कैद ठहर भएका बालकलाई संरक्षककै जिम्मा

  ०७९ चैत ९ गते

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बोदेबर्साइन नगरपालिका–३ गौराका १२ बर्षीय बालकलाई चैत ९ गते अदालतले ६ महिना कैद सजाय गरेको छ ।

जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशले ठहर गरेको कैद सजायका लागि बाल बिज्याईकर्ता बालकले बालसुधार गृह बस्नु नपर्ने गरी परिवारकै संरक्षकको निगरानीमा राख्न लगाउने फैसला गरेको छ ।

बालबालिका सम्बन्धी ऐन २०७५ मा बाल अदालतले सजाय हुने ठहर भएको बालबालिकाको उमेर, लिङ्ग, परिपक्वता, कसुरजन्य कार्यको प्रकृति र परिस्थिति समेतलाई विचार गरी शर्त तोकी वा नतोकी सजाय स्थगन गर्न वा संरक्षकलगायतको निगरानीमा राख्न लगाउन सक्ने व्यवस्था गरेको छ ।

बालकले २०७९ असार २६ गते बलात्कार गरेको भन्दै पीडितकी आमाले असार २९ गते इलाका प्रहरी कार्यालय कडरबोनामा उजुरी दिनुभएको थियो । सडकमा हिडिरहेकी पीडितलाई आफ्नै घरमा लगेर आरोपितले बलात्कार गरेको पीडितले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा असार २९ गते भयो । प्रहरीले आरोपितलाई असार २९ गते गिरफ्तार गरी सोही दिन बलात्कारको उजुरी दर्ता गरेको थियो ।

सप्तरी जिल्ला अदालतमा ०७९ साउन १७ गते अभियोजन पत्रदायर भएकोमा स्रेस्तेदार कुमार मास्केबाट साउन १९ गते संरक्षकको जिम्मा लगाउने आदेश भएको थियो । उक्त आदेशलाई जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशले मङ्सिर १४ गते सदर गरेको थियो ।


मनोहरकुमार पोखरेल