कुटपिट घटनाका आरोपित विरूद्ध प्रशासनमा उजुरी

   ०७६ माघ २१ गते

सुनकोसी गाउँपालिका – ३ स्थित कालिका माध्यमिक विद्यालय सिस्नेरीका शिक्षक ४० वर्षीय मिनकुमार घिमिरेले आफूलाई बाटो छेकेर कुटपिट गरेको भन्दै सोही गाउँपालिका –१ का वडाध्यक्ष ५२ वर्षीय दीपहरि राई र निजका छोरा २५ वर्षीय देबेन्द्र राई विरूद्ध जिल्ला प्रशासन कार्यालय ओेखलढुङ्गमा उजुरी गर्नुभएको छ ।

उजुरीमा ०७६ माघ १३ गते गाउँबाट घरजाँदै गर्दा बाटो छेकेर हातपात गरी मोटरसाइकलको चाबी खोसेर कुटपिट गरेको उल्लेख छ ।
जिल्ला प्रशासन कार्यालयमा माघ २० गते दिएको उजुरी कार्यालयले माघ २१ गते जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गालाई कारवाहीका लागि लेखी पठाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी तुलसी भट्टराईले उजुरी प्रहरीलाई अनुुसन्धान गर्न पठाएको जानकारी दिनुभयो । शिक्षक घिमिरेको उजुरीबारे जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका इन्स्पेक्टर मिलन वस्नेतले उजुरी आएकाले दुवै पक्षलाई झिकाएर छलफल गराउने सहमति नभए मुद्दा दर्ता हुने बताउनुभयो ।

पीडित घिमिरेले न्यायका लागि पहल गरिदिन इन्सेक प्रतिनिधि समक्ष निवेदन दिनुभएको छ । उहाँले जनप्रतिनिधिबाटै कुटपीट भएकाले न्यायका लागि सहयोग गरिन माघ २१ गते आग्रह गर्दै निवदेन दिनुभएको हो । स्थानीय स्तरमै समस्या समाधान गर्न आफूले पर्खे पनि पीडक पक्षले चासो नदिई सम्पर्कमा नआएपछि ढिला गरी उजुरी गरेको पीडितको भनाइ छ ।

घटनाबारे बुझ्न सम्पर्क गर्न खोज्दा आरोपितद्वयको फोनको भने स्वीचअफ छ । घटनाबारे स्थानीयले भने चुनावमा राति भोट माग्ने क्रममा जम्काभेट हुँदा विवाद भएको जनाएका छन् ।

स्थानीय नवराज खड्काका अनुसार विद्यालय व्यवस्थापन समितिको अध्यक्षको निर्वाचनमा शिक्षक भोट माग्न हिडेको अवस्थामा भेट हुँदा वडाध्यक्षसँग सामान्य विवाद भएको बताउनुभयो । प्रहरीले घटना अनुसन्धान भइरहेको जनाएको छ ।


शिवप्रसाद ढुङ्गाना