कुटपिट घटनाका आरोपित गिरफ्तार

  ०७८ साउन २१ गते

थुलुङदूधकोशी गाउँपालिका–९ का ५० वर्षीय प्रतिमान तामाङ र ४१ वर्षीया पशी शेर्पाबिचको सम्बन्धलाई चरित्रसँग जोडेर हातगोडा बाँधी कुटपिट गरेको आरोपमा प्रहरीले सोही ठाउँका ५० वर्षीय आङदावा शेर्पा र ४८ वर्षीया दाडेण्डी शेर्पालाई साउन १८ गते गिरफ्तार गरेको छ ।

पीडितद्वयले आरोपितविरूद्ध जिल्ला प्रहरी कार्यालयमा साउन १८ गते दिएको उजुरीका आधारमा आरोपितद्वयलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर ओमप्रकाश यादवले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

साउन १७ गते प्रतिमान तामाङको घरमा बसेर मदिरा सेवन गरिरहेको अवस्थामा स्थानीय लार्के तामाङले लुकेर मोवाइलबाट फोटो खिचेर सार्वजनिक गरिदिएपछि पीडित पशी शेर्पाका देवर आङदावा शेर्पाले बाँधेर कुटपिट गरेको अनुसन्धानका क्रममा खुलेको इन्स्पेक्टर यादवले बताउनु भयो ।

कुटपिट घटनाका आरोपित आङदावा शेर्पाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा आफूले साउन १७ गते खबर पाएर प्रतिमान तामाङको घरमा पुग्नुअघि नै अरू कसैले प्रतिमान र पशी शेर्पालाई बाँधेर राखेको र आफूले सोधपुछ गर्दा अस्वीकार गरेपछि कुटपिट गरेको स्वीकार गर्नु भएको छ ।

नेपालको संविधान ०७२ ले धारा २८ मा गोपनीयताको हकलाई मौलिक हकका रूपमा व्यवस्था गरेको र कोही कसैले बदनियतपूर्वक अरूको गोपनीयता भङ्ग हुने गरी फोटो सार्वजनिक गरेको विषयमा कानुन आकर्षित हुन्छ वा हुन्न भनी इन्सेक प्रतिनिधिले इन्स्पेक्टर यादवसँग राखेको जिज्ञासामा पीडित पक्षले आरोपितद्वयविरूद्ध मात्र उजुरी दिएकाले अनुसन्धानका लागि आरोपितलाई मात्र गिरफ्तार गरेको बताउनु भयो ।

इन्स्पेक्टर यादवले अनुसन्धानका क्रममा आरोपितद्घयले पीडित पक्षको फोटो सार्वजनिक गर्नेको नाम लिएमा तत्काल गिरफ्तार गरी कानुनी कारबाही अघि बढाउने बताउनु भयो ।

कुटपिटबाट शरीरका विभिन्न अङ्गमा चोट लागेका पीडितद्वय साउन १८ गते जिल्ला अस्पतालमा उपचार गरी घर फर्किएको इन्स्पेक्टर यादवले बताउनु भयो ।

आरोपितद्घयविरूद्ध प्रहरीले जिल्ला प्रशासन कार्यालयमा साउन १८ गते अभद्र व्यवहार शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको छ ।


भोजराज कार्की