कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (कात्तिक ५ गते)
कात्तिक ५ गते ५ हजार ७ सय ४३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या १ लाख ४४ हजार ८ सय ७२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २० हजार १ सय १८ जनाको स्वाब परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदन अनुसार कात्तिक ५ गतेसम्म ७ सय ९१ जना कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ । कात्तिक ५ गते मात्रै २६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९९ हजार ६ सय ५ जना निको भएका छन् । कात्तिक ५ गते २ हजार ९ सय ९६ जना निको भएका छन् भने निको हुनेको दर ६८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । ४४ हजार ४ सय ७६ जनाको उपचार भइरहेको छ । मन्त्रालयका अनुसार २९ हजार ८ सय जनाको उपचार होम आइसोलेशनमा भइरहेको छ । २ सय ६९ जनाको उपचार आइसीयूमा र ८७ जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ ।
प्रदेश २
रौतहट प्रतिनिधि कोपिला तिमल्सिनाका अनुसार जिल्ला प्रशासन कार्यालयले कात्तिक ५ गते सेवा प्रवाहसम्बन्धी अत्यन्त जरुरी सूचना जारी गरेको छ । जिल्लामा कार्यरत एक जना कर्मचारीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि थप सङ्क्रमण फैलिन नदिन जिल्ला प्रशासन कार्यालयबाट सूचना प्रकाशन गरी अर्को सूचना नभएसम्मको लागि जिल्ला प्रशासन कार्यालयबाट नागरिकता प्रतिलिपिसम्बन्धी सेवाहरू पूर्णरुपमा बन्द हुने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनु भयो ।
बागमती प्रदेश
रसुवा प्रतिनिधि हेमनाथ खतिवडाका अनुसार कालिका गाउँपालिकाका कर्मचारी, एम्बुलेन्सका चालक वित्तीय संस्थाका कर्मचारीसहित ३५ जनाको कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि गाउँपालिका कार्यालय, वडा कार्यालयहरू, सामुदायिक स्वास्थ्य इकाई तथा वित्तीय संस्थाहरूले सेवा बन्द गरेका छन् । अघिल्लो साता गाउँपालिकाका एक जना कर्मचारीसहित ६ जनामा कोभिड–१९ सङ्क्रमण देखिएपछि गाउँपालिकाले कन्ट्याक्ट ट्रेसिङमा आएका १ सय ४१ जनाको स्वाब सङ्कलन गरी पीसीआरका लागि केन्द्रीय ल्याबमा पठाएकोमा कात्तिक ३ गते ३५ जनाको रिपोर्ट पोजेटिभ आएपछि गाउँपालिकाले सेवा बन्द गरेको हो । कर्मचारीमा पनि सङ्क्रमण देखिएपछि सेवा बन्द गरेको प्रमुख प्रशासकीय प्रमुख प्रकाश अधिकारीले बताउनुभयो ।
गण्डकी प्रदेश
गोरखा प्रतिनिधि हरिराम उप्रेतीका अनुसार गोरखाबाट कोरोना परीक्षणका लागि काठमाडौँ पठाइएको स्वाबहरू गोरखा नै फिर्ता भएको छ । कात्तिक ४ गते गोरखाका स्थानीयतहहरूबाट सङ्कलन गरिएको २ सय ४३ ओटा स्वाबको नमूना परीक्षणको लागि काठमाडौँ पठाइएको थियो । काठमाडौँस्थित जनस्वास्थ्य प्रयोगशाला टेकुले उक्त स्वाबको नमुना नबुझेपछि फिर्ता भएको स्वास्थ्य कार्यालय गोरखाका कोरोना फोकल पर्सन नारायण अर्यालले बताए । के कारणले स्वाब फिर्ता भयो औपचारिक जानकारी भने नरहेको अर्यालले बताउनुभयो । टेकुले फिर्ता गरेको स्वाबको नमूना कात्तिक ५ गते पोखरास्थित प्रयोगशाला परीक्षणका लागि पठाइएको छ । यसअघि पनि स्वास्थ्य कार्यालयले टेकु स्थित प्रयोगशालामा कोरोना परिक्षण पठाउँदै आएको थियो । पोखरा प्रयोगशालामा स्वाबको चाप बढेपछि टेकु पठाएको अर्यालले बताउनुभयो । ‘दशैँ अगावै रिपोर्ट आउँछ कि भनेर टेकु पठाएका थियौँ, फिर्ता भएपछि फेरि पोखरा पठायौँ ।’–अर्यालले भन्नुभयो ।
पर्वत प्रतिनिधि सन्तोष थापाका अनुसार महाशीला गाउँपालिकाको कार्यालयमा कार्यरत एक कर्मचारीसहित समुदायका तीन जनामा कोभिड सङ्क्रमण पुष्टि भएपछि पर्वतको महाशीला गाउँपालिकाका सबै सेवा बन्द गरिएको छ । कात्तिक ४ गते पोखरा क्षयरोग केन्द्रमा गरिएको परीक्षणमा गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत कर्मचारीमा कोरोना पुष्टि भएपछि कात्तिक ५ गतेदेखि गाउँपालिकाको कार्यालय सहित वडा नं. ३ बालाकोट तथा वडा नं. ५ लुंखुदेउरालीका सबै सेवा बन्द गरिएको हो । गाउँपालिकाशबाट सम्पादन हुने अत्यावश्यक काम बाहेकका सेवा केही दिनका लागि बन्द गरिएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिनुभएको छ ।
सुदूरपश्चिम प्रदेश
दार्चुला प्रतिनिधि नरेन्द्रसिंह कार्कीका अनुसार जिल्ला प्रशासन कार्यालय, दार्चुलाले दुहु गाउँपालिका–२ हिकिला क्षेत्रमा कात्तिक ४ गते राति ७ बजेदेखि अनिश्चितकालिन निषेधाज्ञा जारी गरेको छ । दुहुँ गाउँपालिकामा एक जना स्वास्थ्यकर्मीमा कोभिड सङ्क्रमण पुष्टि भएको र एक जना सङ्क्रमितको मृत्युसमेत भएकोले समुदायस्तरमा सङ्क्रमण फैलिन नदिन निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताउनु भयो । यसैगरी सदरमुकाम खलङ्गामा समुदायस्तरमै कोभिड–१९ सङ्क्रमण फैलिएपछि थप जोखिम नियन्त्रण गर्न महाकाली नरपालिका–४ र ५ मा निषेधाज्ञा गरिएको भएपनि त्यसको कार्यन्वयन नभएपछि बजार क्षेत्र र पसलहरू बन्द गराउन सुरक्षा समितिले नेपाली सेनासमेत परिचालन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनु भयो । महाकली नगरपालिकामा कोभिड सङ्क्रमण दर उच्च रहेको बेला बजार क्षेत्र निर्वाध रुपमा खुला हुँदा र सुरक्षा मापदण्ड नअपनाउँदा कात्तिक ५ गते मात्रै महाकाली नगरपालिकाका ५० जनामा सङ्क्रमण पुष्टि भएपछि थप जटिलता आउन नदिन प्रहरीसँगै सेनालाई पनि निर्णय कार्यान्वयन गर्नका लागि परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनु भयो । सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वार्टरमा ६३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि गण सील गरी सशस्त्र प्रहरीको गस्ती बन्द गरिएको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
दुप्चेश्वर गाउँपालिका -७ नुवाकोट घर भई दक्षिणकाली नगरपालिका -६ बस्दै आएकी ४५ वर्षीया डोल्मा शेर्पाको हत्या गरेको आरोपमा प्रहरीले ६० वर्षीय पति जितबहादुर शेर्पालाई असोज २० गते भक्तपुरबाट गिरफ्तार गरेको…
खानेपानी अभाव हुँदा सेवाग्राही समस्यामा
जयपृथ्वी नगरपालिका–७ स्थित सुबेडा स्वास्थ्य चौकीमा खानेपानीको समस्या हुँदा सेवाग्राही समस्यामा परेका छन् । पानीको अभाव भएका कारण एक घण्टाको बाटो हिडेर खोलाबाट पानी बोकेर पिउनका लागि जम्मा गर्नु परेको…
स्वास्थ्य चौकीमा खानेपानीको अभाव हुँदा बिरामीलाई समस्या
अमरगढी नगरपालिका–३ स्थित घटाल स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि बिरामीलाई समस्या भएको छ । स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि सेवा लिन आउने गर्भवती, सुत्केरी, बिरामी र स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीलाई…
कोशी प्रदेशमा मनसुनजन्य विपद्: पाँच जिल्लाका १८ ओटा विद्यालयमा क्षति
कोशी प्रदेशमा ०८१ जेठ २८ गतेदेखि सुरूआत भएको मनसुन ०८१ असोज १० गतेदेखि पुन सक्रिय भएपछि मनसुनजन्य प्राकृतिक विपदका कारण ४ अर्ब ६३ करोड ५० लाख रुपियाँ बराबरको भौतिक पूर्वाधारमा…
बाढी प्रभावित र प्रहरीबिच झडप, दुई जना प्रहरीसहित चार जना घाइते
भोक्राहा नरसिंह गाउँपालिकामा बाढी प्रभावित र प्रहरीबिच भएको झडपमा एक जना प्रहरीसहित तीन जना घाइते भएका छन् । बाढी प्रभावितहरूले भोक्राहा नरसिंह गाउँपालिका कार्यालय असोज २१ गते घेराऊ गरी राहत…