कुटपिट घटनाका आरोपित गिरफ्तार

गोदावरी नगरपालिका–३ लेनीनथोककी ३१ वर्षीया पवित्रा थापा मगरलाई कुटपिट गरेको आरोपमा ३३ वर्षीय सन्तोष थापा मगरलाई जेठ १० गते प्रहरीले गिरफ्तार गरेको छ ।

आरोपितले पीडित ८ महिनाकी गर्भवति रहेकी आफ्नै सहोदर भाउजुलाई घरमा बसिरहेको अवस्थामा जेठ ७ गते राती ९ बजे पेट तथा शरीरका बिभिन्न भागमा कुटपिट गरेको जसका कारण पीडित महिलाको  गर्भमा रहेको शिशुको मृत्यु भएको भन्दै पीडित पक्षले आरोपित विरूद्ध जेठ ९ गते महानगरीय प्रहरी वृत्त सातदोबाटोमा उजुरी दिएको महानगरीय प्रहरी वृत्तका डिएसपी गौतम मिश्रले बताए ।

७ गते दिउँसो दाजु दिपेन्द्र थापा मगरलाई बाटो ढुकेर कुटेका आरोपित सन्तोसले बेलुकी घरमै गएर भाउजुलाई कुटपिट गरेपछि भागेका उनलाई १० गते प्रहरीले गिरफ्तार गरेको हो ।

आरोपित सन्तोस नेपाली सेनाका जवान समेत रहेको र घर विदामा बसेको समयमा परिवारमा लामो समयदेखि अंशबन्डा विवाद बढ्दै गएपछि सन्तोष र उनका दाइ दीपेन्द्रबीच कुटाकुट समेत भएको र अन्तमा आफ्नै भाउजुलाई कुटपिट गरेको प्रहरीले बतायो ।

कुटपिटबाट घाइते भएकी पीडितलाई पाटन अस्पताल ललितपुरमा जेठ ८ गतेदेखि भर्ना गरिएकोमा पीडितको ज्यान खतरामा भएपछि  जेठ ९ गते बिहान सभा १ बजे मृत बच्चा जन्माएको अस्पतालले जनाएको छ ।


दीपकप्रसाद घिमिरे