कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख २९ गते)
वैशाख २९ गते ९ हजार ३ सय ५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ४ लाख २२ हजार ३ सय ४९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । वैशाख २९ गते परीक्षण गरिएकामध्ये ४६ प्रतिशतमा कोभिड पुष्टी भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १५.७ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । वैशाख २९ गते १९ वर्ष मुनीका ७ सय ८८ जनामा कोभिड सङ्क्रमणको पुष्टी भएको छ । गत २४ घण्टामा २० हजार ३ सय ६२ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ ।
सङ्क्रमितमध्ये ३ लाख १६ हजार ४ सय ६३ जना निको भएका छन् । वैशाख २९ गते ४ हजार ४ सय ४४ जना निको भएका छन् भने निको हुनेको दर ७४.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । वैशाख २९ गतेसम्म ४ हजार २ सय ५२ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । वैशाख २९ गते १ सय ६८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आइसोलेशनमा पुष्टि भएका केसहरूको सङ्ख्या भनी सङ्क्रमितको सङ्ख्या १ लाख १ हजार ६ सय ३४ देखाइएको छ । मोरङ, सुनसरी, झापा, रौतहट, धनुषा, पर्सा, महोत्तरी, बारा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, नुवाकोट, कास्की, नवलपरासी पूर्व, गोरखा, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, नवलपरासी पश्चिम, सुर्खेत, कैलाली, कञ्चनपुर, बैतडी र अछाममा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् । गृह मन्त्रालयका अनुसार वैशाख २९ गते साँझसम्म ७३ जिल्लामा पूर्ण तथा आंशिक निषेध आदेश जारी गरिएको छ ।
सङ्खुवासभा प्रतिनिधि भविन कार्कीका अनुसार कोभिड–१९ सङ्क्रमितले आइसोलेसन बेड भरिएपछि वैशाख २९ गते जिल्ला अस्पतालको आकस्मिक बैठकले खाँदबारी नगरपलिका–९ तुम्लिङटार स्थित स्पोटिङ क्लवको भवनमा ४० बेड र खाँदबारी नगरपालिका–३ मा कषि बजार मानेभञ्याङमा ५० बेडको कक्ष सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।
सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार भेण्टिेलेटर र अक्सिजनको अभावमा अस्पतालहरू चहार्दै सप्तरीमा सङ्क्रमितहरुको मृत्यु हुने क्रम बढेको छ । राजविराज नगरपालिकाका ३८ वर्षीय पुरुषको भेण्टिलेटर अभावमा मृत्यु भएको १८ घण्टा नबित्दै वैशाख २९ गते दिउँसो १२ बजे तिलाठी कोइलाडीका ४७ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । सङ्क्रमण पुष्टि भई वैशाख २७ गते अस्पतालको आइसोलेशनमा भर्ना भएका उनको मृत्यु पनि भेण्टिलेटरकै अभावमा भएको परिवारका सदस्यले बताएका छन् । श्वासप्रश्वासमा समस्या भई अक्सिजनको मात्रा निकै कम हुन पुगेको जानकारी दिनुहुँदै अस्पतालका सूचना अधिकारी सुर्यकान्त झाले भन्नुभयो–‘भेण्टिलेटरमा राख्न सकेको भए कृत्रिम श्वास दिएर बचाउन थप प्रयास गर्न सकिन्थ्यो ।’ राजविराजस्थित अस्पतालमा चारओटा भेण्टिलेटर रहे पनि अक्सिजन कन्सन्ट्रेटर सेन्सरमा प्राविधिक गडबडी भएको र भेण्टिलेटर सञ्चालन गर्ने एनेस्थेसिया डाक्टर समेत सङ्क्रमित भएकाले भेन्टिलेटरहरू प्रयोगमा छैनन् ।
सिरहा प्रतिनिधि दुर्गा परियारका अनुसार लहान नगरपालिकाले वैशाख २९ गतेदेखि अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाले वैशाख २९ गते सूचना जारी गरी वैशाख २९ गतेदेखि जेठको पहिलो हप्तासम्मको लागि नगरपालिकाबाट प्रदान गरीने अत्यावश्यक बाहेकका सेवा बन्द गरिने जनाएको हो । यस अवधिमा कार्यालय तथा वडाका सबै सेवा बन्द गरी कार्यालयको आन्तिरिक कार्यहरू मात्र गरिने प्रमुख प्रशासकीय अधिकृत खेमनन्द भुसालले बताउनु भयो ।
बारा प्रतिनिधि भोलानाथ पौडेलका अनुसार जिल्ला अस्पताल कलैयामा अक्सिजनको अभाव भएको कलैया अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट गौरब महतोेले बताउनुभएको छ । उहाँले ५० शैयाको अस्पताल कलैयामा दैनिक २० जना कोभिड–१९ सङ्क्रमणसँग मिल्दोजुल्दो लक्षण भएका बीरामी आउने गरेको र उनीहरूमध्ये ५० वर्ष माथिका बिरामीलाई अक्सिजनको कमी भएको अवस्थामा उपचार नगरी बीरगंज रिफर गर्ने गरेको महतोले बताउनुभयो । प्रदेश २ सरकारको मातहतमा रहेको कलैया अस्पतालमा अक्सिजनको व्यवस्था नगरेका बिरामीको उपचार गर्न नसक्ने भनी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलसँग पटकपटक अनुरोध गर्दा अक्सिजनको व्यवस्था नगरेको गुनासो गर्नुभएको छ । जीतपुर सिमरा उपमहानगरपालिका–२१ मा कोभिड–१९ सङ्क्रमण बढेकाले वडा कार्यालय अमलेखगंजका वडा अध्यक्ष कृष्णबहादर ठकुरीले वैशाख २९ गते एक सूचना जारी गरेर जेठ ८ गतेसम्म वडा कार्यालयबाट प्रवाह हुने सेवा बन्द गरेको अनुरोध गर्नुभएको छ ।
पर्सा प्रतिनिधि कृष्णचन्द्र लामिछानेका अनुसार कोभिड सङ्क्रमणको ‘चेन’ तोड्ने भन्दै वैशाख १६ गतेदेखि जारी निषेध आदेश थप गर्दै जेठ ६ गते सम्म पुर्याइएको छ । नारायणी अस्पतालको प्रयोगशालालाई २४ घण्टा सञ्चालनमा ल्याउने गरी व्यवस्थापन गर्न डिसिसिएमसीले निर्णय गरेको छ । बीरगंज नाकामा १ हजार बेड क्षमताको होल्डिङ सेन्टर बनाउने निर्णय सङ्घीय सरकारले गरेको छ । मन्त्रिपरिषद्को वैशाख १३ गते बसेको बैठकले यस्तो निर्णय गरेको थियो ।
रसुवा प्रतिनिधि हेमनाथ खतिवडाका अनुसार कोभिड महामारीको दोस्रो लहर फैलिएसँगै रसुवामा मानवीय गतिविधिमा कडाइ गरिएको छ । जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को वैशाख २९ गते बसेको बैठकले जिल्लामा कोरोना नियन्त्रण तथा रोकथामका लागि १३ बुँदे निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी दुर्गा थापाले जानकारी दिनुभयो । अत्यावश्यक दैनिक उपभोग्य सामग्रीका पसल स्वास्थ्य मापदण्डमा रहेर दैनिक चार घण्टा मात्र खोल्न पाइनेछ । जिल्लाका सबै स्थानीय तहमा सञ्चालित दैनिक उपभोग्य सामग्रीका पसल बिहान र बेलुका गरी दिनमा दुई चरणमा खोल्न पाइने भएको छ । बिहान ७ बजेदेखि ९ बजेसम्म र बेलुकी ५ बजेदेखि ७ बजेसम्म मात्र खोल्न पाइने निर्णय बैठकले गरेको छ । जिल्लामा कोरोना सङ्क्रमित बिरामीका लागि आवश्यक आइसोलेशन अभाव भएको छ । जिल्लामा अक्सिजन सहितको आइसोलेशन अभाव भएको नौकुण्ड गाउँपालिका स्वास्थ्य शाखा प्रमुख अणप्रसाद पौडेलले बताउनुभयो ।
भक्तपुर प्रतिनिधि रमेश गिरीका अनुसार भक्तपुरका अस्पतालहरूमा अक्सिजन सकिँदा भर्ना भएका सङ्क्रमितलाई बचाउन र नयाँ सङ्क्रमित भर्ना गर्न कठिन भएको छ । अक्सिजन नभएकै कारण जिल्लाका अधिकांश अस्पतालले कोभिड–१९ का बिरामी भर्ना लिन छाडेका छन् भने भक्तपुर अस्पताल र नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा भर्ना भएका बिरामीलाई बचाउन पनि मुश्किल परेको छ । अक्सिजनका लागि २४ घण्टा अघिदेखि नै भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेण्डेण्ट डाक्टर सुमित्रा गौतमले अक्सिजन कम्पनीहरूदेखि सीसीएमसी, स्वास्थ्य मन्त्रालय, प्रदेश मन्त्रालयसम्मलाई दिनभर हारगुहार गर्दा पनि अक्सिजन नपाइएको बताउनु भयो । सगरमाथा अक्सिजन कम्पनीबाट विगतमा अक्सिजन ल्याउने गरेको भक्तपुर अस्पतालले त्यहाँबाट पनि अक्सिजन पाउन छाडेपछि जनकपुरदेखि अक्सिजन ल्याउन सुरु गरेको थियो । तर, जनकपुरबाट पनि अक्सिजन सहज रूपमा पाउन छाडेको र टाढाबाट ल्याउँदा कम्तीका दुई दिन लाग्ने हुँदा अक्सिजन अभावले अस्पताल भर्ना भएका कोभिडका बिरामीको ज्यान नै जोखिममा परेको उहाँले बताउनु भएको छ । सबै बिरामीलाई हाइफ्लोरको अक्सिजन दिनु पर्ने भएकाले भक्तपुर अस्पतालमा २४ घण्टामा २ सय सिलिण्डर अक्सिजन खपत हुने गरेको छ । मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा अक्सिजन अभाव भएपछि नगर प्रमुख मदनसुन्दर श्रेष्ठले आफैँ वैशाख २८ गते दिनभर दौडधुप गरेर १८ सिलिण्डर अक्सिजनको जोहो गरी भर्ना भएका बिरामीको ज्यान बचाउनु भएको छ । यस अस्पतालमा ६ भेण्टिलेटर, पाँच आइसियू, १४ हाइकेयर युनिट र १८ आकस्मिक कक्षमा गरी ४३ जना कोभिड–१९ का बिरामीको उपचार भइरहेको नगर प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।
म्याग्दी प्रतिनिधि अमृतप्रसाद पौडेलका अनुसार जिल्लाका सबै स्थानीय तहमा वैशाख २९ गते राति १२ बजेदेखि वैशाख ३१ गतेसम्मका लागि निषेध आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकृत गणेशबहादुर अधिकारीले जानकारी दिनुभयो । यसअघि जिल्लाका केही स्थानीय तहहरूमा निषेध आदेश जारी गरिएको छ ।
कास्की प्रतिनिधि सुशन घिमिरेका अनुसार वैशाख २९ गते सूचना प्रकाशन गरी कोभिड–१९ को सङ्क्रमणबाट गाउँपलिका पनि प्रभावित भएको र थप सङ्क्रमण हुन नदिन गाउँपालिका र मातहतका कार्यालयहरूबाट प्रवाह हुने स्वास्थ्य र अत्यावश्यक बाहेकका सेवा अर्को सूचना नभएसम्म बन्द गरिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले जानकारी दिनुभयो ।
बागलुङ प्रतिनिधि सिर्जना पन्तका अनुसार गलकोट नगरपालिका–५ मा ११ शैयाको अक्सिजन सहितको आइसोलेशन निर्माण गरिएको छ । गलकोट नगर अस्पतालमा कोभिड–१९ को पहिलो चरणमा स्थापना गरिएको कोभिड अस्पताललाई स्तरोन्नति गरी अक्सिजन सहितको बनाइएको हो । कोभिड–१९ को दोस्रो लहर गलकोटमा पनि तीव्र गतिमा फैलिरहेको भन्दै नगरपालिकाले नगर अस्पतालमा रहेको कोभिड अस्पताललाई स्तरोन्नति गरेको गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले जानकारी दिनुभयो । बरेङ गाउँपालिकाले गाउँपालिकाको वडा नम्बर २ र ३ लाई सील गरेको छ । गाउँपालिकाका दुई ओटा वडामा कोभिड १९ सङ्क्रमण तीव्र रूपले फैलिएको भन्दै समुदाय स्तरमा कोभिड–१९ परीक्षण सुरु गरिएको र परीक्षण गरिएका स्वाबको रिपोर्ट नआउँदा सम्मको लागि दुई ओटै वडालाई सील गरिएको गाउँपालिकाले वैशाख २९ गते प्रेस विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ ।
बाँकेमा दैनिक कोभिड सङ्क्रमित थपिँदै आएपछि नयाँ बिरामीका लागि अस्पतालमा बेड अभाव हुँदा उपचारमा समस्या भएको छ । भेरी अस्पताल नेपालगञ्जमा कोभिड सङ्क्रमितका लागि बनाइएका बेड भरिएका छन् । अस्पतालको इमरजेन्सी कक्षमा समेत बिरामी राखेर उपचार गर्नुपर्ने बाध्यता यतिबेला भेरी अस्पतालले खेपिरहेको छ । बेड अभावमा उपचार गर्न समस्या भएपछि भेरी अस्पतालको प्राङ्गणमै अस्थायी रूपमा पालमुनी सङ्मितहरूको उपचार गर्न थालिएको छ । ठाउँ अभावमा बिरामीलाई भुँईमै राखेर भएपनि उपचार दिइरहेको मेडिकल सुपरिटेण्डेनण्ट डाक्टर प्रकाशबहादुर थापाले बताउनु भयो । यसअघि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरले अक्सिजन अभावका कारण कोभिडका थप नयाँ बिरामी भर्ना गर्न नसकिने सार्वजनिक सूचना जारी गरेको थियो ।
रुपन्देही प्रतिनिधि रिमा बिसीका अनुसार कोभिड सङ्क्रणको जोखिम बढ्दै आएपछि वैशाख २९ गते बसेको डिसीसीएमसीको बैठकले जेठ १३ गतेसम्म निषेध आदेश थप गरेको जिल्ला प्रशासन कार्यालयका अधिकृत जनक थापाले बताउनु भयो । यसैगरी, अस्पतालमा अक्सिजन अभाव भई उपचारमा समस्या भइरहेको अवस्थामा भैरहवास्थित यूनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालले अक्सिजनको व्यवस्था आफैँ गर्न वैशाख २९ गते विज्ञप्तमार्फत सूचना जारी गरेको छ । अस्पतालले अक्सिजन व्यवस्था गर्नका लागि एक साता अघिदेखि प्रयास गरे पनि असफल भएकाले अक्सिजनको व्यवस्था आफैँ गर्न विज्ञप्तिमार्फत आह्वान गरेको जनाएको छ ।
कालीकोट प्रतिनिधि कालिबहादुर मल्लका अनुसार जिल्लाको कोभिड–१९ अस्पतालमा एक हप्तादेखि खानेपानीको अभाव भएपछि सेवाग्राही मर्कामा परेका छन् । बजार क्षेत्रबाट कोभिड अस्पतालमा आउने खानेपानीको पाइप अज्ञात पक्षले ११ ठाउँमा काटेपछि एकहप्ता अघिदेखि खानेपानीको समस्या भएको अस्पतालका प्रमुख डाक्टर राजकमल कार्कीले जानकारी दिनु भयो । उहाँका अनुसार ५५ बेड रहेको अस्पतालको आइसोलेशमा वैशाख २९ गतेसम्म २६ जना सङ्क्रमित रहेका छन् भने जिल्ला खेलकुद विकास समितिको कवर्ड हलमा ४० बेडको आइसोलेशनमा ११ जना सङ्क्रमित रहेका छन् । अस्पतालमा खानेपानीको अभाव भएपछि सङ्क्रमितहरू, स्वास्थ्यकर्मी लगायतले टाढाबाट बोकेर पानी ल्याउने गरेका छन् । पानी नहुँदा अस्पताल भित्र शौचालय प्रयोग गर्न समस्या रहेको एक सङ्क्रमितले बताए । अस्पताल जस्तो सम्वेदनशील क्षेत्रको पानीको पाइप ठाउँ ठाउँमा काट्ने व्यक्ति पत्ता लगाएर आवश्यक कारवाही गर्ने खाँडाचक्र नगरपालिकाका प्रमुख जसीप्रसाद पाण्डेले बताउनु भयो । खाँडाचक्र नगरपालिका, शुभकालिका गाउँपालिका, महाबै गाउँपालिकालगायतका आइसोलेशनमा पनि खानेपानीको अभाव भएको स्थानीयले इन्सेक प्रतिनिधिलाई जानकारी गराएका छन ।
जुम्ला प्रतिनिधि मानदत्त रावलका अनुसार कनकासुन्दरी गाउँपालिकास्थित हाँडसिंजा स्वास्थ्य चौकी सील गरिएको छ । स्वास्थ्य चौकीमा कार्यरत एक जना कर्मचारीमा कोभिड सङ्क्रमण देखिएकोले वैशाख २९ गतेदेखि एक साताका लागि सील गरिएको स्वास्थ्य चौकी इञ्चार्ज वीरेन्द्र उपाध्यायले बताउनुभयो ।
एक वर्षअघि
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ०७७ वैशाख २९ गते सम्म १ सय ३४ जनामा कोभिड-१९ पुष्टि गरेको थियो ।
कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (२०७७ वैशाख २९ गते)
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
दुप्चेश्वर गाउँपालिका -७ नुवाकोट घर भई दक्षिणकाली नगरपालिका -६ बस्दै आएकी ४५ वर्षीया डोल्मा शेर्पाको हत्या गरेको आरोपमा प्रहरीले ६० वर्षीय पति जितबहादुर शेर्पालाई असोज २० गते भक्तपुरबाट गिरफ्तार गरेको…
खानेपानी अभाव हुँदा सेवाग्राही समस्यामा
जयपृथ्वी नगरपालिका–७ स्थित सुबेडा स्वास्थ्य चौकीमा खानेपानीको समस्या हुँदा सेवाग्राही समस्यामा परेका छन् । पानीको अभाव भएका कारण एक घण्टाको बाटो हिडेर खोलाबाट पानी बोकेर पिउनका लागि जम्मा गर्नु परेको…
स्वास्थ्य चौकीमा खानेपानीको अभाव हुँदा बिरामीलाई समस्या
अमरगढी नगरपालिका–३ स्थित घटाल स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि बिरामीलाई समस्या भएको छ । स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि सेवा लिन आउने गर्भवती, सुत्केरी, बिरामी र स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीलाई…
कोशी प्रदेशमा मनसुनजन्य विपद्: पाँच जिल्लाका १८ ओटा विद्यालयमा क्षति
कोशी प्रदेशमा ०८१ जेठ २८ गतेदेखि सुरूआत भएको मनसुन ०८१ असोज १० गतेदेखि पुन सक्रिय भएपछि मनसुनजन्य प्राकृतिक विपदका कारण ४ अर्ब ६३ करोड ५० लाख रुपियाँ बराबरको भौतिक पूर्वाधारमा…
बाढी प्रभावित र प्रहरीबिच झडप, दुई जना प्रहरीसहित चार जना घाइते
भोक्राहा नरसिंह गाउँपालिकामा बाढी प्रभावित र प्रहरीबिच भएको झडपमा एक जना प्रहरीसहित तीन जना घाइते भएका छन् । बाढी प्रभावितहरूले भोक्राहा नरसिंह गाउँपालिका कार्यालय असोज २१ गते घेराऊ गरी राहत…