कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (चैत २७ गते)

चैत २७ गते २ सय ८८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७९ हजार ३ सय  ८८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा ४ हजार ७१ सय ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ७३ हजार ७ सय ३५ जना निको भएका छन् ।

चैत २७ गते १ सय २७ जना निको भएका छन् भने निको हुनेको दर ९८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । चैत २७ गतेसम्म ३ हजार ३८ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

आइसोलेशनमा पुष्टि भएका केसहरूको सङ्ख्या भनी सङ्क्रमितको सङ्ख्या २ हजार ६ सय १५ देखाइएको छ ।

कञ्चनपुर प्रतिनिधि कोमलनिरञ्जन भाटका अनुसार भारतमा कोभिड सङ्क्रमण बढेपछि मजदुरीका लागि भारत गएका नेपालीहरू स्वदेश फर्कने क्रम बढेसँगै ती व्यक्तिहरूबाट नेपालमा पनि कोभिड सङ्क्रमणको जोखिम बढेको छ ।

त्रिनगर नाकाबाट नेपाल भित्रिएका ७ सय नेपाली र १ सय ९७ भारतीयमध्ये ६ सय २३ जनाको एन्टीजेन परीक्षण गरिएकामा २२ जनाको नतिजा पोजेटिभ आएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीका एसपी वीरेन्द्रबहादुर ऐरले बताउनु भएको छ ।

यसैगरी गड्डाचौकी नाका हुँदै नेपाल भित्रिएका दुई जनाको एन्टीजेन परीक्षणको नतिजा पोजेटिभ आएको छ । कोभिड भाइरसको लक्षणसँग मिल्दाजुल्दा लक्षण देखिएका यात्रुहरूको एन्टीजेन परीक्षण सीमा क्षेत्रमा राखिएको हेल्थ डेस्कमा गरिँदै आइएको र दैनिक नेपाल भित्रिने यात्रुको सङ्ख्या ७ सयदेखि १ हजारको हाराहारीमा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीका एसपी ऐरले बताउनु भयो ।

चैत २२ गते भारतको गुजरातबाट फर्किएका भीमदत्त नगरपालिका–१५ का ४५ वर्षीय पुरूषको चैत २५ गते महाकाली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

शवको व्यवस्थापन चैत २५ गते कोभिड मापदण्ड अनुरूप गरिएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डिएसपी अमरबहादुर थापाले बताउनु भयो ।


अनलाइन डेस्क