कैदीबन्दीलाई ढाका बुन्ने तान र न्यानो कपडा प्रदान

जिल्ला कारागार खोटाङका महिला तथा पुरुष कैदीबन्दीलाई ढाकाका कपडा बुन्ने तान प्रदान गरिएको छ ।

कारागारका महिला तथा पुरुष कैदीबन्दीले व्यवसायिक रूपमा प्रयोग गर्न पाउने गरी पाँच थान ढाका बुन्ने तान प्रदान गरिएको कारागार प्रशासनले जनाएको छ । सामाजिक कानुनी सहायता केन्द्र दिक्तेलले कारागार अनुगमनका लागि आएको बजेट सङ्ंकलन गरेर पुरुष कैदीबन्दीलाई तीन थान र महिला कैदीबन्दीलाई दुई थान तान हस्तान्तरण गरेको हो ।

मङ्सिर २० गते कारागारभित्र आयोजित कार्यक्रममा जिल्ला न्यायाधीश शान्तिप्रसाद अचार्यले कैदीबन्दीलाई ढाकाका कपडा बुन्ने नयाँ तान हस्तान्तरण गरेका हुन् ।

photo2016128khotang

विभिन्न मुद्दामा जेल जीवन बिताउने क्रममा कारागार पुगेका कैदीबन्दीलाई सीपमूलक बनाउनका लागि सघाउ पुर्‍याउन ढाकाका कपडा बुन्ने तान प्रदान गरिएको सामाजिक कानुनी सहायता केन्द्रका संयोजक चन्द्रबहादुर खड्काले बताए ।

कारागारभित्र अधिकांश कैदीबन्दीले ढाकाको टोपी र गलबन्दी बुन्ने पेशा अपनाउँदै आएका छन् ।

केही वर्षघि घरेलु तथा साना उद्योग विकास समितिले तालिम दिएपछि कैदीबन्दीले ढाकाका कपडा तयार पार्दै आएका छन् । जेलमा पुगेका कैदीबन्दीले अरुबाट तान बुन्न सिक्ने गरेका छन् । कारागारका अनुसार हाल ४० जना कैदीले ढाकाका कपडा बुन्दै आएका छन् ।

यसैबिच कारागारका आश्रति चार जना बालकलाई न्यानो कपडा प्रदान गरिएको छ । विभिन्न मुद्दामा जेल जीवन बिताउन पुगेका आमासँगै कारागारमा बसिरहेका ६ वर्षीय मौसम राई, ४ वर्षीय सुगम राई, २ वर्षीय रेशम राई र डेढ वर्षीय सञ्जय तामाङलाई एक/एक जोर कपडा प्रदान गरिएको हो ।

 


सुनिता मगर