कुटपिट घटनाका आरोपित गिरफ्तार

  २०८१ वैशाख २४

छत्रकोट गाउँपालिका-३, हर्दिनेटाकी २७ वर्षीया मनसुवा श्रेष्ठलाई कुटपिट गरेको आरोपमा पति २८ वर्षीय दिपक श्रेष्ठलाई प्रहरीले ०८१ वैशाख २४ गते गिरफ्तार गरेको छ ।

सम्बन्ध विच्छेद मुद्धाको पेशी भएकाले श्रेष्ठ दम्पती वैशाख २४ गते जिल्ला अदालतमा आएका थिए । पीडितलाई आरोपितले झुक्याएर कुटपिट गरी गम्भीर घाइते बनाएको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा वैशाख २४ गते मौखिक उजुरी दिएको थियो । पीडित पक्षले दिएको सोही उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी शंकर पोख्रेलले इन्सेकलाई जानकारी दिनुभयो ।

कुटपिटबाट गम्भीर घाइते पीडितलाई थप उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रवास, पाल्पामा लगिएको छ ।

अदालतको अपहेलना र पीडितको अवस्था हेरेर आवश्यक मुद्धा दर्ता हुने जिल्ला अदालतका सूचना अधिकारी शाखा अधिकृत कमल पन्थीले जानकारी दिनुभयो । उहाँका अनुसार सम्बन्ध विच्छेदको मुद्धा ०८० फागुन १३ गते जिल्ला अदालतमा दर्ता भएको थियो ।


टोपलाल अर्याल