कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख ३ गते)

वैशाख ३ गते ८ सय ३६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ८२ हजार ८ सय ९० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा ५ हजार ५ सय ३७ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ७४ हजार ८ सय १२ जना निको भएका छन् ।

वैशाख ३ गते २ सय ८ जना निको भएका छन् भने निको हुनेको दर ९७.१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । वैशाख ३ गतेसम्म ३ हजार ७० जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

आइसोलेशनमा पुष्टि भएका केसहरूको सङ्ख्या भनी सङ्क्रमितको सङ्ख्या ५ हजार ८ देखाइएको छ ।

बाँके प्रतिनिधि स्मृति देवकोटाका अनुसार बाँकेमा कोभिड–१९ को सङ्क्रमण बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाले वैशाख ५ गतेबाट ११ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको नेपालगन्ज उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख गोर्खबहादुर थापाले बताउनुभयो ।

उहाँले विपद् व्यवस्थापन समितिको वैशाख २ गते बसेको बैठकले नेपालगन्ज उपमहानगरपालिकाभित्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरिएको बताउनुभयो ।

जिल्लामा कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि विद्यालय बन्द गर्न आग्रह गरिएको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेजबहादुर ओलीले बताउनुभयो ।

उहाँले बाँकेमा वैशाख ३ गते १ सय ८३ ओटा नमुना परीक्षण गरिएकोमा १ सय २७ जनामा सङ्क्रमण भेटिएको बताउनुभयो । यो अवस्था भनेको झण्डै ७० प्रतिशत हो ।

बाँकेमा दिनहुँ सङ्क्रमितको सङ्ख्या बढ्दै गएकोले नेपालगञ्जको भेरी अस्पतालमा बेडको अभाव रहेकाले बिरामी राख्न समस्या रहेको बताउँदै बिरामीहरूका लागि भेण्टिलेटर र अक्सिजनको पनि अभाव रहेको बताइएको छ ।

गत वर्षको वैशाख ३ गतेसम्म जम्मा १६ जना सङ्क्रमित भएका थिए । कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (०७७ वैशाख ३ गते)


अनलाइन डेस्क