कुटपिट घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

प्रतातपुर गाउँपालिका-१, सेमरीका कक्षा ६ मा अध्ययनरत ६ वर्षीय बालकलाई कुटपिट गरेको आरोपमा प्रतातपुर गाउँपालिका-१ की सञ्जु चौधरी विरुद्ध उजुरी दर्ता भएको छ ।

प्रतापपुर गाउँपालिका-१ स्थित एच पाठशाला युकेजीमा अध्ययनरत ६ वर्षीय बालकलाई शिक्षिका सञ्जु चौधरीले पिट्दा आँखामा गम्भीर चोट लागेको थियो । प्रहरीले शिक्षिका चौधरीलाई गिरफ्तार गर्न अनुमति लिएको र हालसम्म फरार भएकोले खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रेशम बोहोराले बताउनु भयो ।

विद्यालयमा दुई जना साथीहरू झगडा गरेको र छुट्टाउने क्रममा शिक्षिका चौधरीले प्लास्टिकको लठ्ठीले हान्दा आँखा फुटेको बालकका बुबा नरेन्द्र प्रसाद चौधरीले बताउनु भयो । उपचारको क्रममा चिकित्सकले देब्रे आँखाले देख्न नसक्ने बताएको बालकका बुबा चौधरीले जानकारी दिनुभयो । बालकको आँखामा चोटपटक लागेपछि विद्यालयले स्थानीय मेडिकल, परासीको आँखा अस्पताल, भैरहवा हुँदै काठमाडौँको तिलगङ्गा आँखा अस्पतालमा उपचारको लागि लगेको थियो । तर पीडितले कानुनी प्रक्रिया चालेपछि विद्यालयले उपचारमा पनि चासो नदिएको पनि चौधरीले बताउनु भयो ।

जिल्लामा र रुपन्देहीको भैरवहा स्थित अस्पतालमा उपचार हुन नसकेपछि पीडितलाई काठमाडौँ लगिएको र त्यँहा उपचार गरी चिकित्सकको उपचार प्रतिवेदन पाएपछि मात्र प्रहरीले पुस १६ गते उजुरी लिएको पीडित बालकका बुबा नरेन्द्र प्रसाद चौधरीले बताउनु भयो ।


नारायण पराजुली