कोभिड सङ्क्रमित बिरामीलाई लिन गएको एम्बुलेन्स चालकमाथि कुटपिट घटनाका आरोपित गिरफ्तार

  ०७८ असोज १० गते

कोभिड सङ्क्रमित बिरामी लिन गएको एम्बुलेन्स चालक इस्मा गाउँपालिका–४ दोहलीका ३८ वर्षीय दानबहादुर पाण्डेयलाई कुटपिट गरेको आरोपमा प्रहरीले सोही ठाउँका २८ वर्षीय लिलबहादुर अछामीलाई असोज ८ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले असोज ६ गते राति कोभिड सङ्क्रमित बिरामी लिन जाने क्रममा दोहली स्वास्थ्य चौकी नजिकै कुटपिट गरिएको इस्मा कोभिड–१९ अस्पतालका प्रमुख डाक्टर निश्चल शर्माले जानकारी बताउनु भयो ।

घटनाका बारेमा पीडित र संयुक्त एम्बुलेन्स चालक सङ्घ गुल्मीले असोज ७ गते जिल्ला प्रहरी कार्यालयमा आरोपित विरूद्ध उजुरी दिएका थिए ।

कुटपिटबाट पाण्डेयको आँखा माथिको हड्डी भाँचिएको, दाँत झरेको, खुट्टा र शरिर सुन्निनुको साथै आँखा निलो भएको डाक्टर शर्माले बताउनु भयो ।

घाइते पाण्डेयलाई लुम्बिनी मेडिकल कलेज प्रभास, पाल्पामा उपचार भइरहेको छ । आरोपितले आफूलाई पहिले पनि एम्बुलेन्स रोकेर धम्क्याउने र आक्रमणको प्रयास गरेकाले कडा कारबाहीको माग पाण्डेयले गरेका छन् ।

संयुक्त एम्बुलेन्स चालक सङ्घका सचिव युवराज बस्नेतले केही महिनाकै अन्तरालमा दुई जना एम्बुलेन्स चालकमाथि कुटपट हुनु दुखद बिषय भएको बताउनु भयो ।

दोषिलाई कारबाहीको प्रक्रियामा नल्याए आफूहरू आन्दोलनमा उत्रन बाध्य हुने बस्नेतको भनाई छ ।

इस्मा कोभिड–१९ अस्पतालका प्रमुख डाक्टर निश्चल शर्माले कामकै शिलसिलामा एम्बुलेन्स चालक कुटिएकाले आफूहरूसमेत असुरक्षित भएको महसुस गरेको प्रतिक्रिया दिनुभयो ।


टोपलाल अर्याल