कोभिड १९ को खोप आपूर्ति, भण्डारण र वितरणबारे अनुगमन

  ०७८ साउन १० गते

राष्ट्रिय मानव अधिकार आयोगद्वारा गठित प्रदेश २ स्तरीय परामर्श तथा अनुगमन समितिको एक टोलीले साउन ८ गते कोभिड–१९ को खोप आपुर्ति, भण्डारण र वितरणको अवस्था बारे अनुगमन गरेको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ प्रमुख राजु पासवान, राष्ट्रिय मानव अधिकार आयोगकी मानव अधिकार अधिकृत मनमाया राना मगर, नेपाल चिकित्सक सङ्घ जनकपुरका अध्यक्ष डाक्टर रामनरेश पण्डित, नेपाल मानव अधिकार सङ्गठनका जिल्ला अध्यक्ष मनोज दनुवार र राष्ट्रिय मानव अधिकार आयोगका अधिकृत राजिव कर्ण सम्मिलित टोलीले प्रदेश २ सामाजिक विकास मन्त्रालयको स्वास्थ्य माहाशाखा र जिल्ला जनस्वास्थ्य कार्यालय धनुषा कार्यालयमा पुगी कोभिड–१९ विरुद्धको खोप आपूर्ति, भण्डारण र वितरणको अवस्थाबारे अनुगमन गरेको हो ।

प्रदेश २ सामाजिक विकास मन्त्रालयका स्वास्थ्य माहाशाखा प्रमुख डाक्टर मुक्ति साहले कोभिड खोप भण्डारण गर्ने स्टोरको अभाव रहेकामा हाल जनकपुरको मुजेलीयमा खोप भण्डारण गर्ने गरी भवन निर्माण कार्य भइरहेको बताउनु भयो ।

अहिले पनि ग्रामीण भेगमा खोप लगाउनु पर्छ भन्ने चेतनाको विकास नै नभएकाले ग्रामीण तहमा खोपबारे जनचेतना फैलाउन आवश्यक रहेको उहाँले बताउनु भयो । साथै प्रदेशमा लगभग ५ हजार खोप केन्द्र रहेको उहाँले जानकारी दिनु भयो ।

स्वास्थ्य माहाशाखा प्रमुख साहका अनुसार प्रदेश २ मा स्वास्थ्य निर्देशनालयका प्रमुख विजय झाको नेतृत्वमा प्रदेशस्तरीय अनुगमन समिति रहेको र प्रदेश २ अन्तर्गतका प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्लास्तरीय अनुगमन समिति रहेको छ ।

उहाँका अनुसार उक्त समितिले कोभिड–१९ को प्रभाव र कोभिडविरुद्धको खोपको वितरण र व्यवस्थापन कार्यको अनुगमन गर्दछ ।

जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाका निमित्त कार्यालय प्रमुख सुरेश यादवले जिल्लामा हालसम्म कोभिड सङ्क्रमणबाट १ सय ३५ जनाको मृत्यु भएको जानकारी दिनु भयो । जिल्लामा सङ्क्रमण दर घटेको भएपनि स्वास्थ्य सजगता अपनाउन जरुरी रहेको उहाँले बताउनु भयो ।

जिल्ला जनस्वास्थ्य कार्यालयमा १५ हजारदेखि १६ हजार भेरोसिल खोप राख्न सकिने क्षमता रहेको उहाँले बताउनु भयो । साउन ७ गते ४३ हजार जनालाई डोज पुग्ने गरी जोन्सन एण्ड जोन्सन खोप आएको उँहाले बताउनु भयो ।

५० वर्षदेखि ५४ वर्ष उमेर समूहका व्यक्ति, अशक्त तथा अपाङ्गता भएका व्यक्ति, खोप लिन छुटेका स्वास्थ्यकर्मी र शरणार्थी गरी चार भागमा वर्गीकरण गरेर खोप लगाउने तयारी भइरहेको उहाँले जनाकारी दिनु भयो । जिल्लामा यसअघि नै १ सय ३३ खोप केन्द्र राखिएकोमा खोप केन्द्र थप्ने तयारी भइरहेको उहाँले बताउनु भयो ।

क्याम्पसका विद्यार्थीहरूलाई पहिलो डोजको भ्याक्सिन लगाएर आएपछि मात्र परीक्षामा सहभागी गराइने भनिएपनि विद्यार्थीलाई सो खोप लगाउन निर्देशन नभएकोले यसमा के गर्ने भन्ने अन्योल रहेको उहाँले बताउनु भयो ।

जिल्लामा प्राप्तमध्ये २६ हजार ७ सय ६१ भेरोसिल खोप लगाइएको र २ सय ७५ बाँकी रहेको उहाँले बताउनु भयो ।

स्टोर किपर अशोक यादवले स्टोर रुमको अभाव रहेको हुँदा घर भाडामा लिएर स्टोर गरेर राख्नु पर्ने बाध्यता रहेको बताउनु भयो ।

उहाँले मनिपाललगायत चार ठाउँमा स्टोर रुम बनाउने गरी कार्य भइरहेको जानकारी दिनु भयो । जनकपुरको देवी चोकमा ड्राइ स्टोर रहेको छ भने मुजेलीयमा कोल्ड स्टोर रहेको उहाँले बताउनु भयो ।

सरकार र दातृ संस्थाबाट स्वास्थ्य सामग्री प्राप्त भएको तर उचित भण्डारणको अभाव रहेको स्टोर किपर यादवले बताउनु भयो ।

पीपीइलगायतका स्वास्थ्य सामग्री जिल्लाका स्वास्थ्य संस्था तथा स्थानीय तहमा पर्याप्त मात्रामा पठाइएको उहाँले जानकारी दिनु भयो ।


इन्सेक प्रदेश २ कार्यालय, जनकपुरधाम