कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख १० गते)

वैशाख १० गते २ हजार ४ सय ४९ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ९४ हजार ६ सय १ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

परीक्षण गरिएकामध्ये १२.३ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । वैशाख १० गते मात्रै १९ वर्ष मुनीका २ सय ५३ जनामा कोभिड सङ्क्रमणको पुष्टी भएको छ ।

गत २४ घण्टामा ८ हजार ७ सय ९८ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ७६ हजार ७ सय ५५ जना निको भएका छन् ।

वैशाख १० गते ४ सय १० जना निको भएका छन् भने निको हुनेको दर ९३.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । वैशाख १० गतेसम्म ३ हजार १ सय २२ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

आइसोलेशनमा पुष्टि भएका केसहरूको सङ्ख्या भनी सङ्क्रमितको सङ्ख्या १४ हजार ७ सय २४ देखाइएको छ । पर्सा, काठमाडौँ, ललितपुर, बाँके र रुपन्देहीमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।

मन्त्रालयका अनुसार १३ हजार ५ सय ७८ जना होम आइसोलेशनमा छन् भने १ हजार १ सय ४६ जना संस्थागत आइसोलेशनमा छन् । त्यसैगरी १ सय ७३ जना अइसीयूमा र ५७ जना भेण्टिलेटरमा उपचाररत छन् ।

बागलुङ प्रतिनिधि सिर्जना पन्तका अनुसार बागलुङ नगरपालिकाले वैशाख १२ गतेदेखि वैशाख १९ गतेसम्म नगरपालिकाभित्र सञ्चालनमा रहेका सबै शैक्षिक संस्थाहरु, ट्युसन सेन्टर, भाषा तयारी कक्षाहरु तथा कोचिङ कक्षाहरु बन्द गराउने निर्णय गरेको छ ।

नगर कार्यपालिकाको वैशाख १० गते बसेको बैठकले सूचना जारी गर्दै कोभिड-१९ सङ्क्रमणबाट सबैभन्दा बढी बालबालिका प्रभावित हुने भएकोले सो निर्णय गरिएको नगर शिक्षा अधिकारी दण्डपाणी शर्माले बताउनुभयो ।

एक वर्षअघि

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ०७७ वैशाख १० गते सम्म ४५ जनामा कोभिड-१९ पुष्टि भएको थियो ।

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (२०७७ वैशाख १० गते)

अनलाइन डेस्क