कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ १७ गते)

माघ १७ गते १ सय ९ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७० हजार ८ सय ५४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ३ हजार ६ सय १८ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ६६ हजार ४८ जना निको भएका छन् । माघ १७ गते ३ सय ५० जना निको भएका छन् भने निको हुनेको दर ९८.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । माघ १७ गतेसम्म २ हजार २७ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनायो । २ हजार ७ सय ७९ जना सक्रिय सङ्क्रमित रहेकामा १  हजार ९ सय ३५ जना होम आइसोलेशनमा छन् । उपचाररतमध्ये १ सय ४४ जनाको उपचार आइसीयूमा र २५ जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ । मन्त्रालयका अनुसार रुकुम पश्चिम, कालिकोट र मुगुमा सक्रिय सङ्क्रमित छैनन् भने काठमाडौँमा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित छन् ।


अनलाइन डेस्क