कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ १३ गते)

माघ १३ गते ३ सय ३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७० हजार ९२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ४ हजार ५ सय ७५ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ६४ हजार ८ सय २३ जना निको भएका छन् । माघ १३ गते २ सय ८५ जना निको भएका छन् भने निको हुनेको दर ९८.१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । माघ १३ गतेसम्म २ हजार १७ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । ३ हजार २ सय ५२ जना सक्रिय सङ्क्रमित रहेकामा २  हजार ५ सय ३ जना होम आइसोलेशनमा छन् । उपचाररतमध्ये १ सय ३९ जनाको उपचार आइसीयूमा र २४ जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ । मन्त्रालयका अनुसार रुकुम पश्चिम, कालिकोट र मुगुमा सक्रिय सङ्क्रमित छैनन् भने काठमाडौँमा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित छन् ।

बागमती प्रदेश

नुवाकोट प्रतिनिधि नवदीप श्रेष्ठका अनुसार जिल्लामा कोभिड–१९ विरुद्धको पहिलो चरणको खोप कार्यक्रममा २ हजार ४ सय २ जनालाई खोप सेवा उपलब्ध गराइने भएको छ । स्वास्थ्य कार्यालय नुवाकोटले माघ १३ गते विज्ञप्ति प्रकाशन गर्दै पहिलो चरणमा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविका, स्वास्थ्य संस्था तथा नगरपालिकाका सरसफाइकर्मी, एम्बुलेन्स चालक तथा कोभिड–१९बाट मृत्यु भएकाहरूको दाहसंस्कार संलग्न गरी २ हजार ४ सय २ जनालाई खोप सेवा उपलब्ध गराउने जानकारी दिएको हो ।  माघ १४ गतेबाट माघ १९ गतेसम्म पहिलो चरणको खोप अभियान सञ्चालन गरिने र खोप अभियानको लागि त्रिशूली जिल्ला अस्पताल र खरानीटार अस्पतालमा खोप केन्द्र सञ्चालन गरिने स्वास्थ्य कार्यालयका प्रमुख सागरप्रसाद घिमिरेले बताउनुभयो । स्वास्थ्य कार्यालयका प्रमुख घिमिरेका अनुसार पहिलो चरणको खोप अभियानको लागि भ्याक्सिन लगायतका सामग्रीहरू प्राप्त भइसकेको छ ।


अनलाइन डेस्क