केवलकार निर्माण विवाद : विरोधसँगै निर्माण जारी, खारेजी पक्ष आन्दोलनमा
पाथीभरा(मुकुम्लुङ) क्षेत्रमा उत्पन्न विवाद तत्काल वार्ताका माध्यमबाट समाधान नभएपछि केवलकार निर्माण पक्षले रूख कटान थालेको छ ।
समस्या समाधानका लागि वार्ताका लागि सरकार गम्भीर नभएको आरोप लगाउँदै नो केवलकार समूहले पुन आन्दोलनको सुरूआत गरेको छ ।
केवलकार निर्माण खारेजीको माग गर्दै आएको नो केवलकार समूहले वार्ताका लागि सरकार गम्भीर नभएको आरोप लगाउँदै पुन आन्दोलनको घोषणा गरेसँगै निर्माण कम्पनीले बाँकी रूख कटानको सुरूआत गरेको हो ।
केवलकार खारेजीको माग गर्दै आएको समूहले ०८१ माघ २८ गते पत्रकार सम्मेलन गरी समस्या समाधानका लागि सरकारले वार्तालाई प्राथमिकतामा नराखेको र वार्ताका लागि सरकार गम्भीर नभएको आरोप लगाउँदै पुन आन्दोलनका कार्यक्रम घोषणा गरेसँगै केवलकार निर्माण कम्पनीले माघ २९ गतेदेखि निर्माण क्षेत्रको बाँकी रूख काट्न थालेको छ ।
केवलकारको बटम स्टेशन माथिका रूखहरू माघ ३० गतेदेखि कटान थालिएको पाथीभरा मुकुम्लुङ दर्शन केबलकार कम्पनीले जनाएको छ । यसअघि ०८१ जेठ १ गते ८० प्रतिशत रूख कटान गरिएको थियो । माघ ३० गते १७ प्रतिशत रूख कटान सकिएको र अब बटम स्टेशन आसपासका केही रूख मात्रै काट्न बाँकी रहेको निर्माण कम्पनीले जनाएको छ ।
सरकारी प्रतिनिधि र नो केवलकार समूहद्वारा गठित समन्वय समितिको वार्ता भाँडिएपछि केवलकार निर्माण कम्पनीले पाथीभरा क्षेत्रको बाँकी रूख कटानको थालनी गरेको हो ।
डिभिजन वन कार्यालयले केवलकार निर्माण क्षेत्रका ठूला रूख २ हजार १ सय १४ ओटामा टाँचा लगाएको थियो । ठूला, साना, पोथ्रापोथ्री गरी ६ हजार रूख कटान हुने डिभिजन वन कार्यालयले जनाएको छ ।
आन्दोलनरत पक्षले भने केवलकार निर्माणका लागि ३० हजार बढी रूख कटान हुने भन्दै विरोध गरिरहेको छ ।
आन्दोलनरत समूहले ०८१ जेठमा रूख काटिएका ठाउँमा वृक्षारोपण समेत गरेको थियो भने पहिलो चरणको रुख कटानप्रति आपत्ति जनाउँदै ०८१ माघ १५ गतेदेखि बन्द हड्तालको कार्यक्रम गरेको थियो ।
वार्तामा सरकार गम्भीर नभएको आरोप
सरकारसँग ०८१ माघ २७ र २८ गते गरिएका वार्ता निश्कर्षमा नपुगेको र सरकारले समस्या समाधानका लागि वार्तालाई महत्व नदिएको आरोप आन्दोलनरत पक्षले लगाएको छ । पाथीभरा क्षेत्रको संरक्षणको माग गर्दै आएको मुक्कुमलुङ ताङ्सेःप चुम्भोका ११ ओटा संस्था र १० ओटा अन्तर्दलीय राजनीतिक पार्टीले संयुक्त रूपमा माघ २९ गतेदेखि सरकारविरुद्ध आन्दोलनको घोषणा गरेका छन् । कर्मचारीसँग नभइ मन्त्रीस्तरीय वार्तामा मात्र बस्ने अडान लिएको आएको आन्दोलनरत पक्षले पुन आन्दोलनको घोषणा गरेको हो । केवलकार निर्माणको विरोधमा ०८१ माघ १२ गते पाथीभरा क्षेत्रमा मुकुम्लुङ संरक्षण संयुक्त सङ्घर्ष समितिका कार्यकर्ता र प्रहरीबिच झडप भएको थियो । सो झडपमा प्रहरीको गोली प्रहारबाट दुई जना घाइते भएका थिए । प्रहरीसँगको झडपपछि आन्दोलन पक्षले जिल्ला बन्दसँगै ०८१ माघ १५ गतेदेखि अरूण पूर्वका नौ जिल्ला चौविसे घण्टे बन्द आवहन गरेपश्चात सरकारले गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराई संयोजक रहेको वार्ता समिति र आन्दोलनरत पक्षले सरस्वता सिंगक(सरू) रहेको वार्ता सहजीकरण समिति गठन गरेको थियो ।
११ ओटा संस्था र १० ओटा अन्तरदलीय राजनीतिक पार्टी आन्दोलनमा
मन्त्रीस्तरीय वार्ताको अडानसहित केवलकार निर्माण खारेजको माग गर्दै आएको समूहले ०८१ माघ २९ गतेदेखि आन्दोलन सुरु गरेको छ । ०८१ माघ २९ गतेदेखि फागुन ९ गतेसम्म ग्लोबल आइएमइ बैंकसहित आइएमइ समूहको बहिष्कार गर्ने, फागुन ६ गतेदेखि ८ गतेसम्म मुक्कुमलुङ बचाऔँ पदयात्रा गर्ने, केवलकारको अनुमति तथा सम्झौता खारेजीका लागि दबाब दिन फुङलिङ नगरपालिकाको कार्यालय घेराउ, केवलकार निर्माण सामग्री ढुवानी नगर्न आग्रह गर्ने, काठमाडौँ, इटहरी र विर्तामोडमा विरोध सभा गर्नेलगायत छन् । केवलकारको सम्झौता खारेजीका लागि कोशी प्रदेशका सबै जिल्ला प्रशासन कार्यालय मार्फत ज्ञापनपत्र बुझाउने, प्रदर्शन गर्ने पनि उनीहरूले तय गरेका छन । त्यसपछि अनिश्चितकालीन यातायात बन्द र आमहड्ताल गर्ने उल्लेख छ । विरोधको कार्यक्रम बमोजिम केवलकार खारेज समूहले जिल्लामा माघ ३० गते ग्लोवल आइएमइ बैङ्क घेराऊ गरेको छ ।
आन्दोलनमा को-को ?
केवलकार खारेजीको माग गर्दै मुक्कुम्लुङ संरक्षण संयुक्त सङ्घर्ष समितिका संयोजक श्रीप्रसाद लिम्बू, पाथीभरा केवलकार खारेजी संयुक्त सङ्घर्ष समिति संयोजक खगेन्द्र फेम्बो, किरात याक्थुङ चुम्लुङ, संघीय समिति, संयोजक प्रदेश न.१ पुन: नामाङ्कन संयुक्त सङ्घर्ष समिति, लिम्बू थरगत संस्था सहजीकरण समूह, संयोजक नन्द कन्दङवा, प्रदेश न.१ पुन: नामाङ्कन अभियान समिति अध्यक्ष, डेकेन्द्रसिंह थेगिम, आदीवासी जनजाति महासंघ अध्यक्ष, गेल्जे शेर्पा, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ, अध्यक्ष ङिमि शेर्पा, याक्थुङ् युवा मञ्च अध्यक्ष, राजेन्द्र इघिङ्गो, याक्थुङ चो सङजुम्भो संस्थापक सदस्य किरणकुमार सिगु, याक्थुङ मुन्चइत चोक सयङ अध्यक्ष, सागर केरुङ र लिम्बू विद्यार्थी मञ्च महासचिव, प्रदीप नेयोङ केवलकार खारेजीको आन्दोलनमा छन् ।
राजनीतिक पार्टी
केवलकार खारेजीको आन्दोलनमा १० ओटा अन्तर्दलीय राजनीतिक पार्टीले ऐक्यवद्धता जनाएका छन् । राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष, राजेन्द्र महतो, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष, कुमार लिङदेन, पहिचानवादी मोर्चाका संयोजक, प्राध्यापक, डाक्टर महेन्द्र लावती, जसपा सम्वद्ध किरात राष्ट्रिय समिति अध्यक्ष, रमेश राई, जसपा नेपाल लिम्बूवान राष्ट्रिय समितिका मुख्य सचिव सञ्जय राई, प्रदेश न.१ नागरिक उन्मुक्ति पार्टी प्रदेश अध्यक्ष धनबहादुर पन्धाक, नेपाल उन्मुक्ति पार्टी उपाध्यक्ष भक्त खेवाङ, मङ्गोल नेश्नल अर्गनाइजेशन अध्यक्ष नयन्द्र चाम्लिङ, किरात लिम्वूवान प्रदेश समिति, नेपाल कम्युनिष्ट पार्टी अध्यक्ष गजेन्द्र पालुङवा र लिम्वू विद्यार्थी मञ्च, महासचिव प्रदीप नेयोङ आन्दोलनमा छन् ।
काबुबाहिरको आन्दोलन, संयमतामा चुकेको प्रशासन
केवलकारको निर्माण सुरूआत भएसँगै मुकुम्लुङ संरक्षण संयुक्त सङ्घर्ष समितिले विरोध जनाउँदै आएको थियो । ०८१ माघ ८ गतेदेखि काफ्लेपाटी क्षेत्र निर्माण सुरू भएदेखि आन्दोलन पक्षले त्यसको विरोध गर्यो । माघ १२ गते अघि आन्दोलनरत पक्षले आफ्ना कार्यकर्तासहित फुङलिङ नगरपालिका-१० र ११ को बलुडाँडा क्षेत्रलाई आफ्नो आधारको रूपमा प्रयोग गरेको थियो । माघ १२ गते सशस्त्र प्रहरी र नेपाल प्रहरीले सुरक्षालाई कडाइका साथ लागू गरेर बाक्लो गरी गस्ती बढाएपछि आन्दोलनरत पक्षले त्यसको विरोध गर्यो । माघ १२ गते आन्दोलनरत पक्षबिच दुई पटक झडप भयो । दिउँसो भएको झडपमा प्रहरीले अश्रुग्यास प्रयोग गर्यो । साँझ ५ बजेपछि पुन आन्दोलनकारी र प्रहरीबिच झडप भयो । आन्दोलनरत पक्षले आफ्ना कार्यकर्तालाई काबुमा राख्न नसकेको अवस्थामा प्रहरीले उपयुक्त संयमता नअपनाएर गोली चलाउँदा दुई जना घाइते भए ।
घटनामा इन्सेकको अनुगमन
इन्सेक कोशी प्रदेश कार्यालय र इन्सेक ताप्लेजुङ प्रतिनिधिले पाथीभरा क्षेत्रमा केवलकार निर्माणको शिलान्यासदेखि अनुगमन गरिरहेको अवस्थामा माघ १२ गते प्रहरीले आन्दोलनकारीलाई गोली चलाएपछि इन्सेकले ०८१ माघ २१, २२ र २३ गते घटनाको स्थलगत अनुगमन गर्यो । इन्सेकले केवलकार निर्माण क्षेत्र, माथिल्लो स्टेशन निर्माण क्षेत्रको भौगोलिक अवस्था र मन्दिरको दूरी, आन्दोलनमा सम्वद्ध पक्ष, घाइते, प्रत्यक्षदर्शी, स्थानीय, प्रहरी, प्रशासन र जिल्लाका पत्रकारसँग घटनाका विषयमा जानकारी लियो । घटनास्थलदेखिमा तत्काल भेटिएका प्रमाणसहित अनुगमनका क्रममा पाएको विवरण र तथ्याङ्कका आधारमा इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरले माघ २६ गते विज्ञप्ति जारी गर्दै वार्ताबाट समस्या समाधान गर्न आन्दोलनरत पक्ष र सरकारसँग माग गर्यो ।
अराजक कार्यकर्ता
पाथीभरा(मुकुम्लुङ) संरक्षणका लागि आन्दोलनरत पक्षका कार्यकर्तालाई प्रहरीले ०८१ माघ १२ गते गोली चलाएपछि विवाद उत्कर्षमा पुग्यो । केवलकार खारेजीको मुख्य मागसहित केवलकार निर्माणका लगानी गर्ने व्यापारी चन्द्र ढकालविरूद्ध आन्दोलनरत पक्षले भित्ते लेखनसहितका आन्दोलन चलायो । प्रहरीले माघ १२ गते बुलुडाडाँ क्षेत्रबाट गिरफ्तार गरेका दुई जना र फुङलिङ नगरपालिकाबाट माघ १५ गते गिरफ्तार गरेको एक जनासहित तीन जनाको विनाशर्त रिहाइको माग गर्दै माघ १३ र १४ गते मेची राजमार्ग बन्दको आह्वान गर्यो । विहान ५ बजेदेखि साँझ ५ बजेसम्म हुने बन्द विपरित आन्दोलनरत पक्षले चौविस घण्टे बन्द माघ १५ गतेदेखि अरूण पूर्वका नौ जिल्लामा फैलाएपछि जनजीवन कष्टकर बन्यो । बन्दका क्रममा आन्दोलनरत पक्षले पत्रकारको मोटरसाइकल रोक्नेदेखि चाँबीसमेत थुत्ने कार्य गरे । बन्दका क्रममा अत्यावश्यक वस्तु तथा सेवालाई निर्वाध सञ्चालन गर्न दिनुपर्ने मान्यता विपरित जिल्लाभन्दा बाहिरबाट आएका कार्यकर्ताले हप्काउने, धम्क्याउने लगायतका क्रियाकलाप गरेको इन्सेक अनुगमनका क्रममा पाइयो ।
सिडिओलाई श्रद्दाञ्जली
केवलकार खारेजीको मुख्य मागसहित आन्दोलनरत नो केवलकार समूहका कार्यकर्ताले ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माविरूद्ध सामाजिक सञ्जालमा नकारात्मक टिप्पणीसहित श्रद्दाञ्जलीजस्ता पोष्ट गरे । बन्दको अवज्ञा गर्ने सवारीसाधनमा सिधैँ आगो लगाउने जस्ता पोष्ट आन्दोलनकारीले गरे ।
केवलकार बन्नुहुँदैन- आन्दोलनरत पक्ष
मुकुम्लुङ संरक्षण संयुक्त सङ्घर्ष समितिका संयोजक श्री लिङखिम लिम्बूले इन्सेककर्मीको अनुगमन टोली समक्ष प्रहरी प्रशासनले ज्यादती र मानव अधिकारविपरित हुने गरी गतिविधि गरेको आरोप लगाउनु भयो । शान्तिपूर्ण आन्दोलनको तयारी गरिरहेको अवस्थामा प्रहरीले बलुडाँडा क्षेत्रमा पटकपटक ड्रोन उडाउने र मुकुक्लुङ संरक्षणका लागि गाउँबाट आएका सोझासिधालाई हप्कीदप्की गर्दै कुटपिट गरेको आरोप लगाउनु भयो । इन्सेककर्मीको अनुगमन टोली समक्षले संयोजक लिम्वूले प्रहरी प्रशासनले अनावश्यक बल प्रयोग गरेका कारण माघ १२ गतेको घटना भएको दावी गर्नुभयो । कान्छीथानबाट धागो टाङ्ने(मुन्धुमी) विधि भएर पुजाआजा गरिने मुकुम्लुङ क्षेत्रमा धार्मिक पर्यटनका नाममा आदीवासीको जनजातिको आस्थामाथि प्रहार भएको किराँत याक्थुङ चुम्लुङका अध्यक्ष, प्रेम एक्तेनले इन्सेकको अनुगमन टोली समक्ष बताउनु भयो । धार्मिक पर्यटनका नाममा जीवनको निरन्तरतासँग जोडिएको क्षेत्रलाई प्रदूषित बनाउने कोसिश भएकाले केवलकार खारेजीका माग गरिएको अध्यक्ष एक्तेनले बताउनु भयो । केवलकार खारेजी संयुक्त सङ्घर्ष समिति संयोजक, खगेन्द्र फेम्बोले इन्सेक अनुगमन टोली समक्ष धार्मिक, सांस्कृतिक सम्पदाको क्षय हुने भएकाले पाथीभरा क्षेत्रमा केवलकार निर्माण गर्न नदिने बताउनु भयो । विकासका नाममा रेडपाण्डाको बसोवास भएको क्षेत्रमा जथाभावी गर्न नदिन केवलकार निर्माणको खारेजी माग गरिएको अध्यक्ष फेम्बोले बताउनु भयो ।
केवलकार बन्छ- फुङलिङका मेयर
वार्ता र सम्वादमार्फत समस्याको समाधान गरी केवलकार निर्माण गर्नुपर्नेमा फुङलिङ नगरपालिकाका मेयर आमिर मादेनले जोड दिनु भएको छ । फुङलिङ नगरपालिका सहितका उपस्थित सरोकारवालाले वार्ता र सम्वादबाट समस्याको समाधान गरी केवलकार निर्माण प्रक्रिया अघि बढाउन माघ २८ गते पत्रकार सम्मेलन गरी मेयर मादेनले आग्रह गर्नु भएको छ । पाथीभरा केवलकार निर्माणका विषयमा फुङलिङ नगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा मेयर मादेनले पाथीभरा क्षेत्रमा केवलकार निर्माण नभए ताप्लेजुङको विकास नै छोपिने बताउनु भयो । पत्रकार सम्मेलनमा मेयर मादेनले भन्नुभयो ‘ म नो केवलकार’भनिरहेका साथीहरूलाई आग्रह गर्छु, ताप्लेजुङको विकासप्रति तपाईहरू पनि चिन्तित भइदिनुहोस् ।’ पत्रकार सम्मेलनमा मेयर मादेनले भन्नुभयो- पाथीभरा(मुक्कुमलुङ)दर्शन केवलकार प्रालिका अध्यक्ष चन्द्र ढकालसहित स्वदेशी लगानीकर्तालाई प्रोत्साहित गरेर विकास निर्माणको जग बलियो बनाउनुपर्नेमा दलाल र माफिया भनेर हतोत्साहित गर्नु राम्रो विषय होइन, मेयर मादेनले पत्रकार सम्मेलनमा भन्नुभयो । विकास निर्माणमा अवरोध भइरहने हो भने व्यवसायीहरु पलायन हुने, आर्थिक विकासले गति नलिने,समृद्ध समाज निर्माणको अभियानमा क्षय हुने भएकोले केवलकार निर्माणले स्थानीय रूपमै रोजगारी सिर्जना र अर्थतन्त्र बलियो बनाउन मद्दत पुग्छ, त्यसैले केवलकार बन्नुपर्छ । पत्रकार सम्मेलनमा फुङलिङ नगरपालिका-२ का वडाध्यक्ष मोहन न्यौपाने, ३ का वडाध्यक्ष टङ्क पालुङ्वा, ४ का वडाध्यक्ष दुर्गाप्रसाद पालुङ्वा, ६ का वडाध्यक्ष मदन गुरुङ(तेज), ७ का वडाध्यक्ष योगेन्द्रप्रसाद निरौला, ९ का वडाध्यक्ष लक्षुमन गुरुङ, ११ का वडाध्यक्ष युवराज भट्टराईले लडाइ र झगडा विना नै केवलकार निर्माण हुनुपर्ने बताउनु भयो । प्रकृति र संस्कृतिको संरक्षण र जर्गेना गर्दै केवलकार निर्माण हुनुपर्ने पक्षमा आफूहरूको मत रहेको वडाध्यक्षहरूको भनाइ छ ।
सरकारले अन्याय गर्यो
नो केवलकार पक्षले भने आफूहरूमाथि सरकारले अन्याय गरेको आरोप लगाएको छ । केवलकार खारेजी संयुक्त सङ्घर्ष समितिका संयोजक खगेन्द्र फेम्बोले भन्नुभयो,“ उता वार्ता भन्दै यता धमाधम रूख कटान गर्ने । सरकारले हामीमाथि अन्याय गर्यो । सरकारका यस्ता कदमले सरकारले अप्रिय घटना चाहेको खोजेको देखिन्छ ।”
मुठभेट हुन दिन्नौँ
ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा पौडेलले अवस्थालाई मध्यनजर गरी मुठभेट नहोस भन्ने उद्देश्यले जिल्लामा सुरक्षा व्यवस्था मिलाइएको बताउनु भयो । उहाँले भन्नुभयो,“ न हामी रूख काट्न पठाऔँछौँ न रूख काट्न रोक्न पठाऔँछौँ । केवलकार निर्माण पक्षले निर्माण क्षेत्रको बाँकी रूख कटान गर्न सुरु गर्ने जानकारी हामीलाई प्राप्त भयो । र त्यहाँ हुन सक्ने मुठभेटको अवस्थालाई मध्यनजर गरी सर्तक भएर सुरक्षाकर्मीहरूलाई परिचालन गर्यौँ । निर्माण पक्षले रूख काट्यो यसमा नो केवलकार पक्षको असन्तुष्टि त रह्यो नै । हामीले दुई पक्षबिच कुनै पनि द्वन्द्व नहोस भन्ने उद्देश्यले सर्तकता अपनाएका हौँ ।”
बैङ्किक सेवा प्रभावित
बैङ्किक सेवा सर्वसाधारणले सहज ढङ्गमा पाउनु मानव अधिकार भएपनि केवलकार निर्माण विवादका कारण आफ्ना सेवाग्राही सेवाबाट वञ्चित हुुनु परेको फुङलिङ नगरपालिका रहेको ग्लोवल आइएमई बैङ्कले जनाएको छ । केवलकार निर्माण खारेजीको माग गर्दै माघ २९ गतेदेखि आन्दोलनरत पक्षले बैङ्क अघि धर्ना दिएका कारण सेवा प्रवाह प्रभावित भएको छ ।
गिरफ्तारीमा परेका तीन जना रिहा
पाथीभरा(मुकुम्लुङं) क्षेत्रमा केवलकार निर्माणको विषयलाई लिएर आन्दोलनरत पक्षसँग नेपाल सरकारले माघ २२ गते गरेको सहमतिका आधारमा प्रहरीले तीन जनालाई रिहा गरेको छ । पहिचानवादी मोर्चाका ताप्लेजुङ जिल्ला संयोजक तेहृथुमका प्रदीप मादेन, ताप्लेजुङ सिदिङ्वा गाउँपालिका-५ का लक्ष्मण लिम्बू र तेहृथुम म्याङलुङका चन्द्रसागर लिम्बूलाई प्रहरीले माघ २३ गते रिहा गरेको हो । पहिचानवादी मोर्चाका ताप्लेजुङ जिल्ला संयोजक समेत रहेका मादेनले ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मालाई अश्लिल शब्द प्रयोग गरी ज्यान मार्ने धम्की दिएको आरोपमा प्रहरीले माघ १५ गते सदरमुकामबाट गिरफ्तार गरेको थियो । लक्ष्मण लिम्बू र चन्द्रसागर लिम्बूलाई प्रहरीले ०८१ माघ १२ गते प्रहरीलाई ढुङ्गा प्रहार गरेको आरोपमा बलुडाडाँ क्षेत्रबाट गिरफ्तार गरेको थियो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विवेक वस्नेतले तीनै जनालाई जिल्ला अदालतमा उपस्थित गराई धरौटीमा रिहा गरेको बताउनु भयो । आन्दोलनरत पक्षले सरकारसँग वार्ता सहजीकरण टोली गठन गरेको र सो टोलीसँग गृह मन्त्रालयले माघ २२ गते गरेको सहमतिका आधारमा तीनै जनालाई अदालतमा हाजिर गराइ रिहा गरिएको बस्नेतले बताउनु भयो । जिल्ला अदालतमा माघ २३ गते प्रदीप मादेनले १० हजार रुपियाँ र लक्ष्मण र चन्द्रसागर लिम्बूले जनही ५ हजार रुपियाँ धरौटी बुझाएर रिहा भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विवेक बस्नेतले बताउनु भयो ।
वार्ताबाट समस्या समाधान गर्न इन्सेकको आग्रह
ताप्लेजुङको पाथीभरा क्षेत्रमा केवलकार निर्माणको विरोधमा भइरहेको आन्दोलनलाई सार्थक वार्ताबाट समाधान गर्न इन्सेकले विज्ञप्तिमार्फत आग्रह गरेको छ । इन्सेक कोशी प्रदेश कार्यालयले पाथीभरा क्षेत्रमा निर्माण हुने केवलकारका विषयमा विकसित घटना क्रम तथा माघ १२ गते गोली प्रहारलगायतका विषयमा स्थलगत अनुगमन र अध्ययन गरी सार्थक वार्ताबाट समस्या समाधानका लागि दुवै पक्षलाई विज्ञप्तिमार्फत माघ २६ गते आग्रह गरेको हो । विज्ञप्तिमा ताप्लेजुङ जिल्लाको पाथीभरा ९मुकुम्लुङ० क्षेत्रमा केवलकार निर्माणको विषयमा उत्पन्न विवादमा सरकार र आन्दोलनरत पक्षबिच माघ २२ गते भएको ६ बुँदे सहमतिको इन्सेकले स्वागत गरेको छ । आन्दोलनरत पक्ष र नेपाल सरकारकाबिच माघ २७ गते हुन लागेको वार्ता सार्थक र समाधान उन्मुख हुने इन्सेकको अपेक्षा रहेकोमा वार्ताको पूर्व सन्ध्यामा आन्दोलनरत पक्षको मन्त्रीस्तरीय वार्ताको मागले स्थिती अन्यौलग्रस्त बन्ने अवस्था रहेको इन्सेकले जनाएको छ । सबै खाले असहमतिहरू सम्वादकै माध्यमबाट समाधान हुने भएकोले वार्ताका लागि लचिलो बन्न हामी दुबै पक्षसँग अनुरोध गछौँ, इन्सेकको विज्ञप्तिमा उल्लेख छ । प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा क्षेत्रमा केवलकार खारेजी समूह र सुरक्षाकर्मीबिच उत्पन्न विवाद र विकसित घटनाक्रमको इन्सेक, कोशी प्रदेश कार्यालय, विराटनगरले ०८१ माघ २१ देखि तीन दिनसम्म स्थलगत अध्ययन र अनुगमन गरेको इन्सेकले जनाएको छ । केवलकार निर्माण खारेजीको माग गर्दै आएको समूह र सुरक्षाकर्मीबिच ०८१ माघ १२ गते फुङलिङ नगरपालिका(१० र ११ बलुडाँडा क्षेत्रमा भएको झडप र गोली प्रहार घटनाका घाइते, सम्वद्ध पक्ष, स्थानीय, प्रत्यक्षदर्शी, राज्यका निकाय, पत्रकारलगायत सरोकारवाला पक्षसँग भेट गरी घटनाका विषयमा इन्सेकले विवरण र तथ्याङ्क सङ्कलन गरेको जारी विज्ञप्तिमा उल्लेख छ । बलुडाँडा क्षेत्रमा माघ १२ गते आन्दोलनरत पक्षले प्रदर्शनलाई काबुमा राख्न नसक्दा र राज्यका निकायले उपयुक्त संयमता नअपनाउँदा हिंसात्मक घटना भएको स्थलगत अनुगमनका क्रममा देखिएको विज्ञप्तिमा उल्लेख छ । घटनामा सुरक्षाकर्मीको गोली प्रहारबाट घाइते दुई जनासहित अश्रुग्याँस, लाठी प्रहारबाट घाइते पाँच जना प्रदर्शनकारीहरू तथा आन्दोलनरत पक्षको ढुङ्गा प्रहारबाट घाइते नेपाल प्रहरीका १२ जना र सशस्त्र प्रहरीका नौ जना सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्य लाभको कामना इन्सेकले विज्ञप्तिमार्फत गरेको छ । आदिवासी जनजातिको बसोबास रहेको क्षेत्रमा विकास निर्माणको कार्य गर्दा सो समुदायबाट अग्रीम जानकारीसहितको स्वतन्त्र, सुसूचित सहमति लिनुपर्ने भन्ने आदिवासी जनजातिको अधिकारसम्बन्धी आइएलओ महासन्धि, १६९ तथा संयुक्त राष्ट्रसङ्घीय आदिवासी जनजातिको अधिकारसम्बन्धी घोषणापत्र २००७ मा व्यवस्था छ । पाथीभरा क्षेत्रमा उत्पन्न विवादमा “विकासको अधिकारसँगै नागरिकको आर्थिक, सामाजिक तथा सांस्कृतिक र वातावरणीय अधिकारको संरक्षण र सम्वद्र्धन गर्नु राज्यको पहिलो जिम्मेवारी र दायित्व हो भन्ने हाम्रो बुझाइ छ ।” जारी विज्ञप्तिमा उल्लेख छ । आन्दोलनरत पक्षले आफ्ना माग पुरा गराउन एक साता लामो ९चौबिस घण्टे० बन्द गरेका कारण सर्वसाधारणको स्वतन्त्र रूपमा बाँच्न पाउने अधिकार कुण्ठित भएको इन्सेकले जनाएको छ । राज्यसँग भएका सहमति बमोजिम घटनामा घाइते भएकाहरूको उपचार तथा रिहाइ समस्या समाधानको प्रयास मान्न सकिने आधार भएको इन्सेकले जनाएको छ । आगामी दिनमा उत्पन्न हुनसक्ने परिस्थितीलाई गम्भीरतापूर्वक लिइ राज्यले समुदायसँग सरोकार राख्ने निर्णयहरूमा सहभागी गराएर समस्या सम्बोधन गर्न नितान्त आवश्यक छ, विज्ञपितमा भनिएको छ । विकास र मानव अधिकार आधारभूत विषय भएकाले विकास निर्माणका क्रममा आएको असहमतिलाई पहिचान गरी सार्थक सम्वाद र छलफलबाट विवाद टुङ्ग्याउन एवम् अधिकारमा आधारित विकास प्रक्रियालाई दिगो बनाउन नेपाल सरकारसँग इन्सेक विज्ञप्तिमार्फत माग गरेको छ । आन्दोलनरत पक्षले शान्तिपूर्ण ढङ्गमा आफ्ना माग राख्न पाउने भएकाले द्वन्द्व, घृणा र सामाजिक सद्भावविरूद्धका कार्य नगर्न इन्सेक आन्दोलनरत पक्षसँग आग्रह गरिएको इन्सेक कोशी प्रदेशका संयोजक मनोहरकुमार पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
तस्विरमा इन्सेक अनुगमन
एलिना दियाली
सम्बन्धित समाचारहरू
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदातलले म्याङलुङ नगरपालिका-१० का १९ वर्षीय भिमबहादुर विश्वकर्मालाई १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश भीमबहादुर निरौलाको ०८१ चैत…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा १५ वर्षीय बालकलाई ०८१ चैत १२ गते प्रहरीले गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई चैत १० गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितकी आमाले…
खानेपानीको समस्या झेल्दै बेलस्वाराका स्थानीय
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिका–१६ मा पर्ने बेलस्वाराका स्थानीयले खानेपानीको समस्या झेल्दै आएका छन् । गाउँ नजिक रहेको धरादी खोलाबाट पानी ल्याइएको भए पनि पर्याप्त नहुँदा समस्या झेल्दै आएको…
बलात्कार घटनाका आराेपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बेथानचोक गाउँपालिका–४ गुम्बुडाँडाका २५ वर्षी विवेक नेपालीलाई ०८१ चैत ११ गते प्रहरीले गिरफ्तार गरेको छ पीडित बालिकालाई आराेपितले चैत १० गते राती बलात्कार गरेकाे भन्दै…
शान्ति प्रकृयाका बाँकी काम पूरा गर्न सरकार प्रतिबद्ध छ: गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले शान्ति प्रकृयाका बाँकी काम पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ । इन्सेक कार्यकारी निर्देशक विजयराज गौतमसहितको इन्सेकको टोलीसँग कुरा गर्दै मन्त्री लेखकले सो कुरा बताउनु…