कोभिड–१९ः एक सातामा २० हजार सङ्क्रमित थपिए

एक सातामा कोभिड–१९ का सङ्क्रमित २० हजार ९ सय ८८ जना थपिएका छन् । असोज २० गते ९० हजार ८ सय १४ जना सङ्क्रमित भएकामा असोज २६ गते कूल सङ्क्रमित १ लाख ११ हजार ८ सय २ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो बिचमा ९ हजार ७ सय ३५ जना निको भएका छन् । निको हुनेको कूल सङ्खया ७७ हजार २ सय ७७ पुगेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ११ हजार १ सय ७१ ले बढेर ३३ हजार ८ सय ८० पुगेको छ । असोज २० गते सक्रिय सङ्क्रमितको सङ्ख्या २२ हजार ७ सय ९ थियो । एक साताको अवधिमा कोभिड सङ्क्रमित ८२ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको सङ्ख्या ६ सय ४५ पुगेको छ । एक सातामा ९२ हजार २ सय ३८ ओटा स्वाब परीक्षण गरिएको पनि मन्त्रालयले जनाएको छ । हालसम्म ११ लाख ९१ हजार ५ सय १४ स्वाब परीक्षण गरिएको छ ।

Covid_data_20201013kathmanduप्रदेश १
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार असोज २० गतेदेखि असोज २६ गतेसम्मको अवधिमा प्रदेश १ मा कोभिड–१९ का २ हजार ७ सय २५ जना नयाँ सङ्क्रमित थपिएका छन् । झापामा १ सय ४९ जना पुरूष र ६० जना महिला गरी २ सय नौ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । त्यसैगरी सुनसरीमा ६ सय ४९ जना पुरूष र ४ सय ४६ जना महिला गरी १ हजार ५० जना, खोटाङमा १५ जना पुरूष र एक जना महिला गरी १६ जना, मोरङमा ८ सय ८ जना पुरूष र ४ सय ७१ जना महिला गरी १ हजार २ सय ७९ जना, उदयपुरमा ४४ जना पुरूष र १६ जना महिला गरी ६० जना, धनकुटामा २० जना पुरूष र दुई जना महिला गरी २२ जना, इलाममा २० जना पुरूष र ४ जना महिला गरी २४ जना, पाँचथरमा तीन जना पुरूष र एक जना महिला गरी चार जना, ओखलढुङ्गामा १३ जना पुरूष र तीन जना महिला गरी १६ जना, भोजपुरमा आठ जना पुरूष र तीन जना महिला गरी ११ जना, सङ्खुवासभामा १३ जना पुरूष र चार जना महिला गरी १७ जना, ताप्लेजुङमा ६ जना पुरूष र दुई जना महिला गरी आठ जना, सोलुखुम्बुमा चार जना पुरूष र तेहृथुममा तीन जना पुरूष र दुई जना महिला गरी पाँच जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ ।
प्रदेश १ मा रहेका कोशी कोभिड–१९ अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा प्रयोगशाला, मेची अस्पताल प्रयोगशाला, कोटीहोम प्रयोगशाला, नोवेल अस्पताल प्रयोगशाला, विराट अस्पताल प्रयोगशाला र न्यूरो अस्पताल प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा कोभिड सङ्क्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार प्रदेश १ मा असोज २० गते आइसोलेशनमा १ सय १७ जना र होम आइसोलेशनमा १ हजार ८ सय १५ जना रहेका थिए । असोज २६ गते आइसोलेशनमा १ हजार ५ सय ७८ जना र होम आइसोलेशनमा २ हजार ३ सय ८८ जना रहेका छन् ।

प्रदेश २
यस प्रदेशमा एक सातामा थप ८ सय २५ जनामा कोभिड–१९ सङ्क्रमणको पुष्टि भएसँगै सङ्क्रमित हुनेको सङ्ख्या १६ हजार ५ सय २६ पुगेको छ ।  जसमध्ये १५ हजार ९० जना निको भएका छन् । एक सातामा २ सय ३९ जना निको भएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । एक सातामा थप १ सय ४० जनाको मृत्यु भएसँगै मृत्यु हुनेको सङ्ख्या २ सय ७५ पुगेको छ । असोज २६ गते सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार १ सय ६१ रहेको छ ।

बागमती प्रदेश  
यस प्रदेशमा असोज २६ गते २ हजार ६ सय १ जनामा कोभिड–१९ सङ्क्रमणको पुष्टि भएसँगै सङ्क्रमित हुनेको सङ्ख्या ५२ हजार १२ जना पुगेको छ ।  जसमध्ये २९ हाजर ३ सय ८९ जना उपचारपछि निको भइसकेका छन् भने २२ हजार ३ सय ५० जनाको विभिन्न अस्पताल तथा होम आइसोलेशनमा उपचार भइरहेको छ । प्रदेशमा कोभिड–१९ सङ्क्रमणको कारण मृत्यु हुनेको सङ्ख्या २ सय ७३ जना पुगेको छ ।
यस प्रदेशमा एक साताअघि कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ३८ हजार ४ सय ३९ जना रहेको थियो । यो साता मात्रै १३ हजार ६ सय ७३ जना सङ्क्रमित थपिएका हुन् । अघिल्लो साता ३६.४ प्रतिशत महिला र ६३.६ प्रतिशत पुरुष सङ्क्रमित भएकोमा आसोज २६ गते आइपुग्दा महिला १९ हजार २ सय ४५ जना अर्थात ३७ प्रतिशत र पुरुष ६३ प्रतिशत रहेको छ ।
बागमती प्रदेशमा असोज २६ गते आइपुग्दा देशको कूल सङ्क्रमणको ४६.५२ प्रतिशत बिरामी रहेका छन् भने अघिल्लो हप्ता ४२.३२ प्रतिशत मात्र रहेको थियो । यस प्रदेशमा २१ देखि ५० वर्ष उमेरका सङ्क्रितिका बिरामी सबै भन्दा बढी रहेका भए पनि यस अवधिमा ६० वर्ष माथिका उमेरमा पनि सङ्क्रमण बढ्दै गएको छ ।
अघिल्लो साता  अस्पतालहरूमा आइसोलेशनको क्षमता ३ हजार २ सय २४ बेड रहेकोमा ३ हजार ६ सय ८७ जना आइसोलेशनमा रहेको थिए भने असोज २६ गते आइपुग्दा अस्पतालको क्षमता विस्तार नभए पनि आइसोलेशनमा रहनेको सङ्ख्या ३ हजार ८ सय ५० जना पुगेको छ । असोज २० गते यस प्रदेशमा कोभिड–१९ का २ सय २६ जना सङ्क्रमितको मृत्यु भएकामा असोज २६ गते आइपुग्दा ४७ जना थपिएर २ सय ७३ जना पुगेको छ । बागमती प्रदेशमा विदेशबाट फर्किएकाहरू भन्दा पनि अहिले स्थानीय समुदायमानै बसेकाहरूमा कोभिड सङ्क्रमण देखापरेको छ । कोभिड सङ्क्रमणबाट स्वास्थ्यकर्मी, सुरक्षाकर्मी पनि प्रभावित भएका छन् । यस प्रदेशमा कोभिड सङ्क्रमण पुष्टि भएका मध्येमा ५७ प्रतिशतको हाराहारीमा निको हुने गरेको छ ।

गण्डकी प्रदेश
गण्डकी प्रदेशमा असोज २० गतेबाट असोज २६ गतेसम्म थप ८ सय ७० जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । जसमध्ये ६ सय १२ जना पुरुष र २ सय ३८ जना महिला रहेका छन् । योसँगै प्रदेशमा कुल सङ्क्रमितको सङ्ख्या ५ हजार ६ सय ५८ रहेको छ । यो साता कोभिड–१९ सङक्रमणबाट ५ सय ७७ जना निको भएका छन् । निको हुनेको कूल सङख्या ४ हजार २ सय ५५ जना रहेको छ ।  प्रदेशमा यो साता तीन जनाको मृत्यु भएपछि कोभिड–१९ को सङक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ । लमजुङ प्रतिनिधि दलबहादुर मजाकोटीका अनुसार जिल्लामा हाल अपाङ्गमैत्री आइसोलेशन बनेको छैन । तर, अन्य हिसाबले आइसोलेशन मापदण्डअनुसार नै रहेको लमजुङ जिल्ला प्रशासन कार्यलयका प्रमुख जिल्ला अधिकारी अनिल शाहीले बताउनुभयो । प्रदेशमा एक सातामा कोभिड सङ्क्रमण धेरै बढेको देखिन्छ । असोज २० गतेको तथ्याङ्कमा ३९ जना पुरुष र ६ जना महिला सङ्क्रमित देखिएका थिए भने असोज २६ गतेको तथ्याङ्कमा १ सय ४३ जना पुरुष र ८१ जना महिला सङक्रमित देखिएका छन् । यो साता सबैभन्दा धेरै ३१ वर्ष देखि ४० वर्ष उमेरका सङक्रमित थपिएका छन् ।

लुम्बिनी प्रदेश
एक सातामा लुम्बिनी प्रदेशमा कोभिड सङ्क्रमित २ हजार ६८ जना थपिएका छन् । यससँगै कूल सङ्क्रमितको सङ्ख्या १४ हजार १ सय ३६ पुगेको छ । असोज २० गते लुम्बिनी प्रदेशमा ६३ जना महिला र १ सय २८ जना पुरुष गरी १ सय ९१ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको थियो । असोज २० गतेसम्म ९ हजार ८ सय ६७ जना सङ्क्रमितहरू निको भएकामा असोज २६ गतेसम्म आइपुग्दा यो सङ्ख्या बढेर १० हजार ७ सय ८१ पुगेको छ । असोज २० गते सक्रिय सङ्मितको सङ्ख्या २ हजार १ सय २५ रहेकमा असोज २६ गते ३ हजार २ सय ५९ पुगेको छ । असोज २६ गते ८३ जना महिला १ सय ८८ जना पुरुष गरी २ सय ७१ जनामा सङ्क्रमण पुष्टि भयो । एक सताको अवधिमा लुम्बिनी प्रदेशमा कोभिडका कारण एक जना महिला र नौ जना पुरुष गरी १० जनाको मृत्यु भएसँगै मृत्यु हुनेको सङ्ख्या ९६ पुगेको छ ।

कर्णाली प्रदेश
कर्णाली प्रदेशमा असोज २६ गते १ सय ३३ जनामा कोभिड–१९ सङ्क्रमणको पुष्टि भएसँगै सङ्क्रमित हुनेको सङ्ख्या ४ हजार ३ सय १७ जना पुगेको छ । जसमध्ये ५ सय ६ जना विभिन्न अस्पतालका आइसोलेशनमा बसेका छन भने ४ सय ८८ जना होम आइसोलेशनमा छन् । १९ जना भेण्टिलेटरमा उपचार गरिरहेका छन् । ५ सय २ जना क्वारेण्टिनमा र ३ हजार ४ सय ८० जना निको भएका छन् । यस प्रदेशमा एक हप्ता अघि कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ३ हजार ७ सय ६ जना रहेको थियो । यस हप्ता मात्र ६ सय ११ जना सङ्क्रमित थपिएका हुन् । यस प्रदेशमा २१ देखि ५० वर्ष उमेरका सङ्क्रिति सबैभन्दा बढी रहेका भए पनि यस अवधिमा ६० वर्ष माथिको उमेर समूहकालाई पनि सङ्क्रमण बढ्दै गएको छ ।  ८० वर्ष भन्दा माथिको उमेरका सुर्खेतका आठ जना र अन्य तीन जिल्लामा तीन जना सङ्क्रमित छन् । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलका अनुसार हालसम्म प्रदेशमा कोभिड–१९ को सङ्क्रमणका कारण सात पुरुष र चार महिला गरी ११ जनाको मृत्यु भएको छ । अघिल्लो साता एक महिलाको मृत्यु भएको हो ।

सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिम प्रदेशमा असोज २६ गते ७८ जनामा कोभिड–१९ सङ्क्रमणको पुष्टि भएसँगै सङ्क्रमित हुनेको सङ्ख्या ८ हजार १ सय २४ जना पुगेको छ । जसमध्ये ६ हाजर ८ सय ९४ जना उपचारपछि निको भइसकेका छन् भने १ हजार २ सय ६६ जनाको उपचार विभिन्न अस्पताल तथा होम आइसोलेशनमा भइरहेको छ । सुदूरपश्चिम प्रदेशमा कोभिड–१९ सङ्क्रमणको कारण मृत्यु हुनेको सङ्ख्या १९ जना पुगेको छ । यस प्रदेशमा एक साताअघि कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ७ हजार ६ सय ३० जना रहेकोमा ४ सय ९४ जना सङ्क्रमित थपिएका छन् । असोज २६ गतेसम्म प्रदेशका विभिन्न जिल्लामा रहेका क्वारेण्टिनमा १ हजार ४ जना पुरुष र २ सय ६२ जना महिला गरी १ हजार २ सय ६६ जना रहेका छन् । प्रदेशका विभिन्न अस्पतालका आइशोलेसनमा ९२ जनाको उपचार भइरहेको छ । जसमध्ये सेती प्रदेशिक अस्पतालमा २३ जना, टिकापुर अस्पतालमा २६ जना, महाकाली अस्पतालमा २८ जना, जिल्ला अस्पताल, अछाममा १० जना, डोटी अस्पतालमा दुई जना र डडेल्धुरा अस्पतालमा तीन जना उपचाररत छन् ।  होम आइसेलेशनमा ६ सय ९२ जना र आइसोलेशनमा ३ सय ४९ जना रहेका छन् । चार जनाको उपचार आइसीयूमा भइरहेको छ । अस्पतालहरूमा आइसोलेशनको क्षमता १ हजार ९ सय २१ बेड रहेकोमा ५८ जना महिला र २ सय ९१ जना पुरुष गरी ३ सय ४९ जना उपचाररत छन् । यो साता कञ्चनपुर, डोटी, बैतडी, डडेल्धुरा जिल्लामा कोभिड–१९ नियन्त्रण र रोकथामका लागि अग्रभागमा खटिएका कर्मचारी तथा स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएपछि स्थानीय तह तथा स्वास्थ्य कार्यालयहरूले प्रदान गर्दै आएका सेवाहरु बन्द भएका छन् । कोभिड सङ्कमणबाट स्वास्थ्यकर्मी र सुरक्षाकर्मी पनि प्रभावित भएका छन् । यस प्रदेशमा कोभिड सङ्क्रमण पुष्टि भएका मध्येमा ८४.९ प्रतिशतको हाराहारीमा निको भएका छन् ।


अनलाइन डेस्क