कोभिड–१९ को तेस्रो लहर पूर्व झापामा होल्डिङ्ग सेण्टर निर्माण सुरू

  ०७८ साउन १४ गते

नेपालबाट रोजगारीका साथै विविध कामले भारत गएका नेपालीहरू कोभिड–१९ को तेस्रो लहरका कारण पूर्वी सीमानाका काँकडभिट्टादेखि नेपाल प्रवेश गर्ने भएकाले पूर्व तयारी स्वरूप होल्डिङ्ग सेण्टर निर्माण थालिएको छ । कोभिड–१९ को तेस्रो लहर आउनेतर्फ सचेत हुन आग्रह गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यक पूर्व तयारी गर्न सार्वजनिक सूचना गरेको अवस्थामा जिल्लामा होल्डिङ्ग सेण्टर निर्माण सुरू भएको हो ।

पूर्वी सीमानाका काँकडभिट्टादेखि झण्डै २० किलोमिटर पश्चिम– दक्षिण मेचीनगर नगरपालिका–१४ स्थित हडिया खोलाको बगरमा होल्डिङ्ग सेन्टर निर्माण थालिएको जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका संयोजन एवम् प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले बताउनु भएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को ०७६ चैत २० गते निर्णय र गृह मन्त्रालयको सोही दिनको परिपत्र बमोजिम ०७७ जेठ ३१ गतेको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र निर्देशक समितिको निर्णय अनुसार जिल्लामा होल्डिङ्ग केन्द्रको निर्माण थालिएको प्रमुख जिल्ला अधिकारी तिम्सिनाले बताउनु भयो ।

यसअघि सरकारले काँकडभिट्टा नाका आसपासमा होल्डिङ्ग सेन्टर निर्माण गर्ने तयारी गरेको थियो । तर, काँकडभिट्टा नाका आसपासमा जमिन नपाइएपछि हडिया खोला बगरको चार बिघा ऐलानी जमिनमा होल्डिङ्ग सेन्टर निर्माण थालिएको छ । अर्ध स्थायी खालको होल्डिङ्ग सेन्टरको क्षमता करिब १ हजार जनाको हुने जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन समितिले जनाएको छ ।

मेचीनगर नगरपालिका–१४ का वडाध्यक्ष शङ्करप्रसाद पोखरेलका अनुसार नाकामा जमिन नपाइएको गुनासो आएपछि वडाले जमिन उपलब्ध गराएको बताउनु भयो । विगतमा हडिया खोला बगेको करिब १० बिघा जमिन वडाले संरक्षण गरेर राखेको थियो । वडाले यो जमिनमा खेलकुद रङ्गशालादेखि कृषि अनुसन्धान केन्द्र र बाल उद्यान निर्माणको योजना बनाएको वडाध्यक्ष पोखरेलले बताउनु भयो ।

सरकारको निर्देशन अनुसार देशभर आठ ओटा नाकामा एकै डिजाइनमा होल्डिङ्ग सेन्टर निर्माणका क्रममा छन् । सरकारले नेपाली सेनालाई निर्माण जिम्मा दिएको छ । कोभिड–१९ को तेस्रो लहर अघि झापाको पूर्वी नाकामा असार तेस्रो साताबाट भदौ पहिलो साताभित्र निर्माण सम्पन्न हुने गरी होल्डिङ्ग सेण्टरको निर्माण थालिएको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले बताउनु भयो । सरकारी डिजाइन अनुसार होल्डिङ्ग सेन्टरमा २२ ओटा टहरा निर्माण हुनेछन् । व्यवस्थित ढङ्गको पक्की टहरामा अक्सिजनसहितको बेड हुने प्रमुख जिल्ला अधिकारी तिम्सिनाले बताउनु भयो ।

भारतबाट आएकाहरूलाई नाकाबाट सोझै होल्डिङ्ग सेन्टरमा राखिने भएको छ । होल्डिङ्ग सेन्टरमा अस्पतालको जस्तै सेवासुविधा हुने भएकाले यात्रीको स्वास्थ्य जाँचमा समस्या नहुने जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिले जनाएको छ । २२ करोड रुपियाँको लागतमा निर्माण हुने होल्डिङ्ग सेन्टर सुरू गर्नुअघि स्थानीय सरकार र जनप्रतिनिधिले स्थानीयलाई जानकारी नगराएको स्थानीयले आरोप लगाएका छन् ।

कुनै भौतिक संरचना निर्माण वा विकास निर्माणका काम गर्नुअघि सरोकारवालासहित स्थानीयलाई जानकारी हुनु पर्ने मान्यता छ । निर्माणाधीन होलिङ्ग सेन्टरनजिकै करिब सय घरपरिवार अल्पसंख्यक मुस्लिम र आदिवासीहरूको बसोबास छ । स्थानीय मुस्तफा मोहम्मदले जमिनमा खनजोत सुरु भएको देखेपछि सोधीखोजी गर्दा होल्डिङ्ग सेण्टर निर्माण हुन लागेको बारेमा थाहा पाएको बताउनु भएको छ ।

Photo 20210729 Jhapa (1)

Photo 20210729 Jhapa (2)

Photo 20210729 Jhapa (3)


नरेश खाती