कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख २६ गते)

वैशाख २६ गते ८ हजार ८ सय ५० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ३ लाख ९४ हजार ६ सय ६७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । वैशाख २६ गते परीक्षण गरिएकामध्ये ४७ प्रतिशतमा कोभिड पुष्टी भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १५ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । वैशाख २६ गते १९ वर्ष मुनीका ८ सय ५४ जनामा कोभिड सङ्क्रमणको पुष्टी भएको छ । गत २४ घण्टामा १८ हजार ७ सय ८७ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ३ लाख २ हजार ७ सय ८७ जना निको भएका छन् । वैशाख २६ गते ४ हजार २२ जना निको भएका छन् भने निको हुनेको दर ७६.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । वैशाख २६ गतेसम्म ३ हजार ७ सय २० जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । वैशाख २६ गते ८८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आइसोलेशनमा पुष्टि भएका केसहरूको सङ्ख्या भनी सङ्क्रमितको सङ्ख्या ८८ हजार १ सय ६० देखाइएको छ । मोरङ, सुनसरी, झापा, धनुषा, पर्सा, महोत्तरी, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, नुवाकोट, कास्की, गोरखा, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली,कञ्चनपुर र बैतडीमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् । गृह मन्त्रालयका अनुसार वैशाख २६ गते साँझसम्म ६८ जिल्लामा पूर्ण तथा आंशिक निषेध आदेश जारी गरिएको छ ।

महोत्तरी प्रतिनिधि अजयकुमार साहका अनुसार जलेश्वर अस्पतालमा भेण्टिलेटर भए पनि सञ्चालन गर्ने जनशक्ति नहुँदा एक जना सङ्क्रमितको मृत्यु भएको छ । भेन्टिलेटरमा राखेर उपचार गर्नु पर्ने चिकित्सकले सल्लाह दिए पनि समयमा उक्त सुविधा उपलब्ध नहुँदा एक जना सङ्क्रमितको मृत्यु भएको हो ।

जलेश्वर अस्पतालमा भएको भेण्टिलेटर सञ्चालन गर्ने जनशक्ति नभएका कारण एम्बुलेन्सबाट जनकपुर पठाउनु पर्ने बाध्यता रहेको अस्पतालले जनाएको छ । जलेश्वर अस्पताल विकास समितका अध्यक्ष सुरेश पाण्डेले भन्नुभयो–‘एम्बुलेन्स खोज्दाखोज्दै रातिको साँढे १० बज्यो । जसोतसो एउटा एम्बुलेन्सको बन्दोबस्त गरेर उनलाई जनकपुर लग्दै गर्दा बाटोमै मृत्यु भयो ।’ गत वर्ष जलेश्वर अस्पतालले २ करोड रुपियाँभन्दा बढी रकममा पाँच ओटा भेण्टिलेटर खरिद गरेको थियो । तर, जनशक्ति नहुँदा भेण्टिलेटर थन्किएका छन्

 काठमाडौँ प्रतिनिधि बिमला पौडेलका अनुसार सरकारले वीर अस्पतालको नयाँ भवनलाई ५ सय शैयाको कोभिड विशेष अस्पताल बनाउने निर्णय गरेको छ । वैशाख २५ गते बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिनुभयो । ‘सरकार जनताको जीवन रक्षाप्रति प्रतिबद्ध छ । वीर अस्पतालबाहेक अन्यत्र पनि कसरी पुर्वाधार विस्तार गर्न सकिन्छ भन्ने बारे  मन्त्रिपरिषदमा छलफल भयो । विस्तृत निर्णय पछि आउँछ ।’–उहाँले भन्नु भयो–‘यसले कोरोनाको जोखिमलाई कम गर्न सहयोग पुग्ने सरकारले विश्वास लिएको छ ।’ केही दिनअघि कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)ले वीर अस्पतलालको नयाँ भवनलाई कोभिड–१९ विशेष अस्पताल बनाउनका लागि सिफारिस गरेको थियो ।

 धादिङ प्रतिनिधि सिताराम अधिकारीका अनुसार धादिङ अस्पतालमा स्वास्थ्यकर्मीहरुको अभाव भएको छ । अस्पतालमा कार्यरत ४० जना स्वास्थ्यकर्मी कोभिड सङ्क्रमित भएर आइसोलेशनमा बसेका कारण दैनिक उपचारमा समेत समस्या आएको छ । नौ दिनसम्म लगातार २४ घण्टाको ड्युटी गर्दा थकित भएपनि काम नरोकेको धादिङ अस्पतालका हेल्थ असिष्टेण्ट कृष्णलाल उप्रेतीले बताउनुभएको छ । पालो दिने स्वास्थ्यकर्मी नभएकाले ९ दिनसम्म २४ घण्टै खटिनुपरेको उप्रेतीको भनाई छ । धादिङ अस्पतालमा हाल दुई जना स्वास्थ्यकर्मीले नौ दिनदेखि बिरामीको उपचार गरिरहेका छन् । धादिङ अस्पतालमा दैनिक ५० जनाको हाराहारीमा बिरामी आउने गरेका छन् । स्वास्थ्यकर्मी नहुँदा उपचारमा समेत समस्या आएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट त्रिभुवनचन्द्र झाले बताउनुभयो ।

 भक्तपुर प्रतिनिधि रमेश गिरीका अनुसार चाँगुनारायणका एक जना सङ्क्रमितका आइसियू र भेण्टिलेटर खोज्दा खोज्दै ज्यान गएको छ । कोभिडको सङ्क्रमण भएपछि होम आइसोलेशनमा बसेपनि श्वासप्रश्वासमा समस्या आएपछि वैशाख २१ गते उपचारका लागि भक्तपुर अस्पतालमा भर्ना भएका उनको मृत्यु आइसियू नपाउँदा भएको परिवारले जनाएको छ । मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित कोरिया मैत्री नगरपालिक अस्पतालका सबै आइसियू भरिएका र आइसियू पाउनकै लागि बिरामी पालो कुरेर बसिरहेको मेयर मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो । भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेण्डेण्ट डाक्टर सुमित्रा गौतमले अस्पतालले ६ शैयाको आइसियू र २५ शैयाको हाईकेयर युनिट सञ्चालनमा ल्याए पनि बिरामीको चाप अत्यधिक बढेकाले आइसियूको अभाव भएको बताउनुभयो । भक्तपुरमै अक्सिजन अभावमा वैशाख २३ गते कौशलटारको भक्तपुर इन्टरनेशनल अस्पतालमा कोभिडका दुई जना सङ्क्रमितको ज्यान गएको थियो ।

 डोल्पा प्रतिनिधि विष्णुप्रसाद देवकोटाका अनुसार जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा नआउँदा कोभिड–१९ सङ्क्रमितको उपचारमा समस्या भएको छ । जिल्ला अस्पतालमा पहिलो पटक अक्सिजन प्लान्टको व्यवस्थापन गरिएपनि सञ्चालनमा नआउँदा समस्या भएको स्वास्थ्या सेवा कार्यालय दुनैका प्रमुख अमरबहादुर शाहीले बताउनुभयो । ड्रागन मेडिटेक प्रालि सुर्खेतले अक्सिजन प्लान्ट ढुवानी तथा जडानको जिम्मेवारी लिएको भएपनि हालसम्म जडान नगरिएका कारण सञ्चालनमा नआएको प्रमुख शाहीले जानकारी दिनुभयो । जडानका लागि बायोमेडिकल इञ्जिनियर नै चाहिने भएकाले जतिसक्दो छिटो जडानको लागि कार्यालयले प्राविधिक बोलाएको भन्दै प्रमुख शाहीले दुई–तीन भित्रमा जडान भई सञ्चालनमा ल्याइने बताउनुभयो ।

 हुम्ला प्रतिनिधि नन्द सिंहका अनुसार ताँजाकोट गाउँपालिकाका १५ जना बिरामीको अक्सिजनको लेवल ९२ भन्दा कम भएको छ । ताँजाकोट गाउँपालिका–३ को छप्रेलास्थित मैला स्वास्थ्य चौकीले वैशाख २६ गते अक्सिमिटरबाट गरेको परीक्षणमा १५ जनाको अक्सिजनको लेवल ९२ भन्दा कम भएको स्वास्थ्य चौकी इञ्चार्ज धनराज ढकालले जानकारी दिनुभयो । ‘विश्व स्वास्थ्य सङ्गठन र नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड अनुसार अक्सिजनको लेवल ९२ देखि ९५ को बिचमा भए गाउँपालिकाको आइसोलेशनमा राखेर उपचार गर्नु पर्ने व्यवस्था छ ।’–ढकालले भन्नुभयो–‘तर हामीकहाँ भएका सबै बिरामीको अक्सिजनको लेवल कम भएपनि घरमै बसेर उपचार गराउन बाध्य छन् ।’

 एक वर्षअघि

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ०७७ वैशाख २६ गते सम्म १ सय २ जनामा कोभिड-१९ पुष्टि भएको थियो ।

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (२०७७ वैशाख २६ गते)


अनलाइन डेस्क