कोभिड सङ्क्रमणका कारण एसइइ परीक्षा अझै अन्योलमा !

  ०७८ जेठ १७ गते 

कोभिड–१९ सङ्क्रमणको महामारीले स्थगित नभएको भए जेठ १३ गतेदेखि विद्यार्थी माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिइरहेका हुन्थे । देशव्यापी रूपमा कोभिड महामारीको दोश्रो लहर फैलिएसँगै जारी भएको निषेध आदेश र सङ्क्रमित बढ्दै आएपछि राष्ट्रिय परीक्षा बोर्डले वैशाख २७ गते अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गरेसँगै परीक्षाको अन्योलता छाएको छ । परीक्षाको अन्योलता र महामारीको प्रकोपका कारण एसइइ परीक्षाका लागि तयारी गरिरहेका विद्यार्थीहरूमा मानसिक असर पर्न थालेको विज्ञहरूले जनाएका छन् ।

एकातिर अब परीक्षा कहिले हुन्छ भनेर चिन्ता र अर्कोतर्फ कोभिड सङ्क्रमणबाट कसरी बच्ने भन्ने चिन्ताले एसइइ परीक्षाको तयारीमा रहेका आमविद्यार्थी तनाबबाट गुज्रनु परेको बताउँछन् । मध्यपुरथिमी नगरपालिका–४ राधेरोधेकी एलिशा श्रेष्ठ एसइइको भन्दा कोभिडको त्रास बढी रहेको बताउनु हुन्छ । परीक्षाको तयारी गर्दै नियमित अनलाइन कक्षामा बस्दै आउनु भएकी उहाँलाई अब परीक्षा कहिले होला, कसरी होला भन्ने चिन्ता त छँदैछ, त्यसमाथि पनि कोभिड सङ्क्रमणबाट कसरी बच्ने भन्ने चिन्ता लागिरहेको छ । छिमेकी एक साथीलाई कोभिड सङ्क्रमणले गाह्रो पारेपछि एलिसालाई समेत मनोबैज्ञानिक असर परेको छ । सङ्क्रमित विद्यार्थी भन्छिन्–‘कोभिड सङ्क्रमण भइ हाल्यो । पढाइ पनि छुट्यो । मलाई निकै कमजोर बनाएको छ । यही बिचमा परीक्षा भयो भने कसरी दिने भन्ने धेरै चिन्ता छ । हामीले खोप पनि पाएका छैनौँ । खै कसरी बाँच्ने र परीक्षा दिने ? जस्तो भयो ।’

यतिखेर विद्यालयका प्रिन्सिपल, शिक्षक, शिक्षिकादेखि परीक्षाको तयारीमा रहेका धेरै विद्यार्थीलाई कोभिड सङ्क्रमण भएको प्याब्सनले जनाएको छ । भक्तपुरमा मात्रै प्याब्सनसँग आवद्ध भएका ९२ जना शिक्षक, कर्मचारीलाई सङ्क्रमण भएको बताउनुहुन्छ प्याब्सन भक्तपुरका अध्यक्ष चन्द्र अधिकारी । देशको यो विषम परिस्थितिमा कसरी परीक्षा हुन्छ ? भन्ने चिन्ता आम विद्यार्थीमा रहेको र अनलाइन परीक्षा लिँदा पनि अगाडि नै प्रश्न पत्र बाहिरिने खतरा रहेको उहाँ बताउनुहुन्छ । प्याब्सन अध्यक्ष एवम् भक्तपुर निष्टका प्रिन्सिपल अधिकारीले परीक्षा कसरी हुन्छ ? भनेर अभिभवाक र विद्यार्थीले चिन्ता व्यक्त गरिरहेको बताउनुभएको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले अहिलेको अवस्थामा विद्यार्थीहरू भौतिक रूपमा उपस्थित भएर परीक्षा सञ्चालन गर्ने अवस्था नभएको बताउनुहुन्छ । विद्यार्थीको स्वास्थ्यभन्दा परीक्षा ठूलो नभएको भन्दै उहाँले विद्यार्थीको स्वास्थ्यलाई ध्यानमा राख्दै यही महिनामा एसइइ र कक्षा १२ को परीक्षाबारेमा उपयुक्त विकल्पसहित निर्णय हुने उहाँले बताउनुभयो । यस वर्ष एसइइ परीक्षाको तयारीमा रहेका धेरै विद्यार्थी आफैँ कोभिड सङ्क्रमित रहेको र यो क्रम अझै बढ्ने अवस्थामा अनलाइन परीक्षामा पनि धेरै विद्यार्थी सहभागी हुन नसक्ने अभिभावकहरूको धारणा छ । कतिपय विद्यार्थीले मोबाइलबाट अनलाइन कक्षा लिएका छन् । सबै विद्यार्थीसँग इन्टरनेट, कम्प्युटर र ल्यापटपको पहुँच छैन । मोबाइलबाट अनलाइन परीक्षा दिन सकिन्न । त्यसैले अनलाइन परीक्षाको प्रभाव नरहने अभिभावकको भनाइ छ ।

अभिभावक सङ्घ नेपालका केन्द्रीय अध्यक्ष केशव पुरीले परीक्षामूखी शिक्षालाई जोड दिनु गलत भन्दै विद्यार्थीको भौतिक उपस्थिति र अनलाइन परीक्षा यतिखेर दुवै अनुपर्युक्त भएको बताउनु भयो । यस वर्ष कोभिड सङ्क्रमण जटिल रहेको र धेरै विद्यार्थी तथा अभिभावक सङ्क्रमित रहेकाले गत वर्ष जस्तै विद्यालयको आन्तरिक मूल्याङ्कन विधि मै यसवर्ष पनि जानु पर्ने उहाँको धारणा छ । विद्यालयले सञ्चालन गर्ने कक्षा नौ सम्मको परीक्षालाई सरकारले विश्वास गर्ने अनि कक्षा १० को पढाइ र मूल्याङ्नलाई किन विश्वास नगर्ने भन्दै उहाँले स्वदेशमा नै उच्च शिक्षा अध्ययन गर्ने र कतिपय विदेश जाने भएकाले कक्षा १२ को परीक्षालाई भने फरक विधि अपनाउन सकिने बताउनु भयो । ‘यसवर्ष धेरै विद्यार्थी सङ्क्रमित भएका छन् । यो क्रम बढ्दै छ, अनलाइन परीक्षाका लागि देशभरका सबै विद्यार्थीको पहुँच पुग्दैन भरपर्दो पनि छैन ।’–सङ्घका अध्यक्ष पुरी भन्नुहुन्छ–‘त्यसैले कक्षा १० मा आन्तरिक मूल्याङ्कन गर्ने र कक्षा १२ को हकमा भने अनलाइन परीक्षा प्रणाली उपयुक्त हुन्छ ।’ अभिभावकका लागि सन्तानको स्वास्थ्य भन्दा ठूलो परीक्षा हुन नसक्ने भन्दै कडाइका साथ विधि बनाएर यस वर्ष पनि विद्यालयलाई जिम्मा दिनु पर्ने उहाँको भनाइ छ ।

प्याब्सन केन्द्रीय उपाध्यक्ष दीपिका थापा रिमालले कोभिडले अभिभावकदेखि परीक्षाको तयारीमा रहेका विद्यार्थीमा निकै त्रास बढेको बताउनुहुन्छ । गत वर्ष जस्तो पूर्ण रूपमा विद्यालयलाई जिम्मा दिन नहुने भन्दै उहाँले हचुवाको भरमा मूल्याङ्कन गर्ने गरी जान नहुने र निश्चित विधि बनाएर जानु पर्ने प्याब्सनको धारणा रहेको बताउनुभयो ।

प्याब्सनसँगको छलफलमा यसवर्षको परीक्षामा सरकारले चार ओटा विधिमा परीक्षा सञ्चालन गर्नेबारेमा छलफल गरेको बताउँदै सिद्धार्थ विद्यापिठकी प्रिन्सिपल एवम् प्याब्सन उपाध्यक्ष थापा भन्नु हुन्छ–‘एउटा गत वर्षको जस्तो आन्तरिक मूल्याङ्कन गर्ने, दोश्रो विद्यार्थीलाई प्रश्न पत्र दिएर अनलाइनबाट परीक्षा दिलाउने, तेश्रो आफैँ परीक्षा गराउने र चौथो भारतमा जस्तै परीक्षा नै नगरी कक्षा १० मा आन्तरिक मूल्याङ्न गर्ने र कक्षा ११ को भर्ना लिँदा प्रवेश परीक्षालाई कडाइ पार्दै ती विद्यार्थीले कक्षा १२ को परीक्षा दिँदा कडाई गर्ने भन्नेबारेमा प्याब्सन र शिक्षा मन्त्रालयको टोलीसँग चार ओटा मोडालिटीमा छलफल भएको छ ।’ एसइइको हकको निर्णयमा ढिलाइ गर्न नहुने बताउँदै आन्तरिक मूल्याङ्कन विधि गत वर्षको जस्तो नभइ सुधारिनु पर्ने उहाँको छ । राष्ट्रिय परीक्षा बोर्डले वैशाख २७ गते एसइइ र कक्षा १२ को परीक्षा कसरी सञ्चालन गर्न सकिन्छ भन्ने अध्ययन गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बैकुण्ठ अर्यालको संयोजकत्वमा गठन गरेको कार्यदलले आज आफ्नो प्रतिवेदन बोर्डलाई बुझाउने भएको छ । यस वर्ष देशभरबाट करिब ५ लाख १७ हजार विद्यार्थी एसइइको तयारी छन् । परीक्षाका लागि प्रश्न पत्र छपाइसँगै देशभरका २ हजार १९ परीक्षा केन्द्र निर्धारण भएको थियो ।

 


रमेश गिरी