कोभिड–१९ः सङ्क्रमणसम्बन्धी लुम्बिनी प्रदेशको दैनिक अपडेट (वैशाख २३ गते)

  ०७८ वैशाख २३ गते

कोभिड सङ्क्रमितको चाप अत्यधिक बढ्न थालेपछि लुम्बिनी प्रदेशका ठूला अस्पतालहरूमा अक्सिजन अभाव भएको छ । अक्सिजन अभाव हुँदा उपचार गर्न नसक्ने स्थिति भएको अस्पतालहरूले जनाएका छन । लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलले वैशाख २३ गते अक्सिजनको स्टक सकिएको भन्दै अक्सिजनको व्यवस्था गर्न अपिल गरेको छ । यसैगरी नेपालगञ्ज मेडिकल कलेजले वैशाख २२ गते प्रस विज्ञप्ती मार्फत अक्सिजन अभावमा नयाँ बिरामी भर्ना गर्न नसक्ने जनाएको थियो । भैरहवास्थित युनिभर्सल मेडिकल कलेजले अक्सिजन अभावका कारण बिरामी लिन नसक्ने जनाएको छ  । बेड अभाव झेलिरहेको बेला अस्पतालमा अक्सिजन अभाव भएपछि उपचार नपाएर अस्पतालमै छटपटिनु पर्ने आवस्था आएको छ । बर्दिया जिल्लाकी कोभिड सङ्क्रमित गर्भवती महिलाको भेरी अस्पताल नेपालगञ्जमा पहिलो पटक सफल शल्यक्रिया भएको छ । भेरी अस्पतालका अनुसार नवजात शिशु स्वास्थ छन् ।

पाल्पा जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाका अनुसार कोभिड सङ्क्रमण  बढेपछि पाल्पामा जारी निषेधको आदेश जेठ ४ गतेसम्म थप गरिएको छ । वैशाख २३ गते बसेको डिसीसीएमसीको बैठकले वैशाख १७ गतेदेखी २४ गतेसम्म जारी निषेधको आदेश  जेठ ४ गते राती १२ बजेसम्म थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले बताउनु भयो ।

रुपन्देही जिल्ला प्रतिनिधि रिमा बिसीका अनुसार कोभिड सङ्क्रमितको चाप अत्यधिक बढ्न थालेपछि लुम्बिनी प्रदेशका ठूला अस्पतालहरूमा अक्सिजन अभाव भएको छ । अक्सिजन अभाव हुँदा उपचार गर्न नसक्ने स्थिति भएको अस्पतालहरूले जनाएका छन । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले बैशाख २३ गते अक्सिजनको स्टक सकिएको भन्दै अक्सिजनको व्यवस्था गर्न अपिल गरेको छ । भैरहवास्थित युनिभर्सल मेडिकल कलेजले अक्सिजन अभावका कारण बिरामी लिन नसक्ने जनाएको छ ।  बेड अभाव झेलिरहेको बेला अस्पतालमा अक्सिजन अभाव भएपछि उपचार नपाएर अस्पतालमै छटपटिनु पर्ने आवस्था आएको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा दैनिक ५ देखि ६ सयसम्म अक्सिजन सिलिन्डर खपत हुँदै आएको छ । अस्पतालको अक्सिजन प्लान्ट बिग्रेको छ भने सप्लायर्सले मागअनुसार अक्सिजन उपलब्ध गराउन नसक्दा भयावह अवस्था सिर्जना भएको, बिरामीको चाप अत्यधिक हुन थालेकाले अक्सिजनको खपत धेरै हुँदा स्टक सकिएको अस्पतालका मेडिकल सुपरिटेन्ड डा राजेन्द्र खनालले बताउनु भयो । अस्पतालमा दैनिक ३ सय सिलिन्डरसम्म अक्सिजन सप्लायर्सबाट प्राप्त हुने गरेको छ । मौज्दात अक्सिजन सकिन थालेकाले बिरामीको उपचारमा सङ्कट देखा परेको खनालले बताउनु भयो । ‘अक्सिजन आपूर्ति गर्न अनुरोध गरेका छौ । अक्सिजन नभए बिरामीको ज्यान बचाउन सकिँदैन,’ इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा डा. खनालले भन्नुभयो । लुम्बिनी प्रादेशिक अस्पताल सिंगो प्रदेशकै बिरामी आउने अस्पताल भएकोले अझ बुटवलमा दैनिक ३ सयको हाराहारीमा कोरोना संक्रमित थपिएका छन् । तर, अक्सिजन अभाव भएपछि स्थिति भयावह हुने देखिएको छ । लुम्बिनीमा हाल नेपालगञ्जस्थित एचओ कम्पनीबाट अक्सिजन खरिद गर्दै आएको छ । उक्त कम्पनीबाट ल्याएकोले नपुुगेपछि अहिले रुपन्देही धकधईस्थित शंकर अक्सिजन र लुम्बिनी अक्सिजनबाट समेत लिने गरिएको अस्पतालले जनाएको छ । लुम्बिनीमा अक्सिजन प्लान्ट सुरू भए पनि दैनिक २० सिलिन्डरमात्रै उत्पादन हुने अस्पतालले जनाएको छ । यसैगरी प्रदेशका अधिकांश कोभिड सङ्क्रमित बिरामी उपचाररत अस्पतालमा अक्सिजनको अभाव देखिएको छ । रुपन्देहीको भैरहवास्थित भीम अस्पताल, भेरी अस्पताल, दाङ बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा समेत अक्सिजनको अपुुग हुन थालेको छ । यसैगरी, कोभिड सङ्क्रमित बढ्दै गएको र एम्बुलेन्स प्रयाप्त नभएपछि तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरे र उप प्रमुख जागेश्वरी चौधरीले आफुले चढ्दै आएको गाडी वैशाख २३ गतेदेखि कोभिड सङ्क्रमितको प्रयोगमा लगाउनु भएको छ । तिलोत्तमा नगरपालिकामा हाल दुई वटा एम्बुलेन्स सञ्चालनमा छन् । मेयर र उपमेयरले कोभिड फोकल पर्सन केशव भट्टराईलाई चावी हस्तान्तरण गर्नुभएको छ । तिलोत्तमा नगरपालिकाले शंकरनगरमा ४० बेड क्षमताको आइसोलेशन सेन्टर सञ्चालनमा ल्याएको छ । नगरपालिकाले विद्यालय नर्स कार्यक्रममा रहेका १२ जना नर्सलाईसमेत कोभिड सङ्क्रतिको उपचारमा खटाएको छ । यसैगरी देवदह नगरपालिकाले मगर समाजको भवनमा अक्सिजन सहित २० बेडको आइसोलेसन सेन्टर सञ्चालन गरेको छ ।

कपिलवस्तु जिल्ला प्रतिनिधि पार्वती आचार्यका अनुसार विश्वव्यापी महामारीको रुपमा फैलिंदै गएको कोभिड–१९ रोकथाम तथा न्यूनीकरण गर्ने उद्देश्यले बाणगंगा नगरपालिकामा नगर स्तरीय कोभिड प्रकोप व्यवस्थापन सहयोग समिति गठन भएको छ । सङ्क्रमितहरू दैनिक बढ्दै गएपछि नगरपालिकालाई मात्र थेग्न गाह्रो हुने देखिएकोले उक्त समिती गठन गरिएको सिद्धार्थ सामाजिक बिकास केन्द्रका अध्यक्ष तेजप्रसाद आचार्यले जानकारी दिनु भयो । सिद्धार्थ सामाजिक विकास केन्द्रको समन्वयमा नपाका विभिन्न सङ्घ संस्थाका प्रतिनिधि सम्मिलित बैठकले समितिको संयोजकमा कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेलाई चयन गरी ९ जनाको समिती गठन गरेको छ । संयोजक घिमिरेले नपामा रहेका विभिन्न सङ्घ संस्थाहरूसँग समन्वय गरी दु्रत गतिमा काम गर्ने बताउनु भयो । समितिले अक्सीजन बैंक स्थापना, अत्यावश्यक औषधि तथा उपकरण व्यवस्थापन, कार्यविधि तयार लगायतका कार्य गर्ने समितिका सचिव सुरेन्द्र घिमिरेले बताउनु भयो । यसैगरी शुद्धोधन गाउँपालिकाले लवनी माविको भवनमा  अक्सिजन सिलिण्डरसहित ६ बेडको आइसोलेशन सेन्टर तयार गरेको शुद्धोधन गापा लवनी स्वास्थ्य शाखा प्रमुख असफाक अहम्मद खाँले जानकारी दिनु भयो । यसैगरि, निषेध आज्ञाको अवज्ञा गरेको भन्दै प्रहरीले जिल्लाका विभिन्न स्थानहरूबाट ९४ थान मोटरसाइकल , चार थान अटो रिक्सा र एउटा ट्याक्टर गरी ९९ थान सवारी साधन  नियन्त्रणमा लिएर साँझ १ सय रुपियाँका  दरले जरिबाना लिई छाडिएको थियो ।


इन्सेक, लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्ज