कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी

  ०८० मङ्सिर १८ गते

परवानीपुर गाउँपालिका–४ चैनपुरकी ७१ बर्षीया रामसहेली देवी चौरसियालाई उनका जेठो छोराले कुटपिट तथा गालिगलौज गरेको भन्दै ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा उजुरी दिनु भयो ।

पीडितका अनुसार “हामीसँग आठ धुर जग्गा मात्र छ । जस मध्ये गाउँका भद्रभलादमीहरूले तीन धुर ४० वर्षीय जेठो छोरा ऋषीलाल भगत चौरसिया, तीन धुर ३५ बर्षीय कान्छो छोरा सोबिलाल चौरसिया र दुई धुर जग्गा मलाई गरी तीन भाग लगाई अंश बण्डा गरिदिए ”। तर, आरोपित जेठो छोरा र ३५ वर्षीया बुहारी चान्द देवी समेतले ०८० मङ्सिर १६ गते जग्गा जमिन कम दिएको भन्दै बादबिवाद गरी कुटपिट तथा गालीगलौज गर्नुका साथै घरबाट समेत निकालीदिएको पीडितले बताउनु भयो ।

घटना बारे सत्य तथ्य बुझी दोषीलाई कानुन बमोजिम कारबाही गर्ने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका इन्सपेक्टर बिमला कुमारी कठायतले जानकारी दिनु भयो ।


धिरेन्द्र प्रसाद बरै