कैदी मृत्यु घटनाः सात प्रहरी र आठ जना कैदी गरी १५ जनालाई थुनामा राख्न आदेश

जिल्ला कारागार खाँदवारीमा दुई जना कैदीको कुटपिटपछि हत्या घटनाका आरोपितमाथिको मुद्दामा जिल्ला अदालतमा थुनछेक बहस सकिएपछि सात जना प्रहरी र आठ जना कैदीलाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालतले आदेश दिएको छ ।

जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासमा ०८० भदौ २७ गतेको थुनछेक बहस सकिएपछि प्रहरी जतिलाई जिल्ला कारागार, धनकुटा र कैदी जतिलाई जिल्ला कारागार, तेह्थुम पठाउन आदेश भएको जिल्ला अदालतका श्रेस्तेदार रामचन्द्र केसीले बताउनु भयो ।

कैदी हत्या घटनामा मोरङको कटहरी गाउँपालिका-१ महेशपुर स्थायी घरभइ जिल्ला कारागार खाँदवारीमा कार्यरत असइ लक्ष्मी चौधरी, इलामको इलाम नगरपालिका-११ स्थायी घर भइ खाँदवारी कारागारमा सुरक्षा गार्डमा कार्यरत २४ वर्षीय सुमन गुरुङ, उदयपुरको त्रियुगा नगरपालिका-१४ बाङ्गे स्थायी घर भइ खाँदवारी कारागारमा सुरक्षा गार्डमा कार्यरत २४ वर्षीय दमनसिंह राई, खोटाङको खोटेहाङ्ग गाउँपालिका-८ कात्तिके स्थायी घर भइ खाँदवारी कारागारमा सुरक्षा गार्डमा कार्यरत प्रहरी हवल्दार राजकुमार श्रेष्ठ, खोटाङको जन्तेढुङ्गा गाउँपालिका-३ स्थायी घर भइ खाँदवारी कारागारमा सुरक्षा गार्डमा कार्यरत २३ वर्षीय प्रहरी जवान मनिष राई, सुनसरीको कोशी गाउँपालिका-५ श्रीपुर स्थायी घर भइ खाँदवारी कारागारमा सुरक्षा गार्डमा कार्यरत २४ वर्षीय प्रहरी जवान पवनकुमार महतो र उदयपुरको लिम्चुङबुङ्ग गाउँपालिका-४ बलाम्ता स्थायी घर भइ खाँदवारी कारागारमा सुरक्षा गार्डमा कार्यरत २३ वर्षीय नुशन राईलाई पुर्पक्षका लागि धनकुटा कारागार पठाइएको छ ।

खाँदवारी नगरपालिका-२ चेवा स्थायी घर भइ जिल्ला कारागारका बलात्कार कसुरमा कैद भुक्तान गरिरहेका २८ वर्षीय रामबहादुर कार्की भनिने राम कार्की, खाँदवारी नगरपालिका-९ गैरीगाउँ स्थायी घर भइ जिल्ला कारागारमा बलात्कार कसुरमा कैद भुक्तान गरिरहेका २६ वर्षीय अनिश शर्मा कट्टेल, भोजपुरको भोजपुर नगरपालिका-१० भैँसीपङ्खा स्थायी घर भई जिल्ला कारागारमा बलात्कार कसुरमा कैद भुक्तान गरिरहेका २८ वर्षीय सचिन्द्र भनिने सचिन राई, मकालु गाउँपालिका-५ सोलाखानी स्थायी घर भइ जिल्ला कारागारमा बलात्कार कसुरमा कैद भुक्तान गरिरहेका २३ वर्षीय विक्रम भनिने सुमन सारू मगर, चैनपुर नगरपालिका-३ स्थायी घर भइ जिल्ला कारागारमा डाँकाचोरी कसुरमा कैद भुक्तान गरिरहेका २९ वर्षीय टिकाराम भनिने टिकाराज चौहान, चिचिला गाउँपालिका-४ खारमेली स्थायी घर भइ जिल्ला कारागारमा कर्तव्य ज्यान कसुरमा कैद भुक्तान गरिरहेका ४० वर्षीय नवीनकुमार राई, खाँदवारी नगरपालिका-६ तल्लो पाङ्गठा स्थायी घर भइ जिल्ला कारागारमा बलात्कार कसुरमा कैद भुक्तान गरिरहेका ४१ वर्षीय इन्द्रध्वज घिमिरे र मादी नगरपालिका-५ वेतिनी स्थायी घर भइ जिल्ला कारागारमा बलात्कार कसुरमा कैद भुक्तान गरिरहेका २१ वर्षीय मीन तामाङ भनिने मीनबहादुर तामाङलाई पुर्पक्षका लागि तेह्थुम कारागार पठाइएको छ ।

दुई जना कैदीको हत्या घटनाका आरोपित १५ जनासँग ०८० भदौ २६ गते बयान सकिएपछि भदौ २७ गतेको थुनछेक बहस आरोपितहरुलाई पुर्पक्षमा पठाइएको अदालतका श्रेस्तेदार रामचन्द्र केसीले बताउनु भयो ।

दुई जना कैदीको हत्या घटनामा सात जना प्रहरी र आठ जना कैदीविरूद्ध जिल्ला सरकारी वकिलको कार्यालयमार्फत सरकारी वकिल सन्तोषप्रसाद भण्डारीले भदौ २२ गते जिल्ला अदालत, चैनपुरमा मुद्दा दर्ता गराउनु भएको थियो ।

मुलुकी अपराध संहिता, २०७४ को दफा १८६ बमोजिम क्षतिपूर्ति, अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ बमोजिम क्षतिपूर्ति मागसहित मुद्दा दर्ता गरिएको छ ।

मुलुकी अपराध संहिता, २०७४ को दफा ४१, दफा १७७ र दफा १८६ र अपराध पीडित संरक्षण ऐन, ७५ को क्षतिपूर्तिसम्बन्धी व्यवस्था आकर्षित हुने गरी मुद्दा दर्ता गरिएको जिल्ला सरकारी वकिल कार्यालयका वकिल सन्तोषप्रसाद भण्डारीले इन्सेक प्रतिनिधिसँग बताउनु भयो ।

कारागारबाट भाग्न खोजेको आरोपमा दुई जना कैदीलाई नियन्त्रणमा लिएर सुरूमा प्रहरीले कुटपिट गरेको र कारागार भित्र बुझाएपछि कैदीबन्दीले कुटपिट गरेर यातना दिएको सीसी क्यामेरा फुटेजमा देख्न सकिन्छ ।

सङ्खुवासभाको मादी नगरपालिका-५ का २० वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका-७ का २८ वर्षीय आकाश बलामीको सुरक्षाकर्मी र केही कैदीबन्दीको कुटपिटबाट मृत्यु जिल्ला कारागारमा ०८० साउन २४ गते मृत्यु भएको थियो ।


भविन कार्की