कुटपिट घटनामा संलग्न वडा अध्यक्षलाई कारबाही नभएको पीडितको गुनासो

  ०७७ चैत १७ गते

चाँगुनारायण नगरपालिका–५ का ३२ वर्षीय लक्ष्मण खिचाजुले आफूलाई कुटपिट गर्ने सोही वडाका अध्यक्ष जयन्द्र खड्का सहित विश्व खड्का र प्रकाश लामिछानेलाई प्रहरीले कारबाही नगरेको गुनासो गरेका छन् ।

वडा अध्यक्ष खड्का सहितले चैत १४ गते आफूलाई कुटपिट गरेको भन्दै पीडितले सोही दिन महानगरीय प्रहरी परिसर भक्तपुरमा किटानी उजुरी दिएका थिए ।

कुटपिटबाट टाउँको, घाँटी र शरीरका अन्य भागमा चोट लागेर सख्त घाइते भएका खिचाजुको दुईदिन भक्तपुर अस्पतालमा उपचार भएको थियो । त्यस पछि खिचाजुको भक्तपुर अन्तराष्ट्रिय अस्पताल कौशल्टारमा थप उपचार भइरहेको छ ।

वडा अध्यक्ष खड्का लगायतले खिचाजुलाई आफ्नै घर अगाडि पसलमा पार्किङ्मा राखेको गाडी नहटाएको भन्दै कुटपिट गरेको घाइतेका दाजु राजु खिचाजुले बताउनुभयो ।

प्रहरी परिसरका डिएसपी दीपक गिरीले किटानी उजुरी आए पनि कुटपिटमा संलग्न रहेका भनिएकाहरू फरार रहेकाले खोजी गरिरहेको बताउनुभयो । उहाँले वडाध्यक्ष खड्कासहित तीन जनाको नाममा उजुरी आएको तर पक्राउ गर्न जाँदा उनीहरू फरार रहेकाले खोजी कार्य भने भइरहेको बताउनुभयो ।

पीडितले परिवारले भने वडाध्यक्षसहित सबै घर मै भए पनि प्रहरीले राजनीतिक आड र दबाबले कारबाही नगरेको र पीडितलाई थप पीडा दिएको गुनासो गरेका छन् ।


रमेश गिरी