कोभिड–१९ को सङ्क्रमणसम्बन्धी प्रदेश १ को दैनिक अपडेट (वैशाख २७ गते)

  ०७८ वैशाख २७ गते

मोरङ प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार प्रदेश १ मा वैशाख २७ गते ९ सय ३७ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । दैनिक सङक्रमण सङ्ख्या हालसम्म कै उच्च हो । गत वर्षको कात्तिक ४ गते प्रदेश १ मा दैनिक सङ्क्रमित सङ्ख्या ८ सय ७० पुगेको थियो । सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा ३ सय ९८ जना, झापामा २ सय ६३ जना, सुनसरीमा ८७ जना, उदयपुरमा ५२ जना, ताप्लेजुङमा ३८ जना, तेहृथुममा ३० जना, इलाममा ११ जना, पाँचथरमा ६, खोटाङमा चार जना, सङ्खुवासभामा तीन जना,  भोजपुरमा दुई जना, धनकुटामा एक जना र प्रदेश १ बाहिरका ४२ जनामा सङ्क्रमण पुष्टि भएको छ । प्रदेश १ मा कोभिड–१९  सङ्क्रमितको सङ्ख्या वैशाख २७ गतेसम्म् ३८ हजार ९ सय २० पुगेको छ । सङ्क्रमित भएकामध्ये ३० हजार ३ सय २ जना सङ्क्रमण मुक्त भएका छन् । वैशाख २७ गते ७० जना सङ्क्रमण मुक्त भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या ८ हजार ५० पुगेको छ । प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले वैशाख २७ गते धनकुटा जिल्लामा कोभिड–१९ को सङ्क्रमणको अवस्था र नियन्त्रण, रोकथाम तथा उपचारका लागि गरिएका प्रयास एवम् आगामी कार्ययोजनाका सम्बन्धमा जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रसँग छलफल गर्नु भएको छ । मन्त्री कार्कीले धनकुटामा कोरोना सङ्क्रमणको अवस्था, नियन्त्रणका लागि भएका पहल र प्रयासहरूका बारेमा प्रदेश सांसद, जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुखहरूसँग छलफल गर्नु भएको छ । बेलबारी नगरपालिकाले अक्सिजनसहितको १५ बेडको आइसोलेसन कक्ष तयार गरेको छ । बेलबारी नगरपालिका– २ मा रहेको बागदेवी सामुदायिक वन उपभोक्ता समूहको भवनमा नगरपालिकाले आइसोलेसन तयार गरी वैशाख २७ गतेदेखि सञ्चालनमा ल्याएको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताउनु भएको छ ।

सङखुवासभा प्रतिनिधि भविन कार्कीका अनुसार वैशाख २७ गते खाँदबारी,तुम्लिङटार र मानेभञ्याङ बजार क्षेत्र अनुगमन गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी तथा निषेध आदेश अनुगमन समिति अध्यक्ष मोहनमणि घिमिर सहितको टोलीले बजार क्षेत्र अनुगमन गरेको हो । सङ्क्रमित बढेपछि जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले वैशाख २६ देखि जेठ २ गते राति १२ बजेसम्म जिल्लाभर निषेध आदेश जारी गरेको छ । अनुगमन टोलीले निषेध आदेश पूर्ण रूपमा पालना भएको र यसले जोखिम न्यूनीकरणका लागि सहयोग गरेको जनाएको छ ।

ताप्लेजुङ प्रतिनिधि देवराज गुरुङका फुङलिङ नगरपालिकाले वैशाख २७ गते अति आवश्यक सेवा दमकल र फोहोरमैला सङ्कलन गर्ने सवारी साधन जेठ ३ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालयले वैशाख २७ गतेदेखि जेठ ३ गतेसम्म (दोश्रो पटक) निषेध आदेश जारी गरेको छ । जिल्लामा वैशाख २७ गतेसम्म कुल सङ्क्रमितको सङ्ख्या १ सय ३६ छ ।

पाँचथर प्रतिनिधि मङ्गल बेघाका अनुसार जिल्लामा कोभिड–१९ को सङ्क्रमण प्रतिदिन बढ्दै गएपछि जोखिम न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालयले वैशाख २७ गते मध्यराति देखि जेठ ३ गतेसम्म निषेध आदेश जारी गरेको छ । जिल्लामा वैशाख २७ गते थप ६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी तेजहादुर तुम्बापोका अनुसार जिल्ला अस्पतालमा गरिएको एन्टिजेन परीक्षणमा ६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।  जिल्लामा वैशाख २७ गतेसम्म ४० जनामा कोभिड– १९ सङ्क्रमण पुष्टि भएको छ ।

धनकुटा प्रतिनिधि ईश्वर थापाका अनुसार महालक्ष्मी नगरपालिकाको कार्यालयसहित सबै वडा कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवा एक साताका लागि बन्द गरिने निर्णय भएको छ । कोभिड–१९ को सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि वैशाख २७ गतेदेखि जेठ २ गतेसम्म अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ । कोभिड–१९ सम्बन्धी पूर्व तयारी तथा प्रतिकार्य सम्बन्धी आवश्यक व्यवस्था गर्न गठित समन्वय समितिको वैशाख २६ गतेको बैठकले अत्यावश्यक बाहेकका सेवा एक साता बन्द गर्ने निर्णय गरेको थियो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त गिरीले सूचना जारी गरेर सात प्रकारका अत्यावश्यक सेवा बाहेक सम्पूर्ण सेवा बन्द गरिएको जानकारी गराउनु भएको छ ।  प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, नगर स्वास्थ्य केन्द्रवाट प्रवाह हुने स्वास्थ्य सेवा रोकिने छैनन् । फोहोरमैला व्यवस्थापन, एम्बुलेन्स, नगर प्रहरी, खानेपानी, अति जरूरी कामको लागि सवारी पास सिफारिस र विपद् व्यवस्थापनको काम पनि सुचारू रहने नगरपालिकाले जनाएको छ । बाँकी सबै सेवा एक साता बन्द हुने नगरपालिकाले जनाएको छ ।

ओखलढुङ्गा प्रतिनिधि सरस्वती बानियाका अनुसार जिल्लामा वैशाख २७ गते तीन जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । वैशाख २७ गते सात जनाको एन्टिजेन परीक्षण गरिएकोमा तीन जनामा सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले बताउनु भएको छ ।

तेहृथुम प्रतिनिधि भगिश्वर लिम्बूका अनुसार जिल्लामा वैशाख २७ गते ५४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित बढेसँगै म्याङलुङ नगरपालिकाले सिंहबाहिनीमा माध्यमिक विद्यालयमा २० बेडको आइसोलेसन निर्माण गरेको छ । म्याङलुङ नगरपालिका र छथर गाउँपालिकाले वैशाख २७ गतेदेखि जेठ १ गतेसम्मका लागि अत्यावश्यक बाहेकका सेवा प्रवाह बन्द गरेको छ ।

सुनसरी प्रतिनिधि जयकृष्ण यादवका अनुसार जिल्लामा १ सय ५० बेडको कोभिड–१९ अस्पताल र ७ सय २५ बेडको आइसोलेसन केन्द्र तयारी अवस्थामा राखिएको छ । जिल्ला प्रशासन कार्यालयले जिल्लामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढेपछि कोभिड–१९ सङ्क्रमितको उपचारका लागि धरान, इटहरी, इनरुवा, बर्जु र हरिनगरमा कोभिड अस्पताल निर्माण गरिएको छ । कोभिड अस्पताल बाहेक ७ सय २५ बेडको आइसोलेसन केन्द तयार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिनुभयो । पोखरेलका अनुसार धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालसहित हरिनगरमा १५ बेड र वर्जुमा पाँच बेड, इनरूवा अस्पतालमा २० बेडसहित १ सय ५० बेड सञ्चालनमा छ । धरान, इटहरी, दुहवी, बराहक्षेत्र र इनरूवामा गरी ७ सय २५ बेडको आइसोलेसन सञ्चालनमा रहेकोमा ८६ जना सङ्क्रमितहरू उपचाररत छन् । दुई साताको निषेध आदेशका काण जिल्लाका किसानले लगाएको तरकारी बाली खेतमै कुहिन थालेको किसानहरूले गुनासो गर्न थालेका छन् । बन्दाबन्दीले हाट बजार नलागेको र थोक खरिदकर्ता तथा व्यपारी नआएकाले उत्पादित तरकारी बाली खेतमै कुहिन थालेको हरिनगर गाउँपालिका–१ भुटाहाका किसान विजय गुप्ताले गुनासो गर्नु भएको छ । इटहरी उपमहानगरपालिका–२ का कोरोना सङ्क्रमितको वैशाख २७ गते उपचारका क्रममा मृत्यु भएको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सह–प्रवक्ता डा. चुडामणि पोखरेलका अनुसार इटहरी उपमहानगरपालिका–२ का ५८ वर्षीय पुरूषको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । जिल्लामा हालसम्म २४ जनाको कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी महेश पोखरेलले जानकारी दिनु भएको छ ।


इन्सेक प्रदेश १ कार्यालय, विराटनगर