमा रहेका छन् ।
बागलुङ प्रतिनिधि सिर्जना पन्तका अनुसार धौलागिरी अस्पताल बागलुङमा अक्सिजनको अभाव हुन थालेको छ । कोभिड–१९ को सङ्क्रमण दर बढ्दा अस्पतालमा लक्षण सहितका गम्भीर अवस्थाका ३५ र इमरजेन्सी कक्षमा पाँच जना गरी ४० जना सङ्क्रमितको उपचार भइरहेकाले अस्पतालमा रहेको अक्सिजनले थेग्न नसकेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर शैलेन्द्र पोखरेलले बताउनुभयो । अस्पतालमा अक्सिजन प्लाण्ट जोडिएको भएपनि अक्सिजन भर्ने उपकरण नभएकाले अस्पतालमा रहेका ८० ओटा सिलिण्डर भर्न पोखरा पठाउनुपर्ने बाध्यता रहेको र त्यसको लागि लामो समय लाग्ने भएकाले अस्पतालमा समस्या बढ्न थालेको उहाँले बताउनुभयो । ‘अस्पतालमा १५ मिनेटमा एक सिलिण्डर खपत भइ रहेको छ ।’–पोखरेलले भन्नुभयो–‘खाली सिलिण्डर भर्न पोखरा पठाउनुपर्छ भरेर आउँदा १०-१२ घण्टा समय लाग्छ, अस्पतालमा बिरामीको सङ्ख्यासँगै अक्सिजनको समस्या पनि बढ्न थालेको छ ।’ यति बेला बागलुङमा सक्रिय सङ्क्रमितको सङ्ख्या ८ सय ९८ रहेको छ । त्यसैगरी बागलुङमा कोभिड–१९ सङ्क्रमण तिव्र रुपमा फैलिन थालेपछि उच्च अदालत पोखरा बागलुङ इजलासले सूचना जारी गर्दै अदालतबाट प्रवाह हुँदै आएका सेवाहरू जेठ १५ गते सम्मलाई स्थगन गरिएको जानकारी गराएको छ । जिल्लामा निषेध आदेश जारी रहेको समयमा अदालतमा सेवा लिन आउने सेवाग्राहीहरूलाई सेवा लिन आउन समस्या भएको भन्दै सेवा प्रवाह स्थगन भएको समयमा मुद्दा, रिट तथा निवेदनको हद म्याद तारेख नगुज्रने समेत सूचनामा उल्लेख गरिएको छ ।
तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार व्यास नगरपालिकाको कार्यालय र वडा कार्यालयहरूद्वारा प्रवाह हुँदै आएका नियमित सरसफाई, वरुण यन्त्र र स्वास्थ्यसम्बन्धी सेवाहरू बाहेकका अन्य सेवाहरू आगामी जेठ १९ गतेसम्म बन्द गर्ने निर्णय गरिएको नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले बताउनु भयो । नगर क्षेत्रमा कोभिड–१९ सङ्क्रमणको दर बढेकाले व्यास नगरपालिकाले औषधिजन्य बाहेक सबै पसल पूर्ण रूपमा बन्द गर्न सिफारिस गरेको छ । नगर क्षेत्रमा सङ्क्रमणका कारण ज्यान गुमाउने तथा सङ्क्रमितको सङ्ख्या समेत बढिरहेका बेला यस्तो व्यवस्था गर्न नगरपालिकाले जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रलाई अनुरोध गरेको छ । बैठकले नगरपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक तथा निजी शैक्षिक संस्थाहरूको पढाई, परिक्षा, ट्यूसन कक्षा समेत अर्को व्यवस्था नहुदाँसम्म बन्द गर्ने पनि निर्णय गरेको छ । बैठकले व्यास वडा नं २ स्थित कृषि विकास वैंकको भवनमा रहेको सामुदायिक आइसोलेशन केन्द्रमा जेठ २ गतेबाट नै ५० बेडको अक्सिजन सहितको आइसोलेशन केन्द्र सञ्चालन गर्ने र जटिल बिरामीलाई थप उपचारका लागि अन्य कोभिड–१९ सम्बन्धी अस्पतालसँग समन्वय गरी पठाउने निर्णय गरेको छ ।
लुम्बिनी प्रदेश
प्यूठान प्रतिनिधि रविन्द्र पाण्डेका अनुसार जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको वैशाख ३१ गतेको निर्णयले जेठ १ गतेदेखि जेठ १५ गतेसम्म निषेध आदेश थप गरेको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताउनु भयो । यसअघि वैशाख १८ गतेदेखि वैशाख ३१ गतेसम्म निषेध आदेश जारी गरेको थियो । यस अवधिमा अत्यावश्यक सेवाहरू बाहेका सम्पूर्ण सेवामा निषेध गरिएको छ । हाल जिल्लामा ७ सय ११ जना सक्रिय सङ्क्रमित रहेका छन् भने कोभिड सङ्क्रमणबाट ३३ जनाको मृत्यु भएको छ ।
रूपन्देही प्रतिनिधि रिमा विसीका अनुसार लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा कार्यरत मेडिकल अफिसरलगायतका स्वास्थ्यकर्मी गरी ८९ जनामा कोभिड सङ्क्रमण भएपछि बिरामीको उपचारमा समस्या भएको छ । अस्पतालका डाक्टर बिष्णु गौतमले महामारीको समयमा एकै पटक यति धेरै स्वास्थ्यकर्मीहरू सङ्क्रमित हुन पुग्दा सेवामा असर पुग्नु स्वभाविक भएको बताउदै अस्पतालमा कूल ६ सय कर्मचारी कार्यरत रहेकाले उपचारमा समस्या आउन नदिने बताउनु भयो ।
अर्घाखाँची प्रतिनिधि नारायण भुसालका अनुसार जिल्लामा कोभिड सङ्क्रमण बढ्नुको साथै मृत्युदर पनि बढ्न थालेपछि जिल्ला स्तरीय कोभिड सङ्कट व्यवस्थापन केन्द्र र सर्वपक्षीय बैठकले जिल्लामा जेठ १० गतेसम्म पूर्ण निषेध आदेश जारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाले बताउनु भयो । जिल्ला अस्पतालमा अक्सिजन अभाव हुँदै आएकोमा बुटवलबाट आइरहेको बताउदै उक्त अक्सिजन भोलिसम्मका लागि अपुग हुने डाक्टर कपिल गौतमले बताउनु भयो । हाल जिल्ला अस्पतालमा २६ जना सङ्क्रमितलाई अक्सिजन दिनुपर्ने अवस्था रहेको छ । अस्पतालका अनुसार कोभिड सङ्क्रमितलाई अस्पतालमा २६ बेड व्यवस्था गरिएपछि अन्य बिरामीका लागि बेड अभाव भएको छ ।
कर्णाली प्रदेश
रूकुम पश्चिम प्रतिनिधि मनिषा केसीका अनुसार कोभिड– १९ को महामारी नियन्त्रणमा राज्यको तदारूकता नपुगेको भन्दै जिल्लास्थित नागरिक समाजका प्रतिनिधिहरूको जेठ २ गते बसेको भर्चुअल बैठकले सरोकारवाला पक्षहरूलाई ध्यानाकर्षण गराएका छन् । जिल्लास्थित मानव अधिकारकर्मी, पत्रकार, कानुन व्यवसायी, नागरिक समाजका प्रतिनिधिहरूले वैशाख ३१ गते भर्चुअल बैठक बसेर ध्यानाकर्षण गराउने निर्णय गरेका थिए । विशेषगरी जिल्लामा कोभिड नियन्त्रणमा स्थानीय तह, जिल्ला प्रशासन, स्वास्थ्य संस्थाहरूमा उपचारको व्यवस्थापन हुन नसकेको, दैनिक सङ्क्रमित र मृत्यु हुनेको सङ्ख्या बढेपछि सरोकारवालाहरूले चासो देखाएका हुन् । ध्यानाकर्षण पत्रमा जिल्ला अस्पताल सल्लेमा रहेका भेण्टिलेटर, अक्सिजन प्लाण्टको व्यवस्थापन गरी तत्काल सुचारू गर्नुपर्ने, अक्सिजन आपूर्तिलाई सहज र नियमित बनाउनु पर्ने माग गरिएको छ । यसैगरी वैशाख ३१ गतेबाट जिल्ला अस्पतालमा बन्द भएको पिसिआर परीक्षण तत्काल सुचारू गर्नुपर्ने, सङ्क्रमितको उपचार र मृतकका परिवारलाई उचित क्षतिपूर्ति तथा राहतको व्यवस्था गर्नुपर्ने, दैनिक ज्याला मजदुरी गरेर गुजारा गर्दै आएका व्यक्तिहरूको जिविकोपार्जनका लागि राहतका कार्यक्रम ल्याउनुपर्ने, होम आइसोलेशनमा बसेकाहरूलाई स्थानीय तहले निगरानी गर्नुका साथै फोनमार्फत् उनीहरूको स्वास्थ्य अवस्था बुझ्ने व्यवस्था मिलाउनु पर्ने लगायतका १३ वटा बुँदाहरू ध्यानाकर्षण पत्रमा समावेश गरिएको छ । ध्यानाकर्षणका लागि इन्सेकका साथै जिल्ला बार इकाई, नेपाल पत्रकार महासङ्घ, गैसस महासङ्घ, हरप्लेस, अन्तरपार्टी महिला सञ्जाल, मानव अधिकार सञ्जाल, उद्योग वाणिज्य सङ्घ लगायतका संस्थाहरूले यसको पहल गरेका थिए ।
सुदूरपश्चिम प्रदेश
कैलाली प्रतिनिधि मैनामोती चौधरीका अनुसार अक्सिजन लिन आवश्यक भएका कोभिड सङ्क्रमितहरू अस्पतालमा दिनानुदिन बढिरहेको अवस्थामा सेती प्रादेशिक अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टले हालको आवश्यकतालाई पुर्ति गर्न नसक्दा समस्या भएको छ । चार जनाको भरमा दैनिक ५०-६० सिलिण्डर मात्रै अक्सिजन ग्याँस उत्पादन हुँदै आएको भएपनि अक्सिजन दिनु पर्ने बिरामीको सङ्ख्या अत्याधिक भएकोले प्लान्टको क्षमता विकास तथा अक्सिजन उत्पादनका लागि आवश्यक जनशक्ति व्यवस्थापनमा सरकारको ध्यान जान आवश्यक भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताउनु भयो । क्षमता वृद्धि तथा स्तरोन्नतिका विषयमा छलफल नभएको र अक्सिजन भर्ने खाली सिलिण्डर मात्र सहयोग हुँदै आएकाले अस्पतालमै उत्पादन हुँदै आएको अक्सिजन प्लान्टको क्षमता विकास गर्दै अक्सिजन ग्याँस उत्पादन वृद्धिमा प्रभावकारी काम नभएको उहाँले बताउनु भयो । यसैगरी, धनगढीमा सञ्चालनमा रहेको मालिका अक्सिजन उद्योगले झण्डै १ सय ४० सिलिण्डर अक्सिजन २४ घण्टामा उत्पादन गर्दै आएको भएपनि उद्योगबाट उत्पादन हुँदै आएको १ सय ४० सिलिण्डर मध्ये झण्डै ६० सिलिण्डर अक्सिजन मात्रै सेती प्रादेशिक अस्पतालमा आपुर्ति हुँदै आएकोले सेती प्रादेशिक अस्पतालमा उपचाररत रहेका कोभिड सङ्क्रमितहरूले अक्सिजन पाउन नकसेको गुनासो गर्दै आएका छन् । मालिका अक्सिजन उद्योग स्थानीय प्रशासनको निगरानीमा भए पनि उत्पादनको क्षमता विकास, उपकरणको क्षमता वृद्धि र उद्योगका लागि आवश्यक जनशक्तिको व्यवस्थापनका लागि कुनै पहल हुन नसकेकोले समस्या उत्पन्न भएको जिल्ला प्रशासन कार्यालय, कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताउनु भयो ।
बैतडी प्रतिनिधि नरी बडुका अनुसार कोभिड सङ्क्रमण दिनप्रतिदिन बढ्दै गएको भन्दै जिल्लामा जारी निषेध आदेशको अवधि थपिएको छ । जिल्ला कोभिड– १९ सङ्कट व्यवस्थापन केन्द्रको जेठ २ गते बसेको बैठकले निषेध आदेश जेठ १७ गते राति १२ बजेसम्मका लागि थप गरेको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले बताउनु भयो । यसअधि वैशाख २० गतेदेखि जेठ २ गतेसम्मका लागि निषेध आदेश जारी गरिएको थियो । निषेध आदेश अवधिमा आवतजावतमा पूर्ण रूपमा रोक लगाइएको छ भने खाद्य तथा तरकारी पसल बिहान ७ बजेदेखि ९ बजेसम्म मात्रै खोल्न पाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यसैगरी बैङ्क तथा वित्तीय संस्थाहरूले पनि आलोपालो मिलाई हप्तामा तीन दिन मात्रै दिनको दुई घण्टा सेवा दिनु पर्ने जिल्ला प्रशासन कार्यालय, बैतडीले जारी गरेको आदेशमा उल्लेख गरिएको छ ।
एक वर्षअघि
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ०७७ जेठ २ गतेसम्म २ सय ६७ जनामा कोभिड-१९ पुष्टि भएको जनाएको थियो ।
कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (२०७७ जेठ २ गते)
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रोहिणी गाउँपालिका–६, बोधवारका १६ वर्षीय बालकलाई प्रहरीले ०८१ माघ २२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ १३ गते बलात्कार गरेको भन्दै…
बलात्कार गरेको कसुरमा तीन वर्ष कैदको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा पाँचखाल नगरपालिका–६ का २९ वर्षीय उमेश दनुवारलाई जिल्ला अदालतले ३ वर्ष कैद, ३० हजार रुपियाँ जरिबाना र घटना बाल विवाह भएको ठहर गरेको छ…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा यशोधरा गाउँपालिका–७, मर्यादपुरका ४९ वर्षीय सञ्जु पासीलाई प्रहरीले ०८१ माघ २१ गते गिरफ्तार गरेको छ । पीडितलाई बालिकालाई आरोपितले माघ १७ गते यौन…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा दैलेख ढुङ्गेश्वर गााउँपालिका–६, सानो ओइरी घरभइ हाल बाँके जिल्लाको बैजनाथ गाउँपालिका–३, बैरहवाका २२ वर्षीय विमल हिरोजग विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८१ माघ २३ गते…
विद्यार्थी कुटपिट गर्नेमाथि कारबाहीको माग
लुम्बिनी प्रदेशसभा सदस्य सिके गुप्ताले नवलपरासी प्रतापपुर गाउँपालिका–१ का ६ वर्षीय बालकलाई कुटपिट गर्ने शिक्षकमाथि कारबाही गर्न लुम्बिनी प्रदेश सरकारसँग माग गर्नुभएको छ । लुम्बिनी प्रदेशसभाको माघ २२ गते पाँचौँ…