कुटपिट घटनाका आरोपित शिक्षक गिरफतार 

इटहरी उपमहानगरपालिका-१६ की १४ वर्षीया बालिका अंशल बुढाथोकीलाई कुटपिट गरेको आरोपमा प्रहरीले ३७ वर्षीय शिक्षक पूर्णप्रसाद पोखरेललाई गिरफ्तार गरेको छ।

गृहकार्य नगरेको आरोपमा शिक्षकले ०८१ जेठ १६ गते कुटपिट गरेको पीडित पक्षको आरोप छ ।

पीडित पक्षले आरोपितविरुद्ध जेठ १७ गते इलाका प्रहरी कार्यालय, इटहरीमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको डिएसपी टेकबहादुर कार्कीले बताउनु भयो।

इटहरी उपमहानगरपालिका-१६ मा रहेको शिक्षादीप बोर्डिङ स्कुलमा कक्षामा ९ अध्ययनरत बालिकालाई शिक्षकले कुटपिट गरेको पीडितका ठूलो बुवा राजन बुढाथोकीले बताउनु भयोे।

पीडित बालिकाको विराटनगरस्थित विराट टिचिङ अस्पतालमा उपचार भइरहेको छ।

प्लाष्टिकको पाइपले कुटपिट गरेका कारण बालिकाको हात र शरीरका विभिन्न अंगमा चोट लागेको छ ।

विद्यालयका प्रिन्सिपल सहदेव काफ्लेले घटनामा संलग्न शिक्षकलाई निलम्बन गरिएको बताउनु भयोे ।

नेपालको संविधानले धारा ३८ मा बालबालिकाको हकलाई मौलिक हकका रूपमा व्यवस्था गरेको छ ।

सोही धाराको उपधारा ७ मा कुनै पनि बालबालिकालाई घर, विद्यालय वा अन्य जुनसुकै स्थान र अवस्थामा शारिरीक, मानसिक वा अन्य कुनै किसिमको यातना दिन पाइने छैन भनि उल्लेख गरिएको छ ।

मानव अधिकार रक्षकसम्वन्धी घोषणा पत्र सन् १९९८ ले शिक्षकलाई मानव अधिकार रक्षकका रूपमा परिभाषित गरेको छ।


जयकृष्ण यादव