कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख २३ गते)

वैशाख २३ गते ८ हजार ९ सय ७० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ३ लाख ६८ हजार ५ सय ८० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । वैशाख २३ गते परीक्षण गरिएकामध्ये ४४ प्रतिशतमा कोभिड पुष्टी भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १४.३ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । वैशाख २३ गते १९ वर्ष मुनीका ८ सय १७ जनामा कोभिड सङ्क्रमणको पुष्टी भएको छ । गत २४ घण्टामा २० हजार ३ सय ६७ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ९२ हजार ४ सय ९० जना निको भएका छन् । वैशाख २३ गते २ हजार ७ सय ७ जना निको भएका छन् भने निको हुनेको दर ७९.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । वैशाख २३ गतेसम्म ३ हजार ५ सय २९ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । वैशाख २३ गते ५४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आइसोलेशनमा पुष्टि भएका केसहरूको सङ्ख्या भनी सङ्क्रमितको सङ्ख्या ७२ हजार ५ सय ६१ देखाइएको छ । मोरङ, सुनसरी, झापा, धनुषा, पर्सा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, काभ्रेपलाञ्चोक, मकवानपुर, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत र कैलालीमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् । गृह मन्त्रालयका अनुसार वैशाख २३ गते साँझसम्म ६० जिल्लामा पूर्ण तथा आंशिक निषेध आदेश जारी गरिएको छ ।

सिन्धुपाल्चोक प्रतिनिधि नातिबाबु धितालका अनुसार कोभिड सङ्क्रमितको सङ्ख्या बढेसँगै सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयले वैशाख २३ गतेबाट लागु हुने गरी सात ओटा स्थानीय तहमा निषेध आदेश जारी गरेको छ । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम चौतारा सागाचोकगढी, मेलम्ची र बाह्रबिसे नगरपालिका तथा बलेफी, भोटेकोशी, सुनकोशी, जुगल गाउँपालिकामा वैशाख २३ गतेदेखि वैशाख ३१ गतेसम्म निषेध आदेश जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी बावुराम खनालले बताउनु भयो । जिल्लामा वैशाख २२ गते सम्म १ सय ३४ जनामा सङ्क्रमण पुष्टी भएको छ भने तीन जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईंले बताउनु भयो ।

चौतारा अस्पतालले वैशाख २२ गतेदेखि २४ शैयाको आइसोलेशन कक्ष निर्माण गरेको छ । निर्माण गरिएको यस कक्षमा वैशाख २३ गतेसम्म ६ जना सङ्क्रमित राखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईंले बताउनु भयो । लिसङ्खुपाखर गाउँपालिकाले डाँडाँपाखरमा आइसोलेशन कक्ष निर्माण गरेको गाउँपालिका अध्यक्ष कमल नेपालले बताउनु भयो ।

बारा प्रतिनिधि भोलानाथ पौडेलका अनुसार कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि वैशाख २३ गते बिहान ६ बजेदेखि अनिश्चितकालिन निषेध आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेले बताउनुभयो । त्यस्तै जिल्ला अदालतले कोभिड–१९ सङ्क्रमणलाई मध्यनजर गरी अदालतबाट प्रवाह हुने सेवामा फेरबदल गरेको वैशाख २२ गते सार्वजनिक  सूचना जारी गरी जानकारी गराइएको छ ।

महोत्तरी प्रतिनिधि अजयकुमार साहका अनुसार नयाँ भेरियन्ट सहितको कोभिड सङ्क्रमण तीव्र रूपमा फैलिएपछि महोत्तरीमा वैशाख २२ गतेदेखि निषेध आदेश जारी गरिएको छ । वैशाख १९ गते बसेको जिल्ला सङ्कट व्यवस्थापन समितिको बैठकले वैशाख २२ गते बिहान ६ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्मका लागि निषेध आदेश लागु गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जानकारी दिनुभयो । यो अवधिमा अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्किन आग्रह गर्दै उल्लङ्घन गरे कारबाही हुने प्रशासनले चेतावनी दिएको छ ।

सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको वैशाख २३ गतेको बैठकले सप्तरीमा अर्को आदेश नभएसम्मका लागि भाडाका सवारी साधन बन्द गर्नुका साथै वैशाख २५ गते मध्यरातिदेखि निषेध आदेश लगाउने निर्णय गरेको छ । सिडिओ फणिन्द्रमणी पोखरेलको अध्यक्षतामा बसेको बैठकले सप्तरीका शहरी क्षेत्रलगायत सबै हाटबजारमा मानिस आवतजावत गर्न नपाउने गरी निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरेको विज्ञप्तिमार्फत जनाइएको छ ।
यसैगरी राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गर्ने निर्णय गरिएको छ । सरकारी अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीलाई क्लिनिक सेवा बन्द गरी अस्पतालमा मात्र सेवा गर्न भनिएको छ । जिल्ला स्वास्थ्य कार्यालयले सङ्क्रमित व्यक्तिहरूको पहिचान गरी कन्ट्रयाक्ट ट्रेसिङको व्यवस्था मिलाउने, स्वास्थ्य कार्यालय र स्थानीय तहले स्वाब सङ्कलन कार्य गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत किशोरकुमार रामले जानकारी दिनुभयो ।

एक वर्षअघि

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ०७७ वैशाख २३ गते सम्म ८२ जनामा कोभिड-१९ पुष्टि भएको थियो ।

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (२०७७ वैशाख २३ गते)


अनलाइन डेस्क