कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख २८ गते)

वैशाख २८ गते ९ हजार ४ सय ८३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ४ लाख १३ हजार १ सय ११ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । वैशाख २८ गते परीक्षण गरिएकामध्ये ४६ प्रतिशतमा कोभिड पुष्टी भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १५.५ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । वैशाख २८ गते १९ वर्ष मुनीका ९ सय ३२ जनामा कोभिड सङ्क्रमणको पुष्टी भएको छ । गत २४ घण्टामा २० हजार ५ सय ९६ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ३ लाख १२ हजार १९ जना निको भएका छन् । वैशाख २८ गते ५ हजार २ सय २५ जना निको भएका छन् भने निको हुनेको दर ७५.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । वैशाख २८ गतेसम्म ४ हजार ८४ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । वैशाख २८ गते २ सय २५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आइसोलेशनमा पुष्टि भएका केसहरूको सङ्ख्या भनी सङ्क्रमितको सङ्ख्या ९७ हजार ८ देखाइएको छ । मोरङ, सुनसरी, झापा, रौतहट, धनुषा, पर्सा, महोत्तरी, बारा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, नुवाकोट, कास्की, नवलपरासी पूर्व, गोरखा, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, नवलपरासी पश्चिम, सुर्खेत, कैलाली, कञ्चनपुर र बैतडीमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् । गृह मन्त्रालयका अनुसार वैशाख २८ गते साँझसम्म ७२ जिल्लामा पूर्ण तथा आंशिक निषेध आदेश जारी गरिएको छ ।

Corona Infographics 2078_01_28

पाँचथर प्रतिनिधि मङ्गल बेघाका अनुसार वैशाख २८ गतेदेखि लागू स्थानीय प्रशासनले निषेध आदेश जारी गरेको छ । जिल्लाका तीन ओटा अस्पतालमा ४५ बेडको आइसोलेशन र ४७ थान अक्सिजन सिलिण्डर तयारी अवस्थामा राखिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी धनञ्जयकुमार शाहले जानकारी दिनु भएको छ ।

इलाम प्रतिनिधि कोकिला ढकालका अनुसार जिल्लामा कोभिड–१९ सङ्क्रमण बढेसँगै जिल्ला प्रशासन कार्यालयले वैशाख २८ गते मध्यरातिदेखि जेठ १२ गते मध्यरातिसम्मका लागि निषेध आदेश जारी गरेको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले जेठ १२ गतेसम्म जिल्लामा निषेध आदेश जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताउनु भयो । निषेध आदेशका समयमा अत्यावश्यक बाहेकका सेवा बन्द हुने प्रशासनले जनाएको छ ।

 सङ्खुवासभा प्रतिनिधि भविन कार्कीका अनुसार दोस्रो चरणको कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि चिचिला गाउँपालिकाले वैशाख २८ गते पाँच बेडको आइसोलेसन कक्ष निर्माण गरेको गाउँपालिकाकी प्रमुख प्रशासकीय अधिकृत शुक्रादेवी राईले जानकारी दिनुभयो । चिचिला गाउँपालिकालाई अरूण तेस्रो परियोजनाको निर्माण गरिरहेको पटेल इञ्जिनियरिङ कम्पनीले १० थान अक्सिजन सिलिण्डर उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत राईले जानकारी दिनु भएको छ ।

 तेहृथुम प्रतिनिधि भगिश्वर लिम्बूका अनुसार वैशाख २८ गते सम्ममा ६२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित बढेसँगै म्याङ्लुङ नगरपालिका, लालीगुराँस नगरपालिका, छथर गाउँपालिका, मेन्छ्यायेम गाउँपालिका, फेदाप गाउँपालिका र आठराई गाउँपालिकाले जेठ ३ गतेसम्म आंशिक लकडाउन गरेका छन् ।

 महोत्तरी प्रतिनिधि अजयकुमार साहका अनुसार बलबा नगरपालिकाले वैशाख २९ गतेदेखि अत्यवश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाले वैशाख २८ गते एक सूचना जारी गर्दै वैशाख २९ गतेदेखि जेठ ४ गतेसम्मको लागि नगरपालिकाबाट प्रदान गरिने अत्यावश्यका बाहेकका सेवा बन्द गरिने जनाएको छ । यस अवधिमा भने स्वास्थ्यसम्बन्धी सेवा र फोहोरमैला व्यवस्थानसम्बन्धी कार्यहरू भने सुचारू नै रहने प्रमुख प्रशासकीय अधिकृत रमेश अधिकारीले जनाएको छ । विश्वव्यापी रूपमा नयाँ भेरियन्ट सहितको कोभिड फैलिँदै आएपछि महोत्तरी जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको वैशाख १९ गते निर्णयले वैशाख २१ गते मध्यरातदेखि ३१ गतेसम्म जिल्लाभर निषेध आदेश जारी गरेको छ ।

काठमाडौँ प्रतिनिधि बिमला पौडेलका अनुसार सर्वोच्च अदालतले कोभिड–१९ बाट प्रभावित नागरिकको जीवन रक्षाका लागि तत्काल प्रभावकारी ढङ्गले काम गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । वौशाख २८ गते न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले कोभिड भाइरस नियन्त्रणका लागि आवश्यक औषधि र अक्सिजनको आपूर्ति सहज बनाउन तथा थप साधनयुक्त अस्पताललगायत पूर्वाधार तत्काल तयार गर्न आज आदेश जारी गरेको हो । ‘थप साधनयुक्त अस्पतालहरू सञ्चालन गर्ने गराउनेतर्फ आवश्यक पहल गर्नुपर्नेसमेतका समस्याहरूको समयमै आवश्यक सम्बोधन हुनुपर्ने अवस्था देखिएकोले आवश्यक पर्ने औषधि र अक्सिजनको आपूर्ति सहज बनाउनू ।’–आदेशमा भनिएको छ–‘अस्पतालहरूमा बिरामीको चापलाई ख्याल गरी जनशक्तिको आपूर्ति तत्काल गर्नू ।’  नागरिकको जीवनसँग प्रत्यक्ष चासो राख्ने सरोकार पक्षको प्रतिनिधित्वसमेत हुने गरी एउटा कार्यसमितिको निर्माण गरी समस्या समाधान प्रभावकारी ढङ्गले गर्न गराउन स्वास्थ्य तथा स्वास्थ्य मन्त्रालयलाई आदेश दिइएको सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिनुभयो । कोभिड सङ्क्रमणको महामारीबाट बचाउन परमादेशको माग गर्दै अधिवक्ता शैलेन्द्रप्रसाद अम्बेडकरले सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो ।

काठमाडौँ उपत्यकाका तीन जिल्लामा जारी निषेध आदेश १५ दिन थप गरिएको तीन ओटै जिल्ला प्रशासन कार्यालयहरूले जारी गरेका छुट्टाछुट्टै सूचनामा उल्लेख छ । वैशाख २८ गते काठमाडौँ उपत्यकाका तीन ओटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले संयुक्त बैठकले निषेध आदेश थप गर्ने निर्णय गरेको हो । जारी निषेध आदेश जेठ १३ गते राति १२ बजेसम्म थप भएको छ । बैठकले निर्माण सामग्री दिउँसो ओसारपसार गर्न नपाइने निर्णय गरेको छ । बैठकले विवाह, ब्रतबन्ध र भोजजस्ता कार्यक्रम पार्टी प्यालेसमा गर्न रोक लगाएको छ । विवाह, ब्रतबन्ध र भोजजस्ता कार्यक्रम घरमा गर्दा पनि १० जनाभन्दा  बढी सहभागी हुन नपाइने निर्णय गरेको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिनुभयो । उहाँले जारी निषेध आदेशलाई थप कडाई गर्न सुरक्षाकर्मीहरूलाई निर्देशन दिने निर्णय भएको समेत बताउनुभयो ।

रसुवा प्रतिनिधि हेमनाथ खतिवडाका अनुसार कोभिड–१९ को प्रभाव बढ्दै गएपछि वैशाख २७ गते राति १२ बजेबाट निषेध आदेश जारी भएको छ । कोभिडका बिरामी दैनिक रूपमा बढ्दै आएकाले सङ्क्रमण फैलिन नदिन निषेध आदेश जारी गर्ने निर्णय गरिएको जिल्लास्तरीय कोभिड–१९ व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को वैशाख २६ गते बसेको बैठकले सोमबार राति १२ बजेदेखि जिल्लाभर लागु हुने गरी निषेध आदेश जारी गरेको हो । अत्यावश्यक सामग्री, खाद्यान्न, औषधि तथा स्वास्थ्य सामग्रीका पसलहरू २४ सै घण्टा खुला हुने जनाइएको छ ।

दोलखा प्रतिनिधि उद्धव पोखरेलका अनुसार कोभिड सङ्क्रमणका कारण होम आइसोलेशनमा बसेका सङ्क्रमितलाई दोलखाको शैलङ गाउँपालिकाले दैनिक ५ सय रुपियाँका दरले सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको छ । कोरोना महामारीको बेला औषधि उपचार र पोषणयुक्त खानाका लागि सहज होस् भनेर गाउँपालिकाले सहयोग रकम प्रदान गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष भरत दुलालले जानकारी दिनुभएको छ । हाल गाउँपालिका कर्मचारीसहित १५ जना सङ्क्रमित होम आइसोलेशनमा छन् ।

म्याग्दी प्रतिनिधि अमृतप्रसाद पौडेलका अनुसार रघुगङ्गा गाउँपालिकामा वैशाख २९ गते राति १२ बजेदेखि जेठ ८ गतेसम्मका लागि निषेध आदेश जारी गरिएको छ । रघुगङ्गा गाउँपालिकाले वैशाख २८ गते गरेको निर्णय अनुसार जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रलाई आगामी जेठ ८ गतेसम्मका लागि गाउँपालिका क्षेत्र निषेध आदेश जारी गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो । गाउँपालिकाले ०७८ जेठ ३ गतेदेखि विद्यालय स्तरका सबै परीक्षा सञ्चालन गर्ने तयारी गरेको भए पनि अर्को सूचना नभएसम्मका लागि परीक्षाहरू स्थगित गरिएको गाउँपालिकाले जनाएको छ । पश्चिम म्याग्दीको धौलागिरी गाउँपालिकाले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ भने एक जना डाक्टर र पाँच बेडको कोभिड–१९ अस्पताल निर्माण गरेको छ । त्यस्तै मालिका गाउँपालिकामा दुई डाक्टरसहित पाँच ओटा कोभिड बेड सहित  १० बेडको अस्पताल तयार गरेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बताउनुभयो । त्यस्तै अन्नपुर्ण गाउँपालिकामा पाँच बेडको अस्पताल, रघुगङ्गा गाउँपालिकामा एक जना डाक्टरसहित पाँच बेडको अस्पताल, मङ्गला गाउँपालिकामा पाँच बेडको अस्पताल र एक जना डाक्टर व्यवस्था गरिएको छ । सबै गाउँपालिकाहरूले पाँच÷पाँच ओटा ठूला अक्सिजन सिलिण्डर पनि तयारी अवस्थामा राखेका छन् ।

रुपन्देही जिल्ला प्रतिनिधि रिमा बिसीका अनुसार कोभिड सङ्क्रमण दोस्रो लहर प्रदेशका हरेक जिल्लामा बढ्दै आइरहेको अवस्थामा लुम्बिनी प्रदेश स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका स्वास्थ्यमन्त्री भोजप्रसाद श्रेष्ठले कोभिड–१९ नियन्त्रणसम्बन्धी मुलभूत समस्याहरू र समस्या समाधान उपायका बारेमा सङ्घीय सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेल, लुम्बिनी प्रदेश सभाका सांसदहरू, लुम्बिनी प्रदेशका १२ ओटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, स्वास्थ्य क्षेत्रका विज्ञहरू, सुरक्षा निकायका प्रमुखहरू लगायतको उपस्थितिमा वैशाख २८ गते भर्चुअल बैठक सम्पन्न भएको छ । बैठकमा अर्थमन्त्री पौडेलले अक्सिजनको तत्काल व्यवस्थापन गर्न चिनबाट ल्याउने प्रक्रिया अगाडि बढाइ सकिएको, भेण्टिलेटर, औषधिलगायतका आवश्यक स्वास्थ्य सामग्री व्यवस्थापन गर्न सरकार लागि परेको बताउँदै आर्थिक व्यवस्थापनमा कुनै कमी नरहने बताउनु भयो ।

रोल्पा प्रतिनिधि तिलक सङ्घर्ष मगरका अनुसार रोल्पा अस्पतालमा अक्सिजनको अभाव हुन थालेको छ । कोभिड सङ्क्रमित थपिदै जाँदा अस्पतालमा अक्सिजनको अभाव हुन थालेको जिल्ला अस्पतालका  प्रमुख डाक्टर प्रकाशबहादुर बुढामगरले बताउनु भयो । आठ जना सङक्रमितलाई निरन्तर अक्सिजन दिएर उपचार भइरहेको छ भने सङ्क्रमित थप भएमा अक्सिजन दिन सक्ने अवस्था नभएको डाक्टर बुढाले बताउनु भयो । प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाका अनुसार अस्पतालमा तीन ओटा अक्सिजन सिलिण्डर मात्र बाँकी छ । जिल्ला अस्पतालमा उपचाररत एक जना कोभिड सङ्क्रमितमा अक्सिजन कमी भएपछि थप उपचारका लागि वैशाख २८ गते हेलिकप्टरमार्फत काठमाडौँ पठाइएकको अस्पतालले जनाएको छ ।

रुकुम पश्चिम प्रतिनिधि मनिषा केसीका अनुसार जिल्ला अस्पताल सल्लेमा अक्सिजनको अभाव भएको छ । जिल्ला अस्पताल सल्लेका डाक्टर राजकुमार भुजेलले जिल्ला अस्पतालको आइसोलेशनमा ३५ जना बिरामी रहेकामा १५ जनालाई अक्सिजन लगाउनै पर्ने अवस्था रहेको बताउनुभयो । तर, अस्पतालमा दुई ओटा सिलिण्डर अक्सिजन मात्र हुँदा १५ जना बिरामीलाई दुई मिनेटको फरकमा लगाउने गरिएको उहाँको भनाई छ । डाक्टर भुजेलका अनुसार अक्सिजन चढाउने अधिकांश बिरामीको अक्सिजनको मात्रा ७० देखि ८० रहेको छ । दाङबाट अक्सिजन ल्याउनको लागि कर्मचारी पठाएपनि नपाइएपछि तत्कालको समस्या टार्न चौरजहारी अस्पतालबाट तीन ओटा अक्सिजन सिलिण्डर ल्याएको अस्पतालले जनाएको छ । अस्पतालका निमित्त प्रमुख विष्णु बुढाथोकीले भैरहवाबाट २२ ओटा अक्सिजन सिलिण्डर ल्याउने तयारी भइरहेको बताउनुभयो । जिल्लामा कोभिड सङ्क्रमणबाट हालसम्म आठ जनाको मृत्यु भइसकेको छ ।

दैलेख प्रतिनिधि अमर सुनारका अनुसार एक कोभिड सङ्क्रमण दर तीब्र रूपमा बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय दैलेखले १० दिन निषेध आदेश थप गरेको छ । प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलको अध्यक्षतामा वैशाख २८ गते बसेको जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठकले जेठ ७ गतेसम्मका लागि निषेध आदेश थप गरेको हो । लक्षण सहितका कोरोना सङ्क्रमितहरू बढ्न थालेको र दिनहुँ एक जनाको दरले ज्यान जान थालेपछि एक स्थानीय तहबाट अर्को स्थानीय तहमा आवागमन समेत पूर्णरूपमा रोक्ने गरी कडाईका साथ निषेध आदेश जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद देवकोटाले बताउनुभयो । पछिल्लो समय कोभिडबाट जिल्लामा आठ जनाको मृत्य भएको छ । स्वास्थ्य सेवा कार्यालय दैलेखका व्यवस्थापक कोभिड फोकल पर्सन थीरप्रसाद रेग्मीले जानकारी दिनुभयो । फोकलपर्सन रेग्मीका अनुसार दैलेखमा अहिले ४ सय ४० जना सक्रिय सङ्क्रमितमध्ये अति जोखिम देखिएका ३७ जना सदरमुकामको आइसोलेशनमा राखिएको छ । हाल कुल सङ्क्रमितको सङ्ख्या २ हजार ७० जना पुगेको छ ।

सल्यान प्रतिनिधि मिना बुढाथोकीका अनुसार कोभिड सङ्क्रमितहरूको सङ्ख्या दिनानुदिन बढ्न थालेपछि १६ बेड क्षमता रहेको जिल्ला स्वास्थ्य सेवा कार्यालय सल्यानमा अहिले ३६ जना सङ्क्रमितहरूको उपचार गर्नु पर्ने बाध्यता रहेको छ । ‘सङ्क्रमितहरू दिनानुदिन बढ्दैछन् । हामीसँग १६ ओटा बेड क्षमताको आइोलेशन छ तर पनि हामीले इमरजेन्सी वार्डमा समेत आइसोलेशन बनाएर उपचार गरिरहेका छौँ ।’– डाक्टर भिमकान्त जैशीले भन्नुभयो । दैनिक रूपमा बिरामी आइरहने र राख्ने ठाँउ छैन भन्दा कतै जान नमानेपछि अस्पतालमा समस्या सिर्जना हुन थालेको उहाँले बताउनु भयो । अस्पतालमा आएका अधिकाँश सङ्क्रमितहरूलाई अक्सिजन लाउनु पर्ने भएकाले अक्सिजन अभावमा उपचार गर्न नै असम्भव भएको उहाँको भनाई छ ।

दार्चुला प्रतिनिधि नरेन्द्रसिंह कार्कीका अनुसार जिल्लास्थित अस्पताल र स्वास्थ्य संस्थाहरूमा अक्सिजनको अभाव भएपछि जिल्ला अस्पताल, दार्चुलाले अक्सिजन प्लान्ट खरिद प्रक्रिया अगाडि बढाएको भएपनि अक्सिजन सप्लायर्सले दररेट दिन नसक्दा अक्सिजन प्लान्ट खरिद प्रक्रियामा ढिलाइ भएको जिल्ला अस्पताल, दार्चुलका सुपरिटेण्डेण्ट डाक्टर आदर्श लिम्बुले बताउनु भयो । जिल्लामा कोभिड सङ्क्रमित दर बढदै गएपछि अक्सिजनको अभावमा उपचारमा समस्या भएको डाक्टर लिम्बुको भनाई छ । देशभर अहिले अक्सिजन प्लान्टको हाहाकार भएकोले आपूर्तिकर्ताले अक्सिजन प्लान्टको दररेट उपलब्ध गराउन नसकेकोले तत्काल सम्भव नदेखिएको तर जिल्लामा अक्सिजनको माग उच्च रहेको डाक्टर लिम्बुले बताउनु भयो । जिल्ला अस्पताल, दार्चुलालाई अक्सिजन प्लान्ट खरिदको लागि सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले ८० लाख रुपियाँ बजेट विनियोजन गरेको छ ।

यसैगरी जिल्लामा कोभिड सङ्क्रमण बढदै आएको बेलामा मालिकार्जुन गाउँपालिका–३ स्थित मालिकार्जुन स्वास्थ्य चौकीका प्रमुख तेज रावत दुई महिनादेखि विदामा रहेका कारण सेवाग्राही समस्यामा परेको स्थानीय अनसिंह धामीले गुनासो गर्नु भयो । ०७७ फागुन २५ गते घर बिदामा जानु भएका रावत अझै स्वास्थ्य चौकी फर्किनु भएको छैन । गाउँमा रुघाखोकी र भाइरलका बिरामी बढिरहेको बेला स्वास्थ्य चौकी प्रमुख रावत कार्यालयमा नहुनु र स्वास्थ्य चौकीका अन्य कर्मचारीहरू फिल्ड, गाउँघर क्लिनिक जानु पर्ने भएकाले स्वास्थ्य चौकीबाट सेवा पाउन नसकेको धामीको भनाई छ । मालिकार्जुन स्वास्थ्य चौकीका निमित्त स्वास्थ्य चौकी प्रमुख लालसिंह धामीले चौकी प्रमुख रावत विदामा गएको कुनै औपचारिक जानकारी नभएको तर उहाँले एक महिना अगाडि कोभिड पोजेटिभ भएको रिपोर्ट पठाएको बताउनु भयो । स्वास्थ्य चौकीका प्रमुख रावतले भने सुरुमा आफू धनगढी तालिममा सहभागी हुन गएको र पछिल्लो समय कोभिड पोजेटिभ देखिएपछि घरमै बसेको बताउनु भयो । मालिकार्जुन गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गुणराज ओझाले भने स्वास्थ्य चौकी प्रमुख रावत कुन दिनदेखि विदामा बस्नु भएको हो भन्ने जानकारी नभएको बताउनु भयो ।

एक वर्षअघि

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ०७७ वैशाख २८ गते सम्म १ सय १० जनामा कोभिड-१९ पुष्टि भएको थियो ।

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (२०७७ वैशाख २८ गते)


अनलाइन डेस्क