कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख १४ गते)
वैशाख १४ गते ४ हजार ३ सय ६४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ३ लाख ७ हजार ९ सय २५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । वैशाख १४ गते परीक्षण गरिएकामध्ये ३० प्रतिशतमा कोभिड पुष्टी भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १२.७ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । वैशाख १४ गते मात्रै १९ वर्ष मुनीका ३ सय ८४ जनामा कोभिड सङ्क्रमणको पुष्टी भएको छ । गत २४ घण्टामा १४ हजार ६ सय ७२ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ७८ हजार ५ सय ६ जना निको भएका छन् । वैशाख १४ गते ५ सय ५५ जना निको भएका छन् भने निको हुनेको दर ९०.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । वैशाख १४ गतेसम्म ३ हजार १ सय ९४ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । वैशाख १४ गते मात्रै १८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आइसोलेशनमा पुष्टि भएका केसहरूको सङ्ख्या भनी सङ्क्रमितको सङ्ख्या २६ हजार २ सय २५ देखाइएको छ । मोरङ, पर्सा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, कास्की, दाङ, बाँके र रुपन्देहीमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् । मन्त्रालयका अनुसार २३ हजार ३ सय ५२ जना होम आइसोलेशनमा छन् भने २ हजार ८ सय ७३ जना संस्थागत आइसोलेशनमा छन् । त्यसैगरी ३ सय १५ जना अइसीयूमा र ८४ जना भेण्टिलेटरमा उपचाररत छन् ।
सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुार कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको सरकारी निर्णय अवज्ञा गरेको आरोपमा राजविराजका विभिन्न निजी विद्यालयका ११ जना सञ्चालक एवम् शिक्षकलाई वैशख १३ गते प्रहरीले गिरफ्तार गरेको छ । अनुगमनमा निस्किएको राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादव, सप्तरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेल, जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी राजेन्द्रप्रसाद धमला र राजविराज नगरपालिकाका विभिन्न वडा अध्यक्षसहितको टोलीले सञ्चालनमा रहेका निजी विद्यालयका ११ जनालाई गिरफ्तार गरेको हो ।
विद्यालय सञ्चालन गरेको आरोपमा शिब्स बोर्डिङ स्कुलका सञ्चालक बिष्णुपुर गाउँपालिका–६ निवासी नरेशप्रताप साह, राजविराज नपा–२ स्थित लिटिल फ्लावर सेकेन्ड्री स्कुलका सञ्चालक सोही ठाउँका डा. कामानन्द देव, एञ्जल बोर्डिङ स्कुलका सञ्चालक नरेन्द्रप्रसाद देव, राजविराज नपा–१ स्थित सृजना सेकेण्ड्री बोर्डिङ स्कुलका सञ्चालक रिमा झालाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेका अनुसार पिस जोन स्कुलका सञ्चालक राजविराज नपा–२ का उमाकान्त साह, राजविराज नपा–३ स्थित ह्यापील्याण्ड माविका अनुशासन प्रमुख राजबिराज नपा–५ का शैलेन्द्रकुमार ठाकुर, राजबिराज नपा–८ स्थित लक्ष्मी इङलिस बोर्डिङ स्कुलका सञ्चालकहरू राजेशकुमार यादव, बैधनाथ कुमार झा र बुलन्द साह, ग्रिन इङलिस बोर्डिङ स्कुलका शिक्षक राजविराज नपा–१ का मनोज यादव र राजविराज नपा–५ स्थित जानकी सेकेन्ड्री स्कुलका शिक्षक हरीकिसुन रामलाई गिरफ्तार गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय, राजविराज नगरपालिका, जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले वैशाख ६ र ७ गते भौतिक रूपमा उपस्थित नभई भर्चुअल र वैकल्पिक शिक्षण सिकाइको विधिबाट शैक्षिक गतिविधि सञ्चालन गर्ने निर्णय गरेको थियो । सो निर्णय कार्यान्वयन गराउन थालिएको अनुगमनको क्रममा केही निजी विद्यालयहरूले निर्णय अवज्ञा गरेर विद्यालय सञ्चालन गरिएको पाइएपछि नियन्त्रणमा लिनु परेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनु भयो । सरकारी निर्देशनलाई अवज्ञा गर्दै विद्यालय सञ्चालनलाई निरन्तरता दिएकाले विद्यालय सञ्चालन गर्ने निजी विद्यालयका ११ सञ्चालक, प्रिन्सिपल, शिक्षकलाई नियन्त्रणमा लिनु परेको बताउनु भएका प्रमुख जिल्ला अधिकारी पोखरेलले नियन्त्रणमा लिइएकाहरूलाई सङ्क्रामक रोग ऐन–२०२० अनुसार कारबाही गरिने बताउनु भयो ।
पर्सा प्रतिनिधि कृष्णचन्द्र लामिछानेका अनुसार पर्सामा वैशाख १६ गते बिहान ४ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञाको आदेश गरिएको छ । पर्सा जिल्लामा दिनप्रतिदिन कोभिड सङ्क्रमितको सङ्ख्या बढ्दै आएको अवस्थालाई मध्यनजर गर्दै जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को वैशाख १४ गते बसेको बैठकले प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञा जारी गर्न सिफारिश गर्ने निर्णय गरेको थियो । सङ्क्रमणको दर उच्च रहेको पर्सामा कोभिड नियन्त्रण, सङ्क्रमितको उपचार तथा व्यवस्थापन लगायतका कार्यहरूलाई व्यवस्थित गर्न डिसिसिएमसीको बैठक केन्द्रित थियो । नेशनल मेडिकल कलेजलाई नेपाल सरकारले तोकेको मापदण्डभित्र रही कोभिड सङ्क्रमितको उपचार गर्ने व्यवस्था मिलाउन समेत डिसिसिएमसीले अनुरोध गरेको छ । तत्कालका लागि २ सय सैयाको कोभिड सङ्क्रमितको उपचारका लागि डेडिकेटेड अस्पताल स्थापना, सञ्चालन तथा व्यवस्थापनका लागि प्रदेश २ सरकारलाई अनुरोध गर्ने (डिसिसिएमसी) ले निर्णय गरेको छ । बैठकले विदेशबाट आएका नागरिकलाई कम्तिमा १० दिनसम्म आइसोलेशनमा राख्ने कुराको ब्यवस्थापन गर्न स्थानीय तहलाई अपिल गरेको छ । बैठकले ठाकुरराम बहुमुखी क्याम्पसलाई होल्डिङ सेन्टर स्थापना गर्ने र त्यसलाई नेपाली सेनाको निगरानीमा संचालन गर्ने निर्णय भएको छ ।
धादिङ प्रतिनिधि सीताराम अधिकारीका अनुसार कोभिड–१९ सम्बन्धी जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको निर्णय बमोजिम नवनिर्मित जिल्ला वन कार्यालय, धादिङको भवनमा वैशाख १६ गतेबाट धादिङ अस्पताल, धादिङले ५० शैयाको अस्थायी कोभिड–१९ अस्पताल सञ्चालनमा ल्याएको छ । जिल्लामा नयाँ भेरियन्टको कोभिड–१९ बिरामी बढेसँगै ५० बेडको आइसोलेशन अक्सिजन सहित सञ्चालनमा आएको हो । ५० सिलिण्डर अक्सिजन सहित अस्पताल चुस्त रूपमा राखिएको छ । धादिङ अस्पतालमा दुई जना कोभिडका गम्भीर बिरामी भएकोले उपचारका लागि काठमाडौँ पठाएको छ । नेत्रावती डबजोङ गाउँपालिका ‘सील’ गरिएको छ ।
गोरखा प्रतिनिधि हरिराम उप्रेतीका अनुसार एउटै गाउँका २९ जनामा कोभिड सङ्क्रमण देखिएपछि भिमसेन थापा गाउँपालिका–७ को क्यामुनटार गाउँ सील गरिएको छ । वैशाख १५ गते बिहानबाट गाउँलेलाई घर बाहिर ननिस्कन आग्रह गरिएको गाउँपालिका अध्यक्ष इश्वर पाण्डेले बताउनुभयो । वैशाख १२ गते ३१ जनाको स्वाबको नमुना परीक्षण गर्दा क्यामुनटारका २५ जनाको रिपोर्ट वैशाख १४ गते पोजेटिभ आएको छ । क्यामुनटारमा बाहिरका मान्छे आउन र क्यामुनटारबाट बाहिर जान रोक लगाइएको उहाँले बताउनुभयो । वैशाख १४ गते मात्र क्यामुनटारका २५ सहित गोरखामा ४६ सङ्क्रमित थपिएका स्वास्थ्य कार्यालय गोरखाका महामारी फोकल पर्सन नारायण वावु अर्यालले बताउनुभयो ।
सुर्खेत प्रतिनिधि दुर्गा थापाका अनुसार कोभिड–१९ को दोस्रो लहर सुरू भएसँगै वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश कोभिड–१९ अस्पतालमा कोभिड सङ्क्रमितहरूको चाप बढेको छ । २५ सैयाको कोभिड अस्पतालमा तीन दिन यता २८ जना सङ्क्रमितहरूको उपचार भइरहेको छ । कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगर स्थित कोभिड अस्पतालमा उपचार गराइरहेकामध्ये २७ जनालाई अक्सिजन दिएर राखिएको अस्पतालका निर्देशक डाक्टर डम्मर खडकाले बताउनु भयो । कोभिडको दोश्रो लहरसँगै जटिल प्रकृति तथा लक्षण सहितका सङ्क्रमितहरूको सङ्ख्या बृद्धि हुँदै आएकाले अक्सिजनको अभाव हुँदा सेवा प्रवाहमा हम्मेहम्मे भएको निर्देशक खडकाले जानकारी दिनुभयो । झण्डै ३ लाख नागरिकको बसोबास रहेको वीरेन्द्रनगरको कोभिड अस्पतालमा बेड तथा अक्सिजनको अभाव हुन थालेपछि स्थानीय तहमै उपचार गर्न प्रदेश सरकारले निर्देशन दिएपनि स्थानीय तहहरूमा जटिल प्रकृतिका सङ्क्रमितहरूका लागि आवश्यक पर्ने अक्सिजन, आइसियू र भेण्टिलेटर जस्ता सेवाहरू उपलब्ध छैनन् ।
सल्यान प्रतिनिधि मीना बुढाथोकीका अनुसार सङ्घीय सरकारले कोभिड सङ्क्रमण फैलिन नदिन भारत तथा अन्य मुलुकबाट फर्किएकालाई १० दिन सुरक्षित क्वारेण्टाइनमा राख्न स्थानीय तहलाई आग्रह गरेपनि १० ओटै स्थानीय तहले क्वारेण्टाइन, आइसोलेशन निर्माण र स्वास्थ्य परीक्षणको व्यवस्था अझैसम्म पनि नगरेको स्थानीयको गुनासो छ । शारदा नगरपालिकाका भक्तबहादुर बुढाथोकीका अनुसार भारतबाट फर्किने नागरिकका कारण पनि सङ्क्रमणको जोखिम बढिरहेको छ । भारतबाट फर्किएका अधिकांश सर्वसाधारण होम क्वारेण्टाइनमा नबसेर जथाभावी घुमघाम गरिरहेको उहाँले बताउनुभयो । ‘सङ्क्रमणको दर धमाधम बढे पनि स्थानीय सरकारले शतर्कता अपनाएका छैनन् ।’– उहाँले भन्नुभयो–‘स्थानीय तहहरूले पूर्व तयारी नगर्दा सङ्क्रमण थेग्नै नसक्ने गरी बढ्ने चिन्ता छ ।’ स्थानीय तहहरूले भने कोभिड नियन्त्रणका लागि आवश्यक काम गरिरहेको दावी गरेका छन् ।
बाजुरा प्रतिनिधि पदमबहादुर सिंहका अनुसार जिल्ला सङ्कट व्यवस्थापन समिति, बाजुराको वैशाख १४ गते बसेको बैठकले जिल्लाका शैक्षिक संस्थाहरू अर्को सूचना जारी नभएसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ । कोभिड–१९ को दोस्रो चरणको सङ्क्रमण फैलिरहेकाले त्यसको सतकर्ता अपनाउन र भिडभाड हुन नदिनका लागि शिक्षण संस्थाहरू बन्द गर्ने निर्णय गरेको सङ्कट व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताउनु भयो ।
डोटी प्रतिनिधि बासुदेव जोशीका अनुसार शिखर नगरपालिका–१ कपल्लेकी तिछडा गाउँ वैशाख १३ गतेदेखि वैशाख २० गते सम्मको लागि सील गरिएको छ । कोभिड सङ्क्रमण दैनिक रूपमा बृद्धि हुँदै आइरहेको अवस्थामा भारतबाट नेपाल फर्किएकी तिछडा गाउँकी २८ वर्र्षीया महिलाको वैशाख १३ गते घरैमा मृत्यु भएकाले गाउँ नै सील गरिएको शिखर नगरपालिका–१ का वडाध्यक्ष खडक शाहीले बताउनु भयो । मृतकका परिवारहरूको कोभिड परीक्षणका लागि पहल भइरहेको र रिपोर्ट नआउञ्जेलसम्मका लागि गाउँ सील गरिएको वडाध्यक्ष शाहीको भनाई छ ।
अछाम प्रतिनिधि शिवराज ढुङ्गानाका अनुसार दक्ष जनशक्तिको अभावमा जिल्ला अस्पताल मङ्गलसेनमा रहेका भेण्टिलेटर र आइसियू सञ्चालनमा नल्याउँदा बिरामीहरूले सास्ती व्यहोर्नु परेको छ । ६ महिनाअघि सुदूरपश्चिम प्रदेश सरकारले प्रदान गरेका भेण्टिलेटर र आइसियू सञ्चालनमा ल्याउन तालिम प्राप्त मेडिकल अधिकृत सहितका अन्य स्वास्थ्यकर्मीको अभावमा सेवा सञ्चालनमा ल्याउन नसकिएको अस्पतालका सूचना अधिकारी गङ्गा बुढामगरले बताउनु भयो । उहाँले भन्नु भयो–‘अस्पतालमा भेण्टिलेटर र आइसियू राखिएको छ । तर, चलाउने मान्छे छैनन् ।’ सरकारले यसअघि अछाम जिल्ला अस्पताललाई कोभिड उपचार हुने अस्पताल मध्येमा ‘लेभल १’ मा राखेको भएपनि उपकरण र जनशक्तिको अभावमा बिरामीहरूले सहजै उपचार पाउन सकेका छैनन् ।
एक वर्षअघि
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ०७७ वैशाख १४ गते सम्म ५२ जनामा कोभिड-१९ पुष्टि भएको थियो ।
कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (२०७७ वैशाख १४ गते)
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
दुप्चेश्वर गाउँपालिका -७ नुवाकोट घर भई दक्षिणकाली नगरपालिका -६ बस्दै आएकी ४५ वर्षीया डोल्मा शेर्पाको हत्या गरेको आरोपमा प्रहरीले ६० वर्षीय पति जितबहादुर शेर्पालाई असोज २० गते भक्तपुरबाट गिरफ्तार गरेको…
खानेपानी अभाव हुँदा सेवाग्राही समस्यामा
जयपृथ्वी नगरपालिका–७ स्थित सुबेडा स्वास्थ्य चौकीमा खानेपानीको समस्या हुँदा सेवाग्राही समस्यामा परेका छन् । पानीको अभाव भएका कारण एक घण्टाको बाटो हिडेर खोलाबाट पानी बोकेर पिउनका लागि जम्मा गर्नु परेको…
स्वास्थ्य चौकीमा खानेपानीको अभाव हुँदा बिरामीलाई समस्या
अमरगढी नगरपालिका–३ स्थित घटाल स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि बिरामीलाई समस्या भएको छ । स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि सेवा लिन आउने गर्भवती, सुत्केरी, बिरामी र स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीलाई…
कोशी प्रदेशमा मनसुनजन्य विपद्: पाँच जिल्लाका १८ ओटा विद्यालयमा क्षति
कोशी प्रदेशमा ०८१ जेठ २८ गतेदेखि सुरूआत भएको मनसुन ०८१ असोज १० गतेदेखि पुन सक्रिय भएपछि मनसुनजन्य प्राकृतिक विपदका कारण ४ अर्ब ६३ करोड ५० लाख रुपियाँ बराबरको भौतिक पूर्वाधारमा…
बाढी प्रभावित र प्रहरीबिच झडप, दुई जना प्रहरीसहित चार जना घाइते
भोक्राहा नरसिंह गाउँपालिकामा बाढी प्रभावित र प्रहरीबिच भएको झडपमा एक जना प्रहरीसहित तीन जना घाइते भएका छन् । बाढी प्रभावितहरूले भोक्राहा नरसिंह गाउँपालिका कार्यालय असोज २१ गते घेराऊ गरी राहत…