कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ १ गते)
जेठ १ गते ८ हजार १ सय ६७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ४ लाख ४७ हजार ७ सय ४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । जेठ १ गते परीक्षण गरिएकामध्ये ४५ प्रतिशतमा कोभिड पुष्टी भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १६.३ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । जेठ १ गते १९ वर्ष मुनीका ६ सय ८३ जनामा कोभिड सङ्क्रमणको पुष्टी भएको छ । गत २४ घण्टामा १७ हजार ९ सय ७१ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ३ लाख ३३ हजार १ सय ८ जना निको भएका छन् । जेठ १ गते ५ हजार ४ सय ५५ जना निको भएका छन् भने निको हुनेको दर ७४.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । जेठ १ गतेसम्म ४ हजार ८ सय ५६ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । जेठ १ गते १ सय ८७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आइसोलेशनमा पुष्टि भएका केसहरूको सङ्ख्या भनी सङ्क्रमितको सङ्ख्या १ लाख ९ हजार ७ सय ४० देखाइएको छ ।
मोरङ, सुनसरी, झापा, रौतहट, धनुषा, पर्सा, महोत्तरी, बारा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, सिन्धुली कास्की, नवलपरासी पूर्व, गोरखा, तनहुँ, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, अर्घाखाँची, नवलपरासी पश्चिम, सुर्खेत, कैलाली, कञ्चनपुर, बैतडी र अछाममा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् । गृह मन्त्रालयका अनुसार वैशाख ३१ गते साँझसम्म ७३ जिल्लामा पूर्ण तथा आंशिक निषेध आदेश जारी गरिएको छ । जेठ १ गते पनि वैशाख ३१ गतेकै आदेश कायम रहेको छ ।
प्रदेश १
मोरङ प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार प्रदेश १ मा कोभिड–१९ को दोस्रो लहरका कारण ३१ वर्षदेखि ६० वर्ष उमेर समूहका व्यक्तिको बढी मृत्यु भएको प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ । चिकित्सकहरूका अनुसार कोभिड–१९ को दोस्रो सङ्क्रमणका कारण प्रदेशमा ३१ वर्षदेखि ६० वर्ष उमेर समूहका ८९ जनाको मृत्यु भइसकेको छ । कोभिड–१९ को दोस्रो महामारी अघि ज्येष्ठ नागरिकहरूले खोपको दुवै मात्रा लगाएकाले सङ्क्रमण कम भएको वरिष्ठ जनस्वास्थ्यविद् डा. नवराज सुब्बाले बताउनु भयो । सामाजिक विकास मन्त्रालयका अनुसार चैत १ गतेदेखि वैशाख ३१ गतेको सम्मको अवधिमा प्रदेश १ मा १० वर्षभित्र उमेर समूहका ३ सय ४० जना बालबालिका सङ्क्रमित भएका छन् । ११ वर्षदेखि २० वर्ष समूहका १ हजार ८ जना सङ्क्रमित भएकामा तीन जनाको मृत्यु भएको छ । २१ वर्षदेखि ३० वर्ष समूहका ३ हजार ४० जना सङ्क्रमित भएकामा सात जनाको मृत्यु भएको छ । ३१ वर्षदेखि ४० वर्ष उमेर समूहका २ हजार ८ सय ६३ जना सङ्क्रमित भएकामा १८ जनाको मृत्यु भएको छ । ४१ वर्षदेखि ५० वर्ष उमेर समूहका २ हजार ९८ जना सङ्क्रमित भएकामा ३० जनाको मृत्यु भएको छ । ५१ वर्षदेखि ६० वर्ष उमेर समूहका १ हजार ६ सय ४५ जना सङ्क्रमित भएकामा ४१ जनाको मृत्यु भएको छ । प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार चैत १ गतेदेखि वैशाख ३१ गतेसम्मको अवधिमा कोभिड–१९ को दोस्रो सङ्क्रमणका कारण ६१ वर्षदेखि ७० उमेर समूहका ७ सय ९१ जना सङ्क्रमित भएकामा २९ जनाको मृत्यु भएको छ । ७१ वर्षदेखि माथि उमेर समूहका ४ सय ७२ जना सङ्क्रमित भएकामा ३० जनाको मृत्यु भएको छ । प्रदेश १ मा वैशाख ३१ गतेसम्म कोभिड–१९ को दोस्रो महामारीका कारण १ सय ५८ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
बागमती प्रदेश
धादिङ प्रतिनिधि सिताराम अधिकारीका अनुसार अस्पतालमा अक्सिजन अभाव र भेण्टिलेटर सञ्चालन हुन नसक्दा दुई जना सङ्क्रमितको मृत्यु भएको धादिङ अस्पतालका अध्यक्ष महेन्द्र धमलाले जानकारी दिनुभयो । दुवै जनालाई धादिङ अस्पतालमा अक्सिजन अभावका कारण त्रिशुली अस्पताल नुवाकोट रेफर गरिएको थियो । योसँगै धादिङ जिल्लामा कोभिड सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २५ पुगेको छ । हरेक दिन ३० सिलिनण्डरभन्दा बढी अक्सिजन आवश्यक पर्ने र सिलिण्डर भएपनि अक्सिजन नभएका कारण उपचारमा समस्या परिरहेको अस्पतालले जनाएको छ ।
गण्डकी प्रदेश
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) प्रतिनिधि तिर्थराज डुम्रेका अनुसार मध्यबिन्दु जिल्ला अस्पताल नवलपुरमा अक्सिजनको अभाव भएको छ । जिल्ला अस्पतालको आइसोलेशनमा रहेका कोभिड–१९ सङ्क्रमितहरूको लागि आवश्यक अक्सिजनको अभाव भएको जिल्ला अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले बताउनुभयो । हाल जिल्ला अस्पतालमा २७ जना कोभिड–१९ सङ्क्रमित उपचाररत रहेका छन् । उनीहरूको लागि सोही अनुपातमा अक्सिजन आवश्यक परेपनि सो अनुसारको आपूर्ति हुन नसकेको उहाँले बताउनुभयो । अहिले जिल्ला अस्पतालमा पाँच सिलिण्डर अक्सिजन रहेको र यसले दुई घण्टा मात्रै माग धान्ने उहाँले बताउनुभयो । अक्सिजन सिलिण्डर अस्पतालमा पर्याप्त भएपनि अक्सिजन भर्न समस्या भएको छ । एक पटकमा उद्योगले पाँच ओटा मात्रै सिलिण्डर भर्ने गरेको कारण अक्सिजनको अभाव भएको उहाँले बताउनुभयो । अस्पतालको कर्मचारीहरू निरन्तर उद्योगमा अक्सिजन नै भर्नको लागि बस्ने गरेको उहाँले बताउनुभयो ।
गोरखा प्रतिनिधि हरिराम उप्रेतीका अनुसार कोभिड–१९ सङ्क्रमणको जोखिम बढेपछि भिमसेन थापा गाउँपालिका मातहतका सरकारी कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवा जेठ १ गतेबाट बन्द गरिएको छ । वैशाख ३१ गते सार्वजनिक सूचना जारी गर्दै गाउँपालिकाले एम्बुलेन्स, शव वाहन, खाद्य सामाग्री, तरकारी, कृषिजन्य उत्पादन, निर्माण सामाग्री, औषधी तथा स्वास्थ्य सामाग्री बोकेका सवारी साधन, अत्यावश्यक कामकाजका लागि प्रयोग हुने सवारी साधन, स्वास्थ्यकर्मी तथा बैङ्कका कर्मचारीले प्रयोग गरेका बाहेकका सवारी सञ्चालनमा रोक लगाइएको छ । औषधी तथा स्वास्थ्य सामाग्रीका पसल २४ सै घण्टा खुल्ला रहेपनि कृषिजन्य उत्पादन, मल, बिउ, बिजन तथा खाद्यान्न पसलहरू बिहान ६ वजेदेखि ९ बजेसम्म खुल्ने, निर्माण सामाग्रीका पसलहरू साँझ ७ बजेदेखि बेलुकी ९ बजेसम्म सामाजिक दुरी कायम राखी खुल्ला रहने र अन्य सबै प्रकारका पसलहरू बन्द गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजयराज वाग्लेद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।
बागलुङ प्रतिनिधि सिर्जना पन्तका अनुसार कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि बागलुङको काठेखोला गाउँपालिकाले १५ दिन गाउँपालिकामा निषेध आदेश गर्ने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष अमरबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले जेठ १ गतेदेखि लागु हुने गरी जेठ १५ गतेसम्म गाउँपालिकामा निषेध आदेश गर्ने निर्णय गरेको हो । निषेध आदेश अवधिमा एम्बुलेन्स, दमकल, शव वाहन, खाद्य सामाग्री, पशुपंक्षिका दाना, तरकारी, दुध, माछामासु, विउविजन, ग्यास, पेट्रोलियमपदार्थ र निर्माण सामग्रीबोकेका सवारी साधन, चिकित्सकतथा स्वास्थ्यकर्मी, सञ्चारकर्मीका सवारी साधनमात्र सञ्चालनमा ल्याउन पाउने गाउँपालिका अध्यक्ष थापाले बताउनुभयो । उहाँले गाउँपालिकामा कोभिड–१९ सङ्क्रमण तीव्र रुपमा फैलिरहेको भन्दै नियम उल्लङ्घन गर्नेलाई सङ्क्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने समेत बताउनुभयो ।
कर्णाली प्रदेश
जुम्ला प्रतिनिधि मानदत्त रावलका अनुसार कोभिड–१९ को सङ्क्रमण बढेपछि कोभिड सङ्कट व्यवस्थापन समितिको वैशाख ३१ गते बसेको बैठकले जेठ १ गतेदेखि जेठ ११ गतेसम्मका लागि जिल्लाभर निषेध आदेश थप गरेको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताउनु भयो । निषेध आदेशको अवधिभर स्वास्थ्य क्षेत्र बाहेकका सेवा बन्द हुनेगरी निषेध आदेश लागु गरिएको थापाले बताउनु भयो ।
रूकुम पश्चिम प्रतिनिधि मनिषा केसीका अनुसार आठवीसकोट नगरपालिकामा एन्टिजीन परीक्षण गर्ने किटको अभाव भएपछि परीक्षण रोकिएको छ । आठविसकोट नगरपालिकाका प्रमुख गोरखबहादुर केसीले कोभिड–१९ को लक्षणको अनुमान गरेर नगर अस्पतालमा बिरामीको चाप बढिरहेको अवस्थामा किट अभाव हुँदा समस्या भएको बताउनु भयो । अक्सिजन सिलिन्डर र एन्टिजीन किट उपलब्ध गराउन केन्द्रसम्म पहल गर्दा पनि उपलब्ध हुन नसकेकोले आठवीसकोट नगरपालिकाबाट कोभिडका सिकिस्त बिरामीलाई चौरजहारी पठाउने गरिएको प्रमुख केसीले बताउनु भयो ।
सुदूरपश्चिम प्रदेश
बाजुरा प्रतिनिधि पदमबहादुर सिंहका अनुसार कोभिड सङ्क्रमितहरूको सङ्ख्या गाउँघरमा बढ्दै गएपछि जिल्लाको दुर्गम हिमाली गाउँपालिकामा स्वास्थ्यकर्मीहरूलाई घरघरमै पठाएर कोभिड–१९ सँग मिल्दाजुल्दा लक्षण भएका बिरामीहरूको स्वास्थ्य परीक्षण सुरु गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताउनु भयो । हिमाली गाउँपालिकाका सात ओटै वडाहरूमा स्वास्थ्यकर्मीहरूको टोली पठाएर नागरिकहरूको स्वास्थ्य अवस्था बुझ्ने र कोभिड सङ्क्रमणबाट बच्न र बचाउने उपायहरूको बारेमा सचेतना जगाउन घरदैलो अभियान सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष गोबिन्दबहादुर मल्लले बताउनु भयो । स्वास्थ्य चौकीको पहुँचमा नपुगेका र अशक्त व्यक्तिहरूका लागि घरदैलो अभियानले निकै सहयोग भएको हिमाली गाउँपालिका–३ का नन्द रोकायाले बताउनु भयो । घरदैलो कार्यक्रममा २२ जना स्वास्थ्यकर्मीहरू परिचाल भएको र आफूहरूले स्थानीयहरूको स्वास्थ्य परीक्षण तथा अशक्त बिरामीहरूलाई स्वास्थ्य चौकी पठाउने गरेको स्वास्थ्यकर्मी स्वर्णा सिंहले बताउनु भयो । स्वास्थ्यकर्मीलाई एक हप्ताका लागि गाउँघरमा पठाइएको गाउँपालिकाले जनाएको छ । हिमाली गाउँपालिकामा हालसम्म २१ जनामा कोभिड पोजेटिभ देखिएको छ । यसैगरी, बडिमालिका नगरपालिका–३ चोयाकोट माविका शिक्षकहरू पनि टोलटोलमा पुगेर कोभिड भाइरसबाट बन्ने उपाए बारे जनचेतना कार्यक्रमहरू गर्दै आएका छन् । शिक्षकहरू टोलटोलमा पुगेर मास्क लगाउने, हात धुने तरिका र निषेध आदेश कार्यान्वयन गराउनका लागि घरघरमा पुगेर जनचेतनाको कार्यक्रमहरू गर्दै आएको चोयाकोट माविका शिक्षक धनबहादुर रावलले बताउनु भयो ।
बैतडी प्रतिनिधि नरी बडुका अनुसार जिल्लाका पुर्चौंडी नगरपालिका, सुर्नया गाउँपालिका र सिगास गाउँपालिकामा एम्बुलेन्स सेवा नहुँदा कोभिड बिरामी लगायत अन्य बिरामीहरूलाई अस्पताल पुग्न समस्या भएको छ । कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि आकस्मिक बिरामीहरूलाई अस्पताल पुर्याउन एम्बुलेन्स आवश्यक भएपनि ती स्थानीय तहमा एम्बुलेन्स नहुँदा समस्या भएको हो । जिल्लाभरीमा ११ ओटा एम्बुलेन्स सञ्चालनमा रहेको भएपनि कोभिड सङ्क्रमणका कारण एम्बुलेन्स नभएका पालिकाहरूमा समस्या हुने गरेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताउनु भयो । उहाँले भन्नु भयो– ‘एम्बुलेन्स खरिदका लागि सुर्नया गाउँपालिकालाई प्रदेश पूर्वाधार कार्यक्रमबाट १२ लाख रुपियाँ बजेट निकासा भइसकेको छ ।’ पुर्चौंडी नगरपालिकाले एम्बुलेन्स खरिदका लागि प्रक्रिया अगाडि बढाइसकेको भएपनि निषेध आदेशका कारण ल्याउन नसकिएको उपप्रमुख जानकी ऐर बमले बताउनु भयो । सिगास गाउँपालिकाले भने चालु आर्थिक वर्षमा एम्बुलेन्स खरिदका लागि प्रक्रिया सुरु नगरेको र गाउँपालिकाले अहिले जिप भाडामा लिएर आवश्यक परेको सेवा प्रदान गरिरहेको स्वास्थ्य संयोजक घनश्याम बोहोराले बताउनु भयो ।
कैलाली प्रतिनिधि मैनामोती चौधरीका अनुसार सेती प्रादेशिक अस्पतालमा कोभिड भाइरसबाट मृत्यु भएकाहरूको शव व्यवस्थापनमा ढिलाइ हुने गरेको पीडित पक्षहरूले गुनासो गर्दै आएका छन् । दैनिक मृत्युदर बढ्दै गएपछि तुरुन्तै शव व्यवस्थापन गर्न कठिन भएकाले घण्टौँसम्म शव बेडमै राखिदा अन्य बिरामीहरूलाई समेत मनोवैज्ञानिक असर पर्ने गरेको बिरामीका आफन्तहरूले गुनासो गर्ने गरेका छन् । सेती प्रादेशिक अस्पतालमा कोभिडका कारण दैनिक मृतकको सङ्ख्या बढ्दै गएकाले शव व्यवस्थापनको मापदण्ड अनुसार नेपाली सेनाले काम गर्दै आएको भएपनि मृतकका आफन्तहरूले शव बुझ्न ढिलाई गरेका कारण समस्या भइरहेको जिल्ला प्रशासन कार्यालय, कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताउनु भयो । उहाँका अनुसार कोभिडका कारण मृत्यु भएकाहरूको शव अस्पताल प्रशासनले लाश घरमा राख्ने व्यवस्था मिलाइदिएको खण्डमा र मृतकका आफन्तहरू समयमा आइदिएको खण्डमा तत्काल नै शव व्यवस्थापन गर्न सहज हुने सूचना अधिकारी जोशीको भनाइ छ । कोभिडका बिरामीको सङ्ख्या एक महिनामै चार गुणाले बढेपछि सुदूरपश्चिममा मृत्युदर समेत भयावह बन्दै गएको हो । नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोभिडका कारण वैशाख ३१ गतेसम्म २ सय ५४ जनाको मृत्यु भइसकेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताउनु भयो ।
एक वर्षअघि
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ०७७ जेठ १ गतेसम्म २ सय ४९ जनामा कोभिड-१९ पुष्टि भएको जनाएको थियो ।
कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (२०७७ जेठ १ गते)
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
दुप्चेश्वर गाउँपालिका -७ नुवाकोट घर भई दक्षिणकाली नगरपालिका -६ बस्दै आएकी ४५ वर्षीया डोल्मा शेर्पाको हत्या गरेको आरोपमा प्रहरीले ६० वर्षीय पति जितबहादुर शेर्पालाई असोज २० गते भक्तपुरबाट गिरफ्तार गरेको…
खानेपानी अभाव हुँदा सेवाग्राही समस्यामा
जयपृथ्वी नगरपालिका–७ स्थित सुबेडा स्वास्थ्य चौकीमा खानेपानीको समस्या हुँदा सेवाग्राही समस्यामा परेका छन् । पानीको अभाव भएका कारण एक घण्टाको बाटो हिडेर खोलाबाट पानी बोकेर पिउनका लागि जम्मा गर्नु परेको…
स्वास्थ्य चौकीमा खानेपानीको अभाव हुँदा बिरामीलाई समस्या
अमरगढी नगरपालिका–३ स्थित घटाल स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि बिरामीलाई समस्या भएको छ । स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि सेवा लिन आउने गर्भवती, सुत्केरी, बिरामी र स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीलाई…
कोशी प्रदेशमा मनसुनजन्य विपद्: पाँच जिल्लाका १८ ओटा विद्यालयमा क्षति
कोशी प्रदेशमा ०८१ जेठ २८ गतेदेखि सुरूआत भएको मनसुन ०८१ असोज १० गतेदेखि पुन सक्रिय भएपछि मनसुनजन्य प्राकृतिक विपदका कारण ४ अर्ब ६३ करोड ५० लाख रुपियाँ बराबरको भौतिक पूर्वाधारमा…
बाढी प्रभावित र प्रहरीबिच झडप, दुई जना प्रहरीसहित चार जना घाइते
भोक्राहा नरसिंह गाउँपालिकामा बाढी प्रभावित र प्रहरीबिच भएको झडपमा एक जना प्रहरीसहित तीन जना घाइते भएका छन् । बाढी प्रभावितहरूले भोक्राहा नरसिंह गाउँपालिका कार्यालय असोज २१ गते घेराऊ गरी राहत…