कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असोज ३० गते)

असोज ३० गते ४ हजार ३ सय ९२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या १ लाख २६ हजार १ सय ३७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १६ हजार ५ सय ३१ जनाको स्वाब परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदन अनुसार असोज ३० गतेसम्म ७ सय १५ जना कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ । असोज ३० गते मात्रै २१ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ८८ हजार ४० जना निको भएका छन् । असोज ३० गते ३ हजार ५ सय २२ जना निको भएका छन् भने निको हुनेको दर ६९.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । ३७ हजार ३ सय ८२ जनाको उपचार भइरहेको छ । मन्त्रालयका अनुसार २५ हजार ४६ जनाको उपचार होम आइसोलेशनमा भइरहेको छ । ३ सय १५ जनाको उपचार आइसीयूमा र ७७ जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ । मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदन अनुसार कोभिड–१९ का मृत्यु हुने सङ्क्रमितमा बागमती प्रदेशका सङ्क्रमित ४४.५ प्रतिशत, प्रदेश २ का २०.३ प्रतिशत, लुम्बिनी प्रदेशका १४.३ प्रतिशत, प्रदेश १ का १२.९ प्रतिशत, गण्डकी प्रदेशका ५ प्रतिशत, सुदूरपश्चिमका २.१ प्रतिशत र कर्णालीका १ प्रतिशत रहेका छन् ।

प्रदेश २
सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार जिल्ला सुरक्षा समितिको असोज ३० गतेको बैठकले सप्तरी जिल्लाको सम्पूर्ण शक्तिपिठ, मन्दिर परिसर क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । असोज ३० गते राति ११ बजेदेखि मङ्सिर ७ गते राति ११ः३० बजेसम्मका लागि निषेधाज्ञाको अवधि कायम गरिएको असोज ३० गते जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा जनाइएको छ । प्रशासकिय अधिकृत आनन्दकुमार ठाकुरद्वारा जारी सूचनामा मन्दिरका तर्फबाट गरिने नित्य पूजापाठ बाहेकका अन्य सम्पूर्ण कार्य÷गतिविधि हुन÷गर्न निषेध गरिएको छ । कोभिड–१९ सङ्क्रमणलाई दृष्टिगत गरी भीडभाड नगरी सुरक्षित साथ आ–आफ्नै घरमा आफ्ना परम्पराअनुसार आगमी चाडपर्वहरू मनाउन ठाकुरले अनुरोध गर्नुभएको छ ।
सिरहा प्रतिनिधि दुर्गा परियारका अनुसार लहान नपा–१ का ६३ वर्षीय कोभिड सङ्क्रमित पुरुषको उपचारका क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा असोज २९ गते मृत्यु भएको स्वास्थ्य कार्यालयका प्रमुख कृष्णदेव यादवले बताउनु भयो । असोज २५ गते पीसीआर गरीएकोमा असोज २७ गते रिपोर्ट पोजेटिभ आएको र श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारको लागि नोबेल अस्पताल लगिएकामा उपचारको क्रममा मृत्यू भएको हो । लहान नपा–३ स्थित बलान खोलामा असोज ३० गते शव व्यवस्थापनपछि फर्कने क्रममा लहान–३ का स्थानीयले लहान नपाको गाडीमा ढुङ्गामुढा गरेको नगरपालिकाका नायब सुब्बा रामकृष्ण महतोले बताउनु भयो । ‘शव व्यवस्थापनको लागि हामी डोरी, नुन लगायतका सामग्रीहरू लिएर गएका थियौँ । फर्कने क्रममा सुरक्षाकर्मीहको गाडी अगाडी रहेको थियो हाम्रो गाडीमा स्थानीयहरुले शव व्यवस्थापन गरी गाउँको बाटो प्रयोग गरेको भन्दै ढुङ्गा हान्दा स.१ च ७८८ नम्बरको गाडीको सिसा फुटेको र कार्यालय सहयोगी सामान्य घाइते हुनु भएको छ ।’– महतोले भन्नु भयो । इलाका प्रहरी कार्यालय लहानका डिएसपी शरत थापा क्षेत्रीका अनुसार घटनास्थलमै प्रहरी पनि भएकाले थप क्षति नपुगेको र ढुङ्गा हान्नेहरूको पहिचान खुलेकोले कारवाही गरिने छ ।

बागमती प्रदेश
दोलखा प्रतिनिधि उद्धव पोखरेलका अनुसार कर्मचारीलाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएसँगै जिल्लाका दुई ओटा सरकारी कार्यालय र एउटा बाणिज्य बैङ्कबाट सर्वसाधरणलाई उपलब्ध गराउँदै आएको सेवा ६ दिनका लागि बन्द भएका छन् । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको असोज ३० गतेको निर्णयले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको चरिकोटस्थित कार्यालय, जिल्ला आयोजना कार्यान्वयन इकाई भवन र प्रभु बैङ्क, चरिकोट शाखा ६ दिनको लागि बन्द गरिएको हो । प्रमुख जिल्ला अधिकारी रमेशप्रसाद शिवाकोटीले असोज २८ गते नौ जनाको स्वाब सङ्कलन गरी परीक्षण गरिएकामध्ये एक महिलासहित पाँच जनामा कोभिड–१९ सङ्क्रमण देखिएपछि बसेको केन्द्रको बैठकले ती कार्यालयहरू ६ दिन बन्द गर्ने निर्णय भएको बताउनु भयो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका तीन जना, जिल्ला आयोजना कार्यान्वयन इकाई भवनको एक जना र प्रभु बैङ्कका एक जना कर्मचारीमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको थियो । साथै प्रशासनद्वारा असोज ३० गते नै एक सूचना जारी गरी मन्दिर, गुम्बाहरूमा नित्य पूजा तथा प्रार्थना बाहेकका भिडभाड गर्ने कार्यहरू गर्न निषेध गरेको छ ।
सिन्धुपाल्चोक प्रतिनिधि नातिबावु धितालका अनुसार मेलम्ची नगरपाकिलाबाट प्रदान गरिने सबै सेवा असोज ३० गतेदेखि कात्तिक ६ गतेसम्मका लागि बन्द गरिएको नगरपालिकाका मेयर डम्बर अर्यालले बताउनु भयो । नगरपालिका भित्र रहेका सबै वडाका जनप्रतिनिधि तथा कर्मचारीलगायत कार्यालयमा काम गर्ने सबैमा कोभिड–१९ को कन्ट्याक्क ट्रेसिङ्ङ्ग गर्नुपर्ने भएकोले नगरपालिकाबाट प्रदान गरिँदै आएको अति आवश्यक बाहेकका सबै सेवा बन्द गरिएको मेयर अर्यालले बताउनु भयो ।

गण्डकी प्रदेश
बागलुङ प्रतिनिधि सिर्जना पन्तका अनुसार जिल्ला प्रशासन कार्यालय बागलुङले असोज ३० गते रातिदेखि लागु हुने गरी कात्तिक ९ गतेसम्म निषेधाज्ञा जारी गरेको छ । असोज ३० गते निमित्त प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलले हस्ताक्षर गरेको निषेधाज्ञा आदेशमा निषेधाज्ञा अवधिभर भेला, कार्यक्रम, भिडभाड गर्न, सभा जुलुस, महोत्सव तथा सबै धर्म संस्कृति प्रचलन सम्बद्ध सांस्कृतिक कार्यक्रमहरू गर्न नपाइने उल्लेख गरिएको छ । बडादशैँको घटस्थापनादेखि नवमीसम्म जिल्लाका १० ओटै स्थानीय तहका ८५ ओटा वडाका मन्दिरहरूमा नित्य पुजा बाहेक दर्शनका लागि निषेध गरिने उल्लेख गरिएको छ । त्यसैगरी क्याम्पस, विद्यालय, तालिम तथा प्रशिक्षण केन्द्र, सिनेमा हल, पार्टी प्यालेस, फुटसल, खेलकुदस्थल, जिमखाना, व्यूटी पार्लर, सैलुनलगायतका सेवा बन्द रहने उल्लेख गरिएको छ ।
स्याङजा प्रतिनिधि तिलकुमारी थापाका अनुसार भिरकोट नगरपालिकाले असोज २९ गतेदेखि कात्तिक ३ गतेसम्म अट्टयावक्कयकबाहेकका कामकाजमा रोक लगाएको छ । कोभिड १९ को सङ्क्रमित एक महिलाको असोज २८ गते उपचारकै क्रममा मृत्यु भएपछि मृतकको कन्ट्याक्ट ट्रेसिङ गर्न नगरपालिका भित्रका अत्यावश्यक सेवा बाहेकका सेवा पाँच दिनको लागि बन्द गरिएको नगरपालिकाका प्रवक्ता दिपेन्द्र केसीले जानकारी दिनुभयो ।

सुदूरपश्चिम प्रदेश
दार्चुला प्रतिनिधि नरेन्द्रसिंह कार्कीका अनुसार सदरमुकास्थित महाकाली नगरपालिका–४ र ५ मा असोज २९ र असोज ३० गते कन्ट्याक्ट ट्रेसिङ गरिएका ४२ जनामा कोभिड सङ्क्रमण पुष्टि भएपछि समुदायस्तरमा थप समस्या हुने भन्दैै स्थानीय प्रशासन ऐन २०२८ र सङ्क्रमण रोग ऐन २०२० अनुसार असोज २९ गते रातिदेखि जिल्ला प्रशासन कार्यालय, दार्चुलाले निषेधज्ञा जारी गरेको छ । महाकाली नगरपालिका–४ र ५ मा सङ्क्रमित बढ्दै आएकाले सङ्क्रमणको जोखिम समुदायमा थप फैलिन नदिन वडा नम्बर ४ को सम्पूर्ण क्षेत्र र वडा नम्बर ५ को गल्फै, ऐरान, तल्लासैन र मोहती क्षेत्रमा अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि निषेधाज्ञा जारी गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी ज्वोत्स्ना भट्टले बताउनु भयो । असोज २९ गते कोभिड सङ्क्रमण पुष्टि भएकामध्ये १४ जना सशस्त्र प्रहरी, दुई जना जिल्ला कारागार दार्चुलाका कैदी, तीन जना रेडक्रस, दार्चुलामा कार्यरत कर्मचारी र २० जना मोहतीका स्थानीय रहेका छन् ।


अनलाइन डेस्क