केवलकार निर्माण विवाद : प्रहरीको गोली प्रहारबाट एक जना घाइते, आन्दोलनकारीको आक्रमणमा तीन जना प्रहरी घाइते

  ०८१ माघ १२ गते

पाथीभरा (मुकुम्लुङ) क्षेत्रमा केवलकार निर्माण विवादका क्रममा प्रहरीको गोली प्रहारबाट एक जना र आन्दोलनकारीको आक्रमणमा तीन जना प्रहरी घाइते भएका छन् ।

केलवकार निर्माण गर्न नदिने पक्षले ०८१ माघ १२ गते आक्रमण गर्दा नेपाल प्रहरी जवानका अनुज वि.क, सशस्त्र प्रहरीका असइ समदेव यादव र सशस्त्र प्रहरीका जवान सञ्जीव बस्नेत घाइते हुनु भएको छ ।

प्रहरीको गोली प्रहारबाट केवलकार निर्माण खारेजको माग गर्दै आएका विशाल श्रेङ घाइते हुनु भएको केवलकार खारेजी पक्षका श्री लिङखिमले बताउनु भयो ।

प्रहरी जवान विकको गोडामा चोट, यादवको टाउकोमा र बस्नेतको कानमा चोट लागेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रवि रावलले बताउनु भयो ।

घाइते सबैको माघ १२ गते जिल्ला अस्पतालमा उपचार गरिएको छ ।

फुङलिङ नगरपालिका ११ बल्लुडाँडामा रहेका केही घरमा पहिचानवादीहरुले घरेलु हतियार लुकाएको सूचना प्राप्त भएको र सो बुझ्न जाने प्रहरीको टोलीमाथि ढुङ्गामुढा प्रहार भएको डिएसपी रावलले बताउनु भयो ।

केबलकार निर्माण खारेज माग गर्दै आएकाहरुले आक्रमण गर्दा तीन जना प्रहरी घाइते भएको डिएसपी रावलले बताउनु भयो ।

प्रहरीलाई आक्रमण भएपछि नेपाल प्रहरीले पाँच सेल र  सशस्त्र प्रहरीले पाँचसेल अश्रुग्यास प्रहार गरेको छ ।

केवलकार निर्माणको सुरक्षार्थ खटिने सशस्त्र प्रहरीको लागि काफ्लेपाटीमा ०८१ माघ ८ गतेदेखि सुरक्षा बेस निर्माण कार्य सुरुआत भएको छ । त्यस पश्चात माघ १० गते किराँत याक्थुङ चुम्लुङ, आदीवासी जनजाती महासंघ, प्रदेश नं. १ पुन नामाङ्कन अभियान समिति, किराँत राई यायोक्खा,  नेपाल शेर्पा संघ, पहिचानवादी मोर्चा, नेपाल जनमुक्ति पार्टी, संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्च, जसपा नेपाल प्रदेश नं. १, जसपा किराँत राष्ट्रिय समिति, राष्ट्रिय आदीवासी महिला संघ र नागरिक उन्मुक्ति पार्टीले संयुक्त विज्ञप्ती निकाल्दै मुन्धुमी स्थलमा केवलकार निर्माण तत्काल खारेज गरी सैन्यकरण बन्द गर्न आग्रह गरेको छ ।

केवलकार निर्माण खारेज र सैन्यकरण बन्द नगरे आमहड्तालसहितका संघर्षका कार्यक्रम गर्ने र उक्त  आन्दोलनको सम्पूर्ण क्षतिको जिम्मा केवलकार निर्माण पक्ष र सरकारले लिनुपर्ने आन्दोलनरत पक्षले जनाएको छ ।


एलिना दियाली