कोभिड–१९ को चेन ब्रेकका लागि जिल्लाभर निषेध आदेश जारी

  ०७८ साउन १५ गते

जिल्लामा कोभिड–१९ को सङ्क्रमण दर बढेर गएपछि जोखिम नियन्त्रण तथा न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालयले साउन १६ गतेदेखि जिल्लाभर पूर्ण रूपमा निषेध आदेश जारी गर्ने निर्णय गरेको छ ।

नेपाल सरकारबाट प्रत्यायोजित अधिकार बमोजिम जिल्ला प्रशासन कार्यालयले सङ्क्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापनक केन्द्रको संयोजक एवम् प्रमुख जिल्ला अधिकारीलाई दिएको अधिकार बमोजिम कोभिड–१९ को “चेन ब्रेक” का लागि जिल्लाभर निषेध आदेश गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले बताउनु भएको छ । कोभिड–१९ को तेस्रो लहरको जोखिम न्यूनीकरणका लागि जिल्लाभर कडाइका साथ निषेध आदेश जारी गर्ने निर्णय जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापनको साउन १४ गतेको बैठकले गरेको प्रमुख जिल्ला अधिकारी तिम्सिनाले बताउनु भयो । बैठकले सबै स्थानीय तहहरूलाई कोभिड-१९ को प्रतिकार्यको पूर्व तयारीमा जुट्न समेत निर्देशन जारी गरेको छ ।

यसअघि कनकाई नगरपालिकाले साउन ८ बाट सील गर्ने निर्णय गरेको थियो । दमक नगरपालिकाले साउन ११ बाट सील गरेको छ । शिवसताक्षी नगरपालिकाले साउन ११ गतेदेखि सील गरेको नगर प्रमुख चन्द्रकुमार सेर्माले बताउनु भयो । बुद्धशान्ति गाउँपालिका, अर्जुनधारा नगरपालिका, दमक नगरपालिका, बिर्तामोड नगरपालिका, मेचीनगर नगरपालिका, हल्दीबारी गाउँपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकाले सील गरेका गरि सकेका छन् । मेचीनगरकी उपप्रमुख मीना उप्रेतीले बढ्दो कोभिड–१९ को सङ्क्रमणको दरलाई मध्यनजर गर्दै पीसीआर र एन्टिजेन परीक्षणको दायरा बढाइने बताउनु भएको छ । कोभिड–१९ को तेस्रो लहर पूर्व अत्यावश्यक सुरक्षा सामग्री तथा औषधि खरिद प्रक्रिया अगाडि बढाउने, मेचीनगर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, वडा र मातहत कार्यालयबाट प्रदान हुने अत्यावश्यकबाहेक सेवाहरू बन्द गर्ने र कार्यान्वयनका लागि नगरस्थित सबै सुरक्षा निकायलाई अनुरोध गर्ने निर्णय भएको नगर उपप्रमुख उप्रेतीले बताउनु भएको छ ।

भद्रपुर नगरपालिका, गौरीगञ्ज गाउँपालिका, बाहृदशी गाउँपालिका, झापा गाउँपालिका र कचनकवल गाउँपालिकाले साउन १५ गतेसम्म सील गरेका छैनन् । झापामा दुई सातायता कोभिड–१९ को सङक्रमण दर बढेको छ । दैनिक २ सय बढीमा सङ्क्रमण पुष्टि भइरहेको छ ।


नरेश खाती