कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ २९ गते)

माघ २९ गते ८१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७२ हजार ४ सय ३० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ३ हजार २३ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ६८ हजार ६ सय ६० जना निको भएका छन् । माघ २९ गते १ सय ११ जना निको भएका छन् भने निको हुनेको दर ९८.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । माघ २९ गतेसम्म २ हजार ५२ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनायो । १ हजार ७ सय १८ जना सक्रिय सङ्क्रमित रहेकामा ७ सय ९३ जना होम आइसोलेशनमा छन् । उपचाररतमध्ये ६४ जनाको उपचार आइसीयूमा र १३ जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ । मन्त्रालयका अनुसार इलाम, भोजपुर, सङ्खुवासभा, सोलुखुम्बु, मुस्ताङ, रुकुम पश्चिम, मुगु र अछाममा सक्रिय सङ्क्रमित छैनन् भने काठमाडौँमा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित छन् ।


अनलाइन डेस्क