कैदी मृत्यु घटना : प्रहरीसहित १२ जना माथि अनुसन्धान, इन्चार्ज चौधरी माथि म्याद थप

कारागारभित्र दुई कैदीको हत्या घटनामा प्रहरीसहित १२ जनामाथि अनुसन्धान थालिएको छ ।

कैदीको हत्या घटनामा प्रहरी र कैदीसहित १२ जना अनुसन्धानमा तानिएका छन् ।
कारागारमा रहेको सिसिटिभी फुटेज अध्ययनबाट घटनामा प्रहरी र चौकीदारसहित केही कैदीको संलग्नताले देखिएको छ ।

कैदी मृत्यु घटनामा प्रहरीसहित १२ जना अनुसन्धानको दायरमा तानिएको जिल्ला प्रहरी कार्यालय डिएसपी वीरेन्द्र गोदारले बताउनु भयो।

घटनामा संम्लग्न देखिएका प्रहरी र कैदीसहित १२ जनामाथि म्याद थप गरेर अनुसन्धान भइरहेको डीएसपी गोदारले बताउनु भयो ।
कैदी मृत्यु घटनामा प्रत्यक्ष संम्लग्न देखिएका ५ जना प्रहरीलाई विभागीय कार्वाहीका लागि सिफारिस गरिएको गोदारले बताउनुभयो ।
प्रहरीले साउन २८ गते कारागार सुरक्षा इन्चार्ज असई लक्ष्मी चौधरीमाथि ५ दिन म्याद थप गरेर अनुसन्धान गरिरहेको थियो ।
असई चौधरीलाई भदौ १ गते पुन ५ दिन म्याद थप गरेको छ भने अन्य ११ जनालाई पहिलो म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।
घटनामा संम्लग्नलाई छानविन टोलीको प्रतिवेदनका आधारमा थप कारवाही प्रक्रिया अघि बढाइने प्रहरी डीएसपी गोदारले बताउनुभयो ।

घटनापछि गृहमन्त्रालयले कारागार विभागका निर्देशक कमलप्रसाद पाण्डेको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान टोली बनाएको थियो ।

पीडितले दिएको किटानी जाहेरीका आधारमा लक्ष्मी चौधरीसहित कारागार निमित्त प्रमुख राजेन्द्र घिमिरे विरुद्ध जिल्ला अदालत सङखुवासभाले गत साउन २८ गते पक्राउका लागि अनुमति दिएको थियो ।
प्रहरीले घटना लगत्तै कारागार सुरक्षमा खटिएको १० प्रहरी र चौकीदार सहित ९ कैदीलाई नियन्त्रणमा लिएको थियो ।
कारागार निमित्त प्रमुख घिमिरेलाई भने हालसम्म पक्राउ गरिएको छैन ।
कुटपिटबाट सङ्खुवासभा मादी नगरपालिका–५ का २० बर्षीय विनोद तोलांगी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको बुधबार बिहान मृत्यु भएको थियो ।
२५ जनाको क्षमता रहेको कारागारमा अहिले १ सय ३६ जना कैदीबन्दी छन् ।


भविन कार्की