कुटपिट घटनाका आरोपित शिक्षकविरूद्ध उजुरी

  ०८० मङ्सिर २० गते

सरावल गाउँपालिका–७ बर्गदवास्थित बर्दघाट कालिका इङ्गलिस स्कुलमा अध्ययनरत नौ वर्षीया बालिकालाई विद्यालय नआएको भन्दै मङ्सिर १८ गते घरै पुगेर कुटपिट गरेको आरोपमा विद्यालयका शिक्षक निरञ्जन यादवविरूद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा मङ्सिर २० गते उजुरी दिएको छ ।

कक्षा एकमा अध्ययनरत पीडित बालिकालाई विद्यालयका सहायक प्रधानध्यापकसमेत रहेका यादवले घरै पुगेर दुई थप्पड पिटेर विद्यालयमा ल्याएर लौरोले पिठ्युँमा निर्घात कुटपिट गरेको पीडित बालिकाका अभिभावकले आरोप लगाए ।

कुटपिटबाट पीडित बालिकाको शरीरमा निलडाम बसेको बताउँदै पीडित पक्षले विद्यालयमा तालाबन्दी गरेको सरावल गाउँपालिका–७ का वडाध्यक्ष हायात खाँ धुनियाले जानकारी दिनुभयो ।

शिक्षक यादवले पीडित छात्रालाई छतमा लगेर कुटपिट गरेको र कुटपिटपछि बालिका तल्लो तलामा झर्न समेत नसकेपछि साथीहरूको सहयोगमा तल्लो तलामा आएकी थिइन् ।

पीडित बालिकाको तर्फबाट जिल्ला प्रहरी कार्यालय, परासीमा कुटपिटको उजुरी दर्ता भएको र अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका एसपी काजीकुमार आचार्यले बताउनु भयो ।


नारायण पराजुली